-->
नेपाली साहित्यमा जोडियो ‘हस्तक्षेप आन्दोलन’को नाउँ

नेपाली साहित्यमा जोडियो ‘हस्तक्षेप आन्दोलन’को नाउँ

डी के वाइबा, कालिमन्युज, कालेबुङ, 6 सितम्बर। भारतीय नेपाली साहित्यिक आन्दोलनहरूको सूचीमा आजदेखि ‘हस्तक्षेपी आन्दोलन’-को नाउँ जोडिन पुगेको छ। 
कालेबुङ कन्या उच्चतर माध्यमिक विद्यालयमा आयोजित विमोचन कार्यक्रममा हस्तक्षेप पत्रिकाको औपचारिक बिमोचन सँगै उक्त साहित्यिक आन्दोलनको घोषणा गरिएको हो। निकै समय देखि चर्चामा रहेको हस्तक्षेप आन्दोलनको कुनै औपचारिक घोषणा गरिएको थिएन। जसको कारण नेपाली साहित्यमा हस्तक्षेप के हो भन्ने प्रश्न जागिरहेको थियो। 
आखिरमा साहित्यमा हस्तक्षेप के हो भनि उठीरहेको प्रश्नको जवाब सँगै नेपाली साहित्यमा नयाँ आन्दोलनको रूपमा ‘हस्तक्षेप आन्दोलन’ सुरू भएको छ। तेस्रो आयाम, लिला लेखन, सङ्‌क्रमणकाल, विचलन, हुँदै किनारीकरणसम्म आइपुगेको भारतेली नेपाली साहित्यमा ‘हस्तक्षेप’-नामक अर्को नयॉं आन्दोलनको थालनी गरिएको छ।यसक्रममा कार्यक्रमलाई सम्बोधन गर्दै हस्तक्षेप आन्दोलनका प्रवर्तक कवि राजा पुनियानिले - ‘आम जनताका दिमागी व्यवस्थामा सत्ताले नियोजित अनि प्रायोजित रूपमा हस्तक्षेप गरेको छ। हामी त्यही दिमागी व्यवस्थामा भइरहेको हस्तक्षेपमाथि प्रतिहस्तक्षेप गर्नेछौँ’ भने । 
कालेबुङमा आयोजित एक कार्यक्रममाझ आन्दोलनको घोषणासितै मुखपत्र ‘हस्तक्षेप’-को पनि विमोचन गरिएको हो। कवि राजा पुनियानी, मनोज वोगटी, टिका भाई, भुपेन्द्र सुब्बा, लेखनाथ छेत्री, निमा शेर्पा, नेपालका कवि भूपीन, महेश पौड्याल र ईश्वर कडेलहरू हस्तक्षेपी समुहमा पर्दछन्‌। ‘हामी हस्तक्षेपमा प्रतिबद्ध लेखनको वकालत गर्छौँ’-हस्तक्षेपी अवधारणाबारे बुझाउँदै पुनियानीले भने, ‘लेखक आफूले जे लेख्दैछ त्यसप्रति प्रतिबद्ध हुनु जरूरी छ।’
उनलार्ई लाग्छ हस्तक्षेप आन्दोलनले राजनैतिक विचारको उपस्थितिलाई जोड दिनेछ। कवि पुनियानीले हस्तक्षेप आन्दोलनलाई विचार र कलाको प्रोपर ब्यालेन्स रहेको भन्दै जनतासँग सोझै साहित्यले संवाद गरोस्‌ भन्ने हस्तक्षेपीहरूको सोच रहेको बताएका छन्‌। 
अर्का कवि भुपेन्द्र सुब्बा कसरी व्याख्या गर्छन्‌ भने आजभन्दा पहिले भारतीय नेपाली समाज र साहित्यमाझ एउठा विशाल दुरी कायम रहेको थियो। तर अब उनीहरू शुरूदेखि वर्तमानसम्मका सामाजिक, आर्थिक, राजनैतिक उताडचडाउलाई लेखनमा ल्याउन चाहन्छन्‌। 
‘साहित्यिक सर्जकहरू विचारले भाषाले, बोलिले समाजबाहिरका अलग्गै कुनै एलिन प्रजाति जस्तै देखिन्थे‘-सुब्बा भन्छन्‌, ‘यसैले साहित्यमा सामाजिक संवादको स्थापना हाम्रो अभिष्ट हो।’ विचलन र किनारीकरणले यस स्थितिलाई केही हद्सम्म सम्बोधन गरेको कुरालाई हस्तक्षेपीहरू नकार्दैनन्‌। तर हस्तक्षेपले सोचेको अवधारणामा काम नभएको महसुस गरेका उनीहरूले अब चुपचाप बस्ने सामाजिक-साहित्यिक संस्कारविरूद्ध उभिने हस्तक्षेपको सचेत प्रचष्टा रहेको कवि सुब्बाले बताएका छन्‌। 
‘सबभन्दा खतरनाक हुन्छ सपनाहरू मर्नु’-हिन्दी कवि अवतारसिंह पाशको विचारसित सहमत राख्दै मानिसहरूको विचारमा भइरहेको राजनैतिक, सामाजिक, आर्थिक हस्तक्षेपमाथि प्रतिहस्तक्षेप गर्दै नेपाली साहित्यलाई नयॉं दिशा दिने किसिममको आन्दोलन हस्तक्षेपभित्र पर्ने उनीहरूको आशय छ।

0 Response to "नेपाली साहित्यमा जोडियो ‘हस्तक्षेप आन्दोलन’को नाउँ"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.