-->
गोजमुमोले गरेको भ्रष्टचारको खुलासा ......... भ्रष्टचारीहरूले नै भ्रष्टचारको आरोप लगाउँछन् – अमर लामा

गोजमुमोले गरेको भ्रष्टचारको खुलासा ......... भ्रष्टचारीहरूले नै भ्रष्टचारको आरोप लगाउँछन् – अमर लामा

डी.के. वाइबा, कालिमन्युज, कालेबुङ 14 अप्रेल 2016। विधानसभा चुनाव अघि एकार्कालाई आरोप प्रत्यारोप लगाउने कार्य चारैतिर भइरहेको छ। यस्तो अवस्थामा गोजमुमो पार्टीले जाप नेताहरूलाई लगाएको सम्पूर्ण आरोपहरूको जाप सर्वोच्च नीति निर्धारण समितिका सदस्य अमर लामाले नालीबेली केलाउँदै जवाब दिएका छन्। 
‘हामीलाई भ्रष्टचार गर्‍यो भन्नेहरू नै भ्रष्टचारीहरू हुन्। भ्रष्टचारीहरूले नै भ्रष्टचारको आरोप लगाउँछन्’ अमर लामाले मोर्चाको आलोचना गर्दै भने। जनआन्दोलन पार्टीलाई अहिलेसम्म गोजमुमोले लगाएको आरोपको एक-एकवटा जवाब दिँदै जापका ब्यूरो मेम्बर अमर लामाले गोजमुमो विरूद्ध उल्टै अनेकौँ भ्रष्टचारको आरोप लगाए। 
भ्रष्टचारको खुलासा गर्नअघि उनले गोजमुमोको नीतिको जमेर आलोचना गरे। सबैभन्दा पहिले उनले जाप उम्मेद्वार डा. छेत्रीको नाममा मोर्चाले विभिन्न प्रकारका पोष्टरहरू टाँसेर डा. छेत्रीलाई बद्नाम गर्ने काम गरिरहेको आरोप लगाए। उनले भने, हामी चुनाउ आयोगसित सन्तुष्ट छैनौँ। गोजमुमोले डा. छेत्रीलाई बद्नाम गराउन विभिन्न पोष्टरहहरू टाँस्ने काम गरिरहेको छ। चुनाव आयोगलाई हामी सार्वजनिक रूपमा उजुर गर्छौँ। 
भोलि गोजमुमोले मुख्यमन्त्री ममता ब्यानर्जीले राज्य विभाजन नहुने वयान दिएको सन्दर्भ गोजमुमोले उठान गर्नसक्ने सम्भावनामाथि बोल्दै लामाले अझ भने, बङ्गाल विभाजन हुँदैन भनेर जाप हाइकमाण्डले भन्यो भन्दैछ। मुख्यमन्त्रीले बङ्गाल विभाजन हुँदैन भनेर भनेको यो पहिलोपल्ट होइन। 18 जुलाई 2011 मा पिण्टेल भिलेजमा जीटीए सम्झौता हुंदा विमल गुरूङ र देशका तत्कालिन गृहमन्त्री पी. चिदम्बरमको उपस्थितिमा मुख्यमन्त्रीले खुलेआम बङ्गाल विभाज हुँदैन भन्दा नाँच्ने गाउने मोर्चाकै कार्यकर्ताहरू हुन्। त्यसबेला गोजमुमोले प्रतिवाद गरेन। 
उनले अझ भने अनुसार यतिमात्र होइन गोजमुमोले घटक दल भन्ने भाजपाका महासचिव राहुल सिन्हाले चोकबजार आएर बङ्गाल विभाजन हुँदैन भन्दा पनि मोर्चाले केही गरेन। भवानीपुरबाट ममता ब्यानर्जीको विपक्षमा चुनाउ लडिरहेको भाजपा नेता चन्द्रबोसले गोर्खाल्याण्डको आन्दोलनलाई राष्ट्रविरोधी भन्दा पनि मोर्चा बोलेन। पछि चन्द्रबोसकै वयानलाई भाजपा विधायक बाबूल सुप्रियोले दोहोऱ्याउँदा पनि मोर्चाले मुद्दा दर्ता गर्न नसकेको लामाले बताए। 
यसअवधि उनले मोर्चा समर्थित भाजपा सासंदले आफ्नो कोशबाट बनाउनुपर्ने मोडल भिलेज पहाडमा स्थापन गर्नको सट्टा नक्सलबाडीमा बनाएको बताए। यसरी नै उनले अस्थायी कर्मकारीहरूको वेतनवृद्धिको श्रेय गोजमुमोले लिइरहेकोमा सरकारी अर्डर सार्वजनिक गर्दै भने, 29 फरवरी 2016 मा मुख्यमन्त्रीले अर्डर निकालेकी छन्। त्यसैको आधारमा अस्थायी कर्मचारीहरूको वेतन बढेको हो। गोजमुमले श्रेय नलिँदा हुन्छ। 
यसै सन्दर्भमा उनले विमल गुरूङले आईसीडीएस कर्मीहरूलाई पेन्सन दिने सन्दर्भ पनि राज्य सरकारकै पहल रहेको बताए। उनीहरूलाई पेन्सन दिने कुरा राज्यको वित्त विभागमा पुगेको कारण नै गोजमुमोले यसलाई चुनावमा भोट बटुल्ने राजनीति गरिरहेको स्पष्ट पारे। 
अर्कोतिर उनले दार्जीलिङ उम्मेद्वार अमरसिंह राईले गोर्खाल्याण्डको निम्ति सबै एक हुनुपर्ने वयानमाथि टिप्पणी गर्दै भने, उनले एकताको कुरा गरेर राम्रो कुरा गरेछन्। तर सबैभन्दा पहिला सामुहिक नेतृत्वको कुरा गर्ने स्व. मदन तामाङ थिए। सँधै गौरव राख्नेछौँ भन्ने गोर्खालीगका अध्यक्ष तामाङलाई दिँउसै हत्या गर्ने गोजमुमोले हामीलाई गोर्खा र गोर्खाल्याण्डको कुरा नगरोस्। 
यसर नै उनले डा. छेत्रीले रोङ्गोको सडक, सामसिङको बीपीएल परिवारको घर, माङ्जिङको सडक आदिमा भइरहेको भ्रष्टचार सम्बन्धी आजसम्म मोर्चाले जवाब नदिएको लामाले बताए। उनले भने, 45 नम्बर समष्टिको परेङटारमा कन्भेन्ट स्कूल जाने बाटोको बील भइसकेको छ तर काम भएको छैन भन्दै स्थानीय मानिसहरूले पोष्टर टाँसेका थिए। त्यसको भोलिपल्ट चोरले पहिले नै आफ्नो खुट्टा झिके जस्तै गरेर युवा मोर्चाले वयान दियो। पछि क्षेत्रीय सभासद् लोपसाङ् लामाले यसबारे छानबीन गरेर सार्वजिनक गर्ने बताए। तर आजसम्म गरेनन। सभासद् लामाले यस भ्रष्टचारबारे स्पष्टिकरण दिनुपर्ने अमर लामाले बताए। 
यसरी नै उनले प्रत्येक गाउँ-गाउँमा मोर्चाको भ्रष्टचारको पोल खोलिरहेको बताउदै भने, तकदाहमा इन्जिनियरिङ कलेज बनाउन गोजमुमोले एनएचपीसीबाट 40 करोड रूपियाँ थापेको छ। अहिले 8 करोड मात्र पायो भन्दैछ। अरू 32 करोड रूपियाँ कहाँ गयो? यसरी नै साङ्सेमा 70 हजारको घरमा लाभार्थीहरूलाई केवल 35 हजार रूपियाँ मात्र दिएको आरोप लगाउँदै प्रत्येक घरबाट 35 हजार रूपियाँ गरेर मोर्चाले 5सयवटा घरबाट पैसा खाएको आरोप लगाए। 
भ्रष्टचारको सूचि सार्वजनिक गर्ने क्रममा उनले अझ भने, मानेभञ्ज्याङदेखि फालुटसम्म सडक बनाउन जीटीएले 40 करोड रूपियाँ अनुमोदन गऱ्यो। त्यो क्षेत्रमा सडक बनाउन वाइल्डलाइफको अनुमति लिनुपर्ने, वाइल्डलाइफ एक्टले भेट्ने कुरा योजना अनुमोदन गर्नअघि मोर्चालाई थाहा भएन? त्यहाँ केवल 7 करोडको काम भयो बाँकी 33 करोड रूपियाँको कुनै हिसाबकिताब छैन। राज्यका संयुक्त सचिवले कोट गरेका छन कि त्यही रोडमा आरईडीएफको अडाई करोड रूपियाँ अनुमोदन भएको छ। पछि निरीक्षण गर्दा सडक बनिएको भेटिएन। 
यसबाहेक उनले स्व, मदन तामाङ हत्याकाण्डमा सर्वोच्च न्यायालयमा अधिवक्ता राम जेठमलानीलाई मोर्चाले दुईदिनको फिस 32 लाख रूपियाँ दिएको अनि यूयू ललितलाई एकदिनको फिस 14 लाख रूपियाँ दिएको खुलासा गरे। यसबाहेक दार्जीलिङको एक प्रसिद्ध ब्रिटिसकालीन होटल किन्ने विमल गुरूङको योजना थियो। पछि त्यो पश्चिम बङ्गाल पर्यटन विभागको पर्ने थाहा पाएपछि जीटीएका पर्यटन सचिवलाई त्यो होटल जीटीएमा ल्याउन दबाव दिने काम भयो। पर्यटन सचिवले त्यो काम नगर्दा उनलाई दार्जीलिङबाट स्थान्तरण गरिएको लामाले बताए। यसरी नै उनले गोजमुमो नेताहरूले कसैले मेथिबारीमा ड्याम प्रुफ भएको घर बनाएको, नोकडाँडामा जमीन किनेको आदि कुराहरू उल्लेख गर्दै भने, हामीसित गोजमुमोले भ्रष्ट्चारको कुरा नगरोस्। जुनदिन जनताको भेल लालकोठी पस्छ त्यो दिन मोर्चाको भेद खोलिन्छ अनि यो एकदिन निश्चय नै हुन्छ।

Related Posts

0 Response to "गोजमुमोले गरेको भ्रष्टचारको खुलासा ......... भ्रष्टचारीहरूले नै भ्रष्टचारको आरोप लगाउँछन् – अमर लामा"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.