-->
कालेबुङ महाविद्यालयमा जाप विद्यार्थी प्रकोष्ठ विजयी ....कलेजमा राजनीति होइन शिक्षाको खेती गर्नेछौँ – डा. हर्कबहादुर छेत्री

कालेबुङ महाविद्यालयमा जाप विद्यार्थी प्रकोष्ठ विजयी ....कलेजमा राजनीति होइन शिक्षाको खेती गर्नेछौँ – डा. हर्कबहादुर छेत्री

डी.के.वाइबा, कालिमन्युज, कालेबुङ 14 दिसम्बर। कालेबुङ महाविद्यालयमा सम्पन्न भएको छात्र सङ्गठनको चुनावमा जन आन्दोलन पार्टीको भातृ सङ्गठन जाप विद्यार्थी प्रकोष्ठले विजय हासिल गरेको छ। 22 वटा आसनमा सम्पन्न भएको छात्र सङ्गठनको चुनावमा मोठ 68 जना प्रार्थीहरूले चुनाव लडेका थिए। जसमध्ये जन आन्दोलन विद्यार्थी प्रकोष्ठका 22, गोर्खा जन विद्यार्थी मोर्चाबाट 23, हिल तृणमूल छात्र सङ्गठनबाट 17 अनि गोर्खाल्याण्ड राज्य निर्माण मोर्चाबाट 6 जना प्रार्थीहरूले चुनाव लडेका थिए। 
22 वटा आसनमा सम्पन्न भएको उक्त कालेबुङ महाविद्यालयको चुनावमा जन आन्दोलन विद्यार्थी प्रकोष्ठले 12 वटा आसनमा विजय हासिल गरेर बहुमत प्राप्त गरेको छ भने गोर्खा जन विद्यार्थी मोर्चाले 22 वटा आसन मध्ये 10 वटा आसनमा विजय हासिल गरेर जाप विद्यार्थी प्रकोष्ठलाई कडा टक्कर दिएको छ। यद्यपी सन् 2007 पछि पहाडमा नयाँ राजनैतिक पार्टीका रूपमा गोर्खा जनमुक्ति मोर्चाको उदयपछि कालेबुङ महाविद्यालयमा एकक्षत्र शासन गर्दै आएको गोर्खा जनमुक्ति विद्यार्थी मोर्चाले भने यसपल्टको छात्र सङ्गठनको चुनावमा पराजयको सामना गर्न परेको छ। 
गोजमुमो पार्टीको भातृ सङ्गठन गोजविमोलाई चुनौति दिँदै जन आन्दोलन पार्टीको विद्यार्थी प्रकोष्ठले यसपल्ट कालेबुङ महाविद्यालयमा पहिलोचोटी चुनाव लडेको थियो भने पहिलो चुनावमा नै उनीहरूले कालेबुङ महाविद्यालयमा बहुमत प्राप्त गरेर छात्र सङ्गठनको बोर्ड बनाउने निश्चित भएको छ। 
 कालेबुङ महाविद्यालयको छात्र सङ्गठनको चुनावमा जाप विद्यार्थी प्रकोष्ठले बहुमत प्राप्त गरेपछि यता डा. हर्कबहादुर छेत्रीसँग टेलिफोनिक कुराकानी गर्दा उनले ‘राजनैतिक परिवर्तनको लहर’ चलेको बताएका छन्। 
‘कलेजमा राजनीति गर्न हुँदैन अनि हामी राजनीति पनि गर्नेछैनौँ। विद्यार्थीवर्गले पढाईमा ध्यान दिनुपर्छ। हामी शिक्षाको खेती गर्ने काम गर्नेछौँ” डा. हर्कबहादुर छेत्रीले भने। उनले अब आफूहरूले कलेजमा शिक्षाको विकास अनि शिक्षकवर्गको समस्यालाई समाधान गर्नका निम्ति काम गर्ने पनि बताएका छन्। 
‘कालेबुङ जिल्ला गठनपछि हामी कालेबुङ कलेजलाई शिक्षाको क्षेत्रमा एउटा नमूना कलेजका रूपमा अझ विकसित गर्न सक्नेछौँ अनि यसैको निम्ति काम गर्नेछौँ’ डा. छेत्रीले अझ भने। 
 कालेबुङ माहाविद्यालयमा 22 वटा आसनमा सम्पन्न भएको छात्र सङ्गठनको चुनावको निम्ति मोठ 1 हजार 1 सय 15 जना मतदाताहरू रहेका थिए भने 799 मतदाताहरूले मतदान गरेका थिए। छात्र सङ्गठनको उक्त चुनावमा मोठ 71.66 प्रतिशत मतदान भएको महाविद्यालयका प्राचार्य डा. आर.पी ढकालले जानकारी दिएका छन्। 
उनले छात्र सङ्गठनको चुनाव शान्तिपूर्ण सम्पन्न भएको बताउँदै प्रशासन, विद्यार्थी अनि प्राध्यापकगणप्रति आभार प्रकट गरेका छन्। 
 यता चुनावलाई लिएर बिहानैदेखि कालेबुङ महाविद्यालयमा अतिरिक्त पुलिस बल सहित, सीआरपी अनि आई.आरबीका जवानहरूलाई समेत तैनाथ गरिएको थियो। राजनैतिक परिवर्तनको लहरलाई मध्य नजरमाँ राख्दै सबैको केन्द्रबिन्दुमा रहेको कालेबुङ महाविद्यालयको छात्र सङ्गठनको चुनावमा विद्यार्थीवर्गले समेत उत्साहका साथ मतदान गरेका थिए। 
22 वटा आसनमध्ये 12 वटा आसनमा जन आन्दोलन पार्टीको विद्यार्थी प्रकोष्ठले विजय हासिल गरेर बहुमत प्राप्त गरेपछि जाप प्रार्थीहरूले विजयको खुशीयाली मनाएका थिए। 
यसक्रममा जाप विद्यार्थी प्रकोष्ठका विजयी प्रार्थीहरूले महाविद्यालयको छात्र सङ्गठनको चुनावमा विजय हासिल गरेर महाविद्यालय अनि छात्रहरूको हितमा कार्य गर्ने दाबी गरेका छन्। 
‘महाविद्यालयमा हामी राजनीति होइन शिक्षाको विकास गर्न चाहन्छौँ। विद्यार्थीवर्गको समस्या अनि महाविद्यालयमा अभाव रहेको शिक्षकवर्गको आपुर्तिका निम्ति संघर्ष गर्नेछौँ’ जाप विद्यार्थी प्रकोष्ठका विजयी प्रार्थी आशिष भूजेलले भने। 
अर्कोतर्फ कालेबुङ महाविद्यालयको चुनावमा विजय हासिल गरेका जाप विद्यार्थी प्रकोष्ठले कालेबुङ शहरमा विजय जुलुस समेत निकालेका थिए। 
यसक्रममा जापका विजयी प्रार्थीहरूलाई बधाई दिन जाप कार्यकर्ताहरू समेत महाविद्यालयमा व्यापक रूपले भेला भएका थिए। उनीहरूले कालेबुङ महाविद्यालयबाट निकालेको विजय जुलुसले नगरपालिका कार्यलय परिसर भएर, थाना डाँडा, डम्बर चौक हुँदै 10 माइल फाटक भएर सम्पूर्ण शहर परिक्रमा गरेको थियो।

Related Posts

0 Response to "कालेबुङ महाविद्यालयमा जाप विद्यार्थी प्रकोष्ठ विजयी ....कलेजमा राजनीति होइन शिक्षाको खेती गर्नेछौँ – डा. हर्कबहादुर छेत्री"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.