-->
लप्चुमा सडक दुर्घटना एमटीभी ‘रोडिज’-को 11 क्रिउ मेम्बर घाइते

लप्चुमा सडक दुर्घटना एमटीभी ‘रोडिज’-को 11 क्रिउ मेम्बर घाइते


प्रज्ज्वल छेत्री, कालिमन्युज, कालेबुङ, 6 फरवरी 2016। एमटीभीको चर्चित रियालिटी सो रोडिज’ को 11 क्रिउ मेम्बर सडक दुर्घटनामा परेर घाइते बनेका छन्। सुटिङको निम्ति गत 4 फरवरीको दिन नै पहाड आइपुगेका ‘रोडिजका क्रिउ मेम्बर(कर्मी दल)हरू आज दार्जीलिङबाट सवार भएर टिस्टा-त्रिवेणीतर्फ आइरहेको समय लप्चु भ्यूपोइन्टमा दुर्घटनाग्रस्त भएको हो।
घटना अनुसार आज बिहान लगभग 8.30 बजीतिर क्रिउ मेम्बरहरू एएस 01-एफसी 9100 नम्बर भएको मिनी बसमा सवार भएर दार्जीलिङबाट टिस्टा-त्रिवेणीतर्फ आइरहेका थिए। त्यसबेला दार्जीलिङ महकुमाको रङ्गली-रङ्गलियट थाना अन्तर्गत लप्चु भ्यू पोइन्ट नजिक आइपुग्दा वाहन अचानक ब्रेक फेल भएको कारण रूखमा ठोक्किएर पल्टिँदा चालकलगायत 11जना दुर्घटनामा परेका हुन्।
घाइते बनेकाहरूमध्ये 9 जनालाई तत्कालै स्थानिय व्यक्तिहरुको सहयोगमा उपचारको निम्ति कालेबुङ महकुमा अस्पताल ल्याइएको थियो भने गम्भिर रूपमा घाइते बनेका सन्तोष जैसवाल(35) अनि गौरव पाजोज(32)लाई सिलगढी लगिएको जानकारी प्राप्त भएको छ।
समाचार लेखेञ्जुल प्राप्त जानकारी अनुसार गम्भिर रूपमा घाइते बनेका गौरव पाजोज हाल आईसीयूमा भर्ना गरिएको छ । कालेबुङ ल्याइएका घाइतेहरूमा एकजना असम निवासी मगेन्द्र बसुमतारी(36), छन् भने अन्य सबै मुम्बई निवासी रहेको थाहा लागेको छ। कालेबुङ ल्याइएका घाइतेहरूमा आशिश अनसारी(24), सिदार्थ सोनी(23), सुरेन्द्र प्रधान(35), सन्दिप भास्कर(30), आकाश पटेल(25), जोन ब्रिटो(32), विजय कुमार पाण्डे(32) अनि रविरञ्जन कुमार(24) रहेका छन्।
धेरैजसो घाइतेहरूलाई खुट्टा, टाउको, ढाड अनि छातीमा चोट लागेको अस्पतालपक्षले जनाएको छ। यद्यपि कालेबुङ महकुमा अस्पतालमा एक्स-रे को सुविधा नभएको कारण सबै घाइतेहरूलाई दिउँसो 2 बजीभित्र सिलगढीको एक नीजि नर्सिङ होममा रेफर गरिएको छ। दार्जीलिङ पुलिस अधिक्षक अमीत पी. जवालगीले घटनाको पुष्टि गर्दै घाइतेहरूको जानकारी दिएका हुन्।
घाइते बनेकाहरूमध्ये सुरेन्द्र प्रधानले भने अनुसार गाडीमा कोहीपनि रोडिजमा भाग लिने प्रतियोगिहरू थिएनन्। उनीहरू जम्मै रोडिजका क्रिउ मेम्बरहरू थिए।
हाल पहाडका विभिन्न ठाउँहरूमा उनीहरूले सुटिङ गरिरहेका थिए। यसैक्रममा सुटिङकै निम्ति गइरहेको समय उनीहरू दुर्घटनामा परेको बताउँदै गाडी ब्रेक फेल भएपनि चालकको कारण नै आफूहरूको ज्यान जोगिएको उनले बताए।
अर्कोतिर प्रत्यक्षदर्शी देवप्रकाश सुब्बा अनुसार उनी पेशोकबाट कालेबुङ आइरहेको समय लप्चु भ्यूपोइन्ट नजिक उक्त बाहन दुर्घटनाग्रस्त भएको हो। चालकले नियन्त्रण गुमाएपछि गाडी सिधै नजिकैको सखुवाको रूखमा ठोक्किएर पुनः भित्तामा ठोक्किन पुगेपछि गाडी सडकमा पल्टिएको हो। गाडी पूर्ण रूपमा क्षतिग्रस्त भएको छ भने उक्त गाडीको अवस्था हेर्दा दुर्घटना कति भयानक थियो भन्ने अनुमान लगाउन सकिने सुब्बाले बताए।
स्मरण गराइन्छ, एमटीभीको चर्चित रियालिटी सो रोडिजले हाल पहाडका विभिन्न ठाउँहरूमा पुगेर सुटिङ गरिरहेको थियो। यसैक्रममा हिजो मिरिकमा सुटिङ सकेपछि आज दार्जीलिङबाट सुटिङकै निम्ति टिस्टा-त्रिवेणीतर्फ आइरहेको समय उनीहरू दुर्घटनामा परेका थिए। 

Related Posts

0 Response to "लप्चुमा सडक दुर्घटना एमटीभी ‘रोडिज’-को 11 क्रिउ मेम्बर घाइते"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.