-->
कालेबुङमा सिटी बज्ने कि मैनबत्ती जल्ने ?

कालेबुङमा सिटी बज्ने कि मैनबत्ती जल्ने ?

डी के वाइबा, कालिमन्युज, कालेबुङ 18 मई। एकमहिनाको पर्खाई समाप्त भइरहेको छ। चुनावी चर्चा, पूर्व अनुमान एकै साथ समापन भएर ईभिएम मसिन खोलिने समय आइपुगेको छ। 17 अप्रेलका दिन ईलेक्ट्रोनिक भोटिङ मसिनमा बन्द भएको प्रार्थीहरूको भाग्य भोलि एकमहिना पछि खोलिन्दा कसको पक्षमा परिणाम जाने हो भन्ने जिज्ञासा अझ बडेको छ। चारैतिर भोलि हुने मतगणनालाई लिएर अहिले सम्पूर्ण जनमानसमानै कौतुहलता छाएको छ। 
‘कालेबुङमा सिटी बज्ने कि मौनबत्ती जल्ने हुन? भन्ने प्रश्न नै यतिखेर तातो जुलेबबी जस्तै व्याप्त छ। ‘जितेको जितेकै मोर्चाले, हार्न त कहिले जान्दैन’- भन्ने गीत कालेबुङ शहरमा गुञ्जिएर गोजमुमो समर्थकहरू नाँच्ने हुन् कि ‘यता फर्क उता फर्क, चारैतिर हर्कै हर्क’ –गीतमा जाप समर्थकहरू नाँच्ने हुन? भन्ने प्रश्न पनि उत्तिकै चासोको विषय बनेको छ। 
दार्जीलिङ पहाडको तीनवटा महकुमा क्षेत्रहरूमा अहिलेघरी सबैको नजरमा कालेबुङ विधानसभा केन्द्रमा नै रहेको छ। किन भने गोजमुमो पार्टीबाट विद्रोह गरी निस्केका डा. हर्कबहादुर छेत्रीले गोर्खा जनमुक्ति मोर्चा प्रार्थी सरिता राईको विरूद्धमा प्रतिस्पर्धा गरिरहेको कारण पनि कालेबुङ विधानसभा क्षेत्रमा सबैको नजर अडेको हो। 
कालेबुङको राजनैतिक इतिहासमा सन् 1987 पछि यसपालिको विधानसभामा दुई प्रार्थीहरू माझ कडा प्रतिस्पर्धा भइरहेको राजनैतिक विशेषज्ञहरूको मत रहेको छ। यसभन्दा अघि सन् 1987 मा सीपीआई प्रार्थी मोहन सिंग राई अनि कङ्ग्रेस पार्टीका प्रार्थी टाँसी छिरिङ लेप्चा माझ अत्यन्तै रोचक अनि कडा प्रतिस्पर्धा भएको थियो।
त्यस समय दार्जीलिङ पहाडमा छुट्टै राज्य गोर्खाल्याण्डको आन्दोलन चलिरहेको कारण गोर्खा राष्ट्रिय मुक्ति मोर्चाले चुनाव बहिस्कार गरेको थियो भने चुनावी मैदानमा सीपीआई प्रार्थी अनि कङ्ग्रेस प्रार्थी माझ कडा प्रतिस्पर्धा भएको हो। सन् 1987मा सम्पन्न भएको विधानसभा चुनावमा सीपीआई प्रार्थीले त्यसबेला केवल 964 भोट पाएका थिए भने उनको विरुद्ध खडा भएका कङ्ग्रेस प्रार्थी टाँसी छिरिङ लेप्चाले 77 भोट पाएका थिए। त्यसपछि उता भने आजसम्म भनेजस्तो कडा प्रतिस्पर्धा नभएको राजनैतिक विशेषज्ञहरूको मत रहेको छ। 
सन् 1987 पछि यता 29 वर्ष पछि सम्पन्न भएको यसवर्षको विधानसभा चुनावमा सम्पूर्ण जनताको ध्यान केन्द्रित हुनको साथै मतगणनालाई लिएर कौतुहलता छाएको हो। 29 वर्षको अन्तरालमा यसरी गोजमुमो प्रार्थी श्रीमती सरिता राई अनि जन आन्दोलन प्रार्थी डा हर्कबहादुर छेत्रीमाझ हुन गइरहेको कडा चुनावी टक्करलाई लिएर अहिले सबैको नजर कालेबुङ विधानसभा केन्द्रमा पर्न गएको छ। 
चुनाव समापन भएको एकमहिना पछि भोलि खोलिने ईभिएम मसिनमा जनताले कसको भाग्य उदय गर्ने हुन् उत्कट चासो रहेको यस चुनावी मैदानमा गोजमुमो अनि जाप दुवैले विजय हुने दाबी गरिरहे पनि अन्तिम निर्णय भने ईभीएम मसिन खोलिए पछि मात्रै थाह लाग्नेछ। यसकारण चुनावी मैदानमा ओर्लिएका प्रार्थीहरू लगायत आम मानिसहरूले पनि चुनावको परिणाम जान्नका निम्ति अब केवल 12 घण्टा मात्र प्रतिक्षा गर्न पर्ने भएको छ। 
भोलि हुने मतगणनालाई लिएर प्रशासनले सम्पूर्ण सुरक्षा व्यवस्था कठोर बनाउने कार्य गरिसकेको छ भने ईभिएम मसिन राखेको एसयुएमआइ क्षेत्रमा विहान 6 बजेदेखि 144 धारा लागु गरिने अघिबाटै घोषणा गरिसकेको छ। 
यसक्रममा सुरक्षा व्यवस्थाकै सिलसिलामा दार्जीलिङ पुलिस अधिक्षक अमित पी. जावलगी कालेबुङ आइपुगीसकेका छन्। 
यता चुनाव परिणामलाई लिएर उत्सुक बनेका गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष विमल गुरुङ पनि अगावै कालेबुङ आएर बसेका छन् भने मोर्चा प्रार्थीले चुनाव जितेको खण्डमा तीन दिन नाँच्ने अगावै घोषणा गरिसकेका छन्। 
यस्तो अवस्थामा गोजमुमो पार्टीको उत्थानको इतिहास लेख्ने डा. हर्कबहादुर छेत्रीले कालेबुङबाटै पतनको इतिहासले लेख्ने घोषणा गरिसकेको अवस्थामा भोलि हुने मतगणना पछि कसको पक्षमा परिणाम जाने हो भनि अहिले नै भनिहाल्न नसक्ने अवस्था रहेको छ। 
विगतका चुनावहरूमा कसले विजयी हासिल गर्ने हुन् भनि अगावै भन्न सकिने अवस्था हुने गर्थ्यो भने यसपालिको विधानसभा चुनावलाई लिएर राजनैतिक पण्डितहरूले पनि अहिले नै जोखाना खुट्टाउन सकेका छैनन् जसको कारण सम्पूर्ण जनताले व्यग्रताको साथ मतगणनाको परिणामलाई पर्खेर बसेका छन्।

Related Posts

0 Response to "कालेबुङमा सिटी बज्ने कि मैनबत्ती जल्ने ?"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.