
विकास वोर्डका प्रतिनिधीवर्ग माझ तृणमूल काङ्ग्रेसको चुनावी वैठक .......पहाडमा विकासको निम्ति तृणमूललाई जिताउनु आवश्यक – मोहन शर्मा
![]() |
Mohan Sharma (Right) with Dasarath Tirki (Left) MP at Kalimpong |
डी.के. वाइबा, कालिमन्युज, २ मई, कालेबुङ । कालेबुङ नगरपालिका चुनाव कुनैपनि अवस्थामा जित्नका निम्ति तृणमूल काङ्ग्रेस लागि परेको छ। नगरपालिकामा आफ्नो धाक जमाउनका निम्ति तृणमूल काङ्ग्रेसले विकास वोर्डहरूलाई पनि साथ लिएर सक्रिय चुनाव प्रचारको अभियानमा उतार्ने योजना बनाएको छ। सोहि सिलसिलामा आज विकास बोर्डका प्रतिनिधीवर्गलाई लिएर तृणमूल काङ्ग्रेसले कालेबुङमा वैठक बसेर चुनावी रणनीति तयार पारेको छ।
नगरपालिका चुनाव कसरी जित्न सकिन्छ भन्ने विषयमा जलपाईगडी जिल्ला परिषदका सभाधिपति एवम् तृणमूल काङ्ग्रेसका चुनावी परिदर्शक मोहन शर्माले कालेबुङमा बसेर केहि सप्ताहदेखि रणनीति बनाउने कार्य गरिरहेका छन्। यसैक्रममा शर्माले आज यहाँको तामाङ विकास बोर्डको कार्यलयमा विभिन्न विकास वोर्डका प्रतिनिधिवर्गसँग वैठक बसेका छन्। यस अवसरमा वैठकमा तृणमूल सांसद दशरथ तिर्की पनि विशेष रुपले उपस्थित रहेका थिए। बन्द कोठामा आयोजित उक्त वैठकमा विभिन्न विकास वोर्डका प्रतिनिधीवर्गको उपस्थिति रहेको थियो। यद्यपि मोहन शर्माले भने उक्त वैठक विकास बोर्डका प्रतिनिधिवर्गसँग बसेको कुरालाई अस्वीकार गरेका छन्।
‘विकास वोर्डका प्रतिनिधीहरूसँग यो वैठक गरेको होइन। चुनावलाई लिएर सम्पन्न भएको वैठकमा हाम्रा तृणमूल काङ्ग्रेस पार्टीका कार्यकर्ताहरू मात्र थिए’–मोहन शर्माले स्पष्टिकरण दिँदै भने। नगरपालिका चुनावबारे सम्पन्न वैठक विकास वोर्डका प्रतिनिधीवर्गसँगनै बसेको कुरालाई विशेष सुत्रले पुष्टि गरेको छ।
‘विकास वोर्डका प्रतिनिधीवर्गलाई लिएर सम्पन्न भएको वैठकमा नगरपालिका चुनाव जित्नका निम्ति विकास वोर्डका प्रतिनिधीवर्गलाई विशेष जिम्मेवारी सुम्पिने कार्य भएको छ’ वैठकपछि सुत्रले जानकारी दियो। कालेबुङ नगरपालिकाको विभिन्न वार्डहरूमा कुन-कुन जातिको कति जनसङ्ख्या छ भन्ने विवरण तृणमूल नेतृत्वले निकालेर आज विकास वोर्डका प्रतिनिधीवर्गलाई जानकारी दिएको पनि सुत्रले बताएको छ। यसक्रममा कालेबुङ नगरपालिकाको 23 वटा वार्डका मतदाताहरूको जातगत विवरण तृणमूल नेतृत्वले जुटाएर विकास वोर्डका प्रतिनिधीवर्गलाई दिएको सुत्रले जनाएको छ।
‘जुन जुन वार्डहरूमा ज-जसको जनसङ्ख्या धेर छ त्यहाँ त्यसै विकास वोर्डका प्रतिनिधीवर्गलाई जिम्मेवारी दिने कार्य भएको छ। विकास वोर्डका प्रतिनिधीवर्गले आफ्ना मानिसहरूलाई नगरपालिका चुनावका निम्ति बुझाएर तृणमूल काङ्ग्रेसको पक्षमा समर्थन बटुल्न पर्नेछ’ सुत्रले दाबी गर्दै भने। नगरपालिकाको चुनावको मतदान हुने दिनभित्रमा चुनाव प्रचारको जिम्मेवारी विकास वोर्डहरूको काँधमा सुम्पेर तृणमूल काङ्ग्रेसले निश्चित बिजयी बन्ने तयारी युद्धस्तरमा गरिरहेको सुत्रले अझ जनाएको छ।
‘कालेबुङ नगरपालिकाको वार्ड नम्बर 1 मा अल्पसङ्ख्यक समुदायका मतदाताहरूको जनसङ्ख्या धेर रहेको छ। त्यसकारण त्यस वार्डमा तृणमूललाई बिजयी बनाउन अल्पसङ्ख्यक बोर्डलाई जिम्मेवारी सुम्पिएको छ’ सुत्रले भने। त्यस्तै प्रकारले वार्ड नम्बर 17 मा तामाङ समुदायका मतदाताहरूको जनसङ्ख्या धेर रहेकोले त्यहाँ तामाङ वोर्डलाई जिम्मेवारी सुम्पिएको सुत्रले अझ बताएको छ।
यता वैठक पछि पत्रकारहरूसँग कुराकानी गर्दै तृणमूल कङ्ग्रेसका चुनाव परिदर्शक मोहन शर्माले ‘नगरपालिका चुनाव चुनौतिपूर्ण’ रहेको स्वीकार गरेका छन्। ‘चुनावलाई लिएर हामीले घर दैलो चुनाव प्रचार अभियान गरिरहेका छौँ। हाम्रो निम्ति चुनाव चुनौतिपूर्ण रहेको छ। गोजमुमो अनि जाप हाम्रो निम्ति चुनौति भए पनि हामी चुनाव जित्ने कुरामा भने विश्वस्त छौँ’ मोहन शर्माले भने।
उनले पहाडका विकासका निम्ति तृणमूल काङ्ग्रेसलाई जनताले साथ दिनपर्ने आह्वान गर्दै ‘जाप अनि गोजमुमो पार्टीले नगरपालिका चुनावमा बोर्ड बनाए पैसा कहाँबाट ल्याएर विकास कार्य गर्छ? राज्यको सत्तामा तृणमूल काङ्ग्रेस छ। यदि तृणमूललाई नै बिजयी बनाए हामी सरकारबाट पैसा ल्याएर विकास कार्य गर्नेछौँ’ शर्माले अझ भने। उनले पहाडमा तृणमूल काङ्ग्रेसले तानाशाहहरूको विरुद्धमा चुनाव लड्नु कठिन रहेको बताउँदै जनताले शान्ति र विकासका निम्ति तृणमूल काङ्ग्रेसलाई साथ दिने कुरामा आफु विश्वस्त रहेको पनि बताएका छन्।
यसक्रममा शर्माले नवगठित कालेबुङ जिल्ला अनि मिरिक महकुमाको विकासका निम्ति सिलगडी-जलपाईगडी डेभलपमेन्ट अथोरिटि जस्तै कालेबुङ-मिरिक डेभलपमेन्ट अथोरिटि निर्माणको निम्ति मुख्यमन्त्री ममता ब्यानर्जीलाई अनुरोध गरेको जानकारी दिएका छन्।
‘कालेबुङ-मिरिक डेभलपमेन्ट अथोरिटिका निम्ति सरकारलाई अनुरोध गरेका छौँ। भविष्यमा पहाडका जनताको विकासका निम्ति सरकारले कालेबुङ-मिरिक डेभलपमेन्ट अथोरिटि गठन गर्नेछ भन्ने हामीलाई भरोसा छ’ शर्माले अझ भने।
पहाडको चारवटा नगरपालिका क्षेत्रमा बोर्ड गठनको निम्ति आतुर रहेको तृणमूल काङ्ग्रेसले विकास बोर्डहरूलाई चुनावी मैदानमा उतार्ने योजना बनाएको हो। केहि दिन अघि मात्रै जन आन्दोलन पार्टीमा सक्रिय रहेका राजनीति गर्ने लेप्चा विकास बोर्डका उपाध्यक्ष युसुफ सिमिकलाई पदच्युत गरेर अन्य विकास बोर्डहरूलाई सक्रिय चुनाव प्रचारको निम्ति दबाव बनाएको छ। तृणमूल काङ्ग्रेसको पक्षमा नगरपालिका चुनावका निम्ति विकास बोर्डका पदाधिकारीवर्गले चुनाव प्रचार नगरे उनीहरूको पनि पद खोसिने ‘प्रेसर गेम’ तृणमूल काङ्ग्रेसले बनाएर चुनावी राजनीति गरेको आज बसेको वैठकले स्पष्ट पारेको छ।
तृणमूल नेतृत्ववर्गले उक्त वैठक पार्टी कर्मीहरूसँग मात्र बसेको बताए पनि वास्तवमा वैठकमा विकास बोर्डका प्रतिनिधीवर्गको उपस्थितिले नै वैठक विकास वोर्डका प्रतिनिधीवर्ग माझ थियो भन्ने स्पष्ट बनेको छ। यस्तो अवस्थामा नगरपालिका चुनावमा विकास वोर्डका प्रतिनिधीवर्गले ‘प्रेसर ट्याक्टिस’को शिकारमा परि तृणमूल काङ्ग्रेसको पक्षमा अप्रत्यक्ष प्रचार गर्न पर्ने बाध्यता देखा परेको छ।
0 Response to "विकास वोर्डका प्रतिनिधीवर्ग माझ तृणमूल काङ्ग्रेसको चुनावी वैठक .......पहाडमा विकासको निम्ति तृणमूललाई जिताउनु आवश्यक – मोहन शर्मा"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.