-->
बरिष्ठ प्रगतिवादी साहित्यकार भीम योञ्जन चौथो बद्रीनारायण स्मृति पुरस्कारले सम्मानित

बरिष्ठ प्रगतिवादी साहित्यकार भीम योञ्जन चौथो बद्रीनारायण स्मृति पुरस्कारले सम्मानित

डी.के वाइबा, कालिमंन्युज, बाग्राकोट 18 जनवरी। बरिष्ठ प्रगतिवादी साहित्यकार बद्रीनारायण प्रधानको 88औँ जयन्तीको अवसरमा प्रगतिवादी साहित्यकार भीम योञ्जनलाई चौथो बद्रीनारायण प्रधान स्मृती पुरस्कारले सम्मानित गरियो। बाग्राकोट चियाबगान प्राथमिक पाठशामा आयोजित कार्यक्रमलाई भाषाविद गोकूल सिन्हाले अध्यक्षता गरेका थिए भने मुख्य अतिथिका रूपमा प्रगतिवादी साहित्यकार एंव राजनैतिक नेता रत्न वान्तवा उपस्थित रहेका थिए। यस अवसरमा बिशिष्ट अतिथिका रूपमा  नाट्यभूषण सी.के श्रेष्ठ, सिक्किमका रस्तमान राई, डा मोहन पी. दाहल उपस्थित रहेका थिए भने सिक्किम, दार्जीलिङ, मङ्पू, कालेबुङ, सिलगडी आदि स्थानबाट साहित्यकारहरूको उपस्थिति रहेको थियो। बद्रीनारायण प्रधान स्मृति प्रतिष्ठानको आयोजनामा सम्पन्न भएको उक्त 88 औँ बद्रीनारायण प्रधान जयन्ती तथा पुरस्कार अलङ्करण समारोहमा बाग्राकोट प्राथमिक पाठशालाका नानीहरूले स्वागत गीत प्रस्तुत गरेका थिए भने प्रतिष्ठानका अध्यक्ष जे.बी छेत्रीले स्वागत सम्बोधन राखेका थिए। यसक्रममा अनुवाद साहित्यको निम्ति अघिबाटै साहित्य अकादमी दिल्लीले सम्मानित गरिसकेका प्रगतिवादी साहित्यकार भीम योञ्जनलाई चौथो बद्रीनारायण प्रधान स्मृति पुरस्कार प्रदान गरियो। मुख्य अतिथि रत्न बान्तवाको बाहुलीबाट स्मृति चिन्ह, नगद राशी प्रदान गरेपछि भाषाविद गोकूल सिन्हाले अङ्ग वस्त्र अनि सी.के श्रेष्ठको बाहुलीबाट बुके प्रदन गरी भीम योञ्जनलाई चौथो बद्रीनारायण प्रधान स्मृति पुरस्कारले सम्मानित गरिएको थियो।
            ‘मैले बद्री सरलाई दार्जीलिङमा चिन्ने मौका पाएको हूँ। पछि उनीसंग मिलेर थुपै काम गर्ने सौभाग्य प्राप्त भयो। आज चौथो बद्रीनारायण प्रधान स्मृति पुरस्कारले सम्मानित हुन पाउँदा अत्यन्तै हर्ष लागेको छ’ भीम योञ्जनले भने। आफ्नो सम्बोधनको क्रममा उनले आफू बद्रीनारयण प्रधानको सम्पर्कमा कसरी आउन सके अनि के कति कार्यहरू संगै गरे भन्ने कुराको पनि सबैलाई जानकारी गराए। ‘दार्जीलिङ पहाडमा भाषा मान्यता आन्दोलन चरममा पुगेको थियो। त्यस समय हामीले ‘चोक बजार’ पत्रिका निकाल्ने गर्थ्यौँ। यसले नेपाली भाषा मान्यता आन्दोलनमा ठूलो काम गरेको छ। यसबेला म आफैलाई हातपाई गर्न समेत कतिपय मानिसहरू आएका थिए’ भीम योञ्जनले बितेका कुराहरूको सम्झना गर्दै भने। कतिपय मानिसहरूलाई भीम योञ्जन को हुन् ? उनले यस पुरस्कार किन पाए ? भन्ने जिज्ञासा हुन सक्छ भन्ने बताउँदै उनले बिगतका दिनहरूमा आफूले के कति कार्य सके भन्ने जानकारी गराए। यसक्रममा दार्जीलिङमा जातिय कवि अगम सिंह गिरीको सालिग आफूहरूले ‘युग परिबोध’ संस्था गठन गरेर सर्वप्रथम दार्जीलिङ नगरपालिक अघि स्थापित गरेको बताए। त्यसभन्दा अघि कसैले अगम सिंह गिरीको सालिग स्थापना गर्न नसकेको अनि उक्त सालिग पनि कोलकोताबाट बनिएर दार्जीलिङ आएर सात वर्षसम्म छोपेर राखेको जानकारी गराए। यसैक्रममा उनले दार्जीलिङमा ‘बिकल्प’ साहित्यिक संस्था गठन गरेको अनि असित राईको ‘यन्त्रणा’ उपन्यास कसरी प्रकाशित गर्न सके भन्ने कुरा सबैलाई बताए। ‘चियाबगाको साँचो अवस्था लेखिएको उपन्यास नै ‘यन्त्रणा’ हो’ भीम योञ्जनले पुस्तक प्रकाशन गर्दाको परिस्थितिहरू बारे बोल्दै भने।
            अर्कोतिर मुख्य अतिथिका रूपमा उपस्थित रत्न बान्तवाले प्रगतीवादी साहित्यलाई ‘साहित्य’ नमान्नेहरू पनि रहेको बताउँदै ‘साहित्य जीवनको निम्ति कि कलाको निम्ति’ भन्ने विवाद जहिले पनि चलिरहने बताए। उनले चौथो बद्रीनारयण प्रधान स्मृति पुरस्कृत भीम योञ्जनलाई बधाई दिँदै उनले गरेका कार्यहरूको सराहना गरे। ‘आजको समकालिन साहित्यको कुरा गर्दा ‘साहित्यको के को निम्ति लेख्ने ? समाजको निम्ति कि कला कलाको निम्ति ? भन्ने प्रश्न प्रखर बन्ने गरेको छ। एकातिर हामी चिन्हारीको प्रश्न गरिरहेका छौँ। रोजगारको प्रश्न छ। बंगालले थिचोमिचो गरेको कुरा गर्छौँ, तर साहित्य र संगीतमा खोई यी कुरा ?’ रत्न बान्तवाले प्रश्न गरे। उनले एकातिर जातिय जागरको चर्चा सबैले गर्ने गरेको तर साहित्य र संगीतमा भने जातिय जागरणका कुराहरू नभएको बताउँदै साहित्य र संगीतमा पनि जातिय जागरणका कुराहरू हुन आवश्यक रहेको बताए। सोहीक्रममा डा मोहन पी. दाहलले आफ्नो सम्बोधनमा भीम योञ्जनलाई बद्री नारायण पुरस्कार किन प्रदान गरियो अनि उनले नेपाली साहित्यमा के कस्ता कार्य गरेका छन् भन्ने बताएका थिए। अर्कोतर्फ कार्यक्रममा नाट्यभूषण सी.के श्रेष्टको कृति ‘बनमारा’को पनि लोकार्पण गरिएको थियो भने बसिबियाँलो परिवारले साङ्गीतिक प्रस्तुति गरेको थियो।
कार्यक्रमको दोस्रो चरणमा कवि गोष्ठी सम्पन्न भएको थियो। ‘नारी कवि गोष्ठी’ भनेर नामकरण गरिएको उक्त गोष्ठी नयाँ प्रकारको रहेको थियो। यस अवसरमा नारी कवि गोष्ठीको अध्यक्षता डा. राजकुमारी दाहलले गरेकी थिइन् भने बबी लामा अनि मनिषा छेत्रीले सञ्चालन गरेकी थिइन्।  अध्यक्ष, सञ्चालक अनि कविता पड्नेहरू सबै नारी रहेको कारण नै गोष्ठीलाई ‘नारी कवि गोष्ठी’ नामकरण गरिएको थियो भने उक्त प्रकारको प्रयोग कार्यक्रममा प्रथम देख्न पाइएको छ। यस अवसरमा सिक्किमबाट वीणाश्री खरेल, मङपूबाट सुभद्र बम्जन, कालेबुङबाट भीमा राई ‘तोलाछा’ , सरिता समदर्शी, रजनी पेघा, दीपा राई, देविका शर्मा, जयन्ति मुखिया, सिमरण कौर आदिले काविता वाचन गरेका थिए। 

Related Posts

0 Response to "बरिष्ठ प्रगतिवादी साहित्यकार भीम योञ्जन चौथो बद्रीनारायण स्मृति पुरस्कारले सम्मानित"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.