-->
आठवर्षमा गोजमुमोले कुनै उपलब्धि गर्न सकेन – हिल तृणमूल

आठवर्षमा गोजमुमोले कुनै उपलब्धि गर्न सकेन – हिल तृणमूल

डी के वाइबा, कालिमन्युज, कालेबुङ, 7 अक्टोबर। गोर्खा जनमुक्ति मोर्चाले आफ्नो स्थापनाको नवौँ वर्षगाँठ पालन गरिरहेको अवसरमा यता हिल तृणमूल कङ्ग्रेस पार्टीले भने बधाई दिँदै यतिका वर्षसम्म कुनै उपलब्धि ल्याउन नसकेको आरोप लगाएको छ।
‘गोर्खा जनमुक्ति मोर्चालाई नवौँ स्थापना दिवसका निम्ति बधाई दिन्छौँ। तर, उनीहरूले यतिका वर्षसम्म कुनै पहाडमा उपलब्धि भने ल्याउन सकेको छैन” -हिल तृणमूलका जिल्ला युवा अध्यक्ष भुपेन्द्र लेप्चाले भने। मोर्चाकै स्थापना दिवसलाई केन्द्र गरेर आयोजना गरिएको पत्रकार सम्मेलनमा हिल तृणमूलले बधाई दिने बहानामा निकै आक्रमण गरेको थियो। भूपेन्द्र लेप्चाले पत्रकार सम्मेलनलाई सम्बोधन गर्ने क्रममा मोर्चाले अहिलेसम्म देखाउन लायकको कुनै कार्य गर्न समेत नसकेको दाबी गर्न चुकेनन्। मोर्चाले अहिलेसम्म छुट्टै राज्य गोर्खाल्याण्डको नाउँमा झूटो राजनीति गरिरहेको दाबी गर्दै वितेको आठ वर्षमा उनीहरूले जनताको हितमा कार्य नगरेको समेत लेप्चाले दाबी गरे।
‘गोजमुमोले दिइएको बचन आजसम्म कुनै पनि पूर्ण गरेन। ‘यदि मोर्चाले अझपनि सक्छ भने ताउजी विभाग जीटीएमा भएकोले कुलैनबगान, चियावगान र बनबस्तीका मानिसहरूलाई पर्चा-पट्टा वितरण गरेर देखावोस्‌। यस कार्यको निम्ति हामी मोर्चालाई चुनौति नै दिन्छौ”-भूपेन्द्र लेप्चाले स्पष्ट भने। 
उनले मोर्चा हरेक कुरामा विफल भएको दाबी गर्दै जीएलपीका युवा-युवतीलाई रोजगारको व्यवस्था, अस्थायी कर्मचारीको समस्या, गोर्खाल्याण्डका निम्ति कपाल खौरिएका महिलाहरूको योगदान लगायत अनेकौँ कुराहरूमा मोर्चाले केही गर्न नसकेको आरोप लगाए। यसक्रममा उनले उक्त सम्पूर्ण कार्यहरू मोर्चाको राजनैतिक विफलता हो समेत भन्न चुकेनन्। 
आफ्नो सम्बोधनको क्रममा राज्यको सहयोगिता बिना पहाडमा मोर्चाले केही गर्न नसक्ने दाबी समेत गरेका छन्। यसक्रममा उनले मोर्चाले तृणमूल कङ्ग्रेसको मुद्दालाई चोरेर राजनैतिक मुनाफा कमाउने कार्य गरिरहेको आरोप लगाए। हाल मोर्चाले उठान गरिरहेको मुद्दा तृणमूल कङ्ग्रेसले अघिबाटै उठाएको दाबी गर्दै आफूहरूले कालेबुङ मात्र नभएर दार्जीलिङ, खर्साङलाई समेत छुट्टै जिल्ला बनाउने प्रस्ताव अघिबाटै ग्रहण गरेको जनाएका छन्। 
‘गोजमुमो पार्टीले गोर्खाल्याण्डको नाम गरेर जनतालाई थाङ्‌नामा सुताउने काम गर्दैछ। यदि जनहितमा काम गर्न सक्दैन भने मोर्चाले हात उठाउनुपर्छ” भूपेन्द्र लेप्चाले मोर्चा प्रति कटाक्ष गर्दै भने। पत्रकारहरुलाई सम्बोधन गर्ने क्रममा मोर्चाले राज्य सरकारले गर्ने बिकासमूलक कार्यहरूमा समेत बाधा दिने गरेको दाबी गर्दै उनीहरूले जनताको हित नसोंचेको आरोप लगाएका छन्।

0 Response to "आठवर्षमा गोजमुमोले कुनै उपलब्धि गर्न सकेन – हिल तृणमूल"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.