गोर्खाल्याण्डको मुद्दालाई गोजमुमोले चुनावी मुद्दा बनाएको आरोप .....जापले भ्रष्टचार मुक्त नगरपालिका बनाउनेछ – डा. हर्कबहादुर छेत्री
डी.के. वाइबा, कालिमन्युज, कालेबुङ २७ अप्रेल। ‘चौकि बचाउन साह्रो पर्यो भने आखिरमा विमल गुरुङ तृणमूल कङ्ग्रेसमा जानेछन् तर, यो हर्कबहादुर छेत्री तृणमूल कङ्ग्रेसमा कहिल्यै जानेछैन’ – उक्त कुरा जन आन्दोलन पार्टीका अध्यक्ष डा. हर्कबहादुर छेत्रीले भनेका हुन्।
विशेष गरेर सम्भवत मई महिनामा सम्पन्न हुने नगरपालिका चुनावलाई लिएर अहिलेघरी जन आन्दोलन पार्टीले चुनावी अभियान तिव्रताको साथमा अघि बढाउने कार्य गरिरहेको छ। यसैक्रममा जापको धारावाहिक जनसभाको आज छैटौँ दिन टाउनहलमा आयोजित सभालाई डा. छेत्रीले सम्बोधन गर्दै विमल गुरुङले केवल आफ्नो सत्ता र चौकि मात्र बचाउने राजनीति गर्ने गरेको आरोप लगाउँदै ‘सत्ता र चौकिको निम्ति तृणमूलमा समेत जानेछन्’ भनेका हुन्।
हाल गोजमुमो अध्यक्ष विमल गुरुङ अनि गोजमुमो पार्टीले प्रधान मन्त्री नरेन्द्र मोदीलाई भेट गरेर गोर्खाल्याण्डको माग गरेको भन्दै नगरपालिका चुनावको निम्ति ‘नयाँ स्टन्ट अप्नाएको’ आरोप लगाएका छन्। उनले आफ्नो सम्बोधनको क्रममा मोर्चा अध्यक्ष एवम् जीटीए प्रमुख विमल गुरुङको खोइरो खन्दै आफुलाई केहिदिन अघि कुनै पनि धर्म नमान्ने आरोप लगाएको सन्दर्भ झिकेर ‘तिमी त जीटीएको हेड पुजारी हौ तर धुप घुमाएर पूजा गर्दैमा तिमी धार्मिक भन्ने पट्क्क होइनौँ। तिमीलाई जनताले जीटीएको चौकिमा पूजा गर्न पठाएको होइन। काम गर्न पठाएको नेताले जनताको काम गर्नुपर्छ। ईश्वरको नाउँमा झुटको धुप धेर नघुमाऊ’ डा. छेत्रीले भने। यसैक्रममा उनले कालेबुङ नगरपालिकामा जनताले मोर्चाली अस्वीकार गर्ने निश्चित भएको देखेपछि प्रधानमन्त्री मोदीलाई भेटेर गोर्खाल्याण्ड मागे भन्ने हल्ला फैलाउने कार्य गरेको पनि आरोप लगाए। ‘मोदीलाई भेटेर गोर्खाल्याण्ड मागे भन्दैछौँ। खै सरकारबाट आजसम्म किन त्यस भेटघाटको समाचार सार्वजनिक भएन?’ डा छेत्रीले प्रश्न तेर्साए।
‘प्रजातन्त्रमा जनताले आ-आफ्नो राजनीति गर्ने अधिकार पाएका छन्। यति हुँदा हुँदै पनि यसपल्टको नगरपालिका चुनावमा जनताले जनप्रतिनिधी छान्ने कार्य गर्दा भने सचेतता अप्नाउँनैपर्छ’ डा. छेत्रीले भने। उनले सोझै जन आन्दोलन पार्टीलाई भोट दिने अपिल नगरेपनि ‘गुण्डा ट्याक्स उठाउने, घर निर्माण गर्दा कमिशन खाने अनि जनताको पैसा भ्रष्टचार गर्ने प्रतिनिधीलाई यसपल्ट जनताले भोट दिनुहुँदैन’ भने। उनले यसपल्ट कालेबुङको नगरपालिकामा जन आन्दोलन पार्टीले बिजयी बनेर बोर्ड बनाउने डरले मोर्चा अध्यक्ष विमल गुरुङले विभिन्न वार्डहरूमा गएर विकास कार्यहरूको शिल्यान्यास गर्ने कार्य गरिरहेको पनि आरोप लगाए। यसक्रममा उनले हाल कालेबुङ नगरपालिका क्षेत्रको विकासका निम्ति मोठ 20 वटा कार्यहरूको टेण्डर भएको बताउँदै गोजमुमो अध्यक्ष विमल गुरुङले उक्त टेण्डर हुने कार्यहरूकै शिल्यान्यास गरेर जनताली लोभ्याउने कार्य गरिरहेको आरोप लगाए। यसको निम्ति उनले सम्पूर्ण ठेकादारहरूलाई ई-टेण्डर भर्ने आह्वान गर्दै ठेकाको कार्यमा राजनीति गर्न दिनु नहुने बताए। उनले नगरपालिकामा विगतका दिनहरूमा भ्रष्ट प्रतिनिधीहरूले बोर्ड बनाएर व्यापक भ्रष्टचार गरेको आरोप लगाउँदै जापले विजयी भएर नगरपालिकामा बोर्ड बनाएको खण्डमा सम्पूर्ण भ्रष्टचारको फाइल खोलेर नेता अनि अभियन्ताहरूलाई जेलको हावा खुवाउने चेतावनी पनि दिएका छन्। उनले जनतालाई सम्बोधन गर्ने क्रममा जापले भ्रष्टचारमुक्त नगरपालिका बोर्ड निर्माणको परिकल्पना राखेको अनि यसको निम्ति जनताले एकचोटी जापलाई सहयोग गर्नुपर्ने पनि आह्वान गरेका छन्।
‘नगरपालिका चुनाव जन आन्दोलन पार्टीका निम्ति स्टेपिङ स्टोन हो। चुनावको समयमा गोर्खाल्याण्डको कुरा गर्ने राजनैतिक दललाई होइन अब व्यवहारिक भएर समस्याको समाधान गर्न अघि आएका दललाई जनताले सघाउनुपर्छ’ डा. छेत्रीले स्पष्ट भने। यसक्रममा जापले छुट्टै राज्यको मुद्दालाई बिर्सेको भन्ने आरोप लगाउने गरेको बताउँदै ‘नगरपालिका चुनाव गोर्खाल्याण्डको कुरा गर्ने चुनाव होइन’ भन्दै जनतालाई सही कुरा बताएको जानकारी गराए। ‘हामी नगरपालिकालाई भ्रष्टचारमुक्त बनाएर उदाहरण बनाउँन चाहन्छौँ। आजसम्म अयोग्य अनि भ्रष्ट व्यक्तिहरूले शाषण चलाउँदा जनताले दुख पाएको हो। हामी नगरपालिकालाई राम्रोसँगले सञ्चालन गरेर हाम्रोमा राज्य सञ्चालन गर्ने क्षमता भएको देखाउँनेछौँ अनि समय आएपछि केन्द्रमा बात गरेर राज्यको मागलाई समेत फत्ते पार्नेछौँ’ डा. हर्कबहादुर छेत्रीले भने। आफुले कालेबुङ जिल्लाको मागालाई सरकार समक्ष ठिकसँगले राख्न सकेकै कारण मुख्यमन्त्री ममता ब्यानर्जीले जिल्ला गठन गरेको दाबी गर्दै यदि केन्द्रमा पनि सही तरिकाले कुरा उठान गर्न सके राज्य निर्माण हुनसक्ने बताए। तर दुर्भाग्यवस गोजमुमो पार्टीभित्र भने मुद्दालाई सही प्रकारले उठान गर्ने सक्ने नेता नभएको पनि आरोप लगाएका छन्।
अर्कोतर्फ जापको सभालाई सम्बोधन गर्ने क्रममा ब्युरो सदस्य अमर लामाले पनि मोर्चाको तिखो आलोचना गर्दै राजनैतिक मर्यादालाई भुल्न नहुने सुझाव दिएका छन्। उनले राजनीतिमा राम्रो संस्कार ल्याउनुपर्ने आह्वान गर्दै मोर्चाका नेताहरूले राजनैतिक संस्कारलाई भुलेर अमर्यादित बयान दिने गरेको बताउँदै मर्यादा भुल्न नहुने बताएका हुन्। ‘गोजमुमो एकल व्यक्तिले चलाउने राजनैतिक दल हो। जतिसुकै स्टडी फोरम र केन्द्रिय समितिको कुरा गरे पनि आखिरमा गोजमुमोमा एउटा व्यक्तिले मात्र निर्णय लिने गर्छन्’ अमर लामाले भने। आफुहरूलाई गोजमुमो नेताहरूले बारम्बार तृणमूल कङ्ग्रेसको बी टिम भन्ने आरोप लगाएको बताउँदै सन् 2016 को विधानसभा चुनावमा तृणमूल कङ्ग्रेसले आफुलाई विधानसभाको टिकट दिँदा समेत आफुले टिकट स्वीकार नगरेर स्वाभिमानलाई बेच्ने कार्य नगरेको दाबी गरे। ‘गोर्खाल्याण्ड प्रत्येक पहाडवासीको ढुक-ढुकी हो। जन आन्दोलन पार्टीले छुट्टै राज्यको मुद्दालाई सही समयमा सही ठाउँमा उठान गर्नेछ। यदि आफ्नो स्वाभिमान बेच्नु हो भने मलाई तृणमूल कङ्ग्रेसले 2016 को विधासभा चुनावको टिकट दिएको हो। छुट्टै राज्यको विरोध गर्ने दलको टिकट थापेर हामीले स्वाभिमान बेचेका छैनौँ’ अमर लामाले भने। यसक्रममा यता गोजमुमो पार्टीले भने गोर्खाल्याण्डको मुद्दालाई केवल चुनावमा मागी खाने भाँडो मात्र बनाएको पनि उनले आरोप लगाए।
कालेबुङ नगरपालिका क्षेत्रका विभिन्न वार्डका मानिसहरूको व्यापक उपस्थितिमा सम्पन्न भएको सभालाई जाप महासचिव नयन प्रधान, लियो राई आदिले पनि सम्बोधन गरेका थिए। सभा सम्पन्न हुन अघि जाप कार्यकर्ताहरूले कालेबुङ शहरमा वाहनहरूको लामेताँत लश्कर निकालेर अघोषित शक्ति प्रदर्शन समेत गरेका थिए।
0 Response to "गोर्खाल्याण्डको मुद्दालाई गोजमुमोले चुनावी मुद्दा बनाएको आरोप .....जापले भ्रष्टचार मुक्त नगरपालिका बनाउनेछ – डा. हर्कबहादुर छेत्री"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.