-->
लेप्चा बिकास बोर्डको कर्यक्रममा मङ्गर बोर्ड गठनको घोषणा कुराकानीको निम्ति मेरो ढोका खुल्ला रहनेछ – ममता ब्यानर्जी

लेप्चा बिकास बोर्डको कर्यक्रममा मङ्गर बोर्ड गठनको घोषणा कुराकानीको निम्ति मेरो ढोका खुल्ला रहनेछ – ममता ब्यानर्जी

डी.के. वाइबा, कालिमन्युज, कालेबुङ, 15 सितम्बर। तीन हप्ता अघि दार्जीलिङबाट अबउसो कुनै पनि बोर्ड गठन नगर्ने घोषणा गरेकी मुख्यमन्त्री ममता ब्यानर्जीले आज पुन: मङ्गर बोर्ड गठनको घोषणा गरिन्। उनी आज यहाँको मेला ग्राउण्डमा आयोजित लेप्चा बिकास बोर्डको तेस्रो वर्षगाठँ कार्यक्रममा मुख्य अतिथिका रूपमा उपस्थित रहेकी थिइन्।
यसक्रममा उनले गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन प्रति नाउँ नलिइ कटाक्ष गर्दै बन्दको राजनीतिले पहाडका मानिसहरूलाई समस्या हुने भएको कारण बन्दको राजनीति त्यागनुपर्ने आह्वान गरिन्।
“मसँग कुनै समस्या छ भने सोझै टेबलमा कुराकानी गर्न आउँनुपर्छ। कुराकानीको निम्ति मेरो ढोका जहिले पनि खुल्ला छ। यदि कुराकानी नै नगरी बन्द गरे पाहाडकै मानिसहरुले समस्या भोग्न पर्छ” मुख्यमन्त्री ममता ब्यानर्जीले भनिन्। उनले पाहाडका मानिसहरूले समस्या भोग्न परे आफूलाई दु:ख हुने बताउँदै पहाडका मानिसहरूलाई दु:ख दिन नचाहेको बताइन्।
“पहाडका लेप्चाहरूको बिकास गर्न लेप्चा बिकास बोर्ड गठन गरेका थियौँ। आज लेप्चा बिकास बोर्डले बिकास कार्य गरेर प्रमाणित गरिसकेको छ। यसैकारण अझ लेप्चा बिकास बोर्डलाई एकहजार घर निर्माणको निम्ति राज्यले धनराशी प्रदान गर्नेछ” ममता ब्यानर्जीले भनिन्। यसका निम्ति उनले लेप्चा बिकास बोर्डका अध्यक्ष ल्याङसोङ तामसाङलाई 10 करोड रूपियाँको चेक प्रदान गरिन्। उनले पहाडका जनताको साथमा सधैँ आफू तयार रहेको बताउँदै तामाङ, शेर्पा, भोटिया बोर्डलाई पनि बिकास कार्य गरेर उदाहरण प्रस्तुत गर्ने आह्वान गरिन्। यसैको निम्ति मङ्गर बोर्ड गठनको घोषणा गर्दै आफूलाई लिम्बु अनि राई समुदायले पनि बोर्ड गठनको अनुरोध गरिरहेको अनि यसलाई देखरेख गरिरहेको बताइन्।
“पहाडका जनताले बिकास चाहन्छन्। आज उनीहरू बिकास चाहेकै कारण यसरी भेला भएका हुन्। कार्यक्रममा भेला भएकै भिडले पहाडका मानिसहरू बिकास चाहेको पुष्टि गरेको छ” ममता ब्यानर्जीले कार्यक्रमलाई सम्बोधन गर्दै भनिन्। उनले बिगतका दिनहरूमा दार्जीलिङ पहाडलाई कसैले नहेरेको बताउँदै आफूले मात्र पहाडको उन्नती चाहेको दाबी गरिन्। 
“म पहाडको उन्नती चाहन्छु। यसको निम्ति हरेक प्रकारका सहयोग गर्न तयार छु, तर पहाड छोड्न तयार छुइन” ममता ब्यानर्जीले कडा स्वरमा भनिन्। उनले सम्बोधनकै क्रममा कालेबुङको डा. ग्राह्म होम्स विद्यालयलाई एउटा बस दिने घोषणा गरिन् भने लेप्चाहरूका निम्ति दार्जीलिङ अनि कालेबुङमा एक-एकवटा होस्टेल निर्माण गर्ने पनि घोषणा गरिन्। 
यसको निम्ति 5 करोड रूपियाको घोषणा गरेकी छन्। उनले लेप्चा बिकास बोर्डका निम्ति यसभन्दा अघि वार्षिक 30 करोड धनराशी दिने गरेको बताउँदै अब उसो 5 करोड बृद्धि गरेर 35 करोड वार्षिक धनराशी दिने घोषणा गरिन्। सोहीक्रममा तिनले पाहाडका मानिसहरूको धेरै क्षमता रहेको बताउँदै पहाडका मानिसहरूको क्षमता बिकासका निम्ति एउटा छुट्टै क्षमता बिकास बोर्ड गठन गर्ने पनि घोषणा गरिन्। उक्त क्षमता बोर्डमा सम्पूर्ण पाहाडका मानिसहरूलाई समावेश गरेर उनीहरूको सर्वाङ्गिन बिकास कार्यलाई अघि बडाउने पनि ममता ब्यानर्जीले बताएकी छन्। 
यसै अवसरमा मायलल्याङ लेप्चा बिकास बोर्डको नाउँ आधिकारिक रूपले परिवर्तन गरेको घोषणा गर्दै अब उसो ‘पश्चिम बङ्गाल लेप्चा बिकास बोर्ड’ नाउँ हुने तिनले घोषणा गरिन्। लेप्चा बिकास बोर्ड गठनको तेस्रो वर्षगाँठको अवसरमा आयोजित कार्यक्रममा बोर्डका अध्यक्ष ल्यासोङ तामसाङले स्वागत सम्बोधन राखेका थिए। यस अवसरमा कार्यक्रममा लेप्चा कलाकारहरूले विभिन्न सांस्कृतिक प्रस्तुती दिएका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ल्याङसोङ तामासाङले लेप्चा बिकास बोर्डद्वारा आर्थिक विपन्न परिवारवर्गका निम्ति निर्माण गरिएको रोङ्ली अत्यन्तै लाभदायक रहेको जानकारी गराउँदै मुख्यमन्त्री ममता ब्यानर्जी प्रति आभार प्रकट गरे।
उनले भारत स्वतन्त्रता भएको 65 वर्षसम्म पनि लेप्चा जातिको सर्वाङ्गिन बिकास हुन नसकेको दाबी गर्दै मुख्यमन्त्री ममता ब्यानर्जीको सहयोगमा सन् 2012 देखि यता मात्र लेप्चाहरूको बिकास कार्य सुरू भएको दाबी गरेका छन्। 
“रोङ्ली (लेप्चा घर) विपन्न परिवारका लेप्चा परिवारवर्गलाए धेरै लाभदायक भएको छ। यसले धेरै लेप्चा परिवारवर्ग लाभान्वित बनेका छन्। यसका निम्ति हामी मुख्यमन्त्री ममता ब्यानर्जीप्रति आभार व्यक्त गर्दछौँ” ल्याङसोङ तामसाङले भने। उनले सम्बोधनको क्रममा लेप्चा बिकास बोर्डले धेरै बिकासका कार्यहरू गरिरहेको बताउँदै हाल 30 वटा लेप्चा रात्री स्कूल निर्माण कार्य भइरहेको बताए। 
 ‘सन् 2012 भन्दा अघि लेप्चाहरूको बिकास कार्य कहिल्यै भएको थिएन। आज लेप्चा बिकास बोर्ड गठन पछि मात्र लेप्चाहरूको बिकास कार्य हुँदैछ” तामसाङले भने। उनले हाल सम्पूर्ण पाहाडको बिकास कार्य भइरहेको बताउँदै यसले ग्रामीण क्षेत्रका मानिसहरू लाभान्वित बनिरहेको दाबी गरे। 
अर्कोतर्फ यता मङ्गर बोर्ड गठनको घोषणा पछि नव मङ्गर संघका महासचिव नवीन थापा सँग प्रतिक्रिया लिन चाहँदा उनले आफूहरू अत्यन्तै हर्षित रहेको बताए। “मङ्गर समुदायले बिकास बोर्ड गठनको माग अघिबाटै गर्दै आइरहेको थियो। आज मुख्यमन्त्रीले हाम्रो मागलाई स्वीकार गरेर बोर्ड गठनको घोषणाले अब मङ्गरहरूको आङमा घाम लाग्ने महशुस गरेका छौँ” नवीन थापाले भने।

0 Response to "लेप्चा बिकास बोर्डको कर्यक्रममा मङ्गर बोर्ड गठनको घोषणा कुराकानीको निम्ति मेरो ढोका खुल्ला रहनेछ – ममता ब्यानर्जी"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.