चुनाव बहिस्कारको चर्चामा मुख्यमन्त्रीको पहाड आगमन ममता-बिमलको चुनावी चलखेलमा पहाड ?
विशेष प्रतिनिधी, कालिमन्युज, कालेबुङ 23 अगस्त। गोर्खाल्याण्ड क्षेत्रिय प्रशासन प्रमुख बिमल गुरूङले आगामी विधानसभा चुनाव बहिस्कार गर्न सक्नुपर्छ भन्ने दिएको बयान आज प्रकाशित भएपछि चारैतिर चर्चाको विषय बनेको छ। विशेष गरेर राजनैतिक शिविरमा उक्त बयानले निक्कै चर्चा पाएको थियो। मुख्यमन्त्री ममता ब्यानर्जीको पहाड आगमनको अवसरमा दिइएको उक्त बयानले गोजमुमो पार्टीभित्रै पनि निक्कै चर्चा पाएको छ। कसैले यसलाई राजनैतिक रणनीति हुनसक्ने अनुमान लगाएको छ भने कतिले गोरामुमो प्रमुख स्व सुवासको बाटो अप्नाएको पनि बताइरहेका थिए। यद्यपी यसबारे अहिले नै खुलेर टिप्पणी गर्न भने कसैले मानेनन्।
जसरी सुवास घिसिङले बङ्गालमा ब्रामफ्रण्टको सत्ता स्थापित गर्न चुनाव वाइपास गरे ठिक त्यस्तै गोजमुमो अध्यक्ष बिमल गुरूङले पनि तृणमूल कङ्ग्रेसलाई अघोषित सहयोग गर्न चुनाव बहिस्कारको चर्चा उठाएको हो कि ! भन्ने प्रश्नले सबै मानिसहरू चर्चा गरिरहेका थिए। किनभने तृणमूल कङ्ग्रेसले यसचोटीको विधानसभा चुनावमा दार्जीलिङ पहाडबाट मोर्चालाई सोझो टक्कर दिने निश्चित बनाइसकेको पार्टी सुत्रले बताएको छ। यस्तो अवस्थामा गुरूङको बयानले राजनैतिक शिविरमा निक्कै हलचल ल्याएको हो। यद्यपी अहिले नै किटान गरेर केही भनिहाल्न भने नमिल्ने सबैको मत रहेको छ।
अर्कोतिर बङ्गालकी मुख्यमन्त्री ममता ब्यानर्जीको यसपल्टको दार्जीलिङ आगमन राजनैतिक रूपले निकै महत्वपूर्ण मानिन्दैछ। घरी घरी दार्जीलिङ पहाड आउन रूचाउने मुख्यमन्त्रीको यसपल्टको भ्रमण आगामी 2016 मा हुने विधानसभा चुनावको प्रारम्भिक कसरत हुनसक्ने राजनैतिक सचेतकवर्गको भनाई रहेको छ। यसबारे पार्टीका विशेष सुत्रले पनि आगामी 2016 को विधानसभा चुनावलाई केन्द्र गरेर नै पहाडमा मुख्यमन्त्री ममता ब्यानर्जीको यो भ्रमण हो भनि दाबी गरेको छ। “दिदीसँग पार्टीको बैठक हुने सम्भावना छ। उनी व्यस्त भएको खण्डमा उनकै निर्देशनमा अन्य नेताहरूसँग हिल तृणमूल कङ्ग्रेस नेताहरूको बैठक हुनेछ। बैठकमा विशेष 2016 को विधानसभा चुनाव नै चर्चाको विषय हुने हामीले ठानेका छौँ” हिल तृणमूल कङ्ग्रेसका नेताले आफ्नो नाउँ सार्वजनिक नगर्ने सर्त राख्दै भने।
अहिलेघरी पहाडमा आगमी हुने विधानसभा चुनावलाई केन्द्र गरेर अहिलेसम्म कुनै राजनैतिक कसरत खुल्ला रूपले सुरू भएको छैन। यद्यपी भित्र-भित्रै भने सामान्य रूपले तृणमूल कङ्ग्रेसले चुनावी कसरतलाई अघि बडाउँन सांगठनिक क्रियाकलाप गरिरहेको स्रोतले बताएको छ। विशेष रूपले आगामी 2016 मा सम्पन्न हुने बङ्गालको बिधानसभा चुनावमा दार्जीलिङ पहाडमा आफ्नो वर्चस्व स्थापित गर्न तृणमूल कङ्ग्रेसले आफ्नै बुतामा चुनाव लड्ने प्राय निश्चित गरिसकेको स्रोतले बताएको छ। यसको निम्ति हिल तृणमूल कङ्ग्रेसलाई मुख्यमन्त्री ममता ब्यानर्जीले चुनावी मन्त्र यसचोटीको भ्रमणमा दिएर कोलकोता फर्कने सम्भावना रहेको छ। यसपल्टको भ्रमणमा मुख्यमन्त्रीले हिल तृणमूल कङ्ग्रेसका नेताहरूसँग एकाधिक बैठक गर्न सक्ने सम्भावना रहेको पनि स्रोतले दाबी गरेको छ।
उक्त बैठकमा दार्जीलिङ पहाडको बिकासको मुद्दालाई आगामी बिधानसभा चुनावमा हतियार बनाउने चर्चा हुनसक्ने सम्भावना प्रबल रहेको सुत्रले दाबी गरेको छ। उक्त भ्रमण अवधी पार्टी समर्थकहरूसँग सांगठनिक गतिविधीको जानकारी पनि मुख्यमन्त्रीले लिने अनि चुनावको निम्ति तृणमूल स्तरदेखि नै संगठनलाई बलियो पार्ने निर्देश दिनसक्ने चर्चा पनि बैठकमा निश्चित रूपले उठने स्रोतको दाबी छ। यता हिल तृणमूल कङ्ग्रेका कार्यकर्ताहरूले भने मुख्यमन्त्री समक्षा आगामी बिधानसभा चुनावमा भूमीपुत्र उम्मेद्वार खडा गर्ने मागलाई स्पष्टरूपले राख्ने निश्चित गरेको पनि दाबी गरेको छ। यसैक्रममा हिल तृणमूल कङ्ग्रेसका एक नेताले आफ्नो परिचय सार्वजनिक नगरिदिने आशय पोख्दै आगामी 2016 को बिधानसभा चुनाव तृणमूल कङ्ग्रेसको निम्ति चुनौतिपूर्ण रहेको बताएका छन्।
“2016को विधानसभा चुनाव दार्जीलिङ पहाडमा तृणमूल कङ्ग्रेस आफैको निम्ति चुनौतिपूर्ण छ। पार्टीको अस्तित्व बाँचेर जाने हो अथवा सधैँका निम्ति पहाडबाट तृणमूल कङ्ग्रेस मेटिएर जाने हो भन्ने निर्णय पनि 2016को बिधानसभा चुनावले नै गर्नेछ” तृणमूल नेताले भने। उनले विगत लोकसभा चुनावमा ममता ब्यानर्जीले जसरी दार्जीलिङ पहाडका पार्टी समर्थकहरूको बिरूद्ध भाइचुङ भोटियालाई टिकट दिएका थिए ठिक त्यस्तै घटना यसपल्ट पनि भए तृणमूल कङ्ग्रेसको अस्तित्व पहाडबाट मेटिएर जाने उनले दाबी गरे। यद्यपी यसलाई मुख्यमन्त्री ममता ब्यानर्जीले बुझेर निर्णय गर्नेछन् भन्ने कुरामा पार्टी कार्यकर्ताहरू आशावादी रहेको पनि तिनले बताए।
0 Response to "चुनाव बहिस्कारको चर्चामा मुख्यमन्त्रीको पहाड आगमन ममता-बिमलको चुनावी चलखेलमा पहाड ?"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.