
कालेबुङमा गोरामुमो पार्टीले पालन गर्यो ‘गोर्खाल्याण्ड नामकरण दिवस’ ....... सरकारले सम्झौतालाई सम्मान गर्दैन भने गोरामुमो पार्टीले हात खुल्ला राख्नेछ – मन घिसिङ
डी.के. वाइबा, कालिमन्युज, कालेबुङ 5 अप्रेल 2015। ‘केन्द्र अनि राज्य सरकारले बारम्बार सम्झौता खारेज गर्दैछ। यसरी सरकार आफैले सम्झौता गरेर विश्वासघात गर्छ भने गोरामुमो पार्टी चुपचाप बस्नेछैन। यदि बारम्बार यसरी सम्झौता खारेज गरे अब हामी छुट्टै राज्य गोर्खाल्याण्डको फ्रेस डायलग सुरू गर्नेछौँ’ – उक्त कुरा गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो) अध्यक्ष मन घिसिङले भनेका हुन्।
गोर्खा राष्ट्रिय मुक्ति मोर्चाले आज यहाँ मेला ग्राउण्डमा ‘गोर्खाल्याण्ड नामकरण दिवस’ कार्यक्रम पालन गरेको थियो। यस अवसरमा सुवास घिसिङको मृत्यु पछि पार्टी अध्यक्ष बनेका सुवास घिसिङकै छोरा मन घिसिङ विशेष रूपले उपस्थित भएका थिए। गोरामुमो पार्टीका अध्यक्ष चयन बनेपछि पहिलोचोटी जनसभालाई सम्बोधन गर्दै मन घिसिङले आफ्नो आपा सुवास घिसिङले देखाएको बाटोमा हिँडेर स्व आपाको सपनालाई पुरा गर्ने बताए।
‘आपाको सपनालाई पुरा गर्न छाती च्यातेर अघि आएको छु’ मन घिसिङले भने। उनले सम्पूर्ण जनतालाई लक्ष्य प्राप्तिको निम्ति एकबद्ध हुने आह्वान गर्दै अहिलेघरी छुट्टै राज्य गोर्खाल्याण्डको नाउँलाई नै बदनाम गर्ने कार्य भइरहेको दाबी गरे। ‘गोर्खाल्याण्डलाई अहिले मागी खाने भाँडो बनाएर गोर्खाल्याण्ड नाउँकै बदनाम गर्ने कार्य भइरहेको छ। अब यस्तो बदनाम गर्ने कार्य हुन दिनेछैनौँ’ मन घिसिङले स्पष्ट भने।
पहिलोचोटी जनसभालाई सम्बोधन गरिरहेका मन घिसिङ निकै भावुक मुद्रामा रहेका थिए। यसक्रममा उनले आफ्नो भाषणमा स्व सुवास घिसिङको नाम एकाधिक पल्ट लिँदै जनतालाई घिसिङले देखाएको बाटोबाट नै मुक्ति मिल्ने दाबी समेत गरे। आफू राजनीतिमा भरखरै पाइला टेकेको बताउँदै गोर्खा सन्तानहरू एउटा सिंगो गोर्खा भएर एकबद्ध भई आगामी दिनमा अघि बड्नुपर्ने आह्वान गर्दै अब संकिर्ण बिचार राखेर राजनीति गर्न नहुने बताए।
‘एकार्कामा झगडा गर्नु, गाली गर्नु समय वर्वाद मात्रै हो। हामी यसरी झगडा गर्नु र गाली गर्नुमा समय वर्वाद गर्नु भन्दा ठूलो विचार राखेर जातिको हितमा राम्रो कार्य गर्नु उचित हुनेछ। यसकारण एकबद्ध हुनपर्छ’ मन घिसिङले आह्वान गर्दै भने। उनले स्व सुवास घिसिङको सपना पूरा गर्नु पर्ने जिम्मेवारी धेरै रहेको बताउँदै
‘छैटौँ अनुसूचीलाई पहाडमा भित्राउँन नदिने बारम्बार षडयन्त्र चलिरहेको छ। सोझा जनतालाई छैटौँ अनुसूचीको मुद्दाले जात-जातमा विभाजन गर्छ भन्ने भ्रम फैलाइरहेको छ। अब यस्ता षडयन्त्रहरूको पछि जनता सजग बन्नुपर्छ’ मन घिसिङले जनताली छैटौँ अनुसूचीको मुद्दाप्रति कटिबद्ध बन्नुपर्ने आह्वान गर्दै भने।
यसैक्रममा उनले दार्जीलिङ गोर्खा पार्वत्य परिषदको सम्झौता हुँदा उक्त सम्झौतामा शान्तिस्थापनाको निम्ति गरिएको भन्ने लेखिएको बताउँदै उक्त सम्झौताले गोरामुमो पार्टीलाई बाँधेर राख्ने कार्य गरेको दाबी गरे। ‘1988 को सम्झौताले गोरामुमो पार्टीको हात बाँधेर राख्यो तर, उक्त सम्झौताको भने केन्द्र अनि राज्यले सम्मान गरेन। यदि सरकार आफैले सम्झौतालाई सम्मान गर्दैन भने गोरामुमो पार्टीको पनि हात खोल्ने समय आएको छ’ मन घिसिङले भने।
यसक्रममा उनले गोरामुमो पार्टीको मूल मुद्दा भने छुट्टै राज्य गोर्खाल्याण्ड मात्र भएको कारण आगामी दिनहरूमा गोर्खाल्याण्ड प्राप्तिको निम्ति सम्पूर्ण पार्टी कार्यकर्ताहरू संगठित बन्नुपर्ने बताए। उनले आफ्नो भाषणमा बारम्बार सरकारले सम्झौताहरूलाई उल्लंघन गरेको बताउँदै यदि सरकारले सम्झौता पालन गर्दैन भने त्यसलाई आफूहरूले पनि पालन गर्नुपर्ने आवश्यकता नरहेको स्पष्ट पारे।
आधा घण्टा लामो भाषणमा उनले पहाडका कुनै पनि राजनैतिक पार्टी र नेताहरूलाई केही नभने पनि लक्ष्यप्राप्तिको निम्ति एकबद्ध हुने आह्वान भने बारम्बार गरे। यसक्रममा प्रजातन्त्रमा राजनीति गर्ने सबैलाई अधिकार भएको कारण जनतालाई धम्काए आफ्नो पार्टीमा लाने कार्य गर्नु गलत हो भने।
अर्कोतिर जनसभालाई सम्बोधन गर्नेक्रममा गोरामुमो केन्द्रिय समिति सदस्य एवं पूर्व बिधायक एन.बी छेत्रीले सम्बोधन गर्दै गोर्खा जातिलाई बारम्बार लाग्ने कलंकहरूबाट सधैँको निम्ति बाँच्ने एकमात्र फर्मूला स्व सुवास घिसिङले छैटौँ अनुसूची तयार पारेको दाबी गरे। ‘दार्जीलिङ पहाड अनि तराई डुवर्स सन्धिहरूले बाँधेर राखेको भू-भाग हो। यस सन्धिहरूले बाँधेको भू-भागलाई भारतीय संविधानभित्र अन्तरभुक्त गर्ने एकमात्र सरल अनि उत्तम पहल छैटौँ अनुसूचीको मुद्दा हो’ छेत्रीले भने। अहिलेघरी कतिपय स्वार्थी व्यक्तिहरूले जनतालाई भ्रममा पार्ने कार्य गरिरहेको बताउँदै यस्ता स्वार्थी तत्वहरूलाई जनताले चिन्ने कार्य गरिसकेको दाबी गरे। उनले छैटौँ अनुसूचीको मुद्दा खारेज नभएको दाबी गर्दै यसलाई आगामी दिनमा पारित गर्न सक्ने प्रसस्त सम्भावनाहरू रहेको अनि यसका निम्ति पहल गर्न आवश्यक छ भने।
उनले गोर्खाल्याण्डको नाउँमा गोर्खा जनमुक्ति पार्टीले जनतालाई ढाँटको राजनीति गरिरहेको आरोप लगाउँदै दार्जीलिङ पहाडमा अहिलेसम्म सम्पूर्ण सरकारी कामकाज दागोपापमा भइरहेको दाबी गरे।
‘सरकारी कामकाज सबै दागोपापको नाममा भइरहेको छ। यहाँ जनतालाई केवल ढाँट्ने कार्य मात्र भएको छ’ एन.बी छेत्रीले भने। यसैक्रममा उनले विगतका दिनहरूमा जनताले गोर्खाल्याण्डको निम्ति गोजमुमो पार्टीलाई सयप्रतिशत साथ दिए पनि गोजमुमो पार्टीका नेताहरूले भने गोर्खाल्याण्डको नाउँमा जनतालाई ठग्ने कार्य गरेको आरोप लगाए।
‘गोजमुमो पार्टीका नेताहरूले चामल दिएर पिठो ल्याउने कार्य गर्यो। छैटौँ अनुसूचीको मुद्दामा गोरामुमोले जनतालाई कहिल्यैँ गोजमुमोले जस्तो ठग्ने कार्य गरेन’ छेत्रीले अझ भने। उनले गोजमुमो पार्टीप्रति आक्रमण गर्दै गोजमुमो नेताहरूले गोर्खाल्याण्डको नाउँ गरेर सरकारलाई गोप्य चिठ्ठी लेखेकै कारण आज जीटीए गठन भएको दाबी गर्दै चौकी ताक्ने नेताहरूले जनतालाई कहिल्यै पार लाउँन नसक्ने दाबी गरे।
गोरामुमो पार्टीले छैटौँ अनुसूची भने पनि अन्तिम लक्ष्य भने गोर्खाल्याण्ड नै राखेको स्पष्ट पार्दै ‘अब हामी कफन बाँधेर निस्केका छौँ। आफ्नो गर्धन दिन परे पछि हट्नेछैनौँ’ भने। ‘जनतालाई भुल्याउँनेहरूले अब बाटो छोड। अब जनताको आँखा खुलेर मैदानमा ओर्लिएका छन्। 86मा सीआरपीले रोक्न नसकेको गोर्खाहरूलाई अब कसैले रोक्न सक्नेछैन’ एन.बी छेत्रीले अझ भने।
यता जनसभालाई सम्बोधन गर्नेक्रममा कालेबुङ ब्राञ्च कमिटिका सहसचिव अनिल लोप्चनले छैटौँ अनुसूचीको बिरोध गर्नेहरू ग्रेटर बङ्गलादेश अथवा ग्रेटर नेपालको सोंच राख्नेहरू हन् भनि आरोप लगाए। ‘पहाडमा सरकारले शान्ति चाहन्छ भने संवैधानिक ग्यारेण्टिभित्र गाभ्ने कार्य झट्ट गर्नुपर्छ। यदि यसो नगरे यहाँ ग्रेटर बङ्गलादेश अथवा ग्रेटर नेपालको सोंच राख्नेहरूले देशकै सुरक्षालाई घातक पार्नेछ। भविष्यमा यसलाई ध्यान नदिए उत्तरपूर्वीय राज्यहरूमा जस्तै स-साना आतङ्कवादी समुहको कटेज इण्डस्ट्री बिकसित हुनेछ’ अनिल लोप्चनले सरकारको ध्यान आकर्षण गराउँदै भने।
गोरामुमो पार्टीले यस्ता शक्तिहरूलाई कहिल्यै प्रश्रय नदिने गरेको बताउँदै सरकारलाई सजग गराउने कार्य समयमा नै गराएको पनि लोप्चनले स्पष्ट पारे। ‘सरकारले सही समयमा कार्य नगरे भविष्यमा दार्जीलिङ डुवर्स अनि उत्तरपूर्वी राज्यहरू भारतको मनचित्रबाट नै हराएर जानेछ’ लोप्चनले अझ भने। यस्ता कार्य हुनुको पूर्वाभास केही महिना अघि असमबाट दार्जीलिङ हतियार भित्रिरहेको घटनाले पुष्टि हुने पनि उनले दाबी गरे।
यस अवसरमा जनसभालाई मौरिस कालिकोटे, लोबसाङ लामा आदिले पनि सम्बोधन गरेका थिए। एन.बी छेत्रीको अध्यक्षमा सम्पन्न भएको उक्त गोर्खाल्याण्ड नामकरण दिवस कार्यक्रममा गोरामुमो पार्टीका कार्यकर्ताहरू व्यापक मात्रमा भेला भएका थिए।
0 Response to "कालेबुङमा गोरामुमो पार्टीले पालन गर्यो ‘गोर्खाल्याण्ड नामकरण दिवस’ ....... सरकारले सम्झौतालाई सम्मान गर्दैन भने गोरामुमो पार्टीले हात खुल्ला राख्नेछ – मन घिसिङ"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.