-->
जापले सार्बजनिक गर्‍यो छुट्टै राज्य गोर्खाल्याण्डको बील ......आँट छ भने गोजमुमोले यसलाई पारित गरोस् – डा. हर्कबहादुर छेत्री

जापले सार्बजनिक गर्‍यो छुट्टै राज्य गोर्खाल्याण्डको बील ......आँट छ भने गोजमुमोले यसलाई पारित गरोस् – डा. हर्कबहादुर छेत्री

डी.के. वाइबा, कालिमन्युज, कालेबुङ 14 अप्रेल 2016। गोर्खाल्याण्ड बिरोधीको आरोप लागेको जन आन्दोलन पार्टीको छुट्टै राज्य गोर्खाल्याण्डको बील सार्बजनिक गरेको छ। कालेबुङको मोटर स्ट्याण्डमा आयोजित बृहत चुनावी जनसभाबाट जापले उक्त छुट्टै राज्य गोर्खाल्याण्डको बील सार्बजनिक गरेको हो। यस अवसरमा हजारौँ मानिसहरू जापको चुनावी जनसभामा भेला भएका थिए। 
विधानसभालाई लिएर जापले आयोजना गरेको वृहत चुनावी जनसभालाई अम्बर माया छेत्रीले अध्यक्षता गरेकी थिइन्। जापको उक्त चुनावी शक्ति प्रदर्शनमा कालेबुङका बिभिन्न स्थानबाट हजारौँ समर्थकहरू सभामा भेला भएका थिए। 
यस अवसरमा जाप सर्वोच्च नीति निर्धारण समितिका सदस्य अधिवक्ता अनमोल प्रसादले उक्त छुट्टै राज्य गोर्खाल्याण्डको बील सार्बजनिक गर्दै गोर्खाल्याण्डको भक्त भन्ने गोजमुमो अनि भाजपाले उक्त बील लोकसभामा पारित गरोस् भनि चुनौति दिएकाछन्। 
‘जन आन्दोलन पार्टीलाई बारम्बार छुट्टै राज्य गोर्खाल्याण्ड अनि गोर्खा बिरोधी भनि आरोप लगाइरहेका छन्। आज हामीलाई गोर्खाल्याण्ड विरोधी भनि आरोप लगाउने गोजमुमोलाई हामी चुनौति दिँदै यहाँ छुट्टै राज्य गोर्खाल्याण्डको बील सार्वजनिक गरिरहेका छौँ। यदि तिमीहरूको आँट अनि गोर्खाल्याण्ड प्रति इमान्दार छौ भन्छौ भने यो छुट्टै राज्य गोर्खाल्याण्डको बील तिम्रो ठूलो दाजु भाजपाले लोकसभामा पारित गरेर देखाओस्। हामी तिमीहरूलाई यो खुल्ला चुनौति दिन्छौँ’ – जाप सर्वोच्च नीति निर्धारण समितिका सदस्य अनमोल प्रसादले गोर्खाल्याण्डको बील सार्वजनिक गर्दै भने। 
आजसम्म गोर्खाल्याण्ड प्रति इमान्दार छौँ भन्ने मोर्चा अनि भाजपा छुट्टै राज्य गोर्खाल्याण्डबारे लोकसभामा बील पेश गर्न होइन तर बील समेत तयार पार्न नसकेको आरोप लगाउँदै आफूहरूले बील तयार पारेको अनमोल प्रसादले स्पष्ट पारे। उनले अब उक्त बील गोजमुमो अध्यक्ष अनि दार्जीलिङ पहाडका सांसद एस.एस. आहलुवालीयालाई पठाउने बताउँदै ‘गोर्खाल्याण्ड प्रति इमान्दार छौँ भन्नेहरूले यस बील लोकसभामा पारित गर्ने जापले खुल्ला चुनौति दिँदछ’ भने। 
यस अवसरमा जाप समर्थकहरूले जोडदार ताली बजाएर गोर्खाल्याण्डको बीललाई स्वागत जनाएको थिए। जापले सार्बजनिक गरेको 24 पृष्ठ छुट्टै राज्य गोर्खाल्याण्डको बीललाई ‘वेस्ट बेङ्गाल रिअर्गनाइजेसन बील’ भनि उल्लेख गरेको छ। 
यसक्रममा जाप सर्वोच्च नीति निर्धारण समितिका सदस्य अनमोल प्रसादले गोजमुमो अनि केन्द्रको भाजपा गोर्खाल्याण्ड प्रति इमान्दार नरहेको आरोप लगाए। ‘केन्द्रमा भाजपा अनि यता दार्जीलिङ पहाडमा गोजमुमो गोर्खाल्याण्ड प्रति इमान्दार छैन’ अनमोल प्रसादले भने। उनले जन आन्दोलन पार्टी गोर्खाल्याण्ड प्रति इमान्दार रहेको दाबी गर्दै उक्त बीललाई केन्द्रमा बहुमतको सरकार भएको भाजपा अनि भाजपाको सांसद आहलुवालीयाले राष्ट्रपतिको अनुमोदन लिएर लोकसभामा पेश गरेर गोर्खाल्याण्डबारे चर्चा र तर्क पेश गरोस् भनि चुनौति दिए। 
यसक्रममा उनले गोर्खाल्याण्डको मुद्दामा चुनाव जितेर गएका सांसद आहलुवालीयाले लोकसभामा गोर्खाल्याण्डको चर्चा नगरेर मच्छड्ले मानिसहरूलाई टोकेर बिरामी भएको कुरा उठान गरेको दाबी गरे। आजसम्म लोकसभामा चलेको 30 वटा बहसमा सांसद आहलुवालीयाले भाग लिए पनि उक्त 30 वटा बहसहरुमा कहिँ कतै गोर्खाल्याण्डको चर्चा नगरेको दाबी अनमोल प्रसादले गरे। 
यता जाप अध्यक्ष डा. हर्कबहादुर छेत्रीले जाप गठन भएको तीन महिनामा आफुहरूले छुट्टै राज्य गोर्खाल्याण्डको बील तयार पारेको बताउँदै गोजमुमोले गोर्खाल्याण्डको नाउँमा 9 वर्षसम्म केवल नारा र जुलुस मात्र लगाउने कार्य गरेको आरोप लगाए। ‘गोजमुमोले 9 वर्षदेखि गोर्खाल्याण्डको नारा र जुलुस मात्र गर्‍यो। जापले आज तीन महिनामा गोर्खाल्याण्डको बील तयार पारिसकेको छ। यदि आँट छ भने यस बीललाई पेश गरेर देखाओस्’ डा. छेत्रीले चुनौति दिए।
उनले भोलि हुने मोर्चाको जनसभाबाट यस विषयमा विमल गुरुङ अनि सांसद एस.एस आहलुवालीयाले जवाब दिनुपर्ने माग गर्दै गोर्खाल्याण्डको नारा मात्रै लगाउनु होइन बील बनाएर पेश गर्ने काम गर्नुपर्छ भने। ‘यदि सक्दैनौँ भने सक्दिन भन तर जनतालाई गोर्खाल्याण्डको नाउँमा ढाँट्ने काम नगर’ डा. छेत्रीले गोजमुमो अनि भाजपा दुवैलाई चुनौति दिए। 
अहिलेघरी जनतालाई भ्रम सिर्जना गर्नका निम्ति जन आन्दोलन पार्टीलाई गोर्खाल्याण्ड अनि गोर्खा बिरोधी भनि आरोप लगाउने कार्य गरिरहेको बताउँदै वास्तवमा गोजमुमो अनि भाजपा सबैभन्दा धेर गोर्खाल्याण्ड विरोधी हो भनि आरोप लगाए। 
‘तिमीहरूले गोर्खाल्याण्डको नारा मात्रै लगायौ अनि हामीले लोकसभामा पेश गर्ने बिल तयार पारिसकेका छौँ। सक्छौ भने लोकसभामा पेश गर सक्दैनौँ भने अब जनतालाई गोर्खाल्याण्डको नाउँमा ढाँट्ने काम नगर’ डा. छेत्रीले चुनौति दिए। 
अर्कोतर्फ उनले गोजमुमो अध्यक्ष विमल गुरुङको कटाक्ष गर्दै हिजको दिनमा मदन तामाङको हत्या हुँदा दार्जीलिङ छिर्न नसकेको बेला कालेबुङका युवाहरूले दार्जीलिङ छिराएको बताउँदै ‘जनता भनेको मानेको पातमा जमेको पानीको थोपा हो भनेर यहीँबाट भन्यौँ। तिम्रो कथालाई दह्रिलोसित कालेबुङले लेख्यो यहाँ अनि आज फेरि कालेबुङ आइपुगेको छौँ। अब तिम्रो कथाको अन्तिम च्याप्टर पनी यहीँ लेख्नेछौँ’ डा. छेत्रीले भने। 
उनले विधानसभा चुनाव पछि जापलाई दार्जीलिङ अनि खर्साङमा वृहत रूपले विस्तार गर्ने बताउँदै ‘डा. छेत्रीको विधायक बन्ने भाग्य छैन भनेका रहेछन्। 2017 को जीटीए चुनावमा भाग्य विधाता को हो अनि चौकिमा को जान्छ हेरौँ। जापको लहरले दार्जीलिङ र खर्साङलाई लपेटिसकेको छ। जनताले परिवर्तनको लहर चुनिसकेका छन्’ डा. छेत्रीले भने। 
यसक्रममा उनले आफुलाई मोर्चाले लगाएका सम्पूर्ण आरोपहरूको पनि खण्डन गर्दै जवाब दिए। यसपल्टको चुनावमा जनतालाई किन्न विमल गुरुङले ब्रिफकेशमा पैसा बोकेर कालेबुङ आएको आरोप लगाउँदै जनताले बिमल गुरुङको पैसा थापेर परिवर्तन रोज्नु भनि आह्वान गरे। जनताको पैसा चुनावमा सित्त्थै बाडेको आरोप लगाउँदै दिएको पैसा जनताले लिनु भनि जनाए। 
यसक्रममा उनले चुनावमा विजयी भएर गएपछि पिउने पानी, पर्चापट्टा, अस्थायी कर्मचारी संगठनको समस्या, अस्थायी शिक्षकको समस्या, बेरोजगार समस्या आदि समाधानको निम्ति आवाज उठाएर कार्य गर्ने पनि बताए। यस सभामा महासचिव नयन प्रधान, युसुफ सिमिक, प्रतिभा कुमाई, अमर लामा आदिले सम्बोधन गरेका थिए।

Related Posts

0 Response to "जापले सार्बजनिक गर्‍यो छुट्टै राज्य गोर्खाल्याण्डको बील ......आँट छ भने गोजमुमोले यसलाई पारित गरोस् – डा. हर्कबहादुर छेत्री "

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.