विभिन्न राजनैतिक दलहरूलाई लिएर गोजमुमोद्वारा सङ्गोष्ठिको आयोजना ....... राजनैतिक मतभिन्नतालाई भुलेर जातीयताको निम्ति एकबद्ध बन्नुपर्छ – स्वाराज थापा
30 Mar 2017
Comment
डी.के. वाइबा, कालिमन्युज, २९ अप्रेल। गोर्खा जनमुक्ति मोर्चाको स्टडी फोरमद्वारा विभिन्न राजनैतिक पार्टी अनि सामाजिक संस्थाका प्रतिनिधीवर्गलाई लिएर ‘जातीय एकता र अस्मिता अनि वर्तमान राजनैतिक परिवेश’ विषयमा सङ्गोष्ठी सम्पन्न भएको छ। टाउनहलमा आयोजित उक्त सङ्गोष्ठिमा स्रोत व्यक्तित्वका रूपमा गोजमुमोका स्वराज थापा, माकपाबाट पूर्व राज्यसभा सांसद समन पाठक, क्रामाकपाबाट किशोर प्रधान, गोरांकबाट भरत दोङ, हिल कङ्ग्रेसका दिलिप प्रधान, भागोपका सुखमान मोक्तान अनि गोर्खा दुख निवारक सम्मेलनबाट उदय कुमाईले भाग लिएका थिए।
गोजमुमो स्टडी फोरमका सदस्य आर. मोक्तानद्वारा सञ्चालित उक्त सङ्गोष्टिमा वक्ताहरूले जातीय एकता अनि अस्मिताका सन्दर्भ र छुट्टै राज्य गोर्खाल्याण्ड सम्बन्धमा नै आफ्नो वक्तव्य केन्द्रित गरेका थिए। यसक्रममा स्टडी फोरमका वरिष्ठ सदस्य स्वराज थापाले गोर्खा जनमुक्ति मोर्चाले छुट्टै राज्य गोर्खाल्याण्ड प्राप्तिको निम्ति राजनैतिक मत भिन्नतालाई भुलेर सबै दलहरूलाई एकबद्ध बनाएर अघि बढ्ने दिशामा कार्य गरिरहेको अनि त्यसैको फलस्वरूप उक्त सङ्गोष्ठि आयोजना गरिएको बताएका छन्। गोजमुमो पार्टीको स्टडी फोरमले आयोजना गरेको उक्त सङ्गोष्ठिमा विभिन्न राजनैतिक दलका प्रतिनिधीवर्गलाई निमन्त्रणा दिइए पनि यता सङ्गोष्ठीमा जन आन्दोलन पार्टी, अखिल भारतीय गोर्खालिग, गोर्खाल्याण्ड राज्य निर्माण मोर्चाले भने अंशग्रहण गरेको थिएन।
‘जातीय एकता र अस्मिता माथि अहिलेघरी पहाडमा एउटा अदृष्य खतरा महशुस गरिरहेका छौँ। यदि हामीले त्यस अदृष्य खतरालाई ध्यानमा राखेर कार्य नगरेको खण्डमा ठूलो घातको सामना गर्नुपर्नेछ। जसले जातीय अस्तित्वलाई नै संकटमा पार्न सक्नेछ’ सङ्गोष्ठिलाई सम्बोधन गर्दै गोजमुमो स्टडी फोरमका स्वराज थापाले भने। उनले कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा वर्तमान राजनैतिक स्थितिलाई ध्यानमा राख्दा भविष्यमा गोर्खाहरूलाई राजनैतिक संकट् आउन सक्ने सम्भावना व्यक्त गर्दै गोजमुमोले राजनैतिक मतभिन्नता भुलेर जातीय एकिकरणको निम्ति पनि कार्य गर्ने प्रयास गरिरहेको बताएका छन्। ‘हामी राजनीतिदेखि माथि उठेर कार्य गर्नुपर्छ भन्ने सबैलाई आह्वान गर्छौँ। जातीय अस्तित्वको लडाईँमा हामी राजनैतिक सिद्धान्तको मत भिन्नतामा अल्झेर एकार्कामा जुझ्ने कार्य गर्नको साटो एकबद्ध भएर कार्य गर्नुपर्छ’ स्वराज थापाले भने। हाल गोजमुमो पार्टीले एघार जनजातिको मुद्दालाई अघि बढाउने कार्य गरिरहेको अनि यता विभिन्न विकास बोर्डहरूको निर्माण भइरहेको अवस्थामा भविष्यमा भारत सरकारले गर्ने मतगणनामा आफ्नो जातगत भाषालाई मातृभाषा लेखे त्यसको प्रभाव सम्पूर्ण गोर्खाहरूका निम्ति घातक हुने पनि बताए। यसको निम्ति सबैलाई सचेत बन्ने आह्वान पनि गरेका छन्।
लोकसभामा गोर्खाल्याण्डको बील पारित गरिहाल्नुपर्छ – क्रामाकपा
‘अहिलेघरी लोकसभामा भाजपा बहुमतमा छ भने राज्यसभामा बहुमतमा आउनका निम्ति अझ केहि समय लाग्नेछ। लोकसभाले बील पारित गरिरहेको छ भने त्यसलाई पछिबाट राज्यसभामा पारित गर्न सकिनेछ। उदाहरणको निम्ति जीएसटी बीललाई लिन सकिन्छ। जसलाई अघिबाटै लोकसभामा पारित गरिएको थियो अनि राज्य सभामा पछिबाट मात्रै पारित गरिएको हो’ सङ्गोष्ठिलाई सम्बोधन गर्दै क्रामाकपा कालेबुङ आञ्चलिक समितिका अध्यक्ष किशोर प्रधानले भने। उनले छुट्टै राज्य गोर्खाल्याण्डको बीललाई अहिलेघरी केन्द्रको लोकसभामा भाजपा बहुमतमा भएकै अवस्थामा पारित गर्नुपर्ने कुरामा पनि जोड दिएका थिए। 'लोकसभामा भाजपा बहुमतमा भएको बेला गोर्खाल्याण्डको बिल पारित गर्नुपर्छ। राज्यसभामा बहुमत पर्खेर हुँदैन। राज्यसभामा पछि बहुमतमा आएपछि पारित गर्दा फरक पर्नेछैन। यसबारे गोजमुमोले काम गरेको हुनपर्छ’ किशोर प्रधानले अझ भने। उनले सम्बोधनको क्रममा आजसम्म छुट्टै राज्य गोर्खाल्याण्डको आन्दोलनलाई व्यवस्थासँग सम्झौता गरेको कारण छुट्टै राज्य प्राप्ति गर्न नसकेको बताउँदै ‘व्यवस्थालाई आन्दोलनसँग सम्झौता गर्नुहुँदैन’ भने। पहाडका विभिन्न राजनैतिक पार्टीका नेताहरूले बेग्ला बेग्लै राजनैतिक झण्डा र सिद्धान्तलाई अप्नाए पनि सम्पूर्ण दलहरूले छुट्टै राज्यको मुद्दालाई साथ दिने निश्चित रहेको बताउँदै छुट्टै राज्यको मुद्दा बोकेर अघि बड्ने दलले भने बारम्बार जनताल्ई धोका दिने कार्यले भने निराश मात्रै हाल लागेको पनि प्रधानले अझ बताए। यसक्रममा उनले गोजमुमो पार्टीको पनि आलोचना गर्दै राजनीतिमा आलोचना सहेर सकारात्मक कार्य गर्ने क्षमता राख्नुपर्ने सुझाव समेत दिएका छन्।
भाषाले नै गोर्खाहरूलाई एकबद्ध बनाउँछ – माकपा
गोजमुमोद्वारा आयोजित सङ्गोष्ठिमा विशेषरूपले सहभागी बनेका माकपा नेता एवम् पूर्व राज्यसभा सांसद समन पाठकले भाषिक अल्पसङ्ख्यकको मुद्दाले गोर्खाहरूको समस्यालाई सम्बोधन गर्न सक्ने विचार वक्त गर्दै यस विषयमा पनि सबैले चर्चा गर्नु आवश्यक रहेको बताएका छन्। उनले आहिलेघरी पहाडको राजनीतिबारे चिन्ता व्यक्त गर्दै विभिन्न जातीय विकास बोर्ड र जनजातिको मुद्दामा सम्पूर्ण गोर्खाहरूको नै अस्तित्व मेटिने अवस्थामा पुग्न सक्ने सम्भावना समेत रहेको बताए। ‘सन् 1931 को जनगणनामा जसरी गोर्खाहरूलाई जात-जातमा विभाजन गरेर अत्यन्तै कम्ति देखाउने अवस्था भएको थियो ठिक त्यस्तै अवस्था पहाडमा आउने सम्भावना देखा पर्दैछ। अब 2021 मा भारत सरकारद्वारा सम्पन्न हुने जनगणाना यदि गोर्खाहरूले आफ्नो मातृ भाषा नेपाली होइन भने आ-आफ्ना जातगत भाषा दर्ता गरे सिङ्गो गोर्खाहरूको अस्तित्व सङ्कटमा पर्ने स्पष्ट छाँट छ। यो अहिलेदेखि चलिरहेको सुनियोजित षडयन्त्रबाट सिङ्गो गोर्खा बाँच्न सके मात्र जातिय अस्तित्वको मुद्दा बाँच्नेछ’ समन पाठकले भने। यसक्रममा उनले भाषिक अल्पसंख्यकको मान्यताले गोर्खाहरूलाई एकबद्ध बनाउछ भन्दै जसले गर्दा जातीय एकता र अस्मिताको सङ्घर्षलाई अघि बढाउन सहयोग पुग्ने पनि बताएका थिए।
दिल्ली र कोलकोतामा गोर्खाल्याण्ड सपोर्ट ग्रुप तयार पार्नुपर्छ – भागोप
‘हामीलाई केन्द्रले गोर्खाल्याण्ड् दिन्छ भनेर ढुक्क बसेका छौं। सय प्रतिशत ढुक्क बसेर हुदैन। पूर्णरूपले विश्वास गर्नु भन्दा प्रेसर ट्याक्टिसको रणनीति तयार पार्नुपर्छ। कागजमा काम गर्नुपर्छ भाषणमा जातीय एकताको कुरा गरेर होइन’ – सङ्गोष्ठिलाई सम्बोधन गर्दै भारतीय गोर्खा परिसंघका राष्ट्रिय अध्यक्ष सुखमान मोक्तानले भने। उनले आफ्नो सम्बोधनको क्रममा आजसम्म तथाकथित बुद्धिजीविवर्गको कार्यशैलिले छुट्टै राज्य गोर्खाल्याण्डको लक्ष्यलाई हासिल गर्न नसकिरहेको जानकारी गराए। यसक्रममा छुट्टै राज्य प्राप्तिको निम्ति विगतमा गोजमुमो पार्टीको नेतृत्वमा गोर्खाल्याण्ड जोइन एक्सन कमिटि गठन भए पनि मोर्चाकै कारण कमिटि भङ्ग भएर आन्दोलन शिथिल बन्न परेको गुनासो व्यक्त गरे। यद्यपी पुन: जातीय एकताको मुद्दालाई सफल बनाउन पुन: भारतभरीका गोर्खाहरू एकबद्ध भएर अघि बड्नुपर्ने आह्वान गरे। ‘हामीले आत्मलोचना गर्नुपर्छ। विगतका गल्तिहरूलाई बुझेर नयाँ रणनीति बनाउँनुपर्छ। दिल्ली र कोलकोतामा सपोर्ट ग्रुप तयार पारेर छुट्टै राज्य गोर्खाल्याण्डको मुद्दालाई सफल पार्नुपर्नेछ’ सुखमान मोक्तानले भने।
गोजमुमो स्टडी फोरमको आयोजनामा सम्पन्न भएको उक्त सङ्गोष्ठिमा हिल कङ्ग्रेसका दिलिप प्रधान, गोर्खा राष्ट्रिय कङ्ग्रेसका अध्यक्ष भरत दोङ, दुख निवारक सम्मेलनका अध्यक्ष उदय कुमाई आदिले पनि सम्बोधन गरेका थिए। सङ्गोष्ठिका विधायकद्वय अमर लामा, सरीता राई लगायत विभिन्न समष्टिका सभासद लगायत अन्य राजनैतिक दल अनि सामाजिक संस्थाका कार्यकर्ताहरूको पनि उपस्थिति रहेको थियो।
0 Response to "विभिन्न राजनैतिक दलहरूलाई लिएर गोजमुमोद्वारा सङ्गोष्ठिको आयोजना ....... राजनैतिक मतभिन्नतालाई भुलेर जातीयताको निम्ति एकबद्ध बन्नुपर्छ – स्वाराज थापा"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.