-->
पहिलो उद्देश्य पुरा भयो अब भावि कार्यक्रमको निम्ति रणनीति तयार पार्नेछौँ – डा. हर्कबहादुर छेत्री

पहिलो उद्देश्य पुरा भयो अब भावि कार्यक्रमको निम्ति रणनीति तयार पार्नेछौँ – डा. हर्कबहादुर छेत्री

डी.के.वाइबा, कालिमन्युज, 18 दिसम्बर 2015, कालेबुङ, : छुट्टै कालेबुङ जिल्ला गठनको मुद्दालाई अघि बढाउँदै गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो) पार्टीबाट 15 सितम्बर 2015 का दिन राजीनामा दिने डा. हर्कबहादुर छेत्रीले मोर्चा छोडेको ठिक 3 महिना 3 दिन पछि जिल्लाको मुद्दालाई पार लगाएका छन्। ‘बिधानसभाबाट राजीनामा दिनु’ भनि मोर्चाले तीन बिधायकहरूलाई आदेश दिएक कोलकोता पठाएपछि कालेबुङका बिधायक डा. हर्कबहादुर छेत्रीले भने बिधायकबाट होइन गोजमुमो पार्टीबाटै राजीनामा दिएका थिए। त्यसै दिनदेखि उनले कालेबुङलाई स्वतन्त्र विधायकको हैसियतमा अघि बढाउने घोषणा समेत गरेका थिए। फलस्वरुप गोजमुमो पार्टी त्यागेर कालेबुङ जिल्लाको मुद्दालाई अघि बढाएको ठिक 3 महिना 3 दिन पछि बङ्गालको क्याबिनेटले कालेबुङ महकुमालाई छुट्टै जिल्ला बनाउने प्रस्ताव पारित गरेको छ। बङ्गालको क्याबिनेटले कालेबुङलाई छुट्टै जिल्ला बनाउने प्रस्ताव पारित गरेपछि बिधायक डा. हर्कबहादुर छेत्रीसित ‘हाम्रो प्रजाशक्ति’-ले गरेको विशेष कुराकानी -
प्र.- कालेबुङ जिल्लाको बील क्याबिनेटले पारित गरेपछि कस्तो लागिरहेको छ ?
हर्क – कालेबुङका जनताको निम्ति जिल्लाको माग गरेका थिए। आज अत्यन्तै कालेबुङका जनताहरूकै निम्ति खुशी छु।  जनताको निम्ति राम्रो काम गर्न सकेँ भन्ने लागीरहेको छ, यसकारणले पनि अत्यन्तै हर्ष महसुश गरिरहेको छु।
प्र.- जिल्ला गठनको निम्ति एउटा खुड्किलो पार भयो ! श्रेय कसलाई कसलाई दिनुहुन्छ ?
हर्क – प्रथममा जिल्ला गठनको निम्ति मुख्यमन्त्री ममता ब्यानर्जीलाई नै यसको श्रेय दिन चाहन्छु। मुख्यमन्त्रीको एउता बोल्ड निर्णयको कारणले नै यो जिल्ला गठन भएको हो। यदि ममता ब्यानर्जीले नचाहेको भए हुने थिएन। यसकारण प्रथममा यसको श्रेय उनैलाई जानेछ। दोस्रो नम्बरमा जिल्ला माग समितिका साथीहरू अनि तेस्रो नम्बरमा कालेबुङका सम्पूर्ण जनतालाई श्रेय दिन चाहन्छु। यसका साथै अन्य ज-जसले प्रत्यक्ष-परोक्ष सहयोग गर्ने सबैलाई श्रेय दिन चाहन्छु।
प्र.- जिल्ला गठनलाई कत्तिको उपलब्धि मान्नुहुन्छ ?
हर्क – भारत स्वाधिनता पछिको सबैभन्दा ठूलो उपलब्धि हो यो। अहिलेसम्म हामीले केही पाउन सकेका थिएनौँ। यो छुट्टै जिल्ला यसकारण पनि स्वाधिनता पछिको सबैभन्दा ठूलो उपलब्धि हो।
प्र.- मोर्चा भित्रैबाट बसेर मागेको भए हुन्थ्यो जिल्ला ?
हर्क – मोर्चा भित्र बसेर मागेको भए जिल्ला पटक्कै हुनेथिएन। किन भने गोजमुमो राज्य सरकारसित जहिले पनि झगडा मात्र गर्न चाहन्छ। झगडा गर्नेहरूलाई कसले राम्रो चिज दिन्छ ? यसैकारण आज म मोर्चा छोडेर अघि आएको कारण नै जिल्ला बनिन सकेको हो। यसबारे मुख्यमन्त्री ममता ब्यानर्जी आफैले पनि पत्रकार सम्मेलनमा - “हर्कबहादुर छेत्रीले जिल्लाको माग अघि बडाएको कारण नै जिल्ला बनिएको हो’ भन्नुभयो। तर, उनले गोजमुमो पार्टीको नाउँ लिँदै लिएनन्।  
प्र.- गोजमुमो पार्टीले पनि पटेका पड्काएर बिजय मनाए। के भन्नुहुन्छ ?
हर्क – कालेबुङमा पटेका पड्काउनेहरू नाउँका मात्र गोजमुमो पार्टीका हुन्। उनीहरूसित जम्मै कालेबुङका जनता खुशी छैनन्।
प्र.- पहिलो उद्देश्य पुरा भयो, अब अन्य दोस्रो आन्दोलन के हुनेछ ?
हर्क – तालमेल मिलाएर काम गर्‍यो भने सबै काम सहज तरिकाले गर्न सकिन्छ भन्ने जिल्ला गठनले स्पष्ट भएको छ। अब दोस्रो आन्दोलन के हुनेछ त्यसबारे चर्चा परिचर्चा गर्नेछौँ। यद्यपी चियबगान अनि सिन्कोना कमानका मानिसहरू पुस्तौँ देखि त्यस ठाउँमा बस्दै आए पनि उनीहरूले पर्चा पट्टा पाएका छैनन्। पर्चा-पट्टाको मुद्दा हाम्रो अबको पहिलो प्राथमिक हुनेछ। यसका साथै पिउने पानी, बाटो, बिजुली बत्ति आदि मूलभूत समस्याहरूलाई पनि हामी समानान्तर अघि बढाएर लानेछौँ।
प्र.- भावि कार्यक्रमको निम्ति नयाँ राजनैतिक पार्टी गठन गर्नुहुन्छ ?
हर्क –  आवश्यक परे गठन गर्नै पर्छ। किन भने अबको आन्दोलन अनि कार्यक्रमहरू सबै राजनैतिक हुनेछ। यसकारण राजनैतिक उपलब्धिहरू प्राप्तिको निम्ति राजनैतिक आन्दोलन गर्नलाई दल गठन गर्न परे गर्नेछौँ। जिल्ला माग समितिको उद्देश्य जिल्ला गठन सँगै पुरा भयो।  अबको आन्दोलनहरू कसरी अघि बढाउनु भन्ने कालेबुङ आएर चर्चा-परिचर्चा गर्नेछौँ। त्यसपछि नै भावी कार्यक्रम अनि रणनीति तय हुनेछ।
प्र.- गोजमुमो पार्टीलाई कुनै सुझाव छ कि !
हर्क – मैले गोजमुमो पार्टी त्यागेपछि सुझाव दिने व्यक्ति पनि रहिन। यद्यपि सुझावकै रुपमा उनीहरूलाई यति भन्न आवश्यक ठान्नेछु कि – ठिक ठाउँमा ठिक तालमेल मिलाएर काम गरे सबै काम सफल हुन्छ भन्ने जिल्ला गठनले प्रमाणित गरेको उनीहरूले देखेका छन्। राज्यले दिने कुराको निम्ति केन्द्रमा मागेर हुँदैन। केन्द्रसँग राम्रो सम्बन्ध बनाएर पनि हुँदैन, यसकारण राज्यले दिने कुरामा राज्यसँगै तालमेल मिलाएर काम गर्न आवश्यक छ। भविष्यमा उनीहरूले पनि जनताको हितमा राम्रो जसले जे दिन सक्छ उनीहरूसँग झगडा गरेर होइन तालमेल मिलाएर काम गरुन् भन्ने सुझाव दिन चाहन्छु। 

0 Response to "पहिलो उद्देश्य पुरा भयो अब भावि कार्यक्रमको निम्ति रणनीति तयार पार्नेछौँ – डा. हर्कबहादुर छेत्री"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.