-->
हर्ष र विस्मादको चुनाव परिणाममा गोजमुमो भर्सेस जाप ..................  विधानसभा चुनाव हार्ने जापले नगरपालिका क्षेत्रमा जमायो धाक

हर्ष र विस्मादको चुनाव परिणाममा गोजमुमो भर्सेस जाप .................. विधानसभा चुनाव हार्ने जापले नगरपालिका क्षेत्रमा जमायो धाक

डी.के.वाइबा, कालिमन्युज, कालेबुङ 20 मई 2016। गोर्खा जनमुक्ति मोर्चाले पाँच वर्षको अन्तरालमा कालेबुङ विधानसभा क्षेत्रबाट 38 प्रतिशत मतदानको घाटा बेहोर्नु परेको छ। जसको कारण आगमी दिनहरूमा मोर्चाले कालेबुङमा सम्पूर्ण जनतालाई आफ्नो पक्षमा बनाएर राख्न निकै कडा संघर्ष गर्नु पर्ने स्पष्ट बनेको छ।
पाँचवर्ष अघि 2011 मा सम्पन्न विधानसभा चुनावमा गोजमुमो पार्टीले कालेबुङ विधानसभा क्षेत्रबाट 87 प्रतिशत मतदान प्राप्त गरेको थियो भने पाँचवर्ष पछि 38 प्रतिशत घाटाको साथमा मोर्चाले केवल 49 प्रतिशत मतदान प्राप्त गरेको छ। जुन आँकडा भविष्यका निम्ति खत्राको सूचक हो। 2011 मा सम्पन्न विधानसभा चुनावमा कालेबुङ विधानसभा क्षेत्रबाट मोर्चा विरूद्ध केवल 15 हजार 7 सय 83 भोट खसेको थियो भने 2016 को विधानसभा चुनावमा मोर्चा विरूद्ध 70 हजार 2 सय 92 भोट खसेको छ जुन मतदानको 51 प्रतिशत भोट रहेको छ। कूल मिलाएर यसपल्टको विधानसभा चुनावमा गोजमुमो पार्टीले केवल 49 प्रतिशत मतदान प्राप्त गरेको छ भने मोर्चा विरोधी दलहरू मिलाएर 51 प्रतिशत मतदान पाएका छन्। यसै आँकडाबाट कालेबुङमा गोजमुमो पार्टीको निम्ति आगामी दिनहरूको यात्रा कठिन बनिरहेको स्पष्ट बनेको हो।
पाँचवर्ष अघि लाख भोटको व्यवधानले अघि हुने मोर्चा पाँचवर्षको अन्तरालमा हजार भोटले अघि हुनु अत्यन्तै चिन्ताको विषय हो। जसबारे पार्टीले समयमा नै आलोचना गर्नु आवश्यक रहेको छ। जुन चुनाव परिणामले सत्तासिन दलको निम्ति खत्राको सूचना दिएर गएको छ। उसै त विधानसभा चुनाव पछि नगरपालिका चुनावको पालो आएको छ। जसले गर्दा नगरपालिका चुनावमा गोजमुमो पार्टीलाई विजय हासिल गर्न घुँडा धस्नु पर्ने कठिन स्थिति छ। किनभने कालेबुङ नगरपालिका क्षेत्रमा हाल मोठ 23 वटा वार्डहरू रहेको छ। जुन 23 वार्डहरूको विधानसभा चुनाव परिणामलाई हेर्दा गोजमुमो पार्टी जन आन्दोलन पार्टी भन्दा पछि परेको छ। सम्पूर्ण मतगणनामा जन आन्दोलन पार्टीलाई गोर्खा जनमुक्ति मोर्चाले कालेबुङ विधानसभा चुनावमा पछि पार्न सफल भए पनि नगरपालिका क्षेत्रमा भने जन आन्दोलन पार्टीले गोजमुमोलाई पछि पार्न सफल भएको छ। नगरपालिकाको मोठ 23 वटा वार्डहरू मध्ये जापले मोर्चालाई 19 वटा वार्डहरूमा पछि पार्न सफल बनेको छ भने केवल 4 वटा वार्डमा मात्र मोर्चाले जापलाई पछि पारेको छ।
नगरपालिका क्षेत्रमा जापले गोजमुमोले भन्दा 12 प्रतिशत भोट धेर पाएको छ। नगरपालिका क्षेत्रको 23 हजार 5 सय 91 भोटमध्ये गोजमुमोले 9 हजार 2 सय 95 भोट प्राप्त गरेको छ। यसको तुलनामा जापले 12 हजार 65 भोट प्राप्त गरेको छ। जसको अर्थ जापले 51 प्रतिशत भोट प्राप्त गरेको छ भने गोजमोले केवल 39 प्रतिशत अनि नोटा अनि अन्यको खातामा 10 प्रतिशत भोट खसेको छ। जसलाई मोर्चा विरोधीको सूचीमा समावेश गर्दा गोजमुमो 39 प्रतिशत तथा गोजमुमो विरोधी 61 प्रतिशत बनेको छ। गोजमुमोको तुलनामा जापले 2 हजार 7 सय 70 भोट धेर पाएको छ। नगरको 23 वटा वार्डमध्ये गोजमुमोले चारवटा वार्डहरू क्रमैले 16, 17, 18 अनि 19 नम्बर वार्डमा मात्र विजय हासिल गरेको छ भने रहल 19 वटा वार्डहरूमा जापले आफ्नो वर्चस्व बनाएको छ। प्रत्येक बुथको आधारमा चुनाउ परिणामलाई हेर्दा नगरपालिका क्षेत्रमा रहेको 45 वटा पोलिङ बुथहरूमध्ये जाप 35 वटा बुथमा अघि रहेको छ।
यसपल्टको विधानसभा चुनाउमा आएको परिणामले के स्पष्ट भएको छ भने ग्रामीण क्षेत्रहरूको भोटको कारणले मात्र गोजमुमोले चुनाउ जित्न सक्षम भएकोछ। यद्यपी शहरको अधिकांश भोट जापको पक्षमा गएको छ। विधानसभा चुनाउको जुन परिणाम अघि आएको छ त्यस हिसाबले हेर्दा सम्भवतः आगामी दिसम्बर महिनामा सम्पन्न हुने चुनाउ गोजमुमोको निम्ति गत्तिलै चुनौति हुनेछ।
‘जापले आगामी दिनहरूमा राजनैतिक कार्यक्रम गर्दै जाँदा आउने सम्पूर्ण चुनावहरूमा भाग लिनेछ। विधानसभा चुनाउमा हारेपनि अब आउने कुनैपनि चुनाउ छोड्दैनौँ, प्रत्येक चुनाउ लड्छौँ’- जाप अध्यक्ष डा. हर्कबहादुर छेत्रीले भनिसकेका छन्। जसबाट जापले अब विधानसभा चुनाव पछि नगरपालिका चुनावलाई लक्ष्य बनाउनेछ भन्ने स्पष्ट बनेको छ। विधानसभा चुनाउले नगरपालिका क्षेत्रमा जुन परिणाम निकालेको छ त्यही परिणामलाई आधार गर्ने हो भने नगरपालिकाको आगामी बोर्डमा गोजमुमोले हारको सामना गर्नपर्ने स्थिति देखिएको छ।
‘यदि विधानसभा चुनाउसितै नगरपालिकाको पनि चुनाउ भएको भए हामीले बोर्ड गठन गर्नेथियौँ। तरैपनि हामी आगामी नगरपालिका चुनाउमा कालेबुङ मात्र होइन, दार्जीलिङ, खरसाङ अनि मिरिकमा पनि लड्नेछौँ’- डा. छेत्रीले भने। समग्रमा केवल 11 हजार 4 सय 31 भोटले मात्र पराजित बनेको जापले विधानसभा चुनाउ सकिए लगत्तै शहरकेन्द्रित मुद्दाहरू उठान गरिरहेको कारण अब जापको फोकस नगरपालिका चुनाउमाथि रहेको स्पष्ट छ। जब विधानसभा चुनाउको परिणाम सार्वजनिक भयो तब चुनावी आँकडालाई केन्द्र गरेर गोजमुमो अध्यक्ष विमल गुरूङ आफैले आवश्यक परेको खण्डमा नगरपालिकाका वर्तमान नगरपार्षदहरू अनि सभसाद्हरू पनि परिवर्तन गर्ने बताइसकेका छन्। शहरको भोटसित असंतुष्ट् देखिएका गुरूङले अब दललाई पुनः सङ्गठित गर्ने मन बनाइसकेका छन्।
एकातिर शहरको मतदानलाई लिएर जापले खुशी हुनपर्ने ठाँउँहरू रहेको भएपनि यसपल्टको चुनाउमा जापसित तृणमूल कङ्ग्रेस, अखिल भारतीय गोर्खालीग र गोरामुमो पनि साथ थियो। जापले 56 हजार 2 सय 62 भोट पाएको एउटा कारण यी जम्मै दलहरूको सहयोगले गर्दा पनि हो। यो गठबन्धन नगरपालिका चुनाउमा पनि हुन्छ कि हुँदैन भन्नेकुरा अहिले नै स्पष्ट भएको छैन न त अनुमान लगाउन सकिन्छ। एकातिर गोजमुमोको जितको हावा अनि अर्कोतिर गोर्खालीग, गोरामुमो र तृणमूल कङ्ग्रेससितको गठबन्धनको प्रश्नको कारण पनि जाप अहिले नै विजयको निम्ति निश्चिन्त भइहाल्ने स्थिति छैन। अर्कोतिर गोर्खा जनमुक्ति मोर्चाले पनि यस चुनाउको आँकडालाई गम्भिरतासित लिएर काम नगरे मोर्चाले नगरपालिकाको चौकी गुमाउनुपर्ने स्थिति आउँदैन भन्न सकिन्न। जसको कारण विधानसभा चुनाव परिणाम अघि सारेर मोर्चाले जनहितमा कार्य गर्दै मथिङ्गल मन्थन गर्नै पर्ने स्थिति सृजना भएको छ।

0 Response to "हर्ष र विस्मादको चुनाव परिणाममा गोजमुमो भर्सेस जाप .................. विधानसभा चुनाव हार्ने जापले नगरपालिका क्षेत्रमा जमायो धाक"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.