-->
गोर्खाल्याण्डको निम्ति विधायक होइन जीटीए बन्दैछ बाधक – विष्णु छेत्री

गोर्खाल्याण्डको निम्ति विधायक होइन जीटीए बन्दैछ बाधक – विष्णु छेत्री

डी के वाइबा, कालिमन्युज, कालेबुङ 12 सितम्बर 2015। गोर्खा जनमुक्ति मोर्चाले छुट्टै राज्य गोर्खाल्याण्डको आन्दोलनलाई पुन: अघि बढाउने घोषणालाई कालेबुङ कृषक कल्याण संगठनले स्वागत जनाएको छ। संगठनका महासचिव विष्णु छेत्रीले आज एक पत्रकार सम्मेलन आयोजना गरेर गोजमुमो पार्टीको निर्णयलाई स्वागत जनाएको हो। 
“18 जुलाई 2011 मा जीटीएको सम्झौता भयो जुन व्यवस्था पूर्णरूपले असंवैधानिक व्यवस्था थियो। दागोपाप भन्दा निम्न स्तरको असंवैधानिक व्यवस्था जीटीए थियो जुन व्यवस्था बङ्गालभित्रै रहनुपर्ने थियो भन्ने आज अझै स्पष्ट बनेको छ। यस्तो अवस्थामा आज गोजमुमो नेतृत्ववर्गले गोर्खाल्याण्ड नै हुनपर्छ भन्ने महशुस गरेर निर्णय लिए त्यस निर्णयको हामी स्वागत अनि समर्थन गर्दछौँ” विष्णु छेत्रीले स्पष्ट भने। 
यसक्रममा छुट्टै राज्य गोर्खाल्याण्ड प्राप्तिको निम्ति पश्चिम बङ्गाल अनि केन्द्र सरकारलाई दबाव दिन तीनजना विधायकवर्गले राजीनामा दिने मोर्चाको निर्णय प्रति प्रतिक्रिया गर्दै छेत्रीले वास्तवमा बिधायकले भन्दा पहिला जीटीएका सम्पूर्ण सभासदवर्गले राजीनामा दिनु आवश्यक थियो भनि जनाए। 
“गोर्खाल्याण्ड मागको बाधा र बाधक विधायकहरू पटक्कै होइनन्। वास्तवमा गोर्खाल्याण्डको बाधा र बाधक भनेको जीटीए व्यवस्था नै हो। यसकारण विधायकवर्गले राजीनामा दिनको साटो जीटीए अध्यक्ष लगायत सम्पूर्ण सभासदवर्गले जीटीएबाट राजीनामा दिनुपर्ने हो” कृषक कल्याण संगठनका महासचिव विष्णु छेत्रीले भने। 
उनले जीटीएका अध्यक्ष लगायत सम्पूर्ण सभासदवर्गले राजीनामा दिएर जीटीएलाई नै अचल बनाएर मात्र उनीहरू जीटीए प्रति सन्तुष्ट नरहेको कारण गोर्खाल्याण्डको आवाज उठाएको सन्देश केन्द्र अनि राज्यलाई पुग्ने बताउँदै नत्र उनीहरूले पैसा अथवा क्षमताको निम्ति बार्गेनिङ गरेको जस्तो देखिएको पनि छेत्रीले बताएका छन्। 
“आज विधायकवर्गलाई मात्र राजीनामा दिन लगाएर जीटीए व्यवस्था नछोडे उनीहरूलाई पैसा पो चाहिएको हो कि अथवा पावर चाहिएको हो भन्ने अन्योलता सिर्जना भएको छ” विष्णु छेत्रीले भने। यसैक्रममा उनले छुट्टै राज्य गोर्खाल्याण्डको मुद्दा एउटा राष्ट्रिय मुद्दा रहेको बताउँदै राष्ट्रिय मुद्दाकै कारण यहाँका जनताले एस.एस आहलुवालीयालाई सांसद बनाएर पठाएको दाबी गरे। 
“मोर्चाका नेताहरूले पुन: आन्दोलन गर्ने भन्दैछन्। यो अवस्थामा सांसदको भूमिका के हो ? सांसदको काम संसदमा बील प्रस्तुत गर्नु हो। तर आज पूर्ण वहुमतको सरकारमा बसेर पनि उनले केही गर्दैनन् भने यहाँ मोर्चाकै निर्णयमा पनि शंका उत्पन्न हुन्छ” छेत्रीले भने। यस्तो अवस्थामा सांसदले गोर्खाल्याण्डको मुद्दालाई अघि बढाउन सदनमा गोर्खाल्याण्डको बील प्रस्तुत गर्न सक्नुपर्ने बताउँदै अब मोर्चाले सांसदलाई समेत चाप सिर्जना गर्नुपर्ने तिनले सुझाव दिएका छन्।

0 Response to "गोर्खाल्याण्डको निम्ति विधायक होइन जीटीए बन्दैछ बाधक – विष्णु छेत्री"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.