जापले 26 अप्रेलदेखि विभिन्न कार्यक्रम गर्ने घोषणा
डी के वाइबा, कालिमन्युज, कालेबुङ 17 अप्रेल 2016 । पहाडमा पञ्चायत चुनाउको निम्ति सडकबाट नै संघर्ष शुरू गर्ने जन आन्दोलन पार्टी (जाप)-ले 26 अप्रेलबाट आफ्नो कार्यक्रम शुरू गर्ने घोषणा आज गरेको छ। जसको निम्ति समस्त पहाडवासीलाई नै एकमुष्ठ बन्ने आह्वान जन आन्दोलन पार्टीले गरेको छ।
जापको दावी अनुसार जन आन्दोलन पार्टी केवल भोटको निम्ति अघि आएको होइन, यसैले चुनाउ परिणाम एकातिर हुँदै गर्छ तर जनमानसको समस्यालाई केन्द्र गरेर चुनाउ घोषणा पत्रमा जुन वाचा गरेको छ, त्यसलाई पूरा गर्नको निम्ति जापले अब संघर्ष शुरू गर्ने भएको छ। जसको पहिलो चरणमा पञ्चायत चुनाउ गराउनको निम्ति जापले आन्दोलन नै गर्ने मुड बनाइसकेको देखिएको छ।
जन आन्दोलन पार्टीको एक महत्वपूर्ण बैठक आज दलीय कार्यालयमा सम्पन्न भयो। बैठकले निर्णय लिए अनुसार जापले अब पहिलो चरणमा पञ्चायत चुनाउको निम्ति संघर्ष गर्नेछ। जसको अभावले गर्दा पहाडका मानिसहरूले आधारभूत समस्याधरि समाधान गर्न सकेका छैनन्। यसर्थ घोषणा पत्रमा उल्लेख गरे अनुसार जापले पहिलो दुई स्तरीय पञ्चायत चुनाउ गराउनको निम्ति संघर्ष गर्नेछ। जुन कार्यक्रम 26 अप्रेलबाट शुरू हुनेछ। जस अन्तर्गत पहिलो चरणमा प्रत्येक ग्राम पञ्चायतहरूमा ज्ञापन बुझाइने छ। यस अघि आउँदो शनिबारको दिन पञ्चायत चुनाउलाई केन्द्र गरेर सर्वदलीय बैठक पनि बोलाइएको छ।
समस्त दलहरूको सुझाव र सल्ला लिएर जापले अघिल्लो कार्यक्रम तय गर्ने भएको छ। जसको निम्ति पहाडका समस्त दलहरूलाई पत्राचार पनि गरिसकेको जनाइएको छ।
पहाडमा पञ्चायत चुनाउ हुन नसकेको डेढ दसकभन्दा लामो समय भइसकेको छ। दागोपाप गठनकालमा दुईस्तरीय पञ्चायत चुनाउ गर्ने कुरा सम्झौतामा उल्लेख थियो। यद्यपि एक स्तरीय चुनाउ गराएर गोरामुमोले टाटो मार्ने काम गरेको थियो। जुन पञ्चायत दागोपाप अचल हुनसाथ 2004देखि आजसम्म हुन सकेको छैन। त्यसपश्चात गोजमुमोको गोर्खाल्याण्ड आन्दोलनपछि 2011 मा जीटीए सम्झौता भयो। जुन जीटीएमा पहाडमा त्रिस्तरीय चुनाउ गराउने कुरा उल्लेख भए तापनि चारवर्षपछि पनि कुनै पहल हुन नसकेको देखिन्छ।
क्षमता विकेन्द्रीकरण भए श्वायत्तसासन चलाइरहेका दलको क्षमता कम हुने भयले पनि पहाडमा पञ्चायत चुनाउ नगराएको आरोप समय समयमा उठ्ने गरेको छ। यस्तोमा सत्तामा रहने दल जहिले पनि पञ्चायत चुनाउलाई लिएर उदाशीन देखिने भएकोले जन आन्दोलन पार्टीले नै यसको निम्ति संघर्ष शुरू गर्ने अठोट गरेको छ।
हामी भोटको निम्ति आएका होइनौं। भोट आउनु र जानु ठूलो कुरा होइन तर आम जनताको हितमा काम हुनु ठूलो कुरा हो, वैठकपछि जन आन्दोलन पार्टीका महासचिव नयन प्रधानले भने, हामी त्यही काम गरेर देखाइदिनेछौं। पहाडमा पञ्चायत चुनाउ हुन नसकेकोले गर्दा गाउँको अवस्था डाँवाडोल बनेको छ। सरकारबाट आएको सहुलियत ठीक ठाउँमा पुग्न सकेको छैन। सत्ताशीन दलले नै पञ्चायतलाई कब्जा गरेर राखेको छ। अब हामी पञ्चायतमा जनताकै प्रतिनिधि पठाउन चाहन्छौं। जसको कारण आम मान्छेले संवैधानिक हक र अधिकार पाउन सकोस्। यसको निम्ति पहाडमा यथाशीघ्र दुइस्तरीय पञ्चायत चुनाउ हुन जरूरी छ। हामी यसैको निम्ति संघर्ष शुरू गर्दैछौं।
सर्वदलीय बैठकको निम्ति प्रत्येक दललाई पत्राचार गरिसकेको जनाउँदै उनले थपे, दलीय कार्यलयमा नै बैठकको आयोजना हुनेछ। जहाँ सबैको सुझाव र सहमति लिइने छ। पञ्चायत चुनाउ गराउनको निम्ति जीटीएको इच्छा शक्ति नरहेको चारवर्षपछि स्पष्ट भएको छ। यो नै जीटीएको विफल्ताको एउटा उदहारण हो। जसले सम्झौतामा उल्लेख भएको कुरा पनि गराउन सकेन। यद्यपि हामी घोषणा पत्रमा उल्लेख रहेको कुरा पूरा गरेर देखाइदिनेछौं। यसको निम्ति जनता डटेर अघि आउन जरूरी छ।
यता जन आन्दोलन पार्टीका युवा संयोजक विशाल राईले जनाएअनुसार प्रथम चरणमा ग्रामपञ्चायतहरूमा ज्ञापन दिइनेछ। त्यसपश्चात खण्ड विकास कार्यालयहरूमा ज्ञापन दिनेछौं। यस अतिरिक्त महकुमा अधिकारी, जिल्ला प्रशासक हुँदै मुख्यसचिव एवं ग्रामीण विकास मन्त्रालयसम्म हामी पुग्नेछौं। सोही निर्णय आज बसेको बैठकले लिएको छ।
वैठकमा जाप सर्वोच्च निती निर्धारण समितिका सदस्य युसुफ सिमिक, नोर्देन भोटिया, नवराज गुरूङ लगायत खण्ड प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
0 Response to "जापले 26 अप्रेलदेखि विभिन्न कार्यक्रम गर्ने घोषणा"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.