-->
गोर्खाल्याण्डको मागमा जाप द्वारा सांसदको आवास गृह घेराउ ....मोर्चाको जन्तर मन्तरको धर्ना नाटकमात्र रहेको सांसदको भनाईबाट खुलासा - जाप

गोर्खाल्याण्डको मागमा जाप द्वारा सांसदको आवास गृह घेराउ ....मोर्चाको जन्तर मन्तरको धर्ना नाटकमात्र रहेको सांसदको भनाईबाट खुलासा - जाप

डी.के.वाइबा, कालिमन्युज, कालेबुङ 14 दिसम्बर। गोर्खाल्याण्डको मागमा एकातिर गोर्खा जनमुक्ति मोर्चाले दिल्लीको जन्तर मन्तरमा धर्ना दिइरहेको छ भने अर्कोतिर जन आन्दोलन पार्टीको केन्द्रिय युवा एकाइ अनि चेली एकाईले एक मात्र मुद्दा गोर्खाल्याण्डको निम्ति सांसद बनाएर पठाएको सांसदले गोर्खाल्याण्डको कुरा संसदमा नगरेको आरोप लगाउँदै दिल्लीको गुरूद्वारा रकाबगञ्ज 10 नम्बर कोठी स्थित सासंद एस एस आहलुवालियाको आवास गृह घेराउ गरे। 
घेराउ कार्यक्रम दिउँसोको 1 बजे देखि शुरू भएको थियो। विभिन्न स्लोगन लेखिएका प्ला कार्ड अनि पार्टीको झण्डा बोकेर बसेका जाप कार्यकर्ताहरूलाई युवा नेतृत्वहरू भुपेन राई, नरेस कुमार राई, पंकज छेत्री आदिले सम्बोधन पनि गरे। घेराउ तथा धर्ना कार्यक्रम लगभग 1 घण्टा चल्दा सांसद आहलुवालिया संसदमा उपस्थिति दिएर आफ्नो आवास आइपुगेका थिए। जाप युवा अध्यक्ष बिसाल राईले बताएअनुसार सांसदसित युवाहरूको लगभग डेढ घण्टा सम्म बहस चल्यो। 
युवाहरूले यस शीतकालिन सत्रमा जाप पार्टीद्वारा तयार गरिएको गार्खाल्याण्डको बील संसदमा पेश गरिदिने आग्रह गरियो जसलाई सांसदले पूर्ण रूपमा नकार्दै गोर्खाल्याण्डको निम्ति सांसदले भन्दा अघि बंगालको विधानसभामा दार्जीलिङका तीन विधायकले विधेयक पारित गर्नु पर्ने बताए। उनले सोझै आफु केन्द्रिय मन्त्री भएकोले गोर्खाल्याण्डको बील पेश गर्न नसक्ने तथा साधारण सांसद भएको भए मात्र गोर्खाल्याण्डको कुरा संसदमा उठाउन सक्ने बताउँदै उल्टा प्रश्न गरे, "म सक्दिन यसको निम्ति कानुनी प्रक्रिया छ के म गोर्खाल्याण्डको निम्ति मन्त्रीको पदबाट राजिनामा दिनु ?" 
 यता मोर्चाले गोर्खाल्याण्डको गठनको निम्ति राज्यको कुनै हात नरहने बताइरहेको भएपनि मोर्चाले गोर्खाल्याण्डको निम्ति पठाएको सांसदले भने उल्टा बंगाललाई नसोधी राज्य गठन गर्न नसक्ने स्पष्ट रूपमा बताए। उनले अझ भने, चुनाउको समयमा गोर्खाल्याण्डको निम्ति प्रचार गर्ने सांसदले आज गोर्खाल्याण्ड गठन गर्ऩ सोझै नसक्ने र यसको निम्ति धेरै समय लाग्ने बताउँदै अन्य समस्याहरूको भने समाधान हुनसक्ने बताए, यसले के बुझाइरहेको छ भने मोर्चा तथा मोर्चा समर्थित सांसद भारतभरीका गोर्खाहरूको सपना गोर्खाल्याण्ड प्रति इमान्दार छैनन। 
राईले आफुहरूलाई पुलिस प्रशासनले दवाव दिँदै पक्रेर थानामा हाल्ने सम्म धम्कि दिएको साथै सांसदले भनाभैरी भएको भिडियो फुटेज सम्म लिन नदिएको आरोप लगाए। सांसदको भनाइनुसार भाजपा पार्टीको पक्षबाट गोर्खाल्याण्डको निम्ति कुनै निर्देश नदिएको एवं निर्देश नदिएसम्म कुनै कार्य गर्न नसक्ने कुरा गरेर चुनाउ मेनिफेस्टोमा मात्र कुरा गर्ने भाजपाले गोर्खाहरू प्रतिको इमान्दारिता नदेखाएको राईले आरोप लगाए। 
तिनले अझै भने की, "सांसदले हामीलाई भित्र बसेर बातचित गर्ने आग्रह गरेपनि हामीले बातचित होइन तर संसदको शीतकालिन सत्रमा गोर्खाल्याण्डको बील पेश गर्ने माग राखिरहयौं। आफुले कार्य गर्न नसक्ने बताउँदै गोर्खाल्याण्डको बील पेश गर्नु गैरकानुनी रहने अनि यसरी सांसदको घरमा आएर सोध्नु गोर्खाविरोधी कार्य रहेको सांसदले बताए।" 
यता प्रवक्ता सन्दिप कुलुङले पत्रकारहरूलाई सम्बोधन गर्दै भने, "भारतभरीका गोर्खाहरूको सपना र भविष्यलाई लिएर नाटक गर्ने पार्टी होइन जाप। हामी गोर्खाल्याण्डको पक्षधर हौं तर हाम्रो छुट्टै राज्य माग्ने अवधारणा मोर्चाको भन्दा अलग छ। हामी मोर्चा जस्तो नाटक गर्न दिल्ली आएका होइनौ। जन्तर मन्तरमा धर्ना दिनु भनेको ओडारमा देउसी खेल्नु सरह हो, जनताको आँखामा धुलो हाल्ने काम मात्र हो। मोर्चाको सत्ता र जीटीए जोगाउने नाटक मात्र हो।उनले अझ भने देउसी खेल्नु हो भने घरमा खेल्नु पर्छ जुन घर हामीले पठाएको सांसद एसएस आहलुवालियाको वासस्थान अनि संसद हो जुन ठाँउबाट हामी गोर्खाल्याण्ड पाउँन सक्छौं। त्यसैले आज हामी यहाँ धरना दिन आएका छौं। जन्तर मन्तरमा धरना दिएर गोर्खाल्याण्ड सम्भव छैन भनेर मोर्चालाई थाहा हुँदाहुदै पनि आज नाटक गर्न आएको छ। यहाँ मोर्चाले आफ्नो पैसा हैन जनताको पैसा एंव जीटीएको पैसा खर्च गरिरहेको छ। जन्तर मन्तर धरना दिनकै लागी मात्र बनिएको ठाँउ हो जहाँ जसले पनि धरना दिन सक्छ, यो कुरा अब जनताले बुझिसकेको छ। अहिलेको मोर्चाको धरना गोर्खाल्याण्ड गठनको निम्ति होइन जनतालाई फेरी अर्को धोका दिन गोर्खाल्याण्ड गठनको निम्ति तथाकथित कमिटि गठनको निम्ति मात्र हो कुलुङले भने। 
सांसदलाई हामीले एक मात्र मुद्दा गोर्खाल्याण्डको निम्ति भोट दिएर दार्जीलिङबाट संसद पठाएका हौं। आजसम्म सांसदले गोर्खाल्याण्डको कुरा संसदमा नउठाउनु, सांसदले सक्दिन भन्नु अनि राष्ट्रिय स्तरमा बहस हुन नसक्नु गोर्खा जनमुक्ति मोर्चाको कमजोरी हो। आज आएर मोर्चा अध्यक्ष स्वंय आमरण अनसन बस्नु भनेको आफुले पठाएको सासंदलाई काम लगाउन नसकेर आफ्नो कमजोरीपनलाई जनता अघि लुकाउन खोजेको मात्र हो। हामी मोर्चालाई भन्न चाहन्छौं गोर्खाल्याण्ड प्राप्तिको निम्ति पहाड बन्द, क्रमिक अनसन, जन्तर मन्तरमा धरना जस्ता कार्यक्रम ठिक होइन, जहाँबाट गोर्खाल्याण्ड सम्भव छ त्यहाँ माग्नु पर्छ। जसलाई गोर्खाल्याण्डको निम्ति प्रतिनिधि पठाएका छौं उनलाई हामीले दवाव दिन सक्न पर्छ। गोर्खाल्याण्ड जन्तर मन्तरमा होइन संसदमा बनिन्छ त्यसैले संसदमा जाउँ, सासंदहरूलाई गोर्खाल्याण्डबारे औचित्य बुझाउन सक्न पर्छ। हामी भारत देशको राष्ट्रियतालाई अनि अखण्डतालाई सम्मान गर्छौ, तर गोर्खा जातिले देशलाई दिएको योगदानको कदर आजसम्म भएको छैन, अब देशले गोर्खा जातिलाई न्याय र अधिकार दिने पालो आएको छ।" 
तिनाले अझै भने कि देशमा सरकार चलाउने पार्टीले भारत भरीको गार्खाहरूलाई न्याय दिन्छु भन्ने बाचा गरेको कारण हामीले दुईचोटी सरकारलाई भोट दिएर सांसद दिइसकेका छौं। तर आज सम्म सरकारको पक्षबाट कुनै प्रकारको पहल नभएको कारण हामी संसदको ढोका ढकढकाउन दिल्ली आएका हौं। हामी मोर्चा जस्तो नाटक गर्न आएका होइनौ। हाम्रो क्षेत्रको राजनैतिक प्रतिनिधि भनेको सासंद एवं केन्द्रिय मन्त्री एस एस आहलुवालिया हुन्। जन प्रतिनिधि भएको नाताले उनले नै आफ्नो क्षेत्रको मतदाताहरूको जनकांक्षालाई सरोकारमा लिएर काम गर्नु पर्ने उनको नैतिक जिम्मेवारी हो तर विगत अडाई वर्षदेखि हाम्रो सांसदले संसदमा हाम्रो दीर्घकालिन माग गोर्खाल्याण्डको निम्ति कुनै ठोस आवाज उठाउन सकेनन्। यसैले केन्द्रमा सत्तासिन भाजपा माथि पनि गोर्खाहरूको राष्ट्रिय चिन्हारी र सुरक्षाको सन्दर्भमा न्याय दिने पक्षमा संका गर्ने ठाँउ स्पष्ट देखिन्छ। 
राईले भने "यदि सांसद साथै भाजपा गोर्खाल्याण्ड प्रति इमान्दार छन् भने संसदको शीतकालिन अधिवेशनमा जन आन्दोलन पार्टीद्वारा तयार गरिएको विधेयक संसदमा पेश गरिनु पर्छ। यसरी संसदमा गरेखाल्याण्डको विधेयक पेश गरिसकेपछि राष्ट्रिय स्तरमा छुट्टै राज्य गोर्खाल्याण्ड माथि राजनैतिक बहस हुने थियो। साल 2009मा तत्कालिन भाजपाका हेभिवेट मानिएका जसवन्त सिहँलाई भारी मात्रामा जनमत दिएर सांसद बनायौं तर तत्काल केन्द्रमा भाजपाको सरकार गठन नहुँदा भाजपालाई राजनैतिक दवाव दिन नसकिने अवस्था थियो तर साल 2014मा हाम्रो क्षेत्रबाट भाजपाका एस एस आहलुवालियाले भारी जनमतका साथ संसदिय चुनाउ जिते। केन्द्रमा भाजपाको पूर्ण बहुमतको सरकार बनियो। प्रधानमन्त्री नरेन्द्र मोदी स्वयंले "गोर्खाको सपना मेरो सपना" भनेर छुट्टै राज्य गोर्खाल्याण्ड पन्थीहरूलाई सपना हेर्ने बनाएका थिए तर आज केन्द्रमा भाजपा सरकारको अडाई वर्षको कार्यकाल बितिसक्दा पनि छुट्टै राज्य माथि सरकारद्वारा कुनै पहल हुन सकेन। 
तिनाले अझै थापे, "दार्जीलिङ पहाडमा चुनाउको हावा वहन थाले पछि अहिले जीटीएमा सत्तासिन गोजमुमोले फेरी गोर्खाल्याण्डको नाम गरेर चुनाउ प्रचार गर्ने र अर्को पट्टी आफ्नो राजनैतिक सत्ता जोगाउने कसरत गरिरहेको जनता सामु स्पष्ट छ। तर जनताले अब मोर्चालाई पत्याउने छैनन् किनभने आजसम्म संसदमा आठवटा सत्र बितिसक्दा पनि मोर्चाले सांसद एस एस आहलुवालियालाई कुनै राजनैतिक दवाव दिने प्रयत्नसम्म गरेन। यसैले स्पष्ट हुन्छ कि गोर्खाल्याण्डको माग प्रति गोजमुमो र भाजपा दुवै इमान्दार छैन तर उनीहरूकोलागी आज ठुलो मुद्दा भनेको जनता र जन भावनालाई छल गरेर आफ्नो राजनैतिक सत्ता र शक्तिलाई सुरक्षित राख्नु मात्र हो। मोर्चाको दिल्ली धरना आगामी पञ्चायत चुनाउ, नगरपालिका चुनाउ अनि जीटीए चुनाउको वार्मअप मात्र हो। मोर्चाले आजसम्म गोर्खाल्याण्डको मुद्दा मागिखाने भाडा बनाएर राखेको छ तर अब जन आन्दोलन पार्टीका युवाहरूले मागीखाने भाडा बनाउन कुनै पनि हालतमा बनाउन दिने छैनौं।"

0 Response to "गोर्खाल्याण्डको मागमा जाप द्वारा सांसदको आवास गृह घेराउ ....मोर्चाको जन्तर मन्तरको धर्ना नाटकमात्र रहेको सांसदको भनाईबाट खुलासा - जाप"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.