
राजनैतिक मासिक पत्रिका समकालीन एजेण्डा-को विमोचन
डी के वाइबा, कालिमन्युज, कालेबुङ, 6 मार्च। राजनैतिक मासिक पत्रिका ‘समकालीन एजेण्डा’-को आज विमोचन गरिएको छ। हिमालयन होटलमा पत्रिका प्रकाशन समूहले एक कार्यक्रमबीच सामाजिक कार्यकर्ता विष्णु छेत्री, उदय कुमाई अनि नाटककार ललित गोलेको बाहुलीबाट पत्रिकाको विमोचन गर्यो। पत्रिकाको विमोचनसितै पत्रिका कै नाममा कालेबुङ टेलिभिजनबाट प्रसारण गरिने साप्ताहिक बहस कार्यक्रमको पनि थालनी गरियो।
पूर्णरूपले राजनैतिक विषयहरूलाई समेटेको पत्रिकाको नामबाटै शुरु गरिएको बहस गोर्खा जनमुक्ति मोर्चाबाट जीटीएका प्रमुख सल्लाहकार स्वराज थापा अनि सभासद सामुएल गुरूङ अनि जन आन्दोलन पार्टीको सर्वोच्च नीति निर्धारक समितिका सदस्य अमर लामा अनि युवा इकाईका अमिर बस्नेत माझ गरिएको थियो।
समकालीन राजनैतिक परिस्थिति अनि विधानसभा चुनाउ-शिर्षक रहेको कार्यक्रममा दुइ दलका प्रतिनिधिहरू एकापसमा भीडे। मध्यस्थकर्ताले अमर लामालाई सोधे, ‘मोर्चालाई तपाईँले प्रश्न गर्नु पर्यो भने के गर्नुहुन्छ? लामाले सोधे, ‘विधानसभाले गोर्खाल्याण्ड दिन्छ?’ त्यसको जवाब सोझो थियो। सामुएल गुरूङले भने, ‘विधानसभामा हाम्रो मुद्दा रेकर्ड हुन्छ। जसले केन्द्रमा कुरा राख्नमा मद्दत गर्छ।’
स्वराज थापाले भने, ‘जनताले पो प्रश्न गर्नुपर्ने जापले पो गर्दैछ। जुन राज्यभित्र गोर्खाल्याण्ड गठन हुन्छ, त्यो राज्यको विधानसभामा यो मुद्दा पुग्नुपर्छ। बङ्गाल सरकारको पदक्षेप पनि प्रमुख कुरा हो। यसपल्टको विधानसभा चुनाउको प्रमुख मुद्दा गोर्खाल्याण्ड नै हुनेछ।’
उनको उत्तरले पनि प्रश्न उठायो, हिजोसम्म राज्यले छुट्टै राज्य दिँदैन भन्ने मोर्चाले विधानसभाको चुनाउको मुद्दा गोर्खाल्याण्ड बनाउनु, मुद्दाको नाममा रोटी सेक्नु होइन त? मध्यस्थकर्ताले स्वराज थापालाई सोधे, ‘जापलाई प्रश्न गर्नु परे के गर्नुहुन्छ?’ उनले सोधे, ‘जाप अध्यक्ष डा. हर्कबहादुर छेत्री तृणमूल कांग्रेसका मान्छे पो रहेछन्, है?’ यसको उत्तर पनि सोझो थियो।
अमर लामाले जवाब फर्काए, ‘जब डा. छेत्री जापकै उम्मेदवार भएर चुनाउ लडिरहेका छन् भने उनी कसरी तृणमूल कांग्रेसका मानिस भए?’ उनको उत्तरपछि बहस गर्मियो। प्रश्न उठ्यो, त्यसो भए किन मुख्यमन्त्री ममता व्यानर्जीले डा. छेत्रीलाई उम्मेदवारको रूपमा घोषणा गरे? यही प्रश्नको सेरोफेरोमा बहस घुम्यो।
लामाले डा. छेत्रीले तृणमूल कांग्रेसबाट यसपालीको चुनाउमा जापले समर्थन लिनेसम्म मात्र कुरा चलिरहेको त्यो पनि पक्का नभइसकेको अवस्थामा भएको यो गडबडीलाई सामान्य कुरा बताए। यसलाई मोर्चाले मुद्दा बनाउनु सुहाउँदो नरहेको भन्दै तिनले भने, ‘जापले ममता व्यानर्जीलाई दार्जीलिङको निम्ति जाप उम्मेदवार घोषणा गरे मुख्यमन्त्री मानिलिने? हाम्रो पनि त्यस्तै हो। यो प्रश्नको जवाब डा. छेत्रीलाई कालेबुङका उम्मेदवारकोरूपमा जापद्वारा गरिएको घोषणामा नै छ।’ यद्धपि उनले गोर्खा जनमुक्ति मोर्चाले भने गोर्खाल्याण्ड शब्दको दुरुपयोग गरिरहेको अनि भावानात्मक राजनीति गरेर जनतालाई ठगिरहेको आरोप लगाए।
सामुएल गुरूङले लामाको आरोप आधारहीन रहेको भन्दै विधानसभा होस् वा लोकसभा मोर्चाले छुट्टै राज्यको मुद्दा उठाउने बताए। जनतालाई हामीले छुट्टै राज्य गठन गर्छौं भनेका छौं, यसको निम्ति जुनै चुनाउबाट होस्, हामी जनताको सपना पुरा गर्ने ठाऊँतिर नै जान्छौं। गोर्खाल्याण्ड शब्द भावना रहेर सपना रहेको अनि त्यसलाई पुरा गर्न नै मोर्चामा चुनाउमा उत्रिएको पनि उनले बताए।
उनी अनुसार मोर्चासित विकास गर्नलाई जीटीए छ। जसद्वारा विकास चलिरहेको छ। अबको मिशन भनेको नै छुट्टै राज्य हो। जाप विकासको कुरा गरिरहेको छ, मूल मुद्दामा कहिले पुग्ने हो पत्तो छैन। यसै पनि जाप तृणमूल कांग्रेसकै इकाई रहेको स्पष्ट भएको छ।
बहसमा दुवै पक्षले आफ्नो दलको मुद्दा, योजना र लक्ष्यबारे बारम्बार कुरा राखिएको थियो। मोर्चा छुट्टै राज्यको निम्ति नै चुनाउमा जाने अनि जाप भने केवल विकासको निम्ति चुनाउमा जाने बहसमा उनीहरूले स्पष्ट पारे।
अमर लामाले भने, ‘विधानसभामा मोर्चाले बनाएको अस्थायी कर्मचारीहरूको समस्याको समाधान छ। विधानसभा विकासको लागि नै जाने ठाऊँ हो। जहॉं छुुट्टै राज्य हुँदैन, त्यहॉं मुद्दा लिएर जानेजस्तो झुट कुरा जापले गर्दैन।’
यता मोर्चाका प्रतिनिधिहरूले भने जाप छुट्टै राज्यको निम्ति आग्रही र गम्भीर नरहेकोले नै ‘गोर्खाल्याण्ड’ शब्दबाट नै बाहिरिएको पुष्टि गरिरहेका थिए। स्वराज थापाले भने, ‘गोर्खाल्याण्ड जनताको सपना हो। त्यसलाई पुरा गर्ने प्रतिबद्धता मोर्चाको हो।’ उनले जापलाई गोर्खाल्याण्ड विरोधीहरूसित मिलेर मूल मुद्दा दबाउने षडयन्त्रमा राजनीति गरिरहेको आरोप पनि लगाए।
यता दर्शकहरूले पनि नेताहरूलाई धेरै प्रश्न गरेका थिए। दर्शकहरूले मोर्चा र जापको चुनावी मुद्दा जे भए पनि जनता भने मर्कामा नै रहेकोमा नेताहरूलाई प्रश्न गरिरहेका थिए भने त्यसको उत्तरमा दुवै दलका प्रतिनिधिहरूले जनताको समस्या समाधान गर्न नै पार्टी चुनाउमा गइरहेको बताइरहेका थिए।
कुनै चुढान्त निष्कर्ष ननिस्किएको बहस एकअर्कामाथि लगाएको आरोपहरूसितै सकिएको थियो। कार्यक्रममा समकालीन एजेण्डाको कार्यकारी सम्पादक प्रज्ज्वल छेत्रीले पत्रिका निष्पक्ष रहने प्रतिबद्धता जाहेर गर्दै यसको संरक्षणको निम्ति पाठकहरूलाई अपील पनि गरे।
0 Response to "राजनैतिक मासिक पत्रिका समकालीन एजेण्डा-को विमोचन"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.