-->
जापले भावि कार्यक्रमको घोषणा दार्जिलिङको जनसभाबाट गर्ने ..... जापले राजनैतिक अन्योलता स्पष्ट पार्नेछ – डा. हर्कबहादुर छेत्री

जापले भावि कार्यक्रमको घोषणा दार्जिलिङको जनसभाबाट गर्ने ..... जापले राजनैतिक अन्योलता स्पष्ट पार्नेछ – डा. हर्कबहादुर छेत्री

डी.के.वाइबा, कालिमन्युज, कालेबुङ 21 अक्टोबर। जन आन्दोलन पार्टीले दार्जिलिङ पहाडको डावाडोल राजनैतिक संकटलाई चिरफार गरेर जनतालाई निकास दिलाउने कार्यमा लागिपरेर वैकल्पिक राजनैतिक दलको रूपमा उदय भएको डा. हर्कबहादुर छेत्रीले दाबी गरेका छन्। अहिलेघरी पहाडका जनता राजनैतिक दिशा हराएर अन्योलतामा बाँच्न परिरहेको कारण ती अन्योलपूर्ण जनतालाई निकास दिलाउन अहिले राजनैतिक सङ्कटलाई स्पष्ट पार्न जन आन्दोलन पार्टीले आगामी 23 अक्टोबरका दिन दार्जिलिङमा पहिलो जनसभाको आयोजना गरिरहेको पनि जाप अध्यक्ष डा. हर्कबहादुर छेत्रीले बताएका छन्। 
उनले दार्जिलिङमा आयोजित जनसभाबाट आगामी दिनहरूको कार्यक्रमको समेत घोषणा गर्ने बताएका छन्। ‘पहाडको राजनीति कतातिर गइरहेको छ? नेताले के भन्दैछ अनि जनतालाई कतातिर लाँदैछ? यो सम्पूर्ण अन्योलताहरूलाई हामी जनसभाबाट उदाङ्गो पार्नेछौँ’ – डा, हर्कबहादुर छेत्रीले भने। तिनले हाल दार्जिलिङमा हुने जनसभालाई लिएर पार्टी कार्यकर्ताहरूले काम गरिरहेको जानकारी दिदै कतिपय कार्यक्रमहरूले व्यस्त बनेको कारण दार्जिलिङमा जनसभामा आयोजना गर्न नसकिरहेको जानकारी दिए। 
‘हामीलाई दार्जिलिङ, खर्साङका जनताले आएर जनसभा गर्नु भनिरहेका थिए। कतिपय पार्टीकै कार्यहरूले त्यहाँ जनसभा गर्न सकेका थिएनौँ। अब हामी हाम्रो जन आन्दोलन पार्टीलाई दार्जिलिङमा जनसभा गरेर बैकल्पिक पार्टीको रूपमा उभ्याउन लागेका छौँ’ डा. छेत्रीले अझ भने। उनले पत्रकारहरूलाई सम्बोधन गर्ने क्रममा गोजमुमो पार्टीको नाउँ नलिए पनि कटाक्ष गर्न भने पछि परेनन्। 
‘अहिले अन्योलपूर्ण राजनीति हुँदैछ। मुद्दा कता र पार्टी कता जाँदैछ भन्ने नेताहरूलाई नै थाहा छैन। यस्तो अवस्थामा हामी राजनैतिक अन्योलता समाप्त गर्ने कार्य गर्नेछौँ’ छेत्रीले अझ भने। यसक्रममा दार्जिलिङमा सम्पन्न हुने जापको जनसभालाई आगामी हुने नगरपालिका चुनावको पूर्व अभ्यास हो भनि प्रश्न गरेको सन्दर्भमा उनले यो चुनावी पूर्व अभ्यास होइन भने। ‘जाप चुनाव लड्नका निम्ति मात्रै जन्मेको पार्टी होइन। तर हामी राजनैतिक कार्यलाई अघि बढाउँदै जाँदा आउने सम्पूर्ण अघि आउने चुनावहरू भने लड्नेछौँ’ डा. छेत्रीले स्पष्ट पारे। 
‘एकसमय जनतालाई विकल्प थिएन। अहिले विकल्प तयार भएको छ। नरूच्ने गाँस खान पर्ने अवस्था अहिले छैन। जनतालाई हामी मनपर्छ भने हामीसँग आउन सक्नेछन् अनि मनपर्दैन भने अन्य दलहरूसँग जोड्न सकिने विकल्प छ। अब एकक्षत्र तानाशाहीको राजनीति यहाँ चल्दैन’ छेत्रीले भने। 
उनले कुराकानीको क्रममा अहिलेघरी दार्जिलिङ पहाडमा कुनै पनि मुद्दाले समाधान नपाएको दाबी गर्दै समस्या समाधान गर्छु भन्ने राजनैतिक दलले जनहितमा कार्य नगरेको आरोप लगाए। 
यसक्रममा जापले जनताको विविध समस्याहरूलाई समाधान गर्नका निम्ति आधारभूत कार्यहरूलाई पहिलो प्राथमिकता दिएर कार्य गरिरहेको स्पष्ट पारे। ‘जता छोए पनि समस्या नै समस्या छ। अस्थायी कर्मचारीको समस्या, सिन्कोनाबारी र चियाबारीको समस्या, पानी, बाटो मोटर स्ट्याण्ड जता हेर्‍यो त्यहीँ समस्या छ। काम गर्छु भन्नेहरूले गरेको छैन। अब हामी जनताको प्राथमिक समस्या समाधान गर्दै छुट्टै राज्य गठनको बाटोमा अग्रसर बन्नेछौँ’ डा. छेत्रीले अझ भने। 
अर्कोतर्फ आज जन आन्दोलन पार्टीले यहाँको पार्टीको कार्यलयमा दसैँ तिहार कार्यक्रम पालन गरेको छ। उक्त दसैँ तिहारको कर्यक्रममा जाप कार्यकर्ताहरूको विशेष उपस्थिति रहेको थियो। यसबारे बोल्दै जाप अध्यक्ष डा. छेत्रीले पार्टी कार्यकर्ताहरूलाई हरेक कार्यक्रमसँग जोडेर राख्नका निम्ति जापले यसरी प्रत्येक कार्यक्रमहरू पालन गर्दै आइरहेको बताएका छन्।

Related Posts

0 Response to "जापले भावि कार्यक्रमको घोषणा दार्जिलिङको जनसभाबाट गर्ने ..... जापले राजनैतिक अन्योलता स्पष्ट पार्नेछ – डा. हर्कबहादुर छेत्री"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.