चालकको मृत्यु: हत्या र आत्महत्याको रहस्यमा सनसनी
डी.के वाइबा, कालिमन्युज, कालेबुङ 7 जनवरी 2015। यहाँको मङबोल बस्ति निवासी ग्याल्बो शेर्पाको (25) मृतदेह आज शंकास्पद अवस्थामा आठ माइल क्लुनी कलेज नजिकबाट उद्धार गरिएको छ। पेशाले चालक रहेका ग्याल्बो शेर्पालाई स्थानीय मानिसहरूले बिहान क्लुनी कलेज नजिक एउटा रूखमा आफ्नै गलामा फाँसी लगाएर आत्महत्या गरेको अवस्थामा देखे पछि पुलिसलाई सूचित गरिएको थियो।
पुलिसले मृतदेह उद्धार गरेर यहाँको महकुमा अस्पतालमा पोष्टमार्टमको निम्ति पठाएको छ। प्राप्त जानकारी अनुसार चालक शेर्पा दिउँसो गान्तोक गएका थिए भने तिनी गान्तोकबाट राती कालेबुङ आइपुगेको थाह लागेको छ। गान्तोकबाट कालेबुङ आएपछि उनी वाहन लिएर आफ्नो घर जाने क्रममा यहाँको नोभेल्टि परिसर नजिक सडक दुर्घटनामा समेत परेको थाह लागेको छ भने उक्त सडक दुर्घटनामा वाहन समान्य क्षति पुगेको छ। आज बिहान स्थानीय मानिसहरूले आत्महत्या हो अथवा हत्या गरिएको हो भन्ने सन्दिग्ध अवस्थामा उनको शव देखेपछि सबैतिर सनसनी छाएको छ।
रूखमा झुण्डिएको अवस्थामा उनलाई स्थानीय मानिसहरूले देखेर पुलिसलाई सूचित गरेपछि कालेबुङ पुलिस मृतदेह उद्धार गर्न जाँदा तिनको अनुहार भरी चोटै चोट लागेको थियो। जसको कारण तिनले आत्महत्या गरेका हुन् अथवा हत्या गरिएको हो भन्ने शंका उत्पन्न भएको छ। यद्यपी नोभेल्टि नजिक सडक दुर्घटना हुँदा उनको अनुहारमा चोट लागेको हुनसक्ने अनुमान गरिएको छ।
चालक शेर्पाको रहस्यमय मृत्युलाई लिएर आज चालक संगठनमा निकै खलबली मच्चिएको थियो। कतिपय मानिसहरूले उक्त मृतदेहलाई हत्या गरिएको हुनसक्ने आशंका गरेको छ भने यसको खुलासा पोष्टमार्टम रिपोर्ट नआएसम्म बताउँन नसकिने जानकारी प्राप्त भएको छ।
यस बिषयलाई लिएर कालेबुङ पुलिसले जाँच कार्य आरम्भ गरेको छ भने अस्पतालबाट पोष्टमार्टम रिपोर्ट प्राप्त भएपछि नै घटनाको रहस्य पत्तो लाग्ने पुलिस सुत्रले बताएको छ।
उक्त घटनालाई केन्द्र गरेर यता चालक महासंघले कालेबुङ थानामा प्राथमिकी दर्ता गरेर घटनाको जाँच यथाशिघ्र गर्नुपर्ने माग गरेको छ। चालक संगठनले उक्त मृतदेहको अवस्था हेर्दा हत्या हुनसक्ने आशंका व्यक्त गर्दै यदि हत्या गरिएको हो भने हत्यारालाई पुलिसले यथाशिघ्र पक्राऊ गर्नुपर्ने माग गरेको छ।
चालक महासंघको पक्षबाट पत्रकारहरूसंग बोल्दै महेन्द्र गुरूङले एकजना चालकको सन्देहजनक अवस्थामा मृददेह प्राप्त भएको घटनाले अनेकौँ प्रश्नहरू खडा भएको बताउँदै यसको जाँच गर्न पुलिसलाई चालक महासंघले 48 घण्टाको अल्टिमेटम दिएको बताउँदै यदि उक्त समय सिमाभित्र समस्या सुल्झाउन नसके चालकवर्गले अर्को कदम उठाउँने बताएका छन्।
0 Response to "चालकको मृत्यु: हत्या र आत्महत्याको रहस्यमा सनसनी"
Post a Comment
Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.
Note: only a member of this blog may post a comment.