तामाङ विकास बोर्डलाई 15 करोड रूपियाँको चेक प्रदान हामीले बोर्ड मार्फत विकास गरेर प्रमाणित गरेका छौँ – सञ्जय मोक्तान
डी.के.वाइबा, कालिमन्युज, कालेबुङ 23 सितम्बर। पश्चिम बङ्गाल तामाङ विकास अनि सांस्कृतिक बोर्डको दोस्रो स्थापना दिवस आज यहाँको होम्स ग्राउण्डमा पालन गरिएको छ। यस अवसरमा मुख्यमन्त्री ममता ब्यानर्जी मुख्य अतिथिका रूपमा उपस्थित रहेकी थिइन् । सोहि अवसरमा मुख्यमन्त्री ममता ब्यानर्जीले तामाङ विकास बोर्डलाई घर निर्माणको निम्ति 10 करोड अनि मिरिकमा युथ होस्टेल निर्माणको निम्ति 5 करोड गरेर मोठ 15 करोड रूपियाँको चेक बोर्डका अध्यक्ष सञ्जय मोक्तानलाई प्रदान गरिन्।
यसैक्रममा उनले तामाङ सम्प्रदायका लोक कलाकारहरूलाई लोक प्रसार प्रकल्पको प्रमाण पत्र, घर निर्माणका निम्ति लाभार्थीहरूलाई चेक अनि कन्याश्री प्रकल्प योजना प्रकल्पका लाभार्थीहरूलाई पनि चेक प्रदान गरिन्।
उनले कार्यक्रमलाई सम्बोधन गर्दै तामाङ विकास बोर्डले सराहनीय काम गर्दै आइरहेको बताउँदै आगामी दिनहरूमा पनि राम्रो कार्य गरेर सरकारलाई हरहिसाब बुझाएपछि अझै विकास कार्यका निम्ति पैसा दिने घोषणा गरिन्।
यसैक्रममा उनले सोहि कार्यक्रमबाट पहाडका अल्पसङ्ख्यक्, नेवार, भुजेल अनि खस समुदायका निम्ति थप विकास बोर्डहरू गठन गर्ने घोषणा गरिन् भने गुरूङ सम्प्रदायको निम्ति भने पुजा पछि घोषणा गर्ने बताइन्। उनले बिहिबार उक्त नयाँ बोर्डहरू गठनका निम्ति विभिन्न विभागहरूको मतामत लिने बताएकी थिएन् भने आज औपचारिक गठनकै घोषणा गरेकी हुन्।
यता कार्यक्रमलाई सम्बोधन गर्दै पश्चिम बङ्गाल तामाङ बिकास अनि सांस्कृतिक बोर्डका अध्यक्ष सञ्जय मोक्तानले सुरूका दिनमा तामाङ विकास बोर्ड गठनका निम्ति माग गर्दा यहाँका कतिपय राजनैतिक दलले विरोध गरेको बताउँदै बोर्ड गठन पछि तामाङ जातिको विकास कार्यमा सरकारबाट पूर्णरूपले सहयोग प्राप्त भएको बताए।
‘सरकारले तामङ जातिको सर्वाङ्गिन विकासको निम्ति दिएको सहयोगको निम्ति आभारी छौँ। हामी हाम्रा विद्यार्थीवर्गलाई भारतको सर्वोच्च पदहरूमा पुग्न सक्ने आईएएस, आईपीएस जस्ता परिक्षा बस्नका निम्ति कोचिङ सेन्टर निर्माण गर्न चाहन्छौँ। यसको निम्ति सरकारबाट अझै सहयोगको अपेक्षा गर्छौँ’ तामाङले भने।
यसबारे मुख्यमन्त्रीले उक्त कोचिङ सेन्टर निर्माणका निम्ति सरकारले सहयोग गर्ने आश्वासन दिएकी छन्। ‘हामीले आफ्नो अधिकारको कुरा गर्दा लाञ्छना लगाउने कार्य भयो। तर अहिले हामीले बोर्डद्वारा विकास कार्य गरेको प्रमाणित गरेका छौँ’ सञ्जय मोक्तानले भने।
यसक्रममा उनले गरिब तामाङ सदस्यवर्गलाई धार्मिक तिर्थ यात्रा गर्न बुद्ध गया जानका निम्ति सरकारबाट अझै सहयोगको अपेक्षा राखेको बताए भने बुद्ध जयन्तिको दिन सरकारी छुट्टी घोषणा गर्नुपर्ने माग गरे। सोहिक्रममा उनले तामाङ लोक संस्कृति विकासका निम्ति डम्फुरेहरूको निम्ति विशेष योजना सुरु गर्नुपर्ने माग गरे।
यता पश्चिम बङ्गाल तामाङ विकास अनि सांस्कृतिक बोर्डको दोस्रो स्थापना दिवसको अवसरमा तामाङ लोक नृत्य, लोक गीत आदि प्रस्तुत गरिएको थियो भने लोक संस्कृतिको प्रस्तुती हेरेर मुख्यमन्त्री ममता ब्यानर्जीले ‘डम्फु बडिया होता हैँ’ भन्दै प्रसंशा गरिन्।
आजको कार्यक्रममा मन्त्री अरूप विश्वास, गौतम देव लगायत जन आन्दोलन पार्टीका अध्यक्ष डा. हर्कबहादुर छेत्री, अभागोलि अध्यक्षा श्रीमती भारती तामङ लगायत शिर्षस्थ सरकारी पदाधिकारीवर्गको उपस्थिति रहेको थिए।
0 Response to "तामाङ विकास बोर्डलाई 15 करोड रूपियाँको चेक प्रदान हामीले बोर्ड मार्फत विकास गरेर प्रमाणित गरेका छौँ – सञ्जय मोक्तान"
Post a Comment
Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.
Note: only a member of this blog may post a comment.