-->
विभिन्न राजनैतिक दलहरूद्वारा कालेबुङ जिल्लाको स्वागत

विभिन्न राजनैतिक दलहरूद्वारा कालेबुङ जिल्लाको स्वागत

डी के वाइबा, कालिमन्युज, कालेबुङ , कालेबुङ 14 फरवरी। मुख्यमन्त्री ममता ब्यानर्जीले पश्चिम बङ्गाल राज्यको 21 औँ जिल्लाको रूपमा कालेबुङ जिल्लाको औपचारिक उद्घाटन गरेपछि विभिन्न राजनैतिक पार्टीहरूले स्वागत जनाएको छ।
जिल्लाको औपचारिक उद्घाटन पछि अहिलेघरी कालेबुङमा उत्सवको मौसम छाएको छ। मानिसहरूले कालेबुङ शहरको सडकहरूमा खुलेर खुशीयाली मनाइरहेका थिए। सबैभन्दा धेरै उत्सव मनाउनेहरूमा जन आन्दोलन पार्टी रहेको थियो। जन आन्दोलन पार्टीका कार्यकर्ताहरूले जिल्लाको औपचारिक उद्घाटन पछि कालेबुङ शहरको डम्बर चौक, थाना डाँडा आदि स्थानहरूमा जोडदार पटेका पड्काएर खुशीयाली मनाएका थिए। खुशीयाली मनाउनेहरूमा तृणमूल कङ्ग्रेस पार्टी कार्यकर्ताहरू पनि अघिल्लो पंक्तिमा नै रहेका थिए। उनीहरूले पनि जिल्ला गठनको खुशीयालीमा पटेका पड्काउँदै नाचगान गरेका थिए।
मुख्यमन्त्री ममता ब्यानर्जीले जिल्लाको औपचारिक उद्घाटन गरेपछि कालेबुङ जिल्लाकै मुद्दा लिएर गोर्खा जन मुक्ति मोर्चा त्यागी जन आन्दोलन पार्टी गठन गरेका डा. हर्कबहादुर छेत्रीले प्रतिक्रिया व्यक्त गर्दै कालेबुङ जिल्ला गठन पछि धेरै राहतको अनुभव गरेको बताउँदै अब कालेबुङ जिल्लालाई राज्यकै श्रेष्ठ जिल्ला निर्माण गर्नका निम्ति पहल गर्ने बताएका छन्।
"कालेबुङ जिल्ला गठनले धेरै हर्ष लागेको छ। यसको निम्ति मुख्यमन्त्री ममता ब्यानर्जीलाई धन्यवाद अनि सम्पूर्ण कालेबुङवासीलाई बधाई दिन चाहन्छु" डा हर्कबहादुर छेत्रीले भने। "जिल्ला गठन भयो अब जिम्मेवारी पनि बढेर गएको छ। अब हामी राज्यकै श्रेष्ठ जिल्ला निर्माणको निम्ति कार्य गर्नेछौँ। जिल्ला निर्माणले सही ठाउँमा सही कुरा मागेको खण्डमा पाउनेछौँ भन्ने कुरा पनि प्रमाणित भएको छ" जाप अध्यक्ष डा. हर्कबहादुर छेत्रीले भने।
यता 21 औँ जिल्लाको रूपमा कालेबुङ जिल्ला अस्तित्वमा आएपछि कालेबुङका विधायिका एवम् गोजमुमो नेत्री सरिता राईले पनि मुख्यमन्त्रीलाई अभार प्रकट गर्दै कालेबुङवासीका निम्ति ठूलो उपलब्धी रहेको मंतव्य पोखेकी छन्। "कालेबुङ जिल्ला गठन कालेबुङवासीको निम्ति ठूलो उपलब्धि हो। अब जिल्ला गठनलाई लिएर राजनीतिकरण भने हुनु हुँदैन" विधायिका सरिता राईले भनिन्।
सोहिक्रममा यता क्रान्तिकारी मार्क्सवादी कम्युनिष्ट पार्टीले पनि मुख्यमन्त्रीलाई धन्यवाद ज्ञापन गर्दै कालेबुङ जिल्ला गठनले जनताले धेरै प्रशासनिक सुविधा प्राप्त गर्न सक्ने बताएको छ। क्रामाकपा कालेबुङ आञ्चालिक समितिका अध्यक्ष किशोर प्रधानले कालेबुङ जिल्ला निर्माण पछि जनताले प्रशासनिक सुविधा सुचारू रूपले पाउनुपर्ने माग गर्दै विकासका कार्यहरूमा कुनै भेदभाव हुनु नहुने माग गरेका छन्। "जिल्ला गठनले जनताको बुनियादी सुविधा र रोजगारको बाटोहरू खोल्नेछ भन्ने हामी अपेक्षा राख्दछौँ" किशोर प्रधानले भने।
कालेबुङ जिल्ला गठनपछि प्रतिक्रिया व्यक्त गर्ने क्रममा अखिल भारतीय गोर्खालिग पार्टीका महासचिव प्रताप खातीले पनि मुख्यमन्त्रीलाई धन्यवाद दिँदै बङ्गाल सँग कुनै भाषा, संस्कृति नमिल्ने भएको भन्दै छुट्टै राज्य गठनको प्रक्रियालाई पनि अघि बढाईदिनुपर्ने माग गरेका छन्। "जसरी प्रशासनिक सुविधाका निम्ति कालेबुङ जिल्ला गठन गरिएको छ ठिक त्यसरी नै बङ्गालसँग हाम्रो भाषा, साहित्य, संस्कृति नमिल्ने भएको कारण अब छुट्टै राज्य निर्माणको निम्ति पहल गरेर बङ्गालबाट छुट्टाइदिने हामी माग गर्छौँ" अभागोलि महासचिव प्रताप खातीले भने।

Related Posts

0 Response to "विभिन्न राजनैतिक दलहरूद्वारा कालेबुङ जिल्लाको स्वागत"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.