नयाँ राजनैतिक दल १० जनवरी भन्दा अघि नै घोषणा हुने ...... राजनैतिक मैलाहरू सफा गर्नेछौँ – डा. छेत्री
डी.के. वाइबा, कालिमन्युज, कालेबुङ २९ दिसम्बर। “आज हामी झाडु बोकेर देख्ने मैला सफा गर्न निस्केका छौँ। भोलि यो झाडु अदृष्य हुनेछ नि त्यतिबेला नदेखिने राजनैतिक मैलाहरू सफा गर्नेछौँ। जसले समाजमा नयाँ राजनैतिक सोंचको बिकास हुनेछ अनि हामी नयाँ राजनैतिक संस्कार सुरू गर्नेछौँ” – उक्त कुरा कालेबुङका बिधायक डा. हर्कबहादुर छेत्रीले भनेका हुन्।
दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालकै भाकामा डा. हर्कबहादुर छेत्री आज हातमा झाडु बोकेर सडकमा निस्के अनि शहरका मैलाहरू बडाल्न थाले। जिल्ला माग समितिको पूर्व घोषित कार्यक्रम अनुसार आज कालेबुङ शहर सफाई गर्न डा. छेत्रीको नेतृत्वमा जिल्ला माग समितिका कार्यकर्ताहरू सडकमा ओर्लिएका थिए।
यसक्रममा उनले झाडुले शहरको मैला सफाई गर्दै प्रतिकात्मक रूपले मैला राजनैतिक चलखेल सफाई गर्ने सन्देश दिए। “कालेबुङ मैला भयो अब यो मैला हामी सफा गर्नेछौँ। आज वर्ष 2015 को अन्तिम दिन हामी शहर सफा यसकारण गरिरहेका छौँ कि भोलि नयाँ वर्ष 2016 को किरण नयाँ कालेबुङ जिल्लाको स्वच्छ शहरमा खसोस’ डा. छेत्रीले अझ भने। सफाईको कार्य आरम्भ गर्न अघि पत्रकारहरूलाई सम्बोधन गर्दै डा. छेत्रीले उक्त सफाई अभियान नयाँ कार्यको आरम्भ बताउँदै कलुषित राजनैतिक मनोभावको सफाई अभियान सुरू गर्नुपर्ने बताएका छन्।
यहाँको टाउनहलबाट सुरू भएको सफाई अभियान मेनरोड, जनमुक्ति पार्क लगायतका क्षेत्रहरू हुँदै उनीहरूले डम्बर चौक क्षेत्रको सर-सफाई गरे। यसक्रममा बोल्दै डा. छेत्रीले नयाँ जिल्ला कालेबुङ स्वच्छ जिल्लाको रूपमा तयार पार्ने प्रण गरेका कारण आज सफाई अभियान चलाइएको बताए।
‘कालेबुङ सुन्दर छ अनि यहाँ देश बिदेशका पर्याटकहरू आउँछन्। तर, दुर्गन्धित शहर देखे पर्याटकहरूको मस्तिष्कमा राम्रो छाप बनिन्दैन। यसकारण हामी कालेबुङलाई स्वच्छ बनाएर यसको सुनाम देशमा मात्रै होइन बिदेशमा पनि फैलाउन चाहन्छौँ’ डा छेत्रीले भने। ‘धेरै राजनैतिक मैलाको कारण आज हामी बिकासमा अघि बढ्न सकेका छैनौँ। हामी बिकासको दिशामा सही सोच राखेर सबैको मता लिएर अघि बडेर जानेछौँ अनि नयाँ कालेबुङ जिल्लालाई नमूना जिल्ला बनाउनेछौँ’ डा छेत्रीले भने।
सफाई अभियानको सुरूआत गर्न अघि पत्रकारहरूलाई सम्बोधन गर्दै डा. छेत्रीले नयाँ राजनैतिक दल गठनको प्रतिक्षा अब पुरा हुने बताएका छन्।
“पार्टी त्यसै घोषणा गर्न सकिन्छ तर हामी पुरानो पार्टीहरू जस्तै हुन चाहदैनौँ। हामी सबैको माता लिएर के-के गर्न पर्छ अथवा के-के गर्न हुँदैन भन्ने कुराहरू स्पष्ट पार्नेछौँ। पार्टीको सिद्धान्त के हुन्छ, संविधान के हुन्छ, आचार संहिता के हुन्छ भन्ने स्पष्ट पारेर घोषणा पत्रसँगै पारदर्शी भएर अघि आउनेछौँ। यसकारण अब हामी आगामी 10 जनवरी भन्दा अघि नै नयाँ राजनैतिक दल गठनको घोषणा गर्नेछौँ” – डा. हर्कबहादुर छेत्रीले स्पष्ट भने।
यसक्रममा उनको नयाँ राजनैतिक दलले छुट्टै राज्यको मुद्दालाई प्राथमिकता दिनेछ भनि पत्रकारहरूले सोधेको प्रश्नको जवाब दिँदै डा. छेत्रीले निश्चय नै ‘अलग राज्यको मुद्दालाई प्राथमिकता दिने तर, अलग राज्य भन्दा पहिला अलग राज्य चलाउन सक्ने योग्यताको बिकास गर्न चाहन्छौँ’ भने।
“नगरपालिका चलाउने क्षमता नभइ राज्य माग्दा त्यस राज्यको हाल के हुनेछ ? यसकारण हामी एक-एक पाइला अध्ययन गरेर अघि बढ्नेछौँ” डा छेत्रीले अझ भने। यसक्रममा उनले राज्य प्राप्त गर्नका निम्ति राज्य चलाउनेहरूको क्षमता बिकास आवश्यक रहेको कारण पहिला क्षमता बिकास गर्ने अनि क्रमबद्ध रुपले राज्यप्राप्तिको निम्ति अघि बढ्ने बताए।
‘ए,बी,सी पढ्न नजानि कलेज र युनिभर्सिटिको कुरा गर्नु हुँदैन। हामी सिलेबस अनुसार अघि बढ्न चाहन्छौँ। यसकारण हामी पहिला आफ्नो योग्यताको बिकास गर्दै राज्य प्राप्तिको निम्ति अघि बढ्छौँ अनि यो संविधानले दिएको हुँदा क्षमता बिकास भए पछि निश्चय नै सरकारले दिनेछ’ – डा. हर्कबहादुर छेत्रीले भने।
यता आजको सफाई अभियानमा कमिटीका संयोजक युसुफ सिमिक, नयन प्रधान, युवा प्रतिनिधि अमीर बस्नेत आदि प्रमुख रूपमा उपस्थित थिए भने बिभिन्न स्थानहरूबाट समर्थकहरूको उत्साहजनक उपस्थिति रहेको थियो। समर्थकहरूले टाउनहल परिसरमा ‘डा. हर्कबहादुर छेत्री जिन्दावाद !!” को नाराबाजी पनि लगाए।
0 Response to "नयाँ राजनैतिक दल १० जनवरी भन्दा अघि नै घोषणा हुने ...... राजनैतिक मैलाहरू सफा गर्नेछौँ – डा. छेत्री"
Post a Comment
Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.
Note: only a member of this blog may post a comment.