-->
सहिद बेदी तोडफोडको घट्नाले सनसनी

सहिद बेदी तोडफोडको घट्नाले सनसनी

डी.के वाइबा, कालिमन्युज, कालेबुङ 24 फरवरी 2015। यहाँको 11 माइल नजिक अवस्थित शहिद पार्क असामाजिक तत्वहरूले तोडफोड गरेको घटनाले सनसनी छाएको छ। यसभन्दा अघि कालेबुङको नोभेल्टि सिनेमा हल नजिक निर्माण गरिएको स्वाधिनता सेनानी जङ्गबीर सापकोटाको सालिक तोडफोड गरिएको थियो भने यसपल्ट सहिद पार्क तोडेको घटनाले सनसनी छाएको हो। 
 गोरामुमो अध्यक्ष सुवास घिसिङले 80को दशकमा चलाएको छुट्टै राज्य गोर्खाल्याण्ड आन्दोलनमा सहिद बनेकाहरूको सम्झनामा निर्माण गरिएको उक्त सहिद पार्क तोडफोड् गरिएको घटनालाई केन्द्र गरेर कालेबुङ थानामा प्राथमिकी दर्ता गरिएको छ। गोर्खाल्याण्ड आन्दोलनका सहिदहरूको सम्मानमा निर्माण गरिएको उक्त सहिद पार्क तोडफोड गरिएको घटना आज सार्बजनिक भए पछि चारैतिर असन्तुष्टिको लहर छाएको छ। उक्त घटनाले राजनैतिक शिविरमा पनि सनसनी छाएको छ भने घटनाले राजनैतिक रूप लिने सम्भावना पनि बृद्धि भएको छ। 
सहिद पार्क तोडफोड गरिएको घटना आज त्यसबेला सार्बजनिक भएको हो जतिबेला पार्कका चौकिदार बिजय थापाले कालेबुङ थानामा प्राथमिकी दर्ता गरे। कालेबुङमा थानामा सहिदबेदी तोडफोड गररिएको घटनाबारे प्राथमिकी दर्ता भएको खबर हल्ला हुनसाथै राजनैतिक शिविरमा निकै सनसनी छाएको थियो। यद्यपी घटना सम्बन्धीमा राजनैतिक शिविरबाट कसैले खुलेर टिप्पणी भने सार्बजनिक गरेनन। 
जानकारी अनुसार उक्त सहिद बेदी तोडफोडको घटना 19 फरवरी राती नै भएको हो। जब सहिद पार्कका चौकीदार बिजय थापा बिहान आफ्नो दैनिक कार्यमा सहिद पार्क आइपुगेका थिए त्यस समय सहिद बेदीमा प्रवेश गर्ने गेट तोडिएको अवस्थामा रहेको थियो। यसको साथ उक्त फलामको गेट तोडिनुको साथै तोडिएको फलाम समेत त्यहाँबाट हराएको थियो। यसबारे कुनै सुराग प्राप्त नभए पछि आखिरमा घटना भएको चार दिन पछि मात्र थानामा प्राथमिकी दर्ता गर्दा यसबारे सार्बजनिक भएको हो। 
 ‘म सदा झैँ ड्युटीमा बिहान आउँदा सहिद पार्कको गेट तोडफोड गरिएको अवस्थामा देखें। यो घटना 19 फरवरी राती भएको हो। कसले अनि किन तोडफोड गरेको हो भन्ने केही जानकारी छैन। यो असामाजिक तत्वहरूले तोडफोड गरेको हो। यसकारण आज कालेबुङ थानामा प्राथमिकी दर्ता गरेका छौँ’ चौकिदार बिजय थापाले भने। यसै सन्दर्भमा बोल्दै उनले उक्त पार्कको सुरक्षा अनि हेरचाहको निम्ति दिनमा चौकीदार राखिएको जानकारी गराउँदै तर, 2011 मा आएको बिनाशकारी भूइँचालोले चौकीदार बस्ने क्वाटर भत्केपछी तारी चौकीदार बस्न नसकेको उनले जानकारी गराए। यसरी रातीको समयमा चौकीदार सुरक्षाको निम्ति बस्न नसकेको कारण असामाजिक तत्वहरूले तोडफोड गरेको उनले अझ बताए। 
उनले उक्त घटनाबारे कालेबुङमा थानामा प्राथमिकी दर्ता गर्नको साथै यसबारे पार्क एंव गर्डन हेरचाह गर्ने बिभागलाई जानकारी गराउँने पनि बताए। स्मरण रहोस केही वर्ष अघि गोजमुमो अध्यक्ष एंव जीटीए प्रमुख बिमल गुरूङले उक्त सहिद बेदीको अधिल्लो भागमा मोटर स्ट्याण्ड निर्माण गर्ने कार्य थालेपछि निकै विवाद सृजना भएको थियो। यद्यपी स्ट्याण्ड निर्माण कार्य विवाद हुँदा हुँदै पनि आरम्भ भए पनि आखिरमा पछि गएर उक्त स्ट्याण्ड निर्माण कार्य बन्द भएको छ। जसको आधिकारिक बयान सार्बजनिक नभए पनि निर्माण कार्यलाई भने जीटीएले नै पूर्णरूपले बन्द गरेको विश्वस्त सुत्रले बताएको छ। 
जीटीएको उक्त सहिदहरूको सम्मानमा निर्माण गरिएको सहिद बेदीलाई स्ट्याण्ड बनाउँनुको साटो बैकल्पिक स्थान खोज्नुपर्ने बताउँदै विशेष गरेर गोरामुमो पार्टीले अघिबाटै जोडदार बिरोध गरेको थियो। यद्यपी जीटीएले कार्य आरम्भ गरेपनि पछिबाट आधा निर्माण गरेर उक्त कार्यलाई बन्द राखेको हो। जीटीएले उक्त स्थानमा मोटर स्ट्याण्ड निर्माण कार्य थालेपछि अहिलेघरी सहिद बेदीको स्थान घटेको छ। 
अघिबाट जुन प्रकारको फराकिलो स्थान पार्कको निम्ति सुरक्षित थियो त्यस ठाउँको अघिल्लो भागलाई जीटीएले भत्काएर सुरक्षा भित्ता पछि सारेर अघिल्लो भागमा गाडी राख्ने स्थान निकालेको थियो। हालमा उक्त कार्य बन्द भएपछि अहिलेघरी उक्त अघिल्लो भागमा क्षेत्रका युवाहरूलाई फूटबल, क्रिकेट तथा समुह बनाएर गफ हाँक्ने स्थान भएको छ। यस्तो अवस्थामा पार्क तोडफोडको घटना प्रकाशमा आएपछि सहिदहरूको सम्मानमा निर्माण गरिएको यस्ता धरोहरहरूको सुरक्षाका निम्ति नागरिक समाज समेत अघि आउनुपर्ने आवश्यक्ता बोध भएको छ।

0 Response to "सहिद बेदी तोडफोडको घट्नाले सनसनी"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.