-->
बोडोल्याण्ड टेरिटोरियल काउन्सिलले पनि गोर्खाहरूको सुरक्षा गर्नुपर्छ - विमल गुरूङ

बोडोल्याण्ड टेरिटोरियल काउन्सिलले पनि गोर्खाहरूको सुरक्षा गर्नुपर्छ - विमल गुरूङ

राजेश शर्मा , कालिमन्युज, जयगाउँ 14 फरवरी । असमको बक्सा जिल्लामा असम गोर्खा सम्मेलनको चौधौं त्रयवार्षिक अधिवेशन आज सम्पन्न भएको थियो। उक्त सम्मेलनमा गोर्खा जनमुक्ति मोर्चाका राष्ट्रिय अध्यक्ष एवं जीटीए चीफ विमल गुरूङ मुख्य अतिथिको रूपमा आमन्त्रित थिए। उक्त कार्यक्रममा उपस्थित जमातलाई सम्बोधन गर्दै विमल गुरूङले असममा आफू राजनीति गर्न अथवा भोट माग्नको निम्ति होइन तर गोरखाहरूको पीर-मर्का अनि समस्याहरू बुझ्न आएको बताए। आफ्नो जीन्दगी नै गोर्खाहरूको उत्थान अनि हकहितको संघर्षको निम्ति उत्सर्ग गर्ने प्रतिवद्धता जाहेर गर्दै गुरूङले आफ्नो सम्बोधनको क्रममा भने‘ मैले आफ्नो जीन्दगी बाँचिसके अब आउने जीन्दगी गोर्खे सन्तान अनि नयाँ पीढ़िको निम्ति बाँच्नेछु’ ।
"गोर्खाहरूको त्याग अनि बलिदानलाई देशले पनि बुझ्नुपर्छ, सम्मान गर्नुपर्छ भन्ने विचार व्यक्त गर्दै गोर्खाहरूले देशमा सम्मानसित बाँच्न पाउनुपर्छ" तिनले भने। ‘गोर्खाल्याण्ड दार्जीलिङ,तराई डुवर्सको निम्ति मात्र होइन तर समग्र भारतका गोर्खाहरूको अस्तित्व अनि चिन्हारीको निम्ति हो। यसैले गोर्खाल्याण्डको निम्ति समग्र गोर्खाहरू समर्पित अनि एकजुट हुनुपर्छ’, उनले आफ्नो सम्बोधनमा भने।
नेपाली भाषाले 20 अगस्त 1992 सालमा भारतीय सविंधानको आठौं अनुसूचिमा मान्यता पाएतापनि भाषामात्रै जातिको सुरक्षाको निम्ति पर्याप्त होइन भन्दै - "जसरी बिहारीहरूको निम्ति बिहार, मिजोहरूको निम्ति मिजोरम, नागाहरूको निम्ति नागाल्याण्ड राज्य रहेको छ त्यसरी नै गोर्खाहरूको निम्ति गोर्खाल्याण्ड राज्य हुनुपर्छ। गोर्खाहरूको निम्ति छुट्टै राज्य गोर्खाल्याण्ड भएको खण्डमा गोर्खाहरूको राजनैतिक चिन्हारी अनि सुरक्षा भएर जानेछ।"
असमका गोर्खाहरूलाई आतंकी समूहहरूले बन्दूकको नोकमा झुकाउने काम गर्नु हुँदैन, किनभने हिँसा समस्याको समाधान होइन। बोडोल्याण्ड टेरिटोरियल काउन्सिल(बीटीसी)ले पनि गोर्खाहरूको सुरक्षा गर्नुपर्छ, किनभने बीटीसीको निम्ति असमका गोर्खाहरूले पनि योगदान पुराएका छन्, समर्थन जुटाएका छन्। उत्तरपूर्वीक्षेत्रमा गोर्खाहरूको विकासमात्रै होइन तर सुरक्षा अनि राजनैतिक अधिकार पनि प्रदान गरिनुपर्छ’ उनले भने। कार्यक्रमलाई सम्बोधन गर्दै उनले अझै भने, गोर्खाहरूको अभिभावक संगठन भएको नाताले उत्तरपूर्वीक्षेत्रका गोर्खाहरूमाथि अन्याय अनि शोषण भएको बेला गोर्खा जनमुक्ति मोर्चा जहिले पनि अघि आएर बोल्ने गरेको छ। किनभने गोर्खाहरूको न्याय अनि अधिकार खोज्न नै गोर्खा जनमुक्ति मोर्चाको स्थापना भएको हो। देशको कुनै पनि प्रान्तमा गोर्खाहरूमाथि अन्याय अनि अत्याचार हुन्छ भने गोर्खा जनमुक्ति मोर्चा चुप लागेर बस्नेछैन। गोर्खाहरूको हक-हित अनि सम्मानको सुरक्षाको विषयमा गोर्खा जनमुक्ति मोर्चाले कुनै सम्झौता गर्नेछैन। गोर्खाहरूको मान- सम्मान अनि प्रतिष्ठालाई सदैव गौरवमयरूपमा राख्न गोजमुमो सदैव कटिवद्ध रहेको छ र यसमाथि कहिल्यै सम्झौता गरिनेछैन।
देशको निम्ति आफ्नो प्राणको बलिदान दिनसमेत पछि नहट्ने गोर्खाहरूको निम्ति अब देशले पनि सोच्ने समय आएको छ। गोर्खाहरूको त्याग अनि बलिदानको कदर देशले गर्ने समय आएको छ। देशभक्त गोर्खाको दीर्घमियादी गोर्खाल्याण्ड राज्य गठन गरेर भारत सरकारले गोर्खाहरूलाई न्याय दिन आवश्यक रहेको छ, किनभने गोर्खाहरू देशलाई संकट अनि शत्रुबाट सुरक्षा प्रदान गर्ने सिपाहीमात्रै होइनन तर स्वतन्त्र भारतको खाटी नागरिक पनि हुन्। गोर्खाहरूलाई देशले सम्मान दिएको खण्डमा गोर्खाहरूले देशलाई उक्त सम्मानको दोब्बर योगदान प्रदान गर्नेछ, गुरुङ्ले भने। उक्त कार्यक्रममा विमल गुरूङबाहेक विधायक इमानुएल मुसारी, तमुल पूर, अरूण उपाध्याय, रोशन गिरी, प्रेम तामाङ, लक्ष्मी सदाई, कृष्ण भूजेल अनि पूर्व क्याबिनेट मिनिस्टर पदम बहादुर चौहान लगायत अन्य विशिष्ट व्यक्तित्वहरू पनि उपस्थित थिए साथै सभालाई सम्बोधन पनि गरेका थिए।

Related Posts

0 Response to "बोडोल्याण्ड टेरिटोरियल काउन्सिलले पनि गोर्खाहरूको सुरक्षा गर्नुपर्छ - विमल गुरूङ"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.