अस्थायी कर्मचारीवर्गले गोजमुमो त्याग्ने ?...... विमल गुरुङ अनि अस्थायी कर्मचारीवर्ग माझ आज वैठक
कालिमन्युज, कालेबुङ , २६ दिसम्बर 2015। पहाडमा चल्ने राजनैतिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्ने अस्थायी कर्मचारीवर्ग आफूहरू भने स्थायीकरणको झिनो अपेक्षा राख्दा-राख्दै राजनैतिक गोटि मात्र बनिरहेका छन्। जसले गर्दा बारम्बार पहाडको राजनैतिक पार्टी र झण्डा फेरिने क्रमसँगै स्थायीकरणको सपना सजाएर आफूहरू पनि राजनैतिक हावा सँगै बग्नुपर्ने स्थिति छ।
गोरामुमो पार्टीको शाषणकालदेखि राजनैतिक गोटि बनिरहेका अस्थायी कर्मचारीवर्ग गोजमुमो शाषण कालमा पनि राजनैतिक गोटि मात्रै बनिरहेका छन्। जसले गर्दा स्थायीकरणको दिर्घकालीन समस्या पुर्तिका निम्ति उनीहरू यसपल्ट पुन: नयाँ राजनैतिक हावामा घुलमिल बनेर सुरक्षित भविष्यका निम्ति ‘राजनैतिक गोटी’ बन्नबाट उम्किने प्रयासमा लागेका छन्।
नयाँ वर्षको आगमनमा दार्जीलिङ पहाडमा नयाँ राजनैतिक पार्टी गठन गर्ने कालेबुङका विद्रोही विधायक डा. हर्कबहादुर छेत्रीले स्पष्ट सङ्केत दिइसकेका छन्। जसले गर्दा पहाडमा एकचोटि राजनैतिक हलचल मच्चिने छाँट बनिसकेको छ।
यस्तो अवस्थामा बारम्बार राजनैतिक गोटि मात्र बनिरहेका अस्थायी कर्मचारीवर्गले नयाँ राजनैतिक पार्टीको ढोकामा गएर आफ्नो स्थायीकरणको दिर्घकालीन समस्या पुर्तिका निम्ति लड्ने तय गरिरहेको विशेष सुत्रले जानकारी दिएको छ।
अर्कोतर्फ पार्टीको धरातल खुस्किन नदिन गोजमुमो पार्टीले अस्थायी कर्मचारीवर्गलाई आफ्नै पक्षमा राख्ने भरपुर प्रयास गरिरहेको पनि सुत्रको दाबी छ। जसको कारण अस्थायी कर्मचारीवर्गसँग गोजमुमो अध्यक्ष विमल गुरुङले भोलि दार्जीलिङमा वैठक बस्ने व्यवस्था मिलाएका छन्।
अस्थायी कर्मचारी संगठनका एकजना सक्रिय कार्यकर्ताले आफ्नो नाउँ प्रकाशमा नल्याइदिने शर्तमा यो बताए कि भोलि दार्जीलिङमा हुने बैठकमा निकै कडा-कडी हुनसक्नेछ। किनभने अहिलेसम्म स्थायीकरण नभएका कर्मचारीवर्गले वैठकमा आफ्नो स्थायीकरणको मुद्दा स्पष्टसँग राखेर पार्टीको अडान स्पष्ट पार्ने मोर्चा अध्यक्ष विमल गुरुङलाई माग गर्ने भएका छन्।
यदि पार्टीले स्थायीकरणको मुद्दावारे पार्टीको अडान स्पष्ट नपारे उनीहरूले पार्टीको झण्डा समेत फर्काउने तय गरिसकेको सुत्रले अझ दाबी गरेको छ। यस्तो अवस्थामा अस्थायी कर्मचारी संगठन अनि गोजमुमो अध्यक्ष विमल गुरुङ माझ दार्जीलिङमा हुने भोलिको बैठक महत्वपूर्ण मानिएको छ।
दिल्ली अनि मुम्बईको यात्रा समाप्त गरी दार्जीलिङ आइपुगेका विमल गुरुङले अस्थायी कर्मचारीवर्गलाई भोलि दार्जीलिङमा बोलाएका छन्। अस्थायी कर्मचारीवर्गले आफ्नो स्थायीकरणको मुद्दावारे पार्टीलाई अघिबाटै सबै जानकारी गराए पनि पार्टीले आजसम्म स्थायीकरणवारे कुनै पहल नगरेको कारण अस्थायीकर्मचारीवर्ग समस्यामा परेको गुनासो रहेको छ।
सोहिक्रममा कोलकोतामा मोर्चा अनि राज्यसरकार माझ सम्पन्न भएको बैठकमा राज्य सरकारले अस्थायी कर्मचारीवर्गको सम्पूर्ण रिपोर्ट राज्यलाई बुझाउने निर्देश दिए पनि जीटीएले उक्त फाइल राज्यलाई नबुझाएको सुत्रले दाबी गरेको छ। जसले गर्दा अझ अस्थायी कर्मचारीवर्ग गोजमुमो पार्टीप्रति रुष्ट बनिरहेको सुत्रले बताए। ‘हामीलाई मोर्चा अध्यक्षले उच्च न्यायालयको आदेश लिएर आउनु भने। हामीले उच्च न्यायालयले स्थायीकरण गर्नु भनि दिएको आदेश पनि लिएर आयौँ। यद्यपी स्थायीकरण गर्ने कार्य पार्टीले गरेन। यसैकारण अब हामी पार्टीको अडान स्पष्ट चाहन्छौँ’ ।आफ्नो नाउँ प्रकाशित नगरिदिने सर्तमा अस्थायी कर्मचारी संगठनका कार्यकर्ताले भने।
आफूहरूलाई बारम्बार राजनैतिक स्वार्थ पुर्तिका निम्ति प्रयोग गर्ने गरेको बताउँदै अब आगामी दिनहरूमा आफ्नो भविष्य तय गर्नका निम्ति सम्पूर्ण अस्थायी कर्मचारीवर्गले एउटा ठोस निर्णय लिने समय आएको तिनले बताए। यद्यपी उक्त ठोस निर्णय के हो भन्ने कुरा भने स्पष्ट पारेनन्। यसक्रममा हाल पहाडको परिवर्तित राजनैतिक स्थितिलाई अस्थायी कर्मचारीवर्गले खुबै नजिकबाट हेरिरहेको बताउँदै आवश्यक परेको खण्डमा मोर्चा त्यागेर सुरक्षित भविष्यको निम्ति अन्य राजनैतिक पार्टीमा जान पर्ने सम्भावनाहरू प्रशस्तै रहेको उनले बताएका छन्।
0 Response to "अस्थायी कर्मचारीवर्गले गोजमुमो त्याग्ने ?...... विमल गुरुङ अनि अस्थायी कर्मचारीवर्ग माझ आज वैठक "
Post a Comment
Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.
Note: only a member of this blog may post a comment.