नियुक्ति पाएका लेप्चा प्यारा शिक्षकहरू बिलखबन्दमा
9 Apr 2015
Comment
डी के वाइबा, कालिमन्युज, कालेबुङ 8 अप्रेल 2015। हातमा सरकारले थमाइदिएको नियुक्ति पत्र छ अनि अनुहारभरी नैराश्यका रेखाहरू। हुनलाई सबै नियम अनुसार नै भएको हो तर, खै कसो कसो नियमहरूनै नमानेको आरोपहरू छ। जसले गर्दा नियुक्ति पाएका 46 जना लेप्चा भाषी प्यारा शिक्षकहरूको नियुक्ति पत्र के हुने हो कसैलाई थाहै छैन। यसको जवाब न त नियुक्ति दिनेलाई थाह छ न त नियुक्ति थाप्नेहरूलाई नै। यसैकारण अहिलेघरी पश्चिम बङ्गाल सरकारले दिएको नियुक्ति पत्र हातमा थामी नैराश्यका धर्साहरू अनुहारभरी बोकेर लेप्चा भाषी प्यारा शिक्षकहरू बस्न परिरहेका छन्।
पश्चिम बङ्गाल सरकारले प्राथमिक तहका बिद्यालहरूमा यस वर्षदेखि लेप्चा भाषा पठन-पाठन गर्ने अघिबाटै घोषणा गरिसकेको छ। जसको कारण लेप्चा भाषी प्यारा शिक्षकहरू नियुक्ति गर्न सरकारले केही महिना अघि सरकारी नियम अनुसार बिज्ञापन प्रकाशित गरेर लिखित परिक्षा अनि अन्तरवार्ताको माध्यमबाट 46 वटा बिभिन्न विद्यालयहरूको निम्ति 46 जना शिक्षकहरूलाई नियुक्ति पत्र समेत दिएको छ। यता पश्चिम बङगाल सरकारले जीटीएको सम्झौता पत्रलाई उल्लंघन गरेको आरोप लगाउँदै लेप्चा भाषी शिक्षकहरूलाई दार्जीलिङ पहाडको कुनै पनि विद्यालयहरूमा जोइन गर्न दिएको छैन।
जीटीएले स्कूल अधिक्षक मार्फत सम्पूर्ण विद्यालयहरूमा लेप्चा भाषी प्यारा शिक्षकहरूलाई जोइन गर्न नदिनु भनेर पत्रचार गरेपछि आफ्नो हातमा सरकारबाट नियुक्ति पाएका प्यारा शिक्षकहरू अहिलेघरी बिलखबन्दमा परेका छन्। यसको निम्ति उनीहरू आफैले केही गर्न समेत सकेका छैनन् भने नियुक्ति पत्र दिने सरकार आफै पनि यस सम्बन्धमा मौनता अप्नाएर बसेको छ।
नियुक्ति पत्र पाएका लेप्चा भाषी प्यारा शिक्षकहरूले कहीँ कतै पनि जोइन गर्न नपाएपछि आज उनीहरू मिडियाको शरण आएर आफूहरूलाई जोइन गर्न दिनुपर्ने गुहार लगाए। यस समय नियुक्ति पत्र थाप्ने सबैका अनुहारहरूमा नैराश्यका धर्साहरू स्पष्टै देखिन्थे। नियुक्ति पत्र प्राप्त हुँदाको खुशीहरू आज उनीहरूको सबै निराशमा परिणत भएको थियो। यसैकारण सबैले बिलौना गर्दै सरकारले नियुक्ति दिएको कारण पहाडका विद्यालयहरूमा आफूहरूलाई सकारात्मक सोंच राख्दै जोइन गर्न दिनुपर्ने उनीहरूले अपिल गरे।
‘लेप्चा भाषी प्यारा शिक्षकको निम्ति सरकारले बिज्ञापन जारी गरेर पहिला लिखित परिक्षा सम्पन्न भयो। दोस्रो चरणमा अन्तरवार्ताको माध्यमबाट 46 जना प्यारा शिक्षकहरूले नियुक्ति प्राप्त गरे। तर दुर्भाग्यवस हामीले नियुक्ति पत्र पाएर पनि सम्बन्धित स्कूलहरूमा भने जोइन गर्न पाएनौँ’ – रिपन्दी लेप्चाले दुखेसो पोख्दै भनिन्। उनले नियुक्ति प्राप्त शिक्षकहरूलाई यथाशिघ्र आफ्नो कार्यमा जोइन गर्न दिएर समस्यामा समाधान गर्नुपर्ने अपिल पनि गरिन्। यहाँको थाना डाँडा स्थित त्रिकोण पार्कमा भेला भएका लेप्चा भाषी प्यारा शिक्षकवर्गले नियुक्ति पत्र प्राप्त हुँदा 46 जना मानिसहरूको बेकारी समस्या केही हदसम्म समाधान भएको बताउँदै यता आफ्नो कार्यमा जोइन गर्न नपाउँदा भने समस्या अझ बृद्धि भएको बताए।
‘कमसे कम 46 जना पहाडका मानिसहरूले रोजगारका अवसर पाएका छन्। यसलाई सबैले सकारात्मक लिनुपर्छ’ रिपन्दी लेप्चाले अझ भनिन्। यसैक्रममा अर्का नियुक्ति पाएका रोबर्ट लेप्चाले पनि आफूहरूलाई आफ्नो कार्यमा जोइन गर्न दिनुपर्ने माग गरे। ‘हामी नियुक्ति पत्र पाएकाहरू सम्बन्धित स्कूलहरूमा जोइन गर्न गएका थियौँ । यस अवधी स्कूलमा स्कूल अधिक्षकबाट जोइन गर्न नदिनु भन्ने पत्र आएको थाह पायौँ अनि हामीले जोइन गर्न पाएनौँ’ रोबर्ट लेप्चाले भने।
0 Response to "नियुक्ति पाएका लेप्चा प्यारा शिक्षकहरू बिलखबन्दमा"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.