-->
जनजाति अनि विकास बोर्डको माग गर्दै खम्बु राईट मुभमेन्टको विशाल र्‍याली

जनजाति अनि विकास बोर्डको माग गर्दै खम्बु राईट मुभमेन्टको विशाल र्‍याली


डी के वाइबा, कालिमन्युज, कालेबुङ 31 अक्टोबर। पहाडको सर्ववृहत जाति खम्बु राईलाई संस्कार सस्कृति, भाषा, लिपि, सङ्गीत तथा आर्थिक रूपमा विकास गर्नुपर्छ साथै खम्बु जातिको दीर्घ मियादी माग जनजाति मान्यताको निम्ति राज्यबाट स्वीकृति पठाइदिनु पर्छ भन्ने माग गर्दै आज खम्बु जातिको विराट ऱ्याली कालेबुङमा सम्पन्न भयो। 
खम्बु राइट्स मुभमेन्टद्वारा आयोजित यस जुलूसको कार्यक्रम होम्स ग्राउण्ड़बाट माङपा रामप्रसाद राईद्वारा पूजा अर्चना गरेपछि शुरू भएको थियो। खम्बु परम्पराअनुसार गाड़ीमा झाँकी पनि प्रस्तुत गर्दै शुरू गरिएको जुलूस 11 माइल हुदै मेन रोड भएर महकुमा अधिकारी कार्यालय पुगी समापन गरियो। खम्बु जातिलाई राज्य सरकारले विकास बोर्ड दिनुपर्छ, खम्बु जातिको दीर्घ मियादी माग जनजातिको मागको निम्ति राज्य सरकारले स्वीकृति पठाइदिनुपर्छ जस्ता नाराबाजी गरे। 
महकुमा अधिकारी कार्यालयमा महकुमा अधिकारीको अनुपस्थिति भएपछि मुभमेन्टका प्रतिनिधिहरूले फ्याक्स गरेर बङ्गालको मुख्यमन्त्री, प्रिन्सिपल सेक्रेटेरी, चीफ सेक्रेटेरी, होम सेक्रेटेरी अनि जिल्लापाललाई आफ्नो मागबारे बताएको मुभमेन्टका अध्यक्ष अरूणकुमार राईले बताए। जुलूसको समापन कार्यक्रमलाई सम्बोधन गर्दै राईले मुभमेन्टले आजसम्म जातिको निम्ति गरेको आन्दोलन अनि सरकारपक्षबाट पाएको आश्वासनबारे जनसमूहलाई जानकारी गराए। 
उनले भने खरामुले भारतको विभिन्न ठाउँमा रहेका खम्बु सङ्गठनहरूको परामर्शमा आन्दोलन गरिरहेको बताउँदै अब फेरि लगत्तै दिल्लीमा गएर आरजीआई अफिसमा सम्पर्क गरी आवश्यक दस्तावेज बुझाउने बताए। 
सभालाई सम्बोधन गर्दै मुभमेन्टका महासचिव सन्दिप कुलुङले विकास बोर्डबारे राज्य सरकारलाई गरेको पहल साथै सरकारबाट पाएको आश्वासनबारे जानकारी गराउँदै यस विषयमा खम्बु समुदाय अन्योलमा पर्नु नहुने बताए। 
उनले भने, अहिले विकास बोर्डबारे विभिन्न व्यक्तिहरूले टिकाटिप्पणी गरेर विरोध गर्दै आइरहेका छन्। तर ती विरोध गर्ने व्यक्तिहरूलाई वास्तवमा विकास बोर्ड के हो भन्ने कुरा राम्रोसित थाहा छैन। न त उनीहरूलाई चाहिएकै हो। विकास बोर्ड जस्ता कुरा दिल्लीमा बसेर खरसाङको सङ्गठन चलाउने अनि अवकाशप्राप्त भएर सङ्गठन चलाउने व्यक्तिहरूको निम्ति होइन। विकास बोर्ड गाउँ बस्ती, कमान आदि क्षेत्रका नब्बे प्रतिशत गरिबी रेखा मुनिका साधारण खम्बुहरूको निम्ति हो। जो खम्बुहरूलाई सङ्गठनको निम्ति मासिक शुल्क तिर्नसमेत हम्मे पर्छ। विकास बोर्डको माग खरामुले गरे तापनि इच्छा भने साधारण खम्बु तथा शाखा प्रशाखाको हो, जुन कुरा आजको जनसमूहले प्रमाण गरेको छ। विकास बोर्डको माग गर्ने व्यक्तिहरू राजनीतिप्रेरित भनेर जुन प्रकारले आरोप लगाइएको छ यसको हामी सोझै खण्डन गर्न चाहन्छौँ। यदि राजनीतिप्रेरित हो भने हामीलाई प्रमाण दिनुपर्छ। 
सरकार र राजनैतिक पार्टी छुट्टाउन सक्ने क्षमता सङ्गठन चलाएर बस्ने महानुभावहरूलाई हुनपर्ने सुझाउ राख्दै उनले भने, बङ्गालका मुख्यमन्त्री टीएमसीका नेतृत्व मात्र नभएर एउटा राज्यको मुख्यमन्त्री पनि हुन्। 
यसरी नै मोर्चा अध्यक्ष विमल गुरुङ गोजमुमोको अध्यक्ष मात्र नभएर वर्तमान जीटीएका मुख्य कार्यपाल पनि हुन्। हामी साधारण अनि पछौटेवर्गमा रहेको जाति भएको कारणले गर्दा हामी उनीहरूमाथि आफ्नो देखेसो पोख्न सक्छौँ। भोलिको दिनमा यदि सरकारको सहुलियत जस्ता कुराहरूबाट गरीब खम्बुहरू वञ्चित हुन्छ भने त्यसको जिम्मेवारी आज विरोध गर्ने प्रतिनिधिहरू हुनेछन्। खरामुले क्षेत्रीयदेखि लिएर दिल्लीसम्म गएर जनजातिको आन्दोलनलाई अघि बढ़ाइसकेको दावी गर्दै राईले भने, अल इण्डिया यदि राष्ट्रियस्तरको हो भने यसरी क्षेत्रीय कुरामा टाउको दुखाउनु भनेको लज्जास्पद कुरा हो। अल इण्डियाको सोचअनुसारको राज्यले जनजातिको आन्दोलनको निम्ति पहल गरिदिनुपर्ने कुरा छ त्यसमा हामी आजभन्दा धेरै समय अघिदेखि लागिपरिरहेका छौँ। अहिलेको समय आउने भावी सन्तानको निम्ति खम्बुहरू एक हुने समय हो।
यता एपेक्स बडीका मुख्य संयोजक एवं खम्बु राइट्स मुभमेन्टका संयोजक विनेश राईले पनि अल इण्डियामाथि टिप्पणी राख्दै भने, उनीहरूलाई विकास बोर्डबारे कुनै प्रकारको जानकारी छैन। यदि उनीहरूलाई विकास बोर्डबारे कुनै प्रकारको जानकारी छैन भने बोल्ने अधिकार पनि छैन। खरामुले खम्बु जातिको कुनै पनि अधिकारको कुरालाई अघि ल्याउने गर्छ। खरामु खम्बुहरूको एकता चाहन्छ। यसैले गर्दा हाल भारतको विभिन्न खम्बु संघ संस्थासित सम्पर्क बनाएर खरामुले कार्यक्रम गरिरहेको छ। विकास बोर्डको कुरा खम्बु राइट्स मुभमेन्टले उठाएको कुरा हो। यसको प्रमाण हामीसित छ। हामी डेभलपमेन्ट डिमाण्ड कमिटी, गोर्खा समिति जसले विकास बोर्डबारे सरकारसमक्ष कुरा उठाएको पत्र पत्रिकामा मात्र हावा पिटिरहेका छन्। आज उनीहरू जातिको हित र अधिकारको निम्ति अघि आएको होइन भन्ने कुरा प्रमाण भएको छ। किनभने डेभलपमेन्ट डिमाण्ड कमिटीजस्ता समूहलाई आजको जुलूसमा सहभागिताको निम्ति निम्त्याएका थियौँ। तर उनीहरू आएनन्। यसको अर्थ हो उनीहरूलाई जातिको हितको कुनै सरोकार छैन। त्यसैले उनीहरूको भनाइमा अन्योल नभइदिने कुनै प्रकारको अन्योलता अघि आए हामीसित सम्पर्क गरिदिने भनी राईले अनुरोध गरे। 
हाल खम्बु जातिलाई फुटाउन कतिपय षड़्यन्त्रकारीहरू पनि देखा परिरहेको कारण शाखा प्रशाखाका खम्बुहरू जोगिएर बस्नुपर्ने बताउँदै कुनै पनि समय खम्बु जाति सरकारको सहुलियतबाट वञ्चित भएमा ती षड़्यन्त्रकारीहरू जिम्मेवारी हुने पनि बताए। 
आजको जुलूसमा कालेबुङको किराँती खम्बु राई सांस्कृतिक संस्थानको विभिन्न शाखा प्रशाखा लगायत दार्जीलिङ, सिलगढ़ी, डुवर्स, अल इण्डिया किराँती खम्बु राई सङ्घ युवा एकाई आदिका हजारौँ खम्बु प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। डुवर्स क्षेत्रका खम्बुलाई सुन्दर राईले, सिलगढ़ी क्षेत्रलाई प्रणय राई अनि अल इण्डिया युवा एकाईलाई शुशिल राईले प्रतिनिधित्व गरेका थिए।

Related Posts

0 Response to "जनजाति अनि विकास बोर्डको माग गर्दै खम्बु राईट मुभमेन्टको विशाल र्‍याली"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.