-->
डा. हर्कबहादुर छेत्री तृणमूलमा सामेल हुने हल्लाले सनसनी कालेबुङका जनताको हितमा निर्णय लिनेछु – डा. छेत्री

डा. हर्कबहादुर छेत्री तृणमूलमा सामेल हुने हल्लाले सनसनी कालेबुङका जनताको हितमा निर्णय लिनेछु – डा. छेत्री

डी.के. वाइबा, कालिमन्युज, कालेबुङ, 15 सितम्बर। कालेबुङका बिधायक डा. हर्कबहादुर छेत्रीले आज गोजमुमो पार्टीबाट राजीनामा पत्र दिएर तृणमूल कङ्ग्रेसको झण्डा थाप्ने हल्लाले कालेबुङ शहरभरी चर्चा चल्यो। हल्लाहरूको डढेलो यत्ति जोडले सल्कियो कि मुख्यमन्त्री ममता ब्यानर्जीको समाचार संकलन गर्न कालेबुङ आएका राष्ट्रिय समाचार च्यानलका पत्रकारहरू एका-एक डा. हर्कबहादुर छेत्रीका घरमा धुरिए। एका-एक डा.छेत्रीको घर परिसरभित्र सुरक्षाका निम्ति पुलिस कर्मीहरू थुप्रिए। यस्तो परिस्थितिहरू बिच आखिरमा डा. हर्कबहादुर छेत्रीले पत्रकारहरूलाई सम्बोधन गर्न करै लाग्यो अनि उनले भने – “आगामी 18 सितम्बरको दिन राजीनामा पत्र दिने पार्टीले तय गरेको छ। अनि पार्टीको निर्णय अनुसार त्यस दिन बिधायकबाट राजीनामा दिनेछु।”
गोर्खा जनमुक्ति मोर्चाका केन्द्रिय प्रवक्ता एवं कालेबुङका बिधायक डा. हर्कबहादुर छेत्री अहिले राजीनामाको घोषणा पछि अन्तिम निर्णयमा पुग्न सकेका छैनन्। उनको पार्टीले राजीनामा दिनुपर्ने फरमान जारी गरिसकेको छ अनि राजीनामा दिनका निम्ति बिधायक डा. छेत्री मानसिक रूपले तयार पनि भइसकेका छन्। यद्यपी राजीनामा पछि के गर्ने भन्ने अन्तिम निर्णयमा भने उनी आजसम्म पुग्न सकेका छैनन्। जसको कारण उनी हाल छटपटाहटमा बाँचीरहेका छन्। राष्ट्रिय अनि क्षेत्रिय स्तरका पत्रकारहरूको फोन उत्तिकै बजिरहेको छ। शुभचिन्तकवर्गले पनि फोन गरेर सुझावहरू दिइरहेका छन्। खुफिया विभागका कर्मीहरू पनि सक्रिय छन्। अनि बिधायक डा. हर्कबहादुर छेत्री भने आफै अन्तिम निर्णयमा पुग्न सकिरहेका छैनन्। जसको कारण यसरी शहरमा बिनाकारण तृणमूल कङ्ग्रेसको झण्डा थाप्ने हल्लाले प्रश्रय पाइरहेको छ।
“मैले अन्तिम निर्णय लिनै पर्छ। जे पनि निर्णय हुन्छ त्यो लिनपर्छ अनि त्यो निर्णय म लिनेछु। मैले लिएको निर्णय कालेबुङका जनताको हितमा हुनेछु। किनभने म एउटा पार्टीको मात्र होइन सम्पूर्ण जनताको बिधायक हुँ। यसकारण जनताको बिधायक भएको हैसियतमा पनि म जनताको हितमा नै अन्तिम निर्णय लिनेछु’ – डा. हर्कबहादुर छेत्रीले भने। त्यसो हो भने कालेबुङका जनताको हितमा बिधायक डा. हर्कबहादुर छेत्रीको निर्णय के हुनेछ ? यत्तिखेर सबैभन्दा प्रखर प्रश्न नै यहीँ बनेको छ। जसको उत्तर 18 सितम्बरको दिन मात्रै पत्तो लाग्नेछ। 
छुट्टै राज्य गोर्खाल्याण्ड आन्दोलनलाई अघि बढाउने घोषणा गर्दै गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो) अध्यक्ष बिमल गुरूङले पहिलो चरणमा तीनजना बिधायकवर्गले बिधानसभाबाट राजीनामा दिने घोषणा गरिसकेका छन्। 
बिमल गुरूङले बिधायकवर्गलाई राजीनामा दिन लगाउने घोषणा पछि मुख्यमन्त्री ममता ब्यानर्जी कालेबुङ भ्रमणमा आउँदा यसपल्ट पनि डा. हर्कबहादुर छेत्रीले मुख्यमन्त्रीलाई सुटुक्कै यहाँको डेलो परिसरमा गएर भेटघाट गरे। मुख्यमन्त्रीलाई तिनले भेट गरेपछि नै वास्तवमा आज उनले राजीनामा दिएर तृणमूल कङ्ग्रेसमा सामेल हुनेछ भन्ने हल्ला फैलिएको थियो। यसबारे प्रश्न गर्द उनले स्पष्ट भने –‘कालेबुङका बिधायक हुँ अनि मेरो क्षेत्रमा मुख्यमन्त्री आउँदा मेरो भेट गर्ने कर्तव्य बन्छ। यसकारण गएर भेटघाट गरे। अनि मौकामा कालेबुङलाई जिल्ला बनाउनुपर्छ भन्ने कुरा दोहोर्‍याए।” उक्त भेटघाटले कुनै अन्योलता सिर्जना हुने आवश्यक्ता नरहेको बताउँदै यदि अन्योल भए त्यो उनीहरूकै दोष हुने पनि छेत्रीले बताएका छन्।
बिधायक छेत्रीलाई राजीनामा दिनुपर्छ भन्ने पार्टीको निर्णय प्रति कुनै प्रकारको दु:ख नरहेको बताउँदै उक्त निर्णय लिँदा आफुहरूले मात्रै नलिएको सन्दर्भमा भने असन्तुष्टी लागेको छ। “हामीले पार्टीको हरेक समस्याहरूमा साथ दियौँ। आज हामीले राजीनामा दिनुपर्ने कुरामा चाहीँ हाम्रै अनुपस्थितिमा निर्णय लिँदा आफैलाई अपमानित भएको महशुस गरेको छु” – डा छेत्रीले भने।
उनले राजीनामा दिनलाई आफू पूर्णरूपले तयार रहेको बताउँदै यदि आफ्नो उपस्थितिमा उक्त निर्णय लिएको भए राजीनामालाई कसरी थप प्रभावकारी बनाउन सकिनेछ भन्ने सुझाव राख्ने मनशाय रहेको तिनले बताएका छन्। “हामी मान्छे हौँ, कुनै काठको फर्निचर त होइनौँ। जुन फर्निचर जता सार्यो त्यै सर्छ। कमसेकम तीनजना बिधायकले राजीनामा दिनुपर्छ भनेर निर्णय गर्न अघि हाम्रो उपस्थितिमा परामर्श गरिएको भए यसलाई अझ प्रभावकारी बनाउन सकिने थियो” – डा. हर्कबहादुर छेत्रीले आफ्नो असन्तुष्टि जाहेर गरे। यसरी अचानक सभामा नबोलाई निर्णय लिँदा पढेका व्यक्तिहरूले आफैलाई अपमानित महशुस गर्न स्वभाविक रहेको बताउँदै यसले आफू अपमानित भएको डा. छेत्रीले अझ जनाए।
“मैले अहिले केही सोचेको छैन। बिधायकसँगै पार्टीबाट पनि राजीनामा दिनुपर्छ ? अथवा के गर्नुपर्छ ? त्यो मेरो दिमागमा अहिले केही छैन। तर यो निर्णय यसपल्ट कालेबुङका जनताको हितमा लिनेछु अनि आगामी 18 सितम्बरका दिन स्पष्ट पनि पार्नेछु’ डा. हर्कबहादुर छेत्रीले कुराकानीको क्रममा भने। हाल राजीनामा दिएर एकजना गुरुबाबु बनेर पुन: नानीहरूलाई अध्यापनमा फर्कनुसक्ने एउटा बिकल्प रहेको बताउँदै अथवा सक्रिय राजनीतिमा लाग्नुपर्ने भन्ने कुराहरूको सम्भावना प्रशस्तै रहेको तिनले जनाएका छन्। तिनले पश्चिम बङ्गाल बिधानसभाले जीटीएलाई हस्तक्षेप गर्‍यो भन्दैमा तीनजना बिधायकले राजीनामा दिनु वास्तवमा कुनै प्रभावकारी हुन नसक्ने पनि बताएका छन्।
“बिधानसभामा 294 सदस्यहरू छन्। जसमा तीनजनाले राजीनामा दिँदा कुनै प्रभाव पर्दैन। बरू जीटीएलाई हस्तक्षेप गर्‍यो भन्ने सन्दर्भमा जीटीएले कतिवटा प्रस्तावहरू जीटीए सभामा पारित गरेर राज्यलाई पठाएको छ अनि त्यस प्रस्तावहरूलाई राज्यले खारेज गरेको जवाब छ भने हामी बैधानिक कार्य गर्न सक्नेथियौँ। हाम्रो उपस्थितिमा राजीनामाको निर्णय गरिएको भए यी सुझावहरू राख्ने थियौँ। जसले गर्दा राजीनामा अझ प्रभावकारी बन्नेथियो” डा हर्कबहादुर छेत्रीले अझ भने।

0 Response to "डा. हर्कबहादुर छेत्री तृणमूलमा सामेल हुने हल्लाले सनसनी कालेबुङका जनताको हितमा निर्णय लिनेछु – डा. छेत्री "

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.