
राष्ट्रिय राजमार्ग 10को वैकल्पिक मार्ग निर्माण हुनपर्ने आवाज उठ्दैछ
राष्ट्रिय राजमार्ग 10 को वैकल्पिक सडकको रूपमा सिक्किम अनि कालेबुङलाई जोड्नका निम्ति कालेबुङ महकुमा अधिनस्थ रेली-सिञ्जी भएर पन्बु हुँदै कालिझोडा निस्कने वैकल्पिक सडक निर्माण हुनपर्ने रेली समथार समष्टिका गोजमुमो अध्यक्ष कमल शर्माले माग गरेका छन्। उनले यसबारे पार्टीगत रूपमा कार्य चलिरहेको बताउँदै विभागले वैकल्पिक सडक निर्माण गर्नुपर्ने बताएका हुन्।
आज एउटा पत्रकार सम्मेलनको आयोजना गर्दै शर्माले बताएअनुसार अहिले राष्ट्रिय राजमार्गको जुन कहाली लाग्दो अवस्थाले मानिसहरू त्रासदीपूर्ण यात्रा गर्न बाध्य भइरहेका छन् भने भविष्यमा कुनै पनि समय राष्ट्रिय राजमार्ग बन्द हुनसक्ने सम्भावना पनि प्रशस्तै रहेको छ। देशलाई आपतकालिन स्थिति आइपरेको खण्डमा राजमार्गको अवस्थाले गर्दा नै ठूलो धोका सम्म भोग्नपर्ने स्थिति पनि आउनसक्ने आशङ्का व्यक्त गर्दै उनले उक्त स्थिति आउनअघि नै सिञ्जी भएर पन्बु हुँदै कालिझोडा निस्कने सडकलाई वैकल्पिक सडकको रुपमा तयार गर्नुपर्ने आवश्यक्ता रहेको शर्माले बताए। सिक्किमको निम्ति पनि उक्त सडकलाई वैकल्पिक रुपमा निर्माण गरि प्रयोग गरिएको खण्डमा धेरै नै सुविधा हुने दाबी पनि उनले गरे।
उनले भने- “सिक्किमवासीहरू पनि रम्फुबाट मन्सोङ हुँदै कालेबुङको बाह्रमाइल निस्केर रेली हुँदै सिञ्जी भएर सिलगडी पुग्न सक्नेछन्। यसरी सिक्किमको निम्ति पनि यो सडक धेरै नै लाभदायक हुनेछ।” उक्त सडक भएर कालेबुङबाट सिलगडीपुग्न लगभग 77 किलोमिटर मात्र लाग्ने अनि उक्त सडक ग्रामीण क्षेत्रहरू हुँदै जाने भएकाले जामको समस्या नहुने साथै पैह्रोग्रस्त क्षेत्रहरू पनि धेरै कम्ति पर्ने भएकाले सडक बन्द हुने आशङ्का पनि धेरै नै कम्ति रहने उनले बताए। हालमा पनि उक्त सडक भएर गाडीहरू कुदिरहेको भए पनि यसलाई वैकल्पिक सडक बनाउनको निम्ति यसलाई चौडीकरण गरि अलकत्र विछ्याउन आवश्यक रहेको उनले बताए। यस विषयलाई लिएर आफूले क्षेत्रका सभासद लगायत अन्य मानिसहरूसँगै सांसदसँग पनि कुराकानी गरिसकेको अवगत गराउँदै चाँडै नै यसको ब्लूप्रिन्ट बनाएर सांसदको माध्यमबाट केन्द्रसमक्ष यो माग पुऱ्याउने जमर्को गरेको उनले बताए। यस सडकको निर्माण भएको खण्डमा कालेबुङवासीहरू लगायत सिक्किमले पनि ठूलो समस्याबाट निजात पाउने कुरा अकाट्य रहेकोले यस मागलाई कालेबुङवासी, सङ्घ-संस्था, राजनैतिक पार्टीहरू लगायत सिक्किम सरकारले पनि सहयोग पुऱ्याउन आवश्यक रहेको शर्माले बताए।
अर्कोतिर उनले हालमा राष्ट्रिय राजमार्गको जुन अवस्था छ त्यो एनएचपीसीकै कारण भएको आरोप लगाए। एनएचपीसीको प्रोजेक्ट अन्तर्गत 9 वटा टर्बन चलाएर दिनमा 18 करोड कमाए पनि कालेबुङ अनि सिक्किमको निम्ति लाइफलाइन मानिएको राष्ट्रिय राजमार्ग भने कुनै पनि समय बन्द हुने अवस्थामा पुऱ्याएको आरोप लगाउँदै नियमअनुसार दैनिक कमाइबाट 2 प्रतिशतको कमाइ प्रोजेक्ट संलग्न क्षेत्रहरूमा विकास कार्यको निम्ति खर्च गरिनुपर्ने भए पनि एनएचपीसीले उक्त पहल नगरेको आरोप पनि शर्माले लगाए।
एनएचपीसी अधिकारीहरूले विभिन्न क्षेत्रहरूको विकासार्थ धेरै कार्य गरेको बयान दिएकोछ यद्यपि आफू स्वयं पनि प्रोजेक्ट संलग्न ग्रामीण क्षेत्रमा नै रहेकाले अनि उक्त क्षेत्रहरूमा विकासको निम्ति विविध माग राखे पनि एनएचपीसीले भने केही नगरेको आरोप उनले लगाए। यसर्थ एनएचपीसीलाई लिएर केन्द्रसमक्ष उजुरी गर्ने निर्णय पनि आफूहरूले लिएको जानकारी पनि शर्माले दिए।
0 Response to "राष्ट्रिय राजमार्ग 10को वैकल्पिक मार्ग निर्माण हुनपर्ने आवाज उठ्दैछ"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.