-->
अलगढ़ामा क्रामाकपाको ‘जन-संवाद पथसभा’  “हामीले गोर्खाल्याण्ड भन्नसाथ् ‘ओमबिस’ भन्न थालेका छन् साथीहरू”- जे. बी राई

अलगढ़ामा क्रामाकपाको ‘जन-संवाद पथसभा’ “हामीले गोर्खाल्याण्ड भन्नसाथ् ‘ओमबिस’ भन्न थालेका छन् साथीहरू”- जे. बी राई

डी के वाइबा, कालिमन्युज, कालेबुंग १८ जनवरी | “डुमारा खेल्दा भाग्नु नसकेपछि खेद्ने साथीलाई ‘ओमबिस’ भन्दै आफूलाई मार्न नदिएजस्तो हिजसम्म गोर्खाल्याण्ड भनेर नारा लगाउने साथीहरू आज हामीले गोर्खाल्याण्डको कुरा सोध्न बित्तिकै ‘ओमबिस’ भन्न थालेका छन् | ॠण दिएर सुद मात्र उठाउने काबुली भैयासँग उहिले हाम्रहरू खुसी भएजस्तो हामीलाई के-के दिंदै फकाएर हाम्रो मूल आकांक्षालाई भने कहिल्यै उकास्न नसक्ने बनाउने काबुली व्यवहारको राज्य सरकारसँग हामीलाई ॠणी हुन लगाउने राजनैतिक चलखेल अहिले भइरहेछ |” 
उक्त मन्तव्य आज अलगढ़ामा कालेबुंग क्रामाकपा आन्चलिक कमिटिद्वारा आयोजित ‘जन-संवाद पथसभा’-लाई सम्बोधन गर्दै क्रामाकपा केन्द्रीय कमिटि उपाध्यक्ष जे. बी. राईले व्यक्त गरेका हुन् |
अहिले दार्जीलिंगको राजनैतिक माहोलमा भइरहेको विभिन्न किसिमको राजनैतिक कसरतबारे जनतालाई अवगत गराउँदै उनले भने – “अहिले हाँगा-हाँगालाई चाहिँ पानी हालेर जातिको मूलबोटलाई चाहिँ सुकाउने जस्तो काम भइरहेको छ | एकातिर जीटीए छोड्नै नसक्ने दल छ भने अर्कोतिर जिल्लाको ढोल पिट्दै सत्ता ताक्नेहरू चल्बलाउँदैछन् | यी दुवैको सत्ता मोहको कारण आज हाम्रो मूल माग गोर्खाल्याण्डलाई दबाउने काम भइरहेको छ | हामी हाम्रै घरभित्रका विभीषणहरूदेखि सतर्क हुन आवश्यक छ भन्दै श्री राईले आफ्नो दलले कालेबुंग जिल्लाको गठनलाई स्वागत र समर्थन जनाएको तर जिल्लाको साँध-सिमाना स्पष्ट हुनुपर्ने कुरामा क्रामाकपाको जोड़ रहेको बताए | 
“हामी त माग्ने मात्र हौँ, दिने त राज्य सरकार हो” भन्दै “राज्यले जति दिन्छ त्यति थाप्नुपर्छ” भन्ने नेताहरूको पराश्रित मनोभावप्रति खबरदारी गराउँदै उनले अघि भने – “उहिले दार्जीलिंग लोकसभाबाट माल-मटेली गुमाएर पछाडि पछुतो गरेझैं अब जिल्लाको क्षेत्रफल लिएर फेरि पछिबाट पश्चाताप गर्न नपरोस् | जिल्ला दियो ठीक छ, तर जिल्लाभित्र हाम्रो जातीय डेमोग्राफी बिगार्ने कुचाल नहोस्”- उनले भने |
. क्रामाकपा कालेबुंग आन्चालिक कमिटिद्वारा अलगढा बजारमा आयोजित उक्त ‘जन-संवाद पथसभा’-लाई कालेबुंग आन्चालिक कमिटिका सचिव मोहन पौड्यालले अध्यक्षता गरेका थिए भने सभाको संचालन युवा नेता श्याम गुरुङले गरेका थिए | यस पथसभालाई विशेषगरी बामपन्थी चिन्तक तथा युवा लेखक टीकाराम राईले पनि सम्बोधन गरेका थिए | 
दार्जीलिंग पहाडको वर्तमान राजनैतिक तानातानीभित्र जनतालाई खास कुरा बताउन तथा जनतासित संवाद गर्न आयोजन सो सभालाई सम्बोधन गर्दै उनले अहिले दार्जीलिंगको राजनीति ‘एकातिर जात र भातको निम्ति’ अनि अर्कोतिर ‘जाति र स्वाभिमानको निम्ति’ भैरहेको बताए | जिल्ला गठनलाई क्रामाकपाको समर्थन रहेको तर जिल्लालाई देखाएर शुरु गरिएको राजनीतिलाई आफूहरूको समर्थन नरहेको बताए | आजसम्म राज्यले आफ्नो खुसी र स्वार्थबाहिर हामी गोर्खाहरूलाई केही पनि नदिएको बताउँदै “यस्तो स्थितिमा राज्यलाई खुसी पार्नको निम्ति कसैले हाम्रो मान्छेको मोल नतोकोस्” भन्ने चेतावनी दिए |
. गोर्खा राजनीति संकटमा परेको वर्तमान स्थितिको चिरफार गर्दै उनले “अब गोर्खा राजनीतिलाई बचाउनु हो भने क्रामाकपाले सानै आकारको दल भएपनि ठूलो हुने कोशिश गर्नेपर्ने समयको माग रहेको कारण आफूहरू कम्मर कसेर सडकमा आएको” बताए | “असत्य बोल्नेहरू, ढाँटनेहरू गाडी-गाडी मान्छेहरूको लावा-लस्कर लिएर तपाईंहरूकहाँ आउँछन्, तर हामी यी यसरी सानो-सानो पथसभा गर्न आउछौं तर सत्य बोल्न आउँछौं | सत्य बोल्न आउनको लागि हामीलाई लावा-लस्कर चाहिँदैन |” 
क्रामाकपाले २० वर्षदेखि नीति-सिद्धान्त र स्वाभिमानको राजनीतिलाई काँध हाल्दै आएको स्पष्ट पार्दै उनले भने – “यो पार्टीलाई उहिल्यै बंगालको माकपाले सोत्तर पार्न खोज्यो. तर सकेन | गोरामुमोले पनि यसलाई निमिट्यान्नै पार्ने कोशिश गर्यो तर त्यो दल पनि आफै सकियो | गोजमुमोलाई हामीले गोर्खाल्याण्डको निम्ति साथ दिँदा-दिँदै पनि जीटीएको विरोध गर्यो भनेर क्रामाकपालाई लात हान्ने प्रयास गर्यो तर अहिले उ आफै भत्किसक्यो | तर २० वर्षदेखि संघर्ष गर्ने क्रामाकपा कहिले भत्किएन, भात्किन्दैन, कारण क्रामाकपाका एक-एक सदस्य एउटा-एउटा बटालियन हो, उ जहाँ जसरी बसेपनि इमानको लडाइ लडिरहेको हुन्छ, सम्झौताहीन लडाई लडिरहेको हुन्छ |
क्रामाकपालाई किनेर लगेर, धम्काएर शेष गर्न नखोज्दा हुन्छ भन्दै उनले क्रामाकापा भनेको सिद्धान्त र विचारमा आधारित पार्टी रहेको बताए | उनले “इमान्दार छाती हुनेहरू क्रामाकपामा आउनुहोस्, मिलेर यो स्वाभिमानको लडाइ लडौं” भन्दै तर ‘एकातिर गोर्खाल्याण्ड भन्दै भित्रभित्रै भातको राजनीति गर्ने गोजमुमोजस्तो क्रामाकपा नभएको’ ठोकुवा गरे | 
“क्रामाकपा नाला र झोडाको कमिसन खान अघि आएको होइन तर गोर्खा स्वाभिमानको सुरक्षाको निम्ति राजनैतिक मैदानमा उत्रेको” बताउँदै उनले दृढतापूर्वक अघि भने “हामी सही राजनीति गर्नको निम्ति एक्लै भएपनि हिँड्छौं तर जाति विरोधी समूहहरूलाई एकदिन अवश्यै कठघरामा खडा गर्नेर्छौं | आन्दोलनको नाममा भोज – भतेर, पार्टी गर्दै हिँड्नेहरूप्रति आक्रोस व्यक्त गर्दै यस्ताहरूले गोर्खा स्वाभिमानको राजनीतिलाई बेची खाएको आरोप लगाए | 
उनले जनतालाई आह्वान गर्दै भने – “हो हामीले तपाइँहरूलाई सत्ताले दिने सहुलियत दिन सकिरहेका छैनौं तर तपाईंहरूको निम्ति २० औं वर्षदेखि एक्लै मैदानमा सत्यको युद्ध लडिरहेका छौं | यस्तो परिस्थितिमा क्रामाकपा कमजोर हुनु भनेको गोर्खा राजनीति सिद्धिनु हो |” . 
त्यसरी नै आज आयोजित पथसभालाई सम्बोधन गर्दै कालेबुंग क्रामाकपा अध्यक्ष किशोर प्रधानले क्रामाकपा संख्यामा अहिले अवश्यै कम्ति भएको बताउँदै तर कम्ति छौं भनेर यो सत्यको युद्धबाट अलग्गिनु नहुने बताए | उनले यदि कम्ति संख्यामा भएका पाण्डवहरूले सत्यको युद्ध नलडेको भए महाभारतको इतिहास नै अर्कै हुने थियो भनी बताए | युवा नेता सुधन प्रधानले असंगठित सेनाको सेनापति हुनुभन्दा संगठित सेनाको सिपाही हुनु श्रेयकर हुने बताउँदै क्रामाकपा एक संगठित दस्ता भएको बताए | 
कार्यक्रमलाई क्रामाकपा नेता भीम गुरुङ र मोहन पौड्यालले पनि सम्बोधन गरेका थिए भने कार्यक्रम शुरु हुनुभन्दा अघि उपस्थित जनतालाई जातीय जागृतिका गीतहरू सुनाइएको थियो |

Related Posts

0 Response to "अलगढ़ामा क्रामाकपाको ‘जन-संवाद पथसभा’ “हामीले गोर्खाल्याण्ड भन्नसाथ् ‘ओमबिस’ भन्न थालेका छन् साथीहरू”- जे. बी राई"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.