-->
कालेबुङ महोत्सवको दोस्रो दिन विविध विषयमा बहस ........   जातिलाई सुनियोजित तरिकाले फुटाउन खोजे यसको परिणाम राम्रो हुँदैन – सी.के श्रेष्ठ

कालेबुङ महोत्सवको दोस्रो दिन विविध विषयमा बहस ........ जातिलाई सुनियोजित तरिकाले फुटाउन खोजे यसको परिणाम राम्रो हुँदैन – सी.के श्रेष्ठ

डी.के. वाइबा, कालिमन्युज, कालेबुङ, 29 दिसम्बर। ‘जाति बटबृक्ष हो भने जाति भित्रका जातहरू बटबृक्षका जराहरू हुन्। जाति बिना जात रहँदैन अनि जात बिना जाति पनि रहँदैन। यी दुवै एकार्कका सम्पूरक हुन्’ उक्त कुरा राजनैतिक चिन्तक सी.के श्रेष्ठले भनेका हुन्। सिर्जनशील समुहद्वारा आयोजित दुई दिवसीय कार्यक्रममा उनले आफ्नो वार्ता प्रस्तुत गर्दै जात-जातको विभाजन हुने सन्दर्भमा यसो भनेका हुन्।
यसक्रममा जातिको बिकास हुनलाई जात गोष्ठिको बिकास अनिवार्य रहेको बताउँदै जाति फुटाउनकै निम्ति जातको बिकास गर्ने सुनियोजित षडयन्त्र भएको हो भने त्यो चाहिँ घातक हो भनि श्रेष्ठले बताए। श्रेष्ठको भनाइ अऩुसार दार्जीलिङ पहाडमा जातगोष्ठीहरूले छुट्टा-छुट्टै तरिकाले आ-आफ्नो जातिको विकासको निम्ति सङ्गठित भएर काम गर्नु स्वभाविक हो। तर जबपनि देशमानै गोर्खाहरूको कुरा आउँछ तब यी जातगोष्ठीहरूले जातिको रूपमा आफू गोर्खा रहेको कुरा भूल्नु नहुने बताए।
उनले जातगोष्ठीको आन्दोलन एवं साङ्गठनिक क्रियाकलापहरूलाई समर्थन जनाएपनि यसले जातीय सवालमा बाधा उत्पन्न गर्ननहुने बताए।
‘हामी सिमीहरू हौँ। सिमीहरूमा पनि आ-आफ्नै विविधता रहने गर्छ। तर सिमीहरूले राष्ट्रिय स्तरमा परिचयको कुरा गर्दा सिमीको धर्मलाई भुल्न हुँदैन” श्रेष्ठले भने। उनले गोर्खाहरूको राष्ट्रिय चिन्हारीको सन्दर्भमा यसो भनेका थिए।
‘हामी जातको विकास चाहन्छौँ तर जातिलाई मारेर होइन। यदि कसैले हामीलाई जातगोष्ठीको नाममा फकाइ-फुस्लाइ गरेर सुनियोजित तरिकाले फुटाउन खोजेको हो भने यसको परिणाम राम्रो हुँदैन। यदि जातको नाममा जातिलाई तिलाञ्जली दिनुपर्ने कुनै अघोषित दवाब छ भने त्यो गोर्खा समुदायलाई सुनियोजित रूपमा बिगार्न चाहँदैछ भन्ने बुझ्नुपर्छ। यसकारण यसता सुनियोजित षडयन्त्रहरूबाट गोर्खाहरू सतर्क बस्न आवश्यक छ’ श्रेष्ठले भने।
क्षेत्रीय स्तरमा विकासका कुराहरू गर्दै विकास बोर्ड आदि व्यवस्थाहरू ठिकै भएपनि देशमा गोर्खाहरूको उपस्थिति 1 प्रतिशत मात्र रहेकोले सम्पूर्ण गोर्खाहरू राष्ट्रिय स्तरमा एक हुनुपर्ने उनले आह्वान गरे। भारत विश्वको सबैभन्दा ठूलो गणतान्त्रिक देश रहेको बताउँदै यति बिशाल प्रजातान्त्रिक देशमा गोर्खाहरू एक प्रतिशत मात्र रहेको अनि यस एक प्रतिशत पनि जात-जातमा टुक्रिए यसको हानी सम्पूर्ण गोर्खा जातिलाई नै हुने अझ बताए।
सृजनशिल समूह कालेबुङको आयोजनामा यहाँको रामकृष्ण रङ्गमञ्चमा सम्पन्न भइरहेको दुईदिने कालेबुङ महोत्सवको आज अन्तिम दिन तीनवटा चरणमा कार्यक्रम सम्पन्न भएको थियो।
पहिलो चरणमा सिक्किमका पूर्व मन्त्री टी. लाछुङपा मुख्य अतिथिका रूपमा उपस्थित थिए।
कार्यक्रममा साहित्य र कालेबुङ, पत्रकारिता र कालेबुङ अनि समकालीन राजनीतिमाथि बहस कार्यक्रम सम्पन्न भएको थियो।
समकालीन राजनीतिमाथि आधारित बसको मध्यस्थता पत्रकार डी.के.वाइबाले गरेका थिए भने प्यानललिस्टहरूमा मोर्चाका पक्षमा जीटीए सभासद् सामुएल गुरूङ, गोर्खालीगका प्रताप खाती, गोरामुमोका मौरिस कालिकोटे, क्रामाकपाका किशोर प्रधान, माकपाका तारा सुन्दास, जिल्ला माग समितिका संयोजक युसूफ सिमिक अनि विधायक डा. हर्कबहादुर छेत्री रहेका थिए।
लाचुङपाले आफ्नो सम्बोधनमा भने "कालेबुङमा कलाको भण्डार छ। मेरो बाल्यकाल कालेबुङमा वितेको कारण कालेबुङलाई माया गर्छु अनि कालेबुङका मानिसहरूलाई सहयोग गर्न परे पूर्ण सहयोग गर्नेछु’ । स्वच्छ समाज र राष्ट्र निर्माणका निम्ति सबैभन्दा पहिला मानिसहरूको स्वास्थ्य राम्रो हुनपर्ने बताउँदै स्वास्थ्य ठिक भए मात्र सबै कार्य गर्न सकिने बताए।
यसक्रममा आफूले स्वस्थ बन्नका निम्ति योग गर्ने गरेको बताउँदै यस योगले मानिसहरूलाई स्वस्थ राख्ने गरेको दाबी गरे। ‘पहाडका मानिसहरूमा धेरै डाइबेटिक रोग लाग्ने गर्छ। यस घातक रोगबाट बाँच्नका निम्ति हामीले योग गर्न पर्छ’ लाचुङपाले भने। उनले नयाँ प्रकारका योग गर्ने गरेको बताउँदै उक्त योग कालेबुङमा पनि आयोजना गर्ने बताएका छन्।
उनले आफ्नो सम्बोधनका कालेबुङ आफ्नो कर्मथलो भएको बताउँदै कालेबुङलाई सधैँ माय गर्ने गरेको बताए। हाल कालेबुङमा शिक्षित नेतृत्ववर्गको कमी नरहेको बताउँदै अब भविष्यमा कालेबुङले राम्रो बिकास गर्न सक्ने सम्भावना रहेको बताएका छन्। कार्यक्रममा सिर्जनशील समुहद्वारा टी लाचुङपा अनि उनकी श्रीमतीलाई स्मृति चिन्ह प्रदान गरी सम्मान जनाइएको थियो।
विभिन्न राजनैतिक दल, सङ्घ-संस्था, व्यक्तिविशेष आदिको व्यापक उपस्थितिमा आयोजित कार्यक्रममा कालेबङका विधायक डा. हर्कबादुर छेत्री, जीटीए सभासद् सुनिल प्रधान, सामुएल गुरूङ, दावा लेप्चा क्रामाकपाका किशोर प्रधान, गोर्खालीगका प्रताप खाती, गोरामुमोका मौरिस कालिकोटे, कालेबुङ जिल्ला माग समितिका संयोजक नयन प्रधान, युसूफ सिमिक आदिको विशेष उपस्थिति थियो।
यसरी नै कार्यक्रमको दोस्रो चरणमा सिनेमा र कालेबुङ, जातिगत वोर्डको माग र राजनैतिक समिकरणमाथि बहस भएको थियो भने दोस्रो सत्रको कार्यक्रममा मुख्य अतिथिका रूपमा तामाङ विकास बोर्डका अध्यक्ष सञ्जय मोक्तान उपस्थित थिए।
कार्यक्रममा विधायक डा. हर्कबहादुर छेत्रीले सृजनशिल सोचःअग्रगामी समाज विषयमा वक्तव्य राखेका थिए भने तेस्रो चरणको कार्यक्रममा कविता अनि गजल वाचन साथै वाणी व्याण्डको साथमा गायक पुष्पन प्रधानको प्रस्तुति रहेको थियो।
तीनवटा सत्रको कार्यक्रममा आयोजकपक्षमा कवि मनोज वोगटी, प्रदीप लोहागुण, नरेद्र तामाङ, छेवाङ योञ्जन आदिले विशेष भूमिका निर्वाह गरेका थिए।
अर्कोतिर टाउन हल परिसरमा हिजोदेखि नै विभिन्न जातगोष्ठीहरूको पारम्पारिक खाद्यान्न प्रदर्शनीको आयोजना गरिएको थियो।

Related Posts

0 Response to "कालेबुङ महोत्सवको दोस्रो दिन विविध विषयमा बहस ........ जातिलाई सुनियोजित तरिकाले फुटाउन खोजे यसको परिणाम राम्रो हुँदैन – सी.के श्रेष्ठ"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.