-->
भाषिक अतिक्रमणको विरोधमा जापले पठायो मुख्यमन्त्रीलाई पत्र

भाषिक अतिक्रमणको विरोधमा जापले पठायो मुख्यमन्त्रीलाई पत्र

डी.के. वाइबा, कालिमन्युज, कालेबुङ 27 मई। बङ्गाल सरकारले बङ्गाला भाषालाई राज्यभरी लागु गर्ने सरकारको निर्देश विरुद्ध जन आन्दोलन पार्टीले मुख्यमन्त्री ममता ब्यानर्जी अनि शिक्षा मन्त्रीलाई पत्राचार गरेर विरोध जनाएको छ। जाप अध्यक्ष डा. हर्कबहादुर छेत्रीले सरकारको भाषिक अतिक्रमणको विरुद्धमा आज मुख्यमन्त्री अनि शिक्षामन्त्रीलाई जिल्लापाल मार्फत् पत्राचार गरेर विरोध जनाएको जानकारी दिएका छन्। ‘कुनै पनि भाषा सिक्नु नराम्रो होइन। तर यहाँ बङ्गला भाषालाई नेपाली भाषीहरूमा थोप्ने जुन कार्य गरेको छ त्यो अत्यन्तै दुर्भाग्यजनक हो। यस्तो कार्यको जन आन्दोलन पार्टीले घोर विरोध गर्दछ’ जाप अध्यक्ष डा. छेत्रीले भने। 
सरकारको उक्त भाषिक अतिक्रमणको विरोध गर्न जन आन्दोलन पार्टीले आगामी 29 मईको दिन विरोध जुलुस समेत निकाल्ने जानकारी गराएका छन्। उनले पत्रकार सम्मेलनलाई सम्बोधन गर्ने क्रममा एक दिन अघि मात्रै गोर्खा जनमुक्ति विद्यार्थी मोर्चाले भाषिक अतिक्रमणको विरोध गर्दै निकालेको जुलुस अवधी देखिको घट्नाक्रम प्रति पनि टिप्पणी गर्न पछि परेनन्। 
‘मोर्चाले भाषिक अतिक्रमणको विरोधमा जुन जुलुस निकालेको थियो त्यो भाषाप्रेम भन्दा बेसी तमासा भयो’ डा. छेत्रीले टिप्पणी गर्दै भने। गोर्खा जनमुक्ति विद्यार्थी मोर्चाका 10 जना प्रतिनिधीवर्गलाई जिल्लापालले भेट गर्न दिनको साटो केवल दुईजनालाई मात्र ज्ञापन चडाउने अनुमति दिँदा मोर्चाका प्रतिनिधीवर्गले ज्ञापन नचडाएर विरोध गर्नु वास्तवमा सही नरहेको डा. छेत्रीले बताएका छन्। 
‘ज्ञापन कतिजनाले बुझायो भन्ने महत्वपूर्ण हुँदैन। ज्ञापनमा के कुरा लेखिएको छ त्यो महत्वपूर्ण कुरा हो। त्यहाँ भाषा प्रेम भन्दा बेसी तमासा मात्रै गर्ने मोर्चाले कार्य गरेको छ’ डा. छेत्रीले भने। यसैक्रममा उनले केहि दिन अघि गोजमुमो पार्टीले कालेबुङ नगरपालिका चुनावमा बहुमत हासिल गरेर निकालेको विजय उत्सवमा आयोजित कार्यक्रममा स्थानीय कलाकारहरूलाई मौका दिनको साटो मुम्बईबाट अनेपाली भाषी कलाकारहरू ल्याएर जुन कार्यक्रम गर्‍यो त्यस कार्यले पनि मोर्चाको भाषाप्रेमको वास्तविक चरित्र उदाङ्गो भएको आरोप लगाएका छन्। 
‘यदि भाषाको सही ठाउँमा विरोध गर्नु हो भने जीटीए सभाले प्रस्ताव पारित गरेर शिक्षा मन्त्री अनि मुख्यमन्त्रीलाई पठाउनुपर्ने हो। शिक्षा विभाक जिटीएमा हस्तान्तरण भएको विभाग भएकै कारण पनि जीटीएले यो कार्य गर्नुपर्ने हो तर जीटीएले आजसम्म यस्तो कार्य गरेको छैन। जसले गोजमुमो भाषाप्रेम केवल देखावटी मात्रै हो भन्ने स्पष्ट बनेको छ’ डा. छेत्रीले अझ भने। 
यसक्रममा उनले पश्चिम बङ्गाल राज्यप्रति पनि आलोचना गर्न भने पछि परेनन्। ‘शिक्षा विभाक जीटीएमा हस्तान्तरण विभाग भएपछि राज्य सरकारले जीटीएको परामर्श लिन पर्ने हो। त्यस्तो परामर्श लिने कार्य राज्य सरकारले गरेन’ डा. छेत्रीले भने। सोहिअवसरमा उनले भाषिक अतिक्रमणको विरोधमा हाल जुन विरोधका कार्यहरू भइरहेका छन् ती सबै कार्यहरू सरकारी आदेश हातमा नपरी हुँदै आएको पनि छेत्रीले जनाएका छन्। 
‘यतिबेला यदि साँच्चै विरोध नै गर्नपर्ने हो भने मोर्चाका तीनजना विधायकले विधानसभामा जोडदार आवाज उठाएर विरोध गर्नुपर्ने हो। सांसदले आफ्नो पक्षबाट आवाज उठाएर विरोध गर्नुपर्ने हो। तर दुर्भाग्यवस आजसम्म उनीहरूले सही कार्य गरेको छैन’ डा. छेत्रीले भने। 
यसक्रममा उनले मोर्चालाई चुनौति दिँदै भने ‘यदि साँचो भाषाप्रेम मोर्चाले देखाउँछ भने जीटीए सभामा प्रस्ताव पारित गरेर सम्बन्धित विभागलाई पठाओस्। विधायकहरूले विधानसभामा प्रश्न उठाओस्। सांसदले आफ्नो ठाउँमा काम गरोस्। यदि यस्तो गर्न सक्दैन भने त्यो मोर्चाको भाषा प्रेम होइन जीटीए चुनाव अघि जनतालाई दिग्भ्रमित पार्ने नौटङ्की मात्र देखिनेछ’। 

Related Posts

0 Response to "भाषिक अतिक्रमणको विरोधमा जापले पठायो मुख्यमन्त्रीलाई पत्र"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.