सिन्कोना बगानवासीले बिल्डिङ बनाउँन नपाउने सरकारी आदेश जारी
21 Nov 2014
Comment
डी.के वाइबा, कालिमन्युज, कालेबुङ 21 नोभेम्बर 2014। सिन्कोना बगानवासीले अब उसो आफ्नो जमीनमा ठूलो बिल्डिङ बनाउँन नपाउने भएको छ। सिन्कोना बगानका मानिसहरूले बिल्डिङ निर्माण गर्न नपाउँने आधिकारिक सरकारी अधिसूचना वर्तमान सिन्कोना निर्देशक डा सामुएल राईले जारी गरेका छन्।
उक्त सरकारी अधिसूचना जारी भए पछि सिन्कोना बगानवासीहरू रूष्ट बनेका छन्। उक्त अधिसूचना निर्देशक डा सामुएल राईले जारी गरेर सम्पूर्ण सिन्कोना बगानका व्यवस्थापकवर्गलाई पठाएका छन् भने यसबारे बगानमा कार्यरत सबैलाई बिभिन्न गन्ति ठाउँहरूमा सुनाउँने कार्य अघिबाटै भइसकेको छ। उक्त सरकारी अधिसूचनामा सिन्कोना बगानको जमीन कसैले बिक्रि गर्न नपाउने पनि स्पष्ट लेखिएको छ। यसका साथै अघिबाटै सिन्कोना बगानको जमीनमा बिभिन्न बिल्डिङहरू निर्माण गरिएको बिषयलाई लिएर चर्चा गरिएको अनि आगामी दिनहरूमा यदि कसैले सिन्कोना बगानको जमीनमा आफ्नो भान्साघर, गाईगोठ, दोकान आदि निर्माण गर्न परे सम्बन्धित अधिकारीवर्गबाट पूर्णरूपले अनुमति लिनुपर्ने कुरा सिन्कोना निर्देशक डा सामुएल राईले जारी गरेको सरकारी आदेशमा लेखिएको छ। यसका साथै सिन्कोना बगानको जमीनमा यदि कुनै अवैद्य निर्माण कार्य भइरहेको छ भने उक्त निर्माण कार्यबारे सिन्कोना निर्देशालयमा तत्काल सूचित गर्नको साथै त्यस अवैद्य निर्माण कार्यलाई भत्काउनुपर्ने पनि आदेश दिइएको छ।
यदि कुनै स्थानमा सिन्कोना बगानको सरकारी जमीन बिक्रि गरिएको थाह पाए त्यसबारे बिभागीय अधिकारीवर्गले पुलिसमा प्राथमिकी दर्ता गरेर आवश्यक कार्वाही गर्नुपर्ने पनि आदेश पत्रमा लेखिएको छ। यसका अतिरिक्त सिन्कोना बगानमा निर्माण गरिएको सरकारी आवासहरू यदि कसैले आफ्नो अधिनमा लिएका छन् भने उक्त सरकारी आवास यथाशिघ्र खाली गर्नुपर्ने पनि आदेश दिइएको छ। सिन्कोना निर्देशक डा सामुएल राईले जारी गरेको उक्त आदेश पत्र पश्चिम बङ्गाल मुख्य सचिव, जीटीए मुख्य सचिव, सचिव जीटीए अनि अतिरिक्त निर्देशक जीटीएलाई पनि पठाइएको छ।
सिन्कोना निर्देशकले जारी गरेको उक्त सरकारी आदेश पत्रलाई लिएर अहिलेघरी सिन्कोना बगानमा कार्यरत मानिसहरूले बिभिन्न चर्चा परिचर्चा गरिरहेका छन्। कतिपय मानिसहरूले यसलाई सकारात्मक लिएका छन् भने कतिले नकारात्मक रुपमा पनि लिएका छन्। बिशेष गरेर सिन्कोना बगानमा बिल्डिङ निर्माण गर्न पाउनेछैन भन्ने आदेशलाई लिएर अधिकांश सिन्कोना बगानवासी असन्तुष्ट बनेका छन्।
“सिन्कोना बगानका मानिसहरू के अझै झोपडीमा नै बस्न पर्ने ? बगानवासीले उन्नती गर्न पाउँदैन ?” जस्ता प्रश्नहरू पनि मानिसहरूले गर्न थालेका छन्। यसै बिषयमा बोल्दै सिन्कोना बगानका बासिन्दाले आफ्नो नाउँ उल्लेख नगरिदिने शर्त राख्दै भने – “सिन्कोना बगानवासीले पर्चा पट्टाको माग गर्दै आएको हो। यसबारे हाम्रै आफ्नो गोर्खे बगानका निर्देशकले आफ्नो समय कालमा उचित पहल गर्नु हुनेछ भन्ने हामी बगानवासीके अपेक्षा साँचेका थियौँ। आज पर्चा पट्टाको पहल त होइन बिल्डिङ पनि बनाउँनु नपाउने सरकारी आदेशले सम्पूर्ण बगानवासीलाई हतास बनाएको छ”। यस बिषयमा राजनैतिक दल अनि मजदूर संगठनका नेताहरूको मौनता प्रति पनि तिनले प्रश्न गर्दै ‘खै कहाँ गए मजदूर संगठनका नेताहरू?” भने। अर्कोतर्फ यसबारे सिन्कोना निर्देशक डा सामुएल राईलाई सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन।
स्मरण रहोस, दार्जीलिङ पहाडमा दोस्रो सर्ववृहत उद्योगका रूपमा परिचित सिन्कोना बगानवासीले आफ्नो जमीनको पर्चा पट्टाको माग समय समयमा गर्दै आए पनि उक्त माग आजसम्म पुरा हुन सकेको छैन। पहाडमा गोरामुमो पार्टीको शाषाणकालमा उक्त पार्टीको मजदुर संगठन एचपीडब्ल्युयूले पनि पर्चा पट्टाको आवाज समय समयमा उठाउँने गरेको थियो भने मार्क्सवादी कम्युनिष्ट पार्टीको मजदुर एकाई सीआइटियू, युनाईटेट फोरम आदिले पनि सिन्कोना बगानका मजुदुरवर्गको हित र अधिकारको कुरा गर्दै पर्चा पट्टाको आवाज उठाएकै हो। तर राजनैतिक उदेश्य प्रेरित राजनैतिक दलहरूका मजदुर संगठनले उठाएको उक्त पर्चा पट्टाको आवजले भने कहिल्यै निकास पाउन सकेन। जसको कारण आजसम्म दार्जीलिङ पहाडको तीनैवटा महकुमा क्षेत्रको बिभिन्न स्थानहरूमा कार्यरत सिन्कोनावासीले पर्चा पट्टा पाउन सकेका छैनन। यसरी सिन्कोना बगानमा कार्यरत मानिसहरूले पर्चा पट्टा पाउनको साटो उल्टो बिल्डिङ समेत निर्माण गर्न नपाउने बिषयमा जारी सरकारी आदेशलाई लिएर अहिलेघरी मजदुर संगठनको मौनता प्रति पनि बगानवासी क्षुब्ध बनिरहेका छन्।
0 Response to "सिन्कोना बगानवासीले बिल्डिङ बनाउँन नपाउने सरकारी आदेश जारी"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.