-->
सिलगडीमा पञ्चायत चुनाव हुँदा दार्जीलिङमा खोइ ?   पहाडमा पञ्चायत चुनाव नहुनु गोजमुमोको दोष रहेको विपक्षीहरूको आरोप

सिलगडीमा पञ्चायत चुनाव हुँदा दार्जीलिङमा खोइ ? पहाडमा पञ्चायत चुनाव नहुनु गोजमुमोको दोष रहेको विपक्षीहरूको आरोप

डी.के.वाइबा, कालिमन्युज, कालेबुङ 5 सितम्बर। अन्तत: सिलगडी महकुमा परिषदको चुनाव सँगै त्रिस्तरीय पञ्चायत चुनाव सम्पन्न हुँदा यता दार्जीलिङ पहाडका मानिसहरू भने पञ्चायत चुनावको अधिकारबाट बञ्चित बन्न पर्ने निश्चित बनेको छ। गत 2005 देखि पञ्चायत व्यवस्था विहिन बनेको दार्जीलिङ पहाडका ग्रामीण क्षेत्रका मानिसहरूले पञ्चायत व्यवस्थाको पूर्णाङ्ग सुविधा उपभोग गर्न पाइरहेका छैनन्। जसको कारण ग्रामीण क्षेत्रका जन-साधारणले बुनियादी सुविधाहरूको उपभोग समेत राम्ररी गर्न पाएका छैनन्। यति हुँदा-हुँदै पनि यता दार्जीलिङ पहाडका जनसाधारणलाई पञ्चायत व्यवस्था मार्फत सम्पूर्ण सुविधाहरूको उपभोग गर्न दिन न त राज्य सरकारलाई चासो छ न त पहाडका सत्तासिन राजनैतिक दललाई नै चासो बनेको छ। यति मात्रै होइन प्रजातन्त्रिक भारतको केन्द्र सरकारलाई समेत दार्जीलिङ पहाड 10 वर्ष देखि पञ्चायत व्यवस्था विहिन बन्दा समेत ‘लुतो न कनाई’ सरह बनेको छ। दार्जीलिङ जिल्लाको एउटा अङ्ग सिलगडीमा महकुमा क्षेत्रमा त्रीस्तरीय क्षमतावान पञ्चायत चुनाव सम्पन्न हुँदा यता तीनवटा महकुमा लिएर गठन भएको गोर्खाल्याण्ड क्षेत्रिय प्रशासनमा भने त्रीस्तरीय पञ्चायत चुनावको त वास्ता छँदै छैन तर ग्राम पञ्चयात चुनावको समेत कुनै सुर-सार नै छैन। यसको निम्ति पहाडको सत्तामा बस्ने राजनैतिक दलले पनि त्रीस्तरी पञ्चायत चुनावलाई सम्झौता पत्रमा नै चेप्टाएर राखेको आजको परिवेशले स्पष्ट बनेको छ। दार्जीलिङ पहाडको तीनवटा महकुमा क्षेत्रलाई छोडेर अलग्गै एउटा महकुमा मात्रै लिएर गठन भएको सिलगडी महकुमा क्षेत्रमा त्रीस्तरीय चुनावको अधिसूचना जारी भएपछि यता दार्जीलिङ पहाडका विभिन्न राजनैतिक पार्टीहरूले सत्तासिन राजनैतिक पार्टी गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो)लाई नै पूणरूपले दोष दिएको छ। पहाडमा पञ्चायत चुनाव नहुनुमा पूर्ण दोष गोजमुमो पार्टीको रहेको बताउँदै उनीहरू ग्रामीण क्षेत्रका जनताहरू प्रति ईमान्दार नरहेकै कारण पञ्चायत चुनाव गराउनलाई आजसम्म आधिकारिक पहल नगरेको आरोप लगाएका छन्।  


गोजमुमोले आफ्नो सम्झौता आफै उल्लंघन गर्दैछ – डा. लामा
सिलगडी महकुमा क्षेत्रमा महकुमा परिषदको चुनाव सँगै पञ्चायत समिति, ग्राम पञ्चायत चुनाव सम्पन्न हुने अधिसूचना जारी भएपछि यता गोर्खाल्याण्ड क्षेत्रिय प्रशासन अधिनस्थमा चुनाव नहुनुको मूल कारण नै गोजमुमो पार्टी हो भनि डा. महेन्द्र पी. लामाले आरोप लगाएका छन्। उनले टेलिफोनिक कुराकानीको क्रममा सिलगडीको महकुमा परिषद चुनावमा मोर्चाले अंशग्रहण गर्ने निर्णयले अझ आफ्नो सम्झौता आफै उल्लंघन गरेको दाबी समेत गरे। “गोर्खाल्याण्ड क्षेत्रिय प्रशासनको सम्झौतामा त्रीस्तरीय पञ्चायत चुनाव गरिने स्पष्ट लेखेको छ। यदि उक्त सम्झौता अनुरूप नै यहाँ त्रीस्तरीय पञ्चायत चुनाव भए सिलगडी महकुमा परिषद स्वत: खारेज हुनेछ। यस्तो अवस्थामा उनीहरूले महकुमा परिषदको चुनावलाई बिरोध गर्छ भन्ने आशा राखेका थियौँ। तर, उनीहरूले सोझै चुनावमा भग लाइन घोषणा गरेर आफैले गरेको सम्झौतालाई उल्लंघन गरेका छन्”- दार्जीलिङ डुवर्स युनाइटेड डेभलभमेन्ट फाउण्डेसनका डा.महेन्द्र पी. लामाले भने। गोजमुमो पार्टीले बारम्बार राज्यलाई सम्झौता उल्लंघन गर्‍यो भन्ने आरोप लगाउने गरे पनि आज आएर महकुमा परिषदको चुनाव लड्ने निर्णयले आफ्नो चरित्र जनताको अघि उदाङ्गो बनेको डा.लामाले दाबी गरे। मोर्चाले सरकारलाई बारम्बार रिझाउँदा पनि केही नलाग्ने रहेछ भन्ने धारण बिकसित भएको कारण आखिरमा आफूहरूको कुनै सिप नलाग्ने रहेछ भन्ने बुझेर पनि यसरी चुनावमा भाग लाइन निर्णय गरेको हुनसक्ने पनि तिनले बताए। “त्रीस्तरी पञ्चायत चुनाव भए सिलगडी हाम्रो भइहाल्नेछ। यसो नगरेर चुनावमा भाग लिनु बिजेपी अथवा अन्य राजनैतिक दलहरूलाई खुशी बनाउने चाल पनि हुनसक्छ। तर, यो जनतालाई धोका हो” डा. लामाले अझ भने। उनले दार्जीलिङ पहाडमा त्रीस्तरीय पञ्चायत चुनावको अति आवश्यक रहेको बताउँदै यदि सत्तासिन राजनैतिक दलले त्रीस्तरीय पञ्चायत चुनाव गर्न नसके जनतालाई महाधोका हुने पनि दाबी गरे।

संविधान संशोधन नगरी त्रीस्तरीय पञ्चायत चुनाव सम्भव छैन – प्रताप खाती  
अर्कोतर्फ अखिर भारतीय गोर्खालिग पार्टीका महासचिव प्रताप खातीले गोर्खाल्याण्ड क्षेत्रिय प्रशासनमा त्रीस्तरीय पञ्चायत चुनाव संविधान संशोधन नगरी सम्भव नरहेको दाबी गरेका छन्। “पहाडमा पञ्चायत चुनाव सम्भव छैन। दागोपाप सम्झौताको ऐनलाई संवैधानिक संशोधन गरेर जबसम्म जीटीएलाई संविधानभित्र गाभिन्दैन तबसम्म त्रीस्तरीय पञ्चायत चुनाव हुनै सक्दैन। पहाडमा पञ्चायत व्यवस्था स्थापित गर्न यता संविधान संशोधन गर्नुपर्छ भनेर गोजमुमो इमान्दार छैन। यसैकारण उनीहरू पञ्चायत चुनाव प्रति मौन बसेका हुन्”- प्रताप खातीले आरोप लगाए। पहाडमा पञ्चायत व्यवस्था नभएको कारण जनसाधरणले समस्या भोग्न परे पनि सत्तासिन गोजमुमो पार्टीका नेताहरूले भने जनताको समस्यासँग सरोकार राख्ने नगरेको पनि उनले आरोप लगाए। “गोजमुमो जनताको समस्याप्रति इमान्दार भए केन्द्रमा सरकार भएकै दलको सांसद एस.एस आहलुवालीया यहाँबात पठाएको छ। उनले संविधान संशोधन गर्नको निम्ति सरकारमा आवज उठाउँन सक्थ्यो। वास्तवमा उनीहरू सरकारका दलालहरू हुन् यसर्थ ग्रामीण जनतासँग जोडिएको मुद्दा पञ्चायत व्यवस्था प्रति उनीहरू गम्भिर छैनन्” प्रताप खातीले अझ भने।

सत्ताधारीहरूको निकम्मापनले पञ्चायत चुनाव हुन सकेन – गोबिन छेत्री
पहाडमा त्रीस्तरीय पञ्चायत चुनाव नहुनुमा सत्तासिन राजनैतिक दल गोजमुमोको निकम्मापन हो भनि क्रामाकपाले आरोप लगाएको छ। क्रामाकपा केन्द्रिय समितिका प्रवक्ता गोबिन छेत्रीले पञ्चायत चुनाव भए पहाडका क्षमता बिकेन्द्रिकरण हुने हुनाले सत्तासिन दल क्षमता बिकेन्द्रिकरणको पक्षमा नरहेको दाबी गरे। “पञ्चायत चुनाव भए क्षमता बिकेन्द्रिकरण हुन्छ। आफ्नो काम पञ्चायत सदस्यबाट भएपछि जनताले आफ्नो काम बनाउन सभासद भेटने आवश्यक्ता पर्दैन। यतिमात्र होइन सभासदहरूले अहिलेघरी पञ्चायतबाट हुने कामहरूमा मोटो रकम्अ वसुली गर्दैछ। यी सबै बन्द हुने डरले गोजमुमो दल पञ्चायत चुनाव गर्ने पक्षमा नरहेको स्पष्ट बनेको छ” गोबिन छेत्रीले भने। मोर्चाले त्रीस्तरीय पञ्चायत चुनाव गर्न भनि जीटीएमा सम्झौता गरे पनि क्षमता बिकेन्द्रिकरण भए आफुहरूको सत्ता समेत असुरक्षित हुने डरले पञ्चायत चुनावमा मोर्चाले चासो नदेखाएको उनको आरोप छ। “पञ्चाय संवैधानिक व्यवस्था हो तर जीटीए भने असंवैधानिक व्यवस्था भएको कारण उनीहरूलाई सत्ता बचाएर राख्नु छ। सत्ताभोगीहरूको निकम्मापन र आफ्नो सत्ता बँचाएर राख्नकै निम्ति त्रीस्तरीय पञ्चायत चुनाव नगरेर आत्मसमर्प गरेको यहाँ स्पष्ट बनिसकेको छ” गोबिन छेत्रीले अझ भने। उनले जीटीएको सम्झौता गर्दा जनतालाई मूर्ख बनाएको दाबी गर्दै अब आफ्नो हक र अधिकारको निम्ति जनता आफै सचेत बनेर सडकमा ओर्लनुपर्ने आह्वान पनि गरेका छन्।

यहाँ हैकमवादी नीति अप्नाउने कार्य गर्दैछ – तारा सुन्दास
ग्रामीण क्षेत्रका मानिसहरूलाई क्षमता प्रदान गर्नका निम्ति सरकारले भारतवर्षमा पञ्चायत व्यवस्था लागु गरे पनि यता दार्जीलिङ पहाडमा भने पञ्चायत व्यवस्था ठिकसँग नचल्नु हैकमवादी शक्तिहरूको हात रहेको माकपा नेता तारा सुन्दासले आरोप लगाएका छन्। माकपाले दार्जीलिङ पहाडमा त्रीस्तरीय पञ्चायत चुनावको माग गर्दै आइरहेको दाबी गर्दै सरकार अनि पहाडको सत्तासिन राजनैतिक पार्टीले त्रीस्तरीय पञ्चायत चुनाव झट्ट गर्नुपर्ने माग गरे। पञ्चायत चुनाव नभएको कारण हाल खण्ड बिकास अधिकारी अनि पञ्चायत कर्मीहरूको धलीमली रहेको दाबी गर्दै पहाडका सत्तासिन राजनैतिक दलले आफ्नो मौनता तोड्नुपर्ने आह्वन गरे। “पहाडमा पण्क्झायत चुनाव नहुनुमा चौकिमा बस्नेहरू दोषी छन्। यदि जनतालाई शक्ति दिन चाहन्छौँ भने पञ्चयात चुनाव गर्नै पर्छ। पञ्चायत चुनाव नगरेर सत्ताधारीहरूले यहाँ जनतालाई पंगु बनाएर राखिरहेका छन्” माकपा नेता तारा सुन्दासले भने। एकातिर भारतका प्रधानमन्त्रीले सबैलाई देशको मूलधारामा आउने आह्वान गरिरहेको अवस्थामा यता देशको मूलधारमा जोड्ने पञ्चायत चुनाव समेत नगर्नु प्रजातन्त्रको हनन् हो भनि सुन्दासले आरोप लगाए। “पहाडको सत्ताधारी पार्टीले मुख खोल्न पर्छ। तिमीहरूलाई पञ्चायत चाहिन्दैन भने स्पष्ट पार्नुपर्छ तर जनतालाई भने पञ्चायत चुनाव चाहिएको छ। जनताप्रति इमान्दार हुनेहरूले सिलगडीको भोटमा होइन पहाडमा पञ्चायत चुनाव गराएर देखाउनुपर्छ” सुन्दासले गोजमुमो प्रति कटाक्ष गर्दै भने। तिनले पहाडमा त्रीस्तरीय पञ्चायत चुनाव हुनपर्ने माग गर्दै अब जनतालाई ढाँटने काम गरे भविष्यमा यसको परिणाम ठिक नहुने पनि बताए। 
Published in Kalimpong News by KalimNews at http://kalimpongonlinenews.blogspot.in/2015/09/blog-post_6.html and  http://kalimpongnews.net/2015/09/06/%E0%A4%B8%E0%A4%BF%E0%A4%B2%E0%A4%97%E0%A4%A1%E0%A5%80%E0%A4%AE%E0%A4%BE-%E0%A4%AA%E0%A4%9E%E0%A5%8D%E0%A4%9A%E0%A4%BE%E0%A4%AF%E0%A4%A4-%E0%A4%9A%E0%A5%81%E0%A4%A8%E0%A4%BE%E0%A4%B5-%E0%A4%B9/

Related Posts

0 Response to "सिलगडीमा पञ्चायत चुनाव हुँदा दार्जीलिङमा खोइ ? पहाडमा पञ्चायत चुनाव नहुनु गोजमुमोको दोष रहेको विपक्षीहरूको आरोप"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.