-->
छुट्टै राज्य ल्याउन नै हामी निस्किएका हौँ-प्रो.लामा

छुट्टै राज्य ल्याउन नै हामी निस्किएका हौँ-प्रो.लामा


डी के वाइबा, कालिमन्युज, कालेबुङ, 2 मार्च। ‘एकापट्टि हामी गोर्खाल्याण्डको कुरा गरिरहेका छौँ भने अर्कोपट्टि दिनसक्ने ठाउँमा गोर्खाल्याण्डको कुरै गरेकै छैनौँ। ठिक ठाउँमा, ठिक समयमा, ठिक प्रकारले कुरा राख्नसके छुट्टै राज्य ल्याउनसक्छौँ। छुट्टै राज्य ल्याउन नै हामी निस्किएका हौँ’-पेदोङमा आयोजित जन आन्दोलन पार्टीको चुनावी जनसभालाई सम्बोधन गर्दै पार्टीका ब्यूरो चेयरमेन प्रो. महेन्द्र पी. लामाले जापको नेतृत्वमा नै अलग राज्य सम्भव रहेको दावी गरे। 
गोजमुमो प्रार्थी सरिता राईको आफ्नै क्षेत्र पेदोङमा गोजमुमोलाई चुनौति दिँदै जन आन्दोलन पार्टीको चुनावी जनसभामा पेदोङ बजारमा सम्पन्न भएको थियो। सभामा जाप अध्यक्ष एवं उम्मेद्वार डा. हर्कबहादुर छेत्री, ब्यूरो सदस्य अमर लामा, महासचिव नयन प्रधान, चेली एकाईँका प्रमुख प्रतिभा कुमाइ आदिको विशेष उपस्थिति थियो। 
पेदोङ संलग्न क्षेत्रका मानिसहरूको व्यापक उपस्थितिमा आयोजित जनसभामा सम्बोधन गर्दै ब्यूरो चेयरमेन प्रो. लामाले दार्जीलिङमा गएका सासंद एसएस अलहुविलायाले अलग राज्यको दिशामा एउटै काम गर्ननसकेको आरोप लगाउँदै भने, झुटको राजनीति गरेर हुँदैन। हाम्रो सासंद कहाँ छ कसैलाई पनि थाहा छैन? भाजपालाई पनि सांसदबारे थाहा नभएको कारण उनलाई भाजपाले नै पब्लिक एकाउन्ट्स कमिटीबाट पिन निलम्बित गरियो। 
प्रो. लामाले अझ भने अनुसार सासंदको काम मोर्चा नेताहरूलाई केन्द्रिय नेतृत्वहरूसित भेटघाट गराउनमा मात्र सिमित भएको छ। मोर्चा नेतृत्वहरूले केन्द्रका मन्त्रीहरूसित भेट गरेर फोटो खिचाउनबाहेक केही गर्न नसकेको प्रो. लामाले आरोप लगाए। उनले अझ भनेअनुसार सिटी भनेको कुनैपनि खेल खेल्नअघि अनि खेल सकेपछि बजाइन्छ। जापले राजनैतिक खेल शुरू गरिसकेका अनि यो खेलको अन्त अलग राज्यमा पुगेपछि पुनः सिटि बज्ने लामाले बताए। 
आफ्नो सम्बोधनको क्रममा उनले अझ भने, अहिलेसम्म दुईवटा ठूला-ठूला आन्दोलनहरू भए। त्यसबेला भएको आन्दोलन र हामीले गर्ने आन्दोलनमा फरक हुन्छ। त्यो शरीरले गरेको आन्दोलन थियो भने अब बुद्धिको अनि आत्माको आन्दोलन हुन्छ। उनले आत्माबाट भएको आन्दोलनका रूपमा महात्मा गान्धी, पण्डित जवाहरलाल नेहरू, ­मार्टिन लुथर, नेल्सन मण्डेला आदिको उदाहरण दिए। 
यसअवधि उनले विगतका आन्दोलनहरूको कारण दार्जीलिङको राजनैतिक परिभाषा नै परिवर्तन भइसकको बताउँदै भने, दार्जीलिङको राजनीतिको परिभाषामा परिवर्तन आउनुपर्छ। दार्जीलिङको राजनीतिको परिभाषा भनेको 20 करोड रूपियाँ, 20 जना दलाल भए 20 वर्ष दार्जीलिङ चलाउन सकिन्छ भन्ने भइसकेको छ। यसैले जनआन्दोलन पार्टी दार्जीलिङको राजनैतिक परिभाषा परिवर्तन गर्न निस्किएको लामाले बताए। उनले जनआन्दोलन पार्टीले ठिक ठाउँमा ठिक हतियार प्रयोग गरेर अलग राज्य निर्माण गर्ने दावी गर्दै अब अँध्यारो दिन सकिएर जनताको उज्यालो दिन आउँदैगरेको बताए। 
अर्कोतिर प्रो. लामाले गोजमुमो अध्यक्ष विमल गुरूङले घरिघरि जिल्लाको नाम गरेर जापले चुनाउ प्रचार गरिरहेको वयानको खण्डन गर्दै भने, जिल्ला भनेको एकैरातमा बनिने कुरा होइन। उनीहरूले ल्याउनैनसक्ने गोर्खाल्याण्डको कुरा 9 वर्षदेखि गर्दै आउँदैन् भने हामीले क्याबिनेटमा पास भइसकेको जिल्लाको कुरा गर्दा किन आपत्ति जनाउँदैछ? जिल्ला बनिन धेरैवटा कमिटीहरू पनि, प्रशासनिक प्रक्रियाहरू धेरै हुन्छ। यो कुरा गोजमुमो अध्यक्षले बुझ्दैन। 
उनले कालेबुङको चुनाउ महत्त्वपूर्ण रहेको अनि यसपल्ट कालेबुङमा बसेको जापको सिटीले दार्जीलिङ र खरसाङलाई पनि बिउँझ्याउन सक्नुपर्ने बताए। यसअवधि उमले पहाडका हाल विभिन्न जातगोष्ठीहरूको बोर्ड गठन हुनुका पछि गोजमुमोकै कमजोरी रहेको बताए। उनले गोजमुमोले अनूसूचित जाति लगायतका जातगोष्ठीहरूलाई जीटीएमा आरक्षण दिननसक्दा नै विकास बोर्ड गठनको प्रक्रिया आरम्भ भएको बताए। अहिलेसम्म कुनैपनि राजनैतिक दलको कार्यकालमा जातिलाई लिएर विकास वोर्ड बनाउने काम नभएको पनि मोर्चाको कार्यकालमा जातगोष्ठीको विकास बोर्ड गठन हुनुको दोष मोर्चालाई नै जाने बताए। गोजमुमोले सरकारलाई जाति विभाजनको आरोप लगाइरहेको भएपनि हाल गोजमुमोले दार्जीलिङ भानुभवनमा विभिन्न जातगोष्ठीका प्रतिनिधिहरूसित बैठक गरिरहेको कारण मोर्चालै नै जातिको आधारमा राजनीति गरिरहेको बताए। 
यसअवधि उनले जापले गोर्खाल्याण्ड शब्द उच्चारण नगरेको आरोपको पनि टिप्पणी गर्दै भने, जीटीएमा गोर्खाल्याण्ड शब्द लेखिएको छ भनेर मोर्चाले जुन ढोल पिटिरहेको छ त्य मेरो अनि अनमोल प्रसादको भीजन हो। किनभने सरकारबाट आएको पहिलो गोर्खाल्याण्ड अटोनोमस अथोरिटिको पहिलो ड्राफ्ट हामीले तयार गरेका थियौँ। यद्यपि उक्त ड्राफ्टको सट्टा मोर्चाले कसैले थाहै नपाइ दोस्रो ड्राफ्ट तयार गरेर सरकारलाई पठाउने काम गरेको पनि लामाले आरोप लगाए। यसरी नै जाप उम्मेद्वार डा. हर्कबहादुर छेत्रीले आगामी लोकसभा चुनाउ पनि जापले लड्ने अनि त्यसबेला गोर्खाल्याण्डको प्रमुख मुद्दा बोकेर अघि आउने बताए। 
पेदोङको सन्दर्भमा उनले आफ्ना उपलब्धीहरू देखाउँदै पेदोङका मानिसहरूले आफूलाई विरोध गर्ने कुनै ठाउँ नरहेको बताए। पुलिस प्रशासनद्वारा निर्धारित गरिएको समयलाई मध्यनजर राख्दै आफ्नो छोटो सम्बोधनमा उनले जन आन्दोलन पार्टी अहिले मानिसहरूका निम्ति पनि ठोस् राजनैतिक विकल्प भएको बताए हातमा आएको जिल्ला गुमाउननहुने आह्वान गर्दै उनले विधासनभा चुनाउ कालेबुङको भविष्य बनाउने अवसर रहेको बताए।

Related Posts

0 Response to "छुट्टै राज्य ल्याउन नै हामी निस्किएका हौँ-प्रो.लामा"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.