
जन चेली एकाईद्वारा मोर्चालाई एकथाक प्रश्न ..... सर्वहाराको निम्ति अब जिल्लानै चाहियो – अम्बलमाया छेत्री
डी के वाइबा, कालिमन्युज, कालेबुङ 12 अप्रेल 2016। कालेबुङ जिल्ला र गोर्खाल्याण्ड मुद्दाको ताना तानीविच कालेबुङमा चलिरहेको चुनावी सभामा पहिलोपल्ट मञ्चबाट 83 वर्षिय वृद्धाले सम्बोधन गरेको दृष्य देखिएको थियो।
मञ्चमा उभिएर भाषण दिन निक्कै गाह्रो परिरहेकी वृद्धाले कालेबुङ जिल्ला गठनको निम्ति सबैलाई एकबद्ध हुने आह्वान गरिन्।
'86को आन्दोलन देखियो। 2007 को आन्दोलन देखियो। तर खोइ गोर्खाल्याण्ड? मञ्चबाट अम्बियोक चियाबारी गोरूबथानकी 83 वर्षीय अम्बलमाया छेत्रीले प्रश्न गरिन्।
'हामी नखाइ नखाइ छोरी छोरी पढाउँछौं।तर पढेको छोराछोरीले काम पाउँदैन। त्यसपछि हामीले कसरी सुख पाउँछौं ? सर्वहाराको निम्ति अब जिल्ला नै चाहियो।' उनले सबैको ध्यान आकर्षण गर्दै भनिन्।
जन आन्दोलन पार्टीको चेली एकाईद्वारा आयोजित चुनावी सभामा उनले सम्बोधन गर्दा सबैले हौसला प्रदान गर्दै ताली बजाईरहेका थिए। 'आजसम्म आन्दोलन हेरेर नै वृद्ध भएपनि उपलब्धि भने केहि नदेखेको दुखेसो उनले पोखिन्। ‘आन्दोलन हेररै बूड़ी भयौँ, तर उपलब्धि केही देखिनँ। हामी चियाबगानकाहरू त अझ उखालेर फ्याकेको मूला जस्तो भएका छौं। जसको पर्चापट्टा छैन। अब यसबारे काम गर्ने हाम्रो केवल डा. हर्कबहादुर छेत्रीसँग मात्रै आशा बाँचेको छ’ तिनले भनिन्।
आफ्नो सम्बोधनमा उनले व्याप्त बेरोजगार समस्या अनि समस्याले ग्रस्त बनेर पलायन हुनपरिरहेको अवस्थालाई पनि उजागर गर्दै आजसम्मका राजनैतिक दलहरूले यस विषयका कुनै काम नगरेको दाबी गरिन्। ‘रीसमा केही हुँदैन। गोजमुमोमा हुने पनि नेपाली अनि जापमा हुने पनि नेपाली नै हुन्। नेपाली नेपाली लड़ेर के हुन्छ? यो हाम्रो कालेबुङ हो। जिल्ला पनि हाम्रो हुनुपर्छ। झोपड़ीमा बस्नेलाई पनि जिल्ला चाहिन्छ। नाम्लो, भारी बोक्नेलाई पनि जिल्ला चाहिन्छ। त्यसैले कालेबुङले जिल्लालाई नै भोट दिनेछ’ उनले कालेबुङवासीलाई भनिन्। यसक्रममा उनले दार्जीलिङको हालत एउटा कलाकारको गीत जस्तो भएको छ भन्दै ‘मेरो हजुर झोपड़ीमा बास छ, भन्दै हिड़नुपर्ने अवस्था छ भनिन्।
अर्कोतर्फ जनसभालाई सम्बोधन गर्ने क्रममा जनचेली एकाईकी नेत्री विद्या गुरुङले मोर्चा अध्यक्षलाई एकैसाथ पाँचवटा प्रश्न तेर्साइन्। ‘2010मा गोर्खाल्याण्ड ल्याउँछु भन्थ्यो ल्यायो ? तराई डुवर्स अन्तर्भुक्त गर्यो ? त्रिस्तरीय पञ्चायत चुनाउ गरायो ? एसएससी गठन गर्यो? अस्थायीहरूको स्थायीकरण गर्यो ?’
विमल गुरुङको नाउँ नलिई उनले प्रश्न गरिन्। पेदोङ सन्त जर्ज विद्यालयकी शिक्षिका विद्या गुरुङले गोजमुमो प्रार्थी अनि जाप प्रार्थी दुवै आफ्ना सहकर्मी रहेको बताउँदै चुनाउमा मोर्चा प्रार्थी सरिता राईले जिते केहि गर्न नसक्ने दाबी गरिन्। एकार्कामा सम्बन्ध राम्रो भए पनि विधानसभामा जनताले काम गर्न सक्ने व्यक्तिलाई पठाउन आवश्यक रहेको उनले बताइन्।
यसक्रममा जनसभामा जाप चेली एकाईकी प्रमुख प्रतिभा कुमाई कालेबुङ जिल्लाको विरोध गर्नेहरूले बुझ्न पर्ने समय आइसकेको जनाइन। उनले माकपासँग मिलेर चुनाउ लड़्ने गोजमुमोबाट जनताले कुनै कुरा पनि आशा नराख्दा हुन्छ भन्दै दुई महीनाको बालकसँग अहिले 9 वर्षिय गोजमुमो डराएको दाबी गरिन। यहाँको थाना डाँडा परिसरमा सम्पन्न भएको जाप चेली एकाइको सभामा विभिन्न स्थानहरूबाट कार्यकर्ताहरू भेला भएका थिए ।
0 Response to "जन चेली एकाईद्वारा मोर्चालाई एकथाक प्रश्न ..... सर्वहाराको निम्ति अब जिल्लानै चाहियो – अम्बलमाया छेत्री"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.