-->
हरहिसाब बारे राज्य अनि जिटिएमाझ खिँचातानी ....काम गर्न चाहन्छौ भने हिसाब देऊ – ममता ब्यानर्जी

हरहिसाब बारे राज्य अनि जिटिएमाझ खिँचातानी ....काम गर्न चाहन्छौ भने हिसाब देऊ – ममता ब्यानर्जी


डी.के.वाइबा, कालिमन्युज, कालेबुङ 23 सितम्बर। ‘जिटिए सरकारको अधिनमा छ, नगरपालिका पनि सरकारको अधिनमा छ। जिटिए अनि नगरपालिकामा जति पनि पैसाहरू आउँछ त्यो सरकारले दिएको पैसा हो। चारवर्ष भन्दा बेसी जिटिए र नगरपालिकाको सत्तामा बसेर कति विकास गर्न सक्यौ? खै त विकास भएको? आजसम्म तिमीहरूलाई विकास गर्नका निम्ति सरकारले 3 हजार 30 करोड प्रदान गरिसकेको छ। खै त यत्रो पैसाले विकास गरेको?’ – उक्त कुरा बङ्गालकी मुख्यमन्त्री ममता ब्यानर्जीले पश्चिम बङ्गाल तामाङ विकास अनि सांस्कृतिक बोर्डको दोस्रो स्थापना दिवस कार्यक्रमलाई सम्बोधन गर्दै भनेकी हुन्। 
निकै खरो मुडमा देखिएको मुख्यमन्त्री ममता ब्यानर्जीले बिहिबार यहाँको मेला ग्राउण्डबाट जिटिएलाई 4 हजार करोड रूपिया दिएको दाबी गरेकी थिइन्। मुख्यमन्त्रीको उक्त दाबीलाई चुनौति दिँदै जिटिए प्रमुख विमल गुरुङले दार्जिलिङमा 4 हजार करोडको हिसाब देखाउनु पर्ने चुनौति दिएपछि मुख्यमन्त्रीले यता कालेबुङबाट जिटिएमा सरकारले पठाएको पैसाको एकमुष्ठ रकमको हरहिसाबबारे सार्बजनिक गरेकी हुन्। 
उनले जिटिएलाई आजसम्म सरकारले पठाएको 3 हजार 30 करोड रूपिया केवल ‘हिल एफियर्स डिपार्टमेन्ट’ मार्फत मात्र आएको अनि अन्य विभागहरू मार्फत आएको पैसाको हरहिसाब गर्न बाँकी नै रहेको जिल्ला प्रशासनको शिर्षस्थ सुत्रले जानकारी दिएको छ। 
आजसम्म जिटिएमा केवल केन्द्र सरकारबाट आएको पैसाले मात्र विकास गरिरहेको जिटिए प्रमुखको दाबीलाई नाउँ नलिई खारेज गर्दै उनले ‘पैसा पैसा हो। चाहे त्यो केन्द्रले दिएको होस् अथवा राज्यले दिएको होस्। तिमीहरूलाई दिएको पैसा कहाँ खर्च गर्‍यौ? सरकारी पैसाको हिसाब चाहिन्छ। काम गर्न चाहन्छौ भने हिसाब देऊ’ भनिन्। 
‘चारवर्षसम्म सत्तामा बसेपछि अब चुनाव आउने समयमा आन्दोलन र बन्द गर्छु भन्ने धम्कि नदेऊ। बन्दले कसको नोक्सान हुन्छ? यहाँको किसान, पसले, विद्यार्थी, पर्यटकलाई नोक्सान पुग्छ अनि त्यो हुन म दिनेछुइन’ ममता ब्यानर्जीले अझ भनिन्। 
यसक्रममा उनले ‘हम डरते नहीँ डराते नहीँ’ भन्दै मोर्चा नेताहरूलाई बन्द र आन्दोलनको धम्कि नदिने ठाडो चुनौति पनि दिइन्। उनले जिटिएलाई काम गर्नमा असुविधा भएको छ भने सरकारसँग बसेर आलोचना गर्न सक्ने अनि यसको निम्ति सरकारको ढोका खुल्ला रहेको पनि जनाइन्। 
सरकारले विकास गर्न चाहनेहरूलाई जहिले पनि सहयोग गर्न चाहेको बताउँदै तर सरकारले दिएको प्रत्येक पैसाको भने हिसाब देखाऊनुपर्ने उनले जनाइन्। यसक्रममा जिटिएले पनि आजसम्म सरकारले दिएको प्रत्येक पैसाको हिसाब देखाए अझ विकासको निम्ति पूर्ण रूपले सहयोग गर्ने प्रतिबद्धता पनि जाहेर गरिन्। यद्यपी आजसम्म विभिन्न विभाहरू मार्फत जिटिएको विकासका निम्ति पठाएको धनराशीको प्रयोग नगरेको ममता ब्यानर्जीले आरोप लगाइन्। 
लगभग 25 मिनट लामो सम्बोधनमा उनले आज जिटिएका नेताहरूलाई नै केन्द्रबिन्दु बनाएर सरकारले दिएको पैसा प्रयोग गर्न नसकेको आरोप लगाइरहेकी थिइन्। यक्रममा उनले गोजमुमो पार्टीका नेताहरूको नाउँ भने लिएनन्। 
उनले आफु पहाड भ्रमणमा आउँदा यहाँका नेताहरूलाई असुविधा हुने गरेको बताउँ ‘के मैले पहाड आउनलाई सोध्नुपर्छ? यहाँको जनताको काम गर्न म एकपल्ट होइन लाख पल्ट पहाड आउनेछु’ ममता ब्यानर्जीले अझ भनिन्। विगतमा बङ्गालका नेताहरू पहाडका जनताको दु:ख सुख बुझ्न आउने नगरेको बताउँदै आफुले पहाडका जनता खुशी होस् भन्ने चाहना राखेर बारम्बार आउने गरेको पनि जानकारी गराइन्। 
‘म पहाडलाई जलाउनु होइन् शान्तिको निम्ति आउँछु’ उनले भनिन्। ‘यहाँका जनतालाई तिमीहरूले हेर्ने कार्य गरेनौँ। जनताको समस्यालाई समाधान गर्ने काम गरेनौँ। यसैकारण मैले यहाँ जनताको निम्ति विकास बोर्ड बनाएर काम गर्न परेको हो। तिमीहरूले जनताको समस्यालाई समाधान गरेको भए आज मैले यसरी आएर काम गर्न पर्ने आस्वश्यक्ता पर्ने थिएन्’ ममता ब्यानर्जीले गोजमुमो नेताहरूलाई कटाक्ष गर्दै भनिन्। 
यसक्रममा तामाङ विकास बोर्डले यहाँका मानिसहरूलाई आईएएस, आईपीएस, डब्ल्युबीसीएस परिक्षा बसाएर उच्च पदमा पुर्‍याउने चाहना राखेको आफुलाई प्रस्ताव राखेको बताउँदै यसबारे पनि सरकारले काम गर्ने आश्वासन दिइन्। 
उनले पहाडमा बहुतल्ले भवन निर्माण गरेर मात्र विकास नहुने बताउँदै जनताको स-साना समस्या पुर्ति गर्नु पर्ने अनि सो समस्याहरूलाई आज आफुले विकास बोर्डहरूको माध्यमबाट पुरा गरिरहेको दाबी गरिन्। 
उनले आफ्नो सम्बोधनमा पीडब्ल्युडी मन्त्री अरूप विश्वासको पुत्ला जलाएको प्रसङ्ग झिक्दै ‘जति पुत्ला जलाउँन सक्छौँ जलाऊ। हामी काम गर्छौँ। मन्त्री अरूप विश्वास अझ धेर पहाड आएर विकास कार्यहरू गर्नेछन्’ भनिन्। यसक्रममा ‘नकारात्मक काम गर्नेहरूलाई जनताले उखेलेर फ्याँक्नुपर्छ’ पनि भनिन्। यसक्रममा उनले अहिलेसम्म लेप्चा विकास बोर्ड अनि तामाङ विकास बोर्डले खुबै राम्रो कार्य गरिरहेको बताउँदै अन्य विकास बोर्डहरूलाई पनि यसरी नै राम्रो काम गर्नुपर्ने निर्देश दिइन्।

0 Response to "हरहिसाब बारे राज्य अनि जिटिएमाझ खिँचातानी ....काम गर्न चाहन्छौ भने हिसाब देऊ – ममता ब्यानर्जी"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.