-->
प्रार्थीहरूको भाग्य ईलेक्ट्रोनिक भोटिङ मसिनमा बन्द  ..... चुनाव शान्तिपूर्वक सम्पन्न भएकोमा प्रार्थीहरू सन्तुष्ट

प्रार्थीहरूको भाग्य ईलेक्ट्रोनिक भोटिङ मसिनमा बन्द ..... चुनाव शान्तिपूर्वक सम्पन्न भएकोमा प्रार्थीहरू सन्तुष्ट

डी.के वाइबा, कालिमन्युज, कालेबुङ 17 अप्रेल 2016। कालेबुङ विधानसभा चुनावी मैदानमा ओर्लिएका पाँच जना प्रार्थीहरूको भाग्य ईलेक्ट्रोनिक भोटिङ मसिनमा बन्द भएको छ। आज कालेबुंग 22 विधान सभा क्षेत्रका कुल 191210 मतदाताहरुमध्ये 137008 मतदाता (71.65%)हरुले 261वटा मतदान केन्द्रहरुमा गएर आफ्नो मताधिकार प्रयोग गर्दै मतदान गरे।
सबैको केन्द्रबिन्दुमा रहेको कालेबुङ विधानसभा चुनावमा मूल रुपले 3 महिना अघि जन्म भएको जन आन्दोलन प्रार्थी डा. हर्कबहादुर छेत्री अनि 8 वर्ष पुरानो गोर्खा जनमुक्ति मोर्चा प्रार्थी सरिता राईसँग कडा टक्कर हुने स्पष्ट छाँट बनेको छ। यद्यपी पार्टी गठन भएको 20 वर्ष पछि चुनावी मैदानमा उतारेको क्रामाकपा प्रार्थी किशोर प्रधानले पनि जनताबाट राम्रै मतदान पाउने सम्भावना रहेको छ। किनभने गोर्खा जनमुक्ति मोर्चा अनि जन आन्दोलन पार्टीका नेताहरूलाई विश्वास नगर्ने जनताले यसपल्ट विकल्पका रुपमा क्रामाकपालाई थप भोट दिएको सम्भावना रहेको क्रामाकपा सुत्रले बतायो। यसका साथै कालेबुङ विधानसभाबाट गोर्खा राष्ट्रिय कङ्ग्रेस अनि निर्दल प्रार्थी पनि चुनावी मैदानामा ओर्लिएका छन्। जसले गर्दा कालेबुङ विधानसभा क्षेत्रमा मोठ पाँचजना प्रार्थीहरूले प्रतिस्पर्धा गरिरहेका छन्। जसको भाग्यलाई जनताले गणतान्त्रिक प्रणाली अन्तर्गत् आज उनीहरूको भाग्यलाई ईलेक्ट्रोनिक भोटिङ मसिनमा बन्द गरिदिएका छन्। जुन भाग्य आगामी 19 मईको दिन मात्र खोलिने भएको छ। त्यसकारण प्रार्थीहरूले आफ्नो भाग्य जान्नका निम्ति एक महिना धैर्य गर्नुपर्ने भएको छ।
चुनाव आयोगको निर्देशन अनुसार आज विहान 7 बजेदेखि चुनाव सुरु भएको थियो। चुनाव प्रक्रिया सुरू हुन साथै जन आन्दोलन पार्टीका प्रार्थी डा. हर्कबहादुर छेत्री मतदान गर्न बीटी कलेज नजिक जुनियर बेसिक स्कूलमा पुगेका थिए। डा. छेत्रीले पहिलोपल्ट मतदान खसालेपछि क्षेत्रका मानिसहरूले उत्साहका साथ मतदान गरेका थिए। यसक्रममा डा. छेत्रीसँग मतदानबारे जान्न चाहँदा ‘यसपालिको चुनावमा जनताले परिवर्तन चाहेको कारण निश्चयन नै परिवर्तनका निम्ति मलाई चुन्नेछन्। यसकारण मेरो जित निश्चित छ’ भने। उनले आफूलाई आफ्ना समर्थकहरूले मतदान गर्नका साथै अन्य मोर्चा विरोधीहरूले पनि आफूलाई नै मतदान गर्ने विश्वास व्यक्त गरे। ‘वितेको पाँचवर्षमा मैले जति काम गरे त्यो जनतालाई थाहा छ। जनताले मेरो कार्यलाई हेरेर पनि मलाई मतदान गर्नेछन्’ डा. छेत्रीले भने। यसका साथै उनले गोजमुमोले जनताको हितमा कार्य नगरेको कारण सम्पूर्ण जनता हताश अनि निराश भएकोले आफ्नो पक्षमा धेरै मतदान हुने विश्वास व्यक्त गरे। यसक्रममा उनले गोर्खा जनमुक्ति मोर्चालाई जनताले पराजयको स्वाद दिलाउँन आवश्यक रहेको बताउँदै मोर्चाले जनतालाई पैसा र पावरले किन्ने प्रयास गरेको आरोप लगाए। यद्यपी जनताले परिवर्तन चाहेको कारण मोर्चाको पैसा र पावरले जनताको मतदान किन्न नसक्ने दाबी गरेका छन्।
अर्कोतर्फ गोर्खा जनमुक्ति मोर्चाको कालेबुङ विधानसभा प्रार्थी सरीता राईले मतदानपछि पत्रकारहरूसँग कुराकानी गर्दै ‘मैले गोजमुमो प्रार्थी सरीता राईलाई मतदान गरे’ भने। प्रत्येक पाँचवर्षमा जनताले पाउँनै मतदानको गणतान्त्रिक अधिकारको प्रयोग गरेर यसपल्ट पनि गोजमुमो पार्टीले चयन गरेको प्रार्थीलाई मतदान गरेर आफूलाई विजयी बनाउने दाबी गरिन्। यसक्रममा उनले चुनावमा विजयी बनेर गएको खण्डमा सम्पूर्ण जनताको हितमा अनि पार्टीको निर्देशनमा काम गर्ने स्पष्ट पारिन्। ‘चुनावमा ओर्लिएका प्रार्थीहरूलाई जनताले चिनेका छन्। यसकारण उनीहरूले कसलाई मतदान गर्नेपर्ने भन्ने कुरा बुझेर अघिबाटै आफ्नो मतदान गर्ने तय गरिसकेका छन्। चुनावलाई सबैले शान्ति कायम राख्नुपर्छ अनि आफूले तय गरेको प्रार्थीलाई निभिर्क र स्वतन्त्र रूपले चयनित गर्नुपर्नेछ’ उनले भनिन्।
यता क्रामाकपा प्रार्थी किशोर प्रधानले मतदान सुरु भएपछि टिस्टा स्थित कृष्णग्राम सार्वजनिक भवनमा पहिलो मतदाताको रूपमा मतदान खसाले। क्रामाकपा प्रार्थी प्रधानले मतदान गरेपछि क्षेत्रका अन्य मतदाताहरूले आफ्ना मताधिकारको स्वतन्त्ररूपले प्रयोग गर्दै मतदान गरेका थिए। ‘चुनावलाई लिएर यसपल्ट मतदाताहरूले गणतन्त्रको राम्रो उपभोग गर्न पाएका छन्। यस कार्यका निम्ति हामी खुशी छौँ’ किशोर प्रधानले भने। उनले आफ्नो हार अथवा जित सम्बन्धि केहि टिप्पणी नगरेपनि ‘यसपल्ट निकै चुनौतिपूर्ण छ। यसबारे अहिलेनै भन्न सक्ने स्थिति छैन’ भने। उनले चुनाव शान्तिपूर्वक सम्पन्न भएकोमा खुशी व्यक्त गर्दै शान्तिपूर्वक चुनाव सम्पन्न गर्न सकेकोका आयोग प्रति पनि सन्तुष्टता व्यक्त गरे। यद्यपी उनले कतिपय चुनाव प्रक्रियामा आफूहरू पूर्णरूपले सन्तुष्ट नरहेको स्पष्ट पार्दै जनताले गणतन्त्रको उपभोग स्वतन्त्र रुपमा गर्न पाएकोमा हर्ष प्रकट गरेका छन्।

Related Posts

0 Response to "प्रार्थीहरूको भाग्य ईलेक्ट्रोनिक भोटिङ मसिनमा बन्द ..... चुनाव शान्तिपूर्वक सम्पन्न भएकोमा प्रार्थीहरू सन्तुष्ट"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.