-->
सघन स्थितिमा घर-करेसोमा सफलतापूर्वक वनराज कुखुरा पालन

सघन स्थितिमा घर-करेसोमा सफलतापूर्वक वनराज कुखुरा पालन

पीआइबी, कालिमन्युज, गांतोक, 19 सेप्टेम्बर 2016: वनराज कुखुराको प्रजाति आइसीएआर-कुखुरा पालन शोध निर्देशालय (डीपीआर), हैदराबादद्वारा दोहोरो उद्देश्यले विकसित गरिएको प्रजाति हो| रैथाने कुखुरासँग यसको स्वरूपले मेल खाने हुँदा सिक्किमका कुखुरापालकहरूले यस प्रजातिलाई सहजै स्वीकार गरेका छन्‌| तर यो प्रजाति छिटै बढ्‌ने र अण्डा उत्पादनको सन्दर्भमा स्थानीय प्रजातिभन्दा धेरै फाइदाकारी रहेको छ| 
यस प्रजातिलाई सिक्किमे कुखुरापालकहरूले रोज्नु र रुचाउनुको अन्य कारणमा यसको आकर्षक रङबिरङ्गी स्वरूपका साथमा पाल्नमा कम लागत, रोगरोधी क्षमतालगायत यसले पार्ने खैरो रङको ठूलो अण्डा पनि हो| यसका अतिरिक्त यो प्रजाति घर-करेसोमा पाले यसले कीरा-फटेङ्‌ग्रादेखि लिएर घॉंसपात पनि खाने गर्दछ| सिक्किमका केही कुखुरापालकले अर्ध-सघन परिवेशमा पाल्दा यस प्रजातिका कुखुरालाई नरम घॉंस पनि चारोको रूपमा दिने गर्दछन्‌| 
यो प्रजातिले सिक्किमको जलवायुसित मेल खाने र राम्ररी बढ्‌नका साथमा सामान्यभन्दा धेरै अण्डा पार्ने गरेको यस प्रजातिका कुखुरापालकहरूबाट बटुलिएको तथ्याङ्कले पनि स्पष्ट पार्दछ| सिक्किमको चारै जिल्लामा यस प्रजातिले राम्रै प्रदर्शनी गरिरहेको छ| तादोङस्थित तत्कालीन आइसीएआर सिक्किम र हाल आइसीएआर-राष्ट्रिय जैविक खेती शोध संस्थान (एनओएफआरआइ) -द्वारा वनराज प्रजातिको कुखुरा २०१० देखि आइसीएआर-डीपीआर, हैदराबादद्वारा वित्तपोषित पोल्ट्री सीड प्रोजेक्ट अन्तर्गत शुरु गरिएको थियो| सिक्किममा यस प्रजाति भित्र्याइएदेखि नै चारै जिल्लामा आइसीएआर-एनओएफआरआइको प्राविधिक हस्तक्षेपअनुरूप लोकप्रिय बनाइएको छ| 
वनराजको माउका लागि चिङनाहरू डीपीआर-हैदराबादबाट ल्याएर आइसीएआर-एनओएफआरआइको कुखुरा एकाइमा ओथ्र्याउने अण्डा अनि एकदिने चिङना उत्पादनको निम्ति हुर्काउने गरिन्छ| परियोजनाको जनजाति उपयोजना (टीएसपी) अन्तर्गत यस संस्थानले वनराज प्रजातिको एकदिने चिङना निःशुल्क रूपमा सिक्किमका जनजाति कृषकहरूलाई वितरण गर्ने गर्दछ| बितेको वित्त वर्षमा यस संस्थानले ५३,४०७ वटा चिङना कुखुरापालकहरूलाई वितरण गरेको थियो| यसमध्ये ४७,७०८ वटा चिङना टीएसपी परियोजना अन्तर्गत जनजाति कुखुरापालकहरूलाई निःशुल्क रूपमा वितरण गरिएको थियो| 
आइसीएआर-एनओएफआरआइको हस्तक्षेपको परिणामस्वरूप ग्रामीण कृषकहरूले वनराज प्रजातिको कुखुरा पालनमार्फत् आफ्नो पोषण स्तरका साथमा आजीविका सुरक्षाको आधारमा सुधार ल्याउन सकेका छन्‌| सिक्किमको अर्ध-शहरी साथै ग्रामीण भेकमा वनराज कुखुराको अण्डाको माग धेरै रहेको छ भने अण्डा १० रुपियॉंदेखि २० रुपियॉं गोटाको दरले बिक्ने गर्दछ र यहॉंको रैथाने बस्तीको अण्डाजस्तै देखिने हुँदा मानिसहरूमा यो धेरै लोकप्रिय पनि बनेको छ| 
सिक्किमका कुखुरापालक कृषकहरू दुवै अण्डा अनि मासुको निम्ति यो प्रजातिको कुखुरा पाल्न धेरै उत्सुक देखिएका छन्‌| चालू वित्त वर्षमा पनि हालसम्म २५ हजार वनराजा प्रजातिको चिङना वितरण गरिसकिएको छ| निगरानीका साथमा परामर्शी सेवा प्रदान गर्न गाउँ-घरको दौडाहा गर्दा वनराज प्रजातिको पोथीले ६०-७० प्रतिशतको औसतमा अण्डा पार्ने गरेको र छिप्पिएको पोथीको ओजन २.२५ देखि ३ केजी र भालेको ओजन ३ देखि ४.५ केजीसम्म हुने गरेको पाइएको छ| सिक्किमको पूर्व र दक्षिण जिल्लामा यस प्रजातिले राम्रो प्रदर्शनी गरिरहेको छ| 
एउटा पोथीले वार्षिक औसतमा १२० देखि १५० वटा अण्डा पार्ने गरेको पाइएको छ| वनराजा प्रजातिको उत्पादन क्षमतालाई लिएर कुखुरापालकहरू धेरै सन्तुष्ट छन्‌| कुखुराको अण्डाका साथमा मासुको मूल्यको हिसाबले सिर्जना हुने आमदानी ठाउँअनुसार फरक-फरक रहेको पाइएको छ| एउटा कुखुराको अण्डा अनि मासुको बिक्रीबाट प्राप्त हुने आमदानी १८ सय रुपियॉंदेखि २५ सय रुपियॉंसम्म रहने गरेको पाइएको छ| 
सिक्किमका अधिकांश कुखुरापालकले घर-करेसोमा कुखुरा पाल्ने गरेको भए तापनि केहीले ३-४ महिनाभित्रै मुनासिब आमदानी गर्न मासु उत्पादनको निम्ति विशेष रूपमा सघन तरिकाले यस प्रजातिको पालन शुरु गरेका छन्‌| तिमी-तार्कूकी श्रीमती मधु तिवारीको यस सन्दर्भमा सफल गाथा उल्लेखनीय छ| उनले गत दुई वर्षदेखि आफ्नो एउटा पुरानो घरलाई कुखुराको खोरमा परिणत गरी वनराजा प्रजातिको कुखुरा पाल्न शुरु गरेकी छन्‌| खोर स्थानीय रूपमा उपलब्ध सामानहरू जस्तै माटो, काठ, बॉंस अनि जस्तापाताद्वारा निर्मित छ| 
उनको खोरमा २५० भन्दा धेरै कुखुरा अटाउन सक्ने छैन, तर आउने चाडबाडलाई ध्यानमा राख्दै उनले कुखुरा पाल्न शुरु गरेकी हुन्‌| यी कुखुरालाई व्यावसायिक रूपमा उपलब्ध आहार दिएर सघन स्थितिमा पाल्दै आएकी छन्‌| यस कामको निम्ति उनलाई थप खेतालाको आवश्यकता पर्दैन| उनले बिहान र बेलुकी आधा-आधा घण्टा मात्र कुखुरालाई दाना-पानी दिनको निम्ति दिने गर्छन्‌| आवश्यक खोप अनि शुरुमा उपचार र पौष्टिक औहार जस्ता सामान्य हेरचाहपछि पनि कुखुराहरू राम्ररी सप्रने-बढ्‌ने गरेका छन्‌| 
तीन महिनाको समयमै १.७ केजीदेखि ३ केजीसम्म यस प्रजातिको कुखुरा बढ्‌ने गर्दछन्‌| तीन महिना नपुग्दै बेच्न शुरु गर्दै चार महिनाको पुग्दा-नपुग्दै उनले सबै कुखुरा बेचिसक्ने गर्दछन्‌| यस प्रकारले सालमा ३ पटक उनले कुखुरा हुर्काउने गर्दछन्‌| प्रत्येक खेपमा उनले चिङनाको खरिद र अन्य स्याहार-सुसारको खर्च काटी एक लाख रुपियॉं कमाउने गर्दछन्‌| 
उनले आफ्नो काम खुबै नियोजित तरिकाले गरेको हुँदा सालमा तीन खेप कुखुरा निकाल्न समयमै आइसीएआर-एनओएफआरआइमा चिङनाको माग आवेदन राख्ने गर्दछन्‌| सघन परिवेशमा वनराज कुखुरा पालनबाट उनी अति नै सन्तुष्ट छन् र मासु उत्पादनको निम्ति उनले यस पेशालाई कायम राखेकी छन्‌| वनराज कुखुरा पालनबाट उनले सालेनी तीन लाख रुपियॉंभन्दा धेरै आमदानी गरिरहेकी छन्‌| आवश्यक परे अनुसार प्राविधिक सहयोगको निम्ति उनी सधैं आइसीएआर-एनओफआरआइसँग सम्पर्कमा रहने गर्छन्‌| 

Related Posts

0 Response to "सघन स्थितिमा घर-करेसोमा सफलतापूर्वक वनराज कुखुरा पालन"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.