मोदी, बच्चन र तेन्दुलकरलाई अभिनेत्रीको खुला पत्र, ‘तपाइँहरुलाई लाज लाग्नु पर्ने हो’
एमटिभीेकी चर्चित कार्यक्रम सञ्चालिका समेत रहेकी अभिनेत्री शहनाज ट्रेजरीले प्रधानमन्त्री नरेन्द्र मोदी, अभिनेता अमिताभ बच्चन, क्रिकेटर सचिन तेन्दुलकरलगायतलाई खुला पत्र लेख्दै महिलामाथि यौन दुर्व्यवहार गर्ने र बलात्कार गर्नेविरुद्ध कडा कानून बनाई देशका महिलाहरुको सुरक्षा गर्न आग्रह गरेकी छन् ।
सोशल मिडियामा भाइरल भएको उनको पत्रले भारतभर निकै चर्चा पाएको छ ।
शहनाजको खुला पत्रको भावानुवाद
प्रिय नरेन्द्र मोदी, अमिताभ बच्चन, सचिन तेन्दुलकर, शाहरुख खान, सलमान खान, अमिर खान र अनिल अम्बानी
यो देशका सबैभन्दा शक्तिशाली र प्रभावशाली पुरुषहरु भएकाले यो पत्र विशेष रुपले तपाइँहरुलाई लेख्दैछु ।
मुम्बईको मध्यमबर्गीय परिवारमा हुर्के–बढेकी महिलाका हैसियतमा यो पत्र लेख्दैछु ।
मैले तपाइँहरुसँग सहयोगको विन्ती गर्दै यो पत्र लेख्दैछु ।
मेरा बुवा–आमालाई यो पत्र लेखाइ नराम्रो लाग्न सक्छ । म उहाँहरुसँग क्षमा माग्दै भन्छु, यो मेरो लज्जाको विषय होइन, लाज त उनीहरुलाई लाग्नु पर्छ ।
त्यसबेला म १३ वर्षकी थिएँ, आमासँग तरकारी बजारमा जाँदा एउटा पुरुषले मेरो शरीरमा नराम्रोसँग हात लगायो । पुरुषसँगको मेरो पहिलो नराम्रो अनुभव थियो त्याे । उसको अनुहार नदेखे पनि अहिलेसम्म त्यो छुवाई विर्सन सकेकी छैन ।
आमाले कटाइदिएको कपालको डिजाइन मन नपरेर रिसाएकी किशोरी म, उहाँकोे पछिपछि हिंडिरहेकी थिएँ । अहिले पनि झलझली सम्झन्छु, तोरीको फूल भएको मैले लगाएको त्योे फ्रक पनि मलाई मन परेको थिएन ।
पहिले त म स्तब्ध भएँ, बोल्नै सकिन, मेरा निर्दोष आँखाबाट आँसुका धारा बग्न थाले । बहुलाही भएँ र आमासँग कराएँ तर, त्यो पुरुष बजारमा कता बेपत्ता भयो कसैले भन्न सकेन । हजुरआमाको बाथरुममा गएर धेरै चोटी नुहाउँदा पनि नपखालिएको त्यो फोहरी स्पर्श म अहिले पनि अनुभव गर्छु ।
त्यसपछि बारम्बार त्यस्ता हातहरुले मलाई छोइरहे । आमाले मेरो कुरा बुझे पनि बुवा र काकाले मलाई भ्रम भएको ठान्नुभयो । मलाई लाग्छ उहाँहरुले मेरो पीडा बुझ्नै सक्नु भएन । तपाइँहरु बुझ्नुुहुन्छ ?
सेन्टजेभियर्स कलेजमा भर्ना हुँदा म १५ वर्षकी थिएँ । कलेज जाँदै गर्दा बस र ट्रेनमा मेरा शरीरका हरेक भाग त्यसैगरी पुरुषहरुबाट दुव्र्यवहारपूर्ण तरिकाले छोइए । म मात्रै होइन आफ्नै गाडी नहुने प्रत्येक भारतीय महिलाले यस्तै दुव्र्यवहार भोग्नु पर्छ ।
मेरो किशोरी मनले त्यसबेला सपना देख्थ्यो, मसँग ‘मसिन गन’ हुँदो हो त ती सबै पुरुषहरुलाई मारिदिन्थें । अहिले पनि बेला बेला त्यस्तो सपना देख्छु । एक बालिकाकालागि निकै भयंकर सपना । तपाइँहरुलाई त्यस्तो लाग्दैन ?
एफवाईजेसीमा मोडलिङका लागि पहिलो काम पाएपछि म कलेजबाट सिधै त्यसतर्फ जानुपर्थ्यो । घरबाटै राम्रो लुगा लगाएर निस्कनु मेरो वाध्यता थियो । मलाई राम्रो सम्झना छ, मेरो अडिसनका बेला मैले रातो टप र बीचबाट काटिएको लामो कालो स्कर्ट लगाएर गएकी थिएँ असजिलो मान्दै । उफ ! कस्तो निर्दयी थियो त्यो भोगाई, मानौं लुगाकै गल्ती जस्तो । त्यो लुगा मैले फेरि कहिल्यै लगाइन ।
मैले आफूलाई बचाउने उपाय आफैं सिकें, ब्याग जहिले पनि अगाडि झुण्ड्याउँथे र शरीरको अघिल्लो भाग सँधै कुप्र्याउँथे, प्रत्येक २० सेकेन्डमा मेरो छेउमा को छ भनेर वरीपरी हेर्थें । त्यसरी सार्वजनिक सवारी साधनमा यात्रा गर्दा ममाथि गलत नियतले हात लगाउनेलाई झापड पनि लगाएँ, प्रत्युत्तरमा धेरै पटक आफैंले पनि खाएँ । कहिलेकाहीं अरुले पनि सहयोग गर्थेे तर, धेरै कम ।
आमाले मलाई ती पुरुषहरुसँग झगडा नगर्न धेरै अनुनय गर्नुहुन्थ्यो । उनीहरुले मेरो अनुहारमा ‘एसीड’ हालिदेलान वा आक्रमण गर्लान भन्ने डरले । उहाँ अहिले पनि डराउनुहुन्छ र आजै उहाँले मलाई भोलीको भेटघाटका लागि ‘उबर’ को साहरा नलिन भन्नु भएको छ । (भारतका ठूला शहरमा ट्याक्सी भाडामा लिन सघाउने कम्पनी उबरले पठाएको ट्याक्सीमा चढेकी युवतीको बलात्कार भएपछि अहिले ‘उबर’ विवादमा परेको छ) ।
नर्क परोस । उबरमाथि प्रतिबन्ध लगाऊ ! सबै जवाफदेही हुनैपर्छ ।
मेरी बहिनी पहिलो पटक कलेज जाँदा हामी सबै उत्साहित थियौं । ऊ बसबाट गई र हिक्का छोड्दै फर्किई । बसको यात्राभर एउटा पुरुषले उसको टि–शर्टको बाहुलाबाट हात छिराएर असैह्य दुख दिएछ । विचरी त्यो बच्ची कसरी ठप्प भएकी थिई । यस्तो दुव्र्यवहारबारे राम्रोसँग बुझ्न सक्ने पनि भइसकेकी थिइन ऊ । म रिसले निलो भएकी थिएँ । माफ गर बैनी मैले यसो भनेकोमा । मसँग बोल्न नाछोड्नु । यो हाम्रो लज्जा होइन । लाज उनीहरुले मान्नु पर्छ ।
मेरी एकजना साथी कलेजबाट घर फर्कंदा ट्रेनको ‘लेडिज कम्पार्टमेन्ट’ मा बलतकृत भई । सञ्चो नभएपछि ११ः१५ बजेको ब्रेक टाइममा घर फर्कंदै गरेकी उसमाथि बान्द्रा जाँदै गरेको सुपर फास्ट ट्रेनमा बलात्कार भयो । रगतपच्छे पारेर उसकै रिवनले आफूलाई पुछ्दै त्यो पुरुष ट्रेनबाट बाहिरिएको थियो । १६ वर्षीया मेरी साथीले त्यसबेला यो आफ्नै लज्जा ठनी र कसैलाई केही भनिन ।
तर यो तिम्रो लज्जा होइन, उनीहरुलाई पो लाज लाग्नु पर्ने हो ।
म शुटिंगका लागि हैदरावाद जाँदा एकपटक सँगै रहेकी मेरी आमामाथि साइकल चढेको एकजनाले दुव्र्यवहार गरेको थियो । मेरी प्रिय र आदरणीय आमा मलाई माफ गर्नुहोला । यो हाम्रो लज्जा होइन, लाज त उनीहरुलाई लाग्नु पर्छ ।
मैले तपाइँहरुलाई मेरो व्यक्तिगत कथा किन सुनाइरहेकी छु ?
पहिलो त सबै महिलाहरुले आवाज उठाउन सकुन भन्ने हो ।
आउनुहोस यसलाई हाम्रो नारा बनाऔं, ‘यो हाम्रो लज्जा होइन, लाज उनीहरुले मान्नुपर्छ ।’
को हुन ‘उनीहरु’ ?
‘उनीहरु’ हाम्रो देशका पुरुष हुन् ।
बलात्कारी र यौन दुव्र्यवहार गर्नेहरु मात्रै होइन, हाम्रा बाबु (माफ गर्नुहोला बुवा) र काका अनी दाजुभाई, फिल्म स्टार, क्रिकेटर र राजनीतिज्ञहरु– यो लज्जा तपाइँहरुको हो, हाम्रो होइन । बलात्कारी र यौन दुव्र्यवहार गर्नेहरुलाई कडा सजाय दिन र हामीहरुलाई सुरक्षा दिन नसकेकोमा तपाईहरुले लाज मान्नु पर्छ ।
हामी महिलाहरु किन त्रसित हुन पर्ने ? वर्षौंदेखि हामीहरुले यस्तो दुव्र्यवहार खेप्नु पर्दा पनि किन उनीहरुलाई कडा कार्वाही हुँदैन ? दिल्लीमा मात्रै होइन, देशै भरी ! हो बम्बई वा मुम्बई वा जेसुकै भन्नुस कहीं पनि हामी सुरक्षित छैनौं ।
मेरो सँधैभरको ठूलो डर, सानैदेखि अहिलेसम्मको डर के हो भने साँझको योग कक्षापछि होस वा साथीकहाँबाट फर्कंदा होस, घर फर्कंदा बलात्कृत हुन्छु कि भन्ने डर । अहिले पनि ‘मसिन गन’ को स्वैरकल्पनाले छोडेको छैन ।
गत ४ वर्षदेखि म आधा समय भारतमा र आधा समय न्यूयोर्कमा बस्छु । अमेरिकको हार्लेम, ब्रोंक्स र ब्रुकलिन जस्ता खतरनाक भनिने स्थानका गल्लीहरुमा छोटो स्कर्ट लगाएकी म राति ३ बजे पार्टीबाट फर्कंदा पनि मुम्बईको बान्द्रामा भन्दा सुरक्षित महशुस गर्छु । किन ??
हाम्रै राजधानी दिल्लीको कुरा गरौं, दुई दिन अघि म त्यहाँ गएकी थिए, ‘उबर बलात्कार’ का बेला । म इण्डिया गेटसम्म हिंडेरै जान चाहे पनि सकिन । किन ??
नमो, तपाइँले अमेरिका, जापान र अष्ट्रेलियामा दिएको भाषण जति नै राम्रो भए पनि त्यसको अर्थ के रहन्छ र, यदि देशकै राजधानीमै महिलाहरु दिउँसै असुरक्षित छन् भने ! यो लज्जा होइन र ? तपाइँलाई लाज लाग्नु पर्छ महोदय ।
हाम्रो पहिलो प्राथमिक मुद्दा नै यही हो, पहिले यसलाई सम्बोधन गर्नुहोस ।
यो लज्जा हो । र तपाइँको लज्जा हो । अहिले तपाइँ हामीप्रति जिम्मेवार हुनुहुन्छ ।
तपाइँ सबै भलादमीहरुसँग म हाम्रो कानूनमा सुधारका लागि आग्रह गरिरहेकी छु ।
तपाईहरु प्रभावशाली हुनुहुन्छ । म भन्छु, लज्जा उनीहरुको हो । यौन दुव्र्यवहार गर्ने, गलत मनसायले महिलाको शरीरमा हात लगाउनेहरुलाई कडा कार्वाही गर्नुहोस र बलात्कारीलाई मृत्युदण्ड दिनुहोस ।
मेरो अनुरोध बलात्कारीलाई मृत्युदण्ड दिनुपर्छ । कृपया छिटो गर्नुहोस !
यदि मृत्युदण्डको व्यवस्था तुरुन्तै सम्भव छैन भने कम्तिमा आजीवन कारावासको सजाय होस ।
उनीहरुलाई सँधैका लागि हामीबाट टाढा राख्नुहोस ।
दुईपटक बलात्कार गरिसकेको मानिस किन धरौटीमा रिहा हुन्छ र ड्राइभिङ लाइसेन्स पाउँछ ? हो उबरलाई पनि प्रतिबन्ध लगाउनु पर्छ । सबैलाई जवाफदेही बनाउनै पर्छ ।
म आफू जे गर्न पनि तयार छु, यद्दपी म उती ठूलो सेलब्रेटी होइन । तर, तपाइँ सचिन तेन्दुलकर, अमिताभ बच्चन, सलमान खान, शाहरुख खान, अमिर खान, अनिल अम्बानी महोदय, पुरुष भएर जाग्नु जरुरी छ (तपाइँहरु शक्तिशाली हुनुहुन्छ) ।
हाम्रो रक्षा गर्नुहोस !
‘सुपरस्टारहरु’ कृपया अडान लिनुहोस । तपाइँहरुको स्टारडम, पैसा र शक्तिको सदुपयोग गर्नुहोस र हाम्रो देशका महिलाको रक्षा गर्नुहोस । हाम्रो रक्षा गर्नुहोस ।
म तपाइँहरुलाई अनशन, विरोध, धर्ना वा केही त्यस्तो जस्ले गर्दा जनतामा सकारात्मक सन्देश जाओस, सरकार कानून परिवर्तनका लागि ब्युँझियोस र हामी माथि हात लगाउनेहरु तर्सिउन– त्यस्तो गर्न विन्ती गर्छु ।
बलात्कारीलाई मृत्यु दण्ड । धरौटी होइन, मृत्यु दण्ड !
कल्पना गरौं त, अमिताभ बच्चन महोदय, आमिर खान, सलमान खान, सचिन तेन्दुलकर, अनिल अम्बानी– यदि तपाइँहरु साझा मुद्दा उठाउँदै अनशन बस्नु भयो वा राष्ट्रपति भवनतर्फ जानु भयो भने कस्तो होला ? यदि तपाइँहरुले यो मुद्दालाई पहिलो प्राथिमकतामा राखेर काम गर्नुभयो भने कति धेरै परिवर्तन आउला ?!
हामी महिला भएकै कारण आफ्नै मातृभूमिमा कति असुरक्षित रहने ?!
हामी महिला भएकै कारण त्रसित र सँधैभरी सुरक्षा व्यवस्था मिलाएर हिंड्नु पर्ने ?
कठोर हुनुहोस, उदाहरणीय पुरुष बन्नुहोस, हामीलाई गलत मनसायले हात लगाउनेलाई त्रसित पार्नुहोस ।
हाम्रो सुरक्षा गर्नुंहोस, कृपया तपाइँको आमा, छोरी र बैनीलाई बचाउनुहोस ।
यो हाम्रो लज्जा होइन, तपाइँहरुको हो ।
तपाइँहरुले लाज मान्नु पर्छ ।
आफ्ना महिलालाई सुरक्षा नदिंदासम्म नसुत्नुहोस ।
श्रद्धाका साथ,
शहनाज ट्रेजरी
(http://www.himalkhabar.com/?p=88783)
0 Response to "मोदी, बच्चन र तेन्दुलकरलाई अभिनेत्रीको खुला पत्र, ‘तपाइँहरुलाई लाज लाग्नु पर्ने हो’"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.