
सुवास घिसिङको भाषणले पहाड जुर्मुराउँथ्यो – छत्रे सुब्बा
डी.के वाइबा, कालिमन्युज, कालेबुङ 30 जनवरी 2015। दार्जीलिङ पहाडका स्वघोषित मुकुट विहिन राजा सुवास घिसिङ सधैँका निम्ति सबैलाई छोडेर गए।
दिल्लीको गंगाराम अस्पतालमा गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो) अध्यक्ष सुवास घिसिङको मृत्यु भएको खबर जब डडेलो बनेर सल्कियो सबैले दु:ख व्यक्त गर्दै श्रद्धाञ्जलीका आँसु खसाले। 22 जून सन् 1936 को दिन दार्जीलिङ पहाडको मिरिक अधिनस्थ मञ्जु चिया बगानमा जन्मेका सुवास घिसिङले 29 जनवरी 2015 को दिन दिल्लीको गंगाराम अस्पतालमा 79 वर्षको उमेर अन्तिम श्वास लिए। उनको मृत्युको खबरले दार्जीलिङ पहाड स्तब्ध बनेको छ भने गोरामुमो पार्टी समर्थकहरू टुहुरो बन्न पुगेका छन्।
गोरामुमो अध्यक्ष सुवास घिसिङको मृत्युको खबर सुनेपछि जङ्गी नेताको रूपमा परिचित छत्रे उर्फ छत्र सुब्बाले पनि सम्झना गर्दै श्रद्धाञ्जली प्रकट गरेका छन्। छुट्टै राज्य गोर्खाल्याण्ड आन्दोलन शुरू गरेर दार्जीलिङ गोर्खा पार्वत्य परिषद (दागोपाप)मा केन्द्र अनि राज्य सरकारसंग सुवास घिसिङले सम्झौता गरेपछि जङ्गी नेता छत्र सुब्बाले घिसिङलाई अलविदा गरेर गोर्खा लिबरेशन अर्गनाइजेसन (जीएलओ) गठन गरेका थिए। त्यसपछि दुई राजनैतिक नेताहरू माझ कहिले एउटै मञ्चमा भेट भएन। घिसिङ ‘दागोपाप् बाघको बच्चा डमरू हो’ भन्दै दागोपापको प्रमुख भएर सत्तामा बसे भने छत्र सुब्बा आफ्नै भाकामा गोर्खाल्याण्ड प्राप्तिको आन्दोलनमा लागि परे। यसै अवधी 10 फरवरी 2001 मा सातघुम्तिमा सुवास घिसिङलाई प्राणघातक हमला भएपछि उक्त हमलाको मास्टरमाइण्ड छत्र सुब्बा हो भन्दै पछिबाट उनलाई पुलिसले पक्राऊ गरेको थियो। हाल छत्र सुब्बाको घिसिङ हमलाको आरोपबाट मुक्त भएर घरमा पारिवारिक जीवन बिताइरहेका छन्। यसै अवधी सुवास घिसिङको मृत्युको खबर आएपछि छत्रसुब्बाले आफ्नो प्रतिक्रिया व्यक्त गर्दै उनलाई श्रद्धाञ्जली अर्पण गरे।
‘सुवास घिसिङसँग मेरो भेट दागोपाप सम्झौता भएपछि नभएको हो। अन्तिम भेट जलपाईगडीको न्यायलयमा भयो। सातघुम्तीमा घिसिङलाई आक्रमण गरेको आरोपको सुनवाई हुँदा अन्तिम गवाहीका रूपमा सुवास घिसिङ न्यायलयमा बयान दिन आएका थिए। त्यसै दिन हाम्रो अन्तिम भेट भएको हो’ छत्र सुब्बाले भने। उनले घिसिङसंग भएको अन्तिम भेटमा कुनै कुराकानी नभएको बताउँदै न्यायलयमा बयान दिने क्रममा एकार्का विपरित ठाउँमा उभिएर देखादेख भएका मात्र हौँ भने। ‘न्यायलयमा न्यायधिसले सातघुम्ति आक्रमणमा छत्र सुब्बा थिए भनेर प्रश्न गरे। यसको जवाबमा सुवास घिसिङले अँह थिएन मात्र भने’ छत्र सुब्बाले अन्तिम भेटको सम्झना गर्दै भने।
‘सुवास घिसिङको बोल्ड भाषणले आज पनि सम्पूर्ण पहाड गुञ्जिएको छ। उनको बोल्ड भाषणले नै पहाडका जनतालाई गोर्खाल्याण्डको मुद्दामा एकत्रित बनायो। उहाँलाई म अत्यन्तै श्रद्धा गर्छु। उनको त्यो बोल्ड भाषण कलाले म प्रभावित बनेको हो। आज पनि उनको त्यस बोल्ड भाषण सुन्दा पहाडका जनताको रगत तातिएर आउँछ। घिसिङको भाषणले पहाड जुर्मुराउँथ्यो’ जङ्गी नेता छत्र सुब्बाले स्पष्ट भने।
यसैक्रममा उनले कुराकानी अघि बडाउँदै सुवास घिसिङले मुद्दालाई सही प्रकारले जनता अघि राख्ने गरेको जसको कारण सम्पूर्ण जनताले उनलाई स्वीकार गरेर जोडदार समर्थन गरेको पनि अवगत गराए।
‘गोर्खाल्याण्ड आन्दोलनको क्रममा हामी सँगै भएका थियौँ। म एकजना गोर्खाल्याण्डका सिपाहीका रूपमा आन्दोलनमा ओर्लिए। पछि दागोपापमा उनले सम्झौता गरे। सम्झौता गर्नु उनको वाध्यता नै थियो होला। त्यसपछि भने हामी टाडिएका हौँ’ छत्र सुब्बाले अझ भने।
‘उनले भाषण दिए पछि पहाडमा हलचल मच्चिने गर्थ्यो। उनी जस्तो नेता अब पहाडले प्राप्त गर्नु सक्दैन’ छत्र सुब्बाले अझ भने। छुट्टै राज्य गोर्खाल्याण्ड भनेपछि मरिमेट्ने सुवास घिसिङ पछिल्लो समयमा गोर्खाल्याण्डको मुद्दालाई घुमाउरो बाटोबाट अघि बडाउँदै थिए। उनले गोर्खाल्याण्ड प्राप्तिको निम्ति छैटौँ अनुसूचीको बाटो रोजेका थिए। यसैक्रममा छत्र सुब्बाले घिसिङले रोजेको घुमारौ बाटोलाई आफ्नै दृष्टिले हेर्दै आफ्नै भाकामा व्याख्या गरेका छन्। ‘पछिल्लो समयमा घिसिङले गोर्खाल्याण्डको मुद्दालाई साह्रै सिरियसले उठाएनन्। सायद यस्तो नगर्नुमा उनीमाथी कुनै अदृष्य शक्तिको दबाव थियो भन्ने मलाई लागेको छ’ छत्र सुब्बाले भने।
गोर्खाल्याण्ड आन्दोलनको क्रममा आफूहरू सँगै खटेको समयदेखि बिछोड बनेर आ-आफ्नो बाटोमा हिँडेको सम्झनाहरू सुनाउँदै घिसिङको तिनले जोडदार गुणगान गाए।
‘उनी महान नेता हुन्। अब पहाडले यस्तो नेता पाउँने छैन। अब त नेताहरू पैसा र सम्पत्तिमा मात्तिएका छन्। मुद्दालाई ईमान्दार अघि बडाउँने नेता भविष्यमा जन्मिने छाँट देखिन्न। घिसिङ साँच्चै महान थिए’ छत्र सुब्बाले घिसिङको गुणगान गाउँदै भने।
यसैक्रममा घिसिङको अन्तिम यात्रामा आफू सहभागी बन्ने इच्छा रहेको बताए।
"उनी बितेर गए। अन्तिम यात्रामा सहभागी बन्ने इच्छा छ। कोशिश पनि गर्नेछु। यदि सम्भव नभए घरैमा बसेर श्रद्धाञ्जली अर्पण गर्नेछु" सुब्बाले स्पष्ट पारे।
0 Response to "सुवास घिसिङको भाषणले पहाड जुर्मुराउँथ्यो – छत्रे सुब्बा"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.