-->
मङपूमा मेलामा ‘उपमा प्रकाशन’को पुस्तक कोशेली

मङपूमा मेलामा ‘उपमा प्रकाशन’को पुस्तक कोशेली

डी के वाइबा, कालिमन्युज, मङपू 28 अक्टोबर 2014। ‘यसपल्ट मङपू स्पोर्टसमा एउटा साह्रै मिठो अध्याय थपियो, त्यो हो पुस्तक पसल। अङ्गेजकालिन मङपू स्पोर्टसमा अहिलेसम्म कुनै पुस्तक पसल राखिएको थिएन। स्पोर्टस अनि मेला संगसगै चल्ने यस वार्षिक पर्वमा यसपल्ट ‘उपमा प्रकाशन’ले हामी सबैलाई गुण लगाएका छन्’ – मङपूका चर्चित कवि मोहन ठकुरी उपमा प्रकाशनको पुस्तक पसलमा नेपाली साहित्यका चर्चित पुस्तकहरू पल्टाउँदै भन्दै थिए। 
‘यो हाम्रो निम्ति साह्रै आनन्दको कुरा मात्र होइन एउटा सकारात्म उपलब्धी पनि हो’ कवि मोहन ठकुरीले अझ भने। अङ्गेजहरूले मङ्पूमा सन् 1865 देखि सिन्कोनाको खेती लगाउन सुरू गरेपछि पछिबाट मनोरञ्जनका निम्ति बगानमा कार्यरत मजदुरवर्गलाई भेला पारेर ‘तमाशा’ आयोजना गर्ने गरेको बुढा पाकाहरू बताउँछन्। अङ्गेजहरूले प्रत्येक वर्ष भाइटिकाको भोलिपल्ट कमानमा कार्यरत मजदुरवर्गलाई भेला पारेर मिठाई छर्ने गरेको अनि उक्त मिठाई टिप्नको निम्ति मजदुरवर्गमाझ चल्ने होडबाजी अनि लुछातानीको क्रममा उनीहरू भने खित्का छाडेर हाँस्ने गरेको अनि यसै दिनलाई ‘तमाशा’ भन्ने गरेको कुरा दन्ते कथा बन्दै गइरहेको छ। यसै ‘तमाशा’ कालन्तरमा दुई दिवसिय स्पोर्टको रूपमा बिकशित भएको डा बी. बी गुरूङ बताउँछन्। ‘मङपूमा दुईदिवसिय खेलकुद साठीको दशकबाट सुरू भएको हो। यसभन्दा अघि अङ्गेज साहेबहरूले मनोरञ्जनका निम्ति ‘तमाशा’ मात्र मनाउने गरेको सोध अवधी पत्तो लागेको छ। 
समयको गतिशिलतामा अहिले दुई दिवसिय खेलकुदको रूपमा बिकशित भएर मङपूमा एउटा पर्व नै बनिसकेको छ’ डा बी. बी गुरूङले भने। यसरी ‘तमाशा’ देखि खेलकूदमा बिकसित भएको मङपू दिपावली खेलकूद समारोहमा प्रत्येक वर्ष हजारौँ मानिसहरू भेला हुने गर्छन्। खेलकूद संगै संगै मेला पनि सम्पन्न हुने उक्त दुई दिवसीय कार्यक्रममा मङ्पूका मानिसहरूलो सहभागिता त हुन्छ नै यसका साथै सिटोङ, सेल्पु, माना, सेब्जे, लंकु, रोलक, खरसाङ, दार्जीलिङ,कालेबुङ, मिरिक, तक्दाह टिस्टाभेल्ली आदि स्थानहरूबाट मानिसहरू आउने गर्छन्। कोही खेलकूद हेर्न आउँछन् त कोही मेलामा मनोरञ्जन गर्न आउँछन्। 
रोटेपिङ, हाउसीमा झुम्मिनेहरू उत्तिकै हुन्छन् भने बिभिन्न सामाग्रीहरूको पनि व्यापार राम्रो हुने गरेको उक्त दुई दिवसिय कार्यक्रममा अङ्ग्रेजकाल देखि अहिलेसम्म पुस्तक पसल भने राखिएको थिएन। मङपूमा पुस्तक पसलको अभावले मङपूका साहित्यिक जमातलाई प्रत्येक वर्ष खल्लो बनाउँने गर्थ्यो भने यसपल्ट भने कालेबुङको चर्चित ‘उपमा प्रकाशन’ले पुस्तक पसल राखेर सबैलाई पुस्तकको मोह बृद्धि गरिदिएको छ। ‘मङ्पू साहित्यिकहरूको ठाउँ भन्ने गर्छ। त्यहीँ ठाउँमा सम्पन्न हुने बृहत अनि ऐतिहासिक ब्रिटिसकालिन खेलकूद समारोहमा पुस्तक पसल नहुनुले साह्रै खल्लो अनुभव लाग्ने गर्थ्यो। 
यसकारण यसपल्ट मङपूको यस ऐतिहासिक दुईदिवसिय खेलकूद अनि मेलाको कार्यक्रममा पुस्तक पसल राखेको हूँ’ ‘उपमा प्रकाशन’का उमेश थापाले भने। ‘मानिसहरूले मेलामा हजारौँ पैसा सकेर घर फर्कन्छन्। रित्तो हात फर्कने मानिसहरूले यसपल्ट मङपू मेलाबाट पुस्तक कोशेलि बोकेर जान सकोस। जुन पुस्तक आफ्ना छोरा नातीसम्मलाई काम लाग्छन्। यहीँ सोंच अनि मानिसहरूलाई सकारात्मक बाटोमा डोहोर्‍याउँन पुस्तक पसलको सुरूआत गरेका छौ। जुन कार्य हाम्रा पुस्तक प्रेमीहरूले एकाधिक पुस्क किनेर सफल पारिदिएका छन’ उमेश उपमाले अझ भने। यसैक्रममा मङ्पूका अर्का चर्चित कवि कथाकार उदय तुलुङलाई प्रश्न गर्दा ‘मङपू मेलामा पुस्तक पसल नहुनु हाम्रो निम्ति दुर्भाग्य थियो। 
आज उपमा प्रकाशनले हामीलाई पुस्तक पसल राखिदिएर साह्रै आनन्दित तुल्याएका छन्’ भने। बिकासको बाटोमा अग्रसर बनेको नेपाली साहित्यले अहिलेघरी निकै लामो फड्को मारेको छ। तर नेपाली साहित्यका चर्चित पुस्तकहरूको अभावले भने नेपाली साहित्य अनुरागीहरू निराश बन्न परिरहेको समयमा उपमा प्रकाशनले अहिलेका चर्चित नेपाली पुस्तकहरू मेलामा राखेको थियो। यस अवधी मानिसहरू उक्त चर्चित पुस्तकहरू खोज्दै किन्न आइपुगेका थिए। ‘मेलामा मानिसहरूले अहिलेसम्म राम्रो कुराको निम्ति कहिले प्रयोग गर्दैन थिए। यसपल्ट पुस्तकको निम्ति खर्च गर्न पाउँदा साह्रै खुशी लागेको छ’ कवि सुरेन्द्र थीङले भने। यसैक्रममा साहित्यकार सरद रावतले पनि उपमा प्रकाशनको कार्यलाई खुलेर सराह्रना गरे। 
‘नेपालबाट प्रकाशित चर्चित नेपाली साहित्यका पुस्तकहरू यहाँसम्म आइपुग्न धेरै लामो समय लाग्छ। कति पुस्तकहरू त देख्न पाउँदैनौँ। यस्तो अवस्थामा नेपालबाट प्रकाशित चर्चित पुस्तकहरू नेपालकै मूल्यमा प्राप्त हुनु नेपाली साहित्यलाई माया गर्नेहरूको सौभाग्य हो। यसले साहित्य अनुरागीहरूलाई नयाँ उर्जा मिलेको छ’ शरद रावतले भने। अर्कोतिर मङपूका प्रगतिवादी कवि स्व बिकाश गोतामेकी श्रीमति बिन्द्या गोतामेले पनि आजसम्म मङपू मेलामा पुस्तक पसलको अभाव खट्किएको बताउँदै उपमा प्रकाशनले यसलाई पूर्ण गरेको बताइन। 
‘मङ्पू मेलामा यसपलट पुस्तक पसल नयाँ कुरा बन्यो। हाम्रा मानिसहरूले खुबै उत्साहपूर्ण किताबहरू किनेको दृष्यले अझै आनन्दित तुल्यायो। हाम्रो समाजमा पड्नेहरूको स्तर दिन दिनै बृद्धि भएको यसबाट प्रमाणित बन्यो। यस सकारात्मक पहलको निम्ति उपमा प्रकाशनलाई बधाई दिनै पर्छ’ बिन्द्या गोतामेले भनिन्।

Related Posts

0 Response to "मङपूमा मेलामा ‘उपमा प्रकाशन’को पुस्तक कोशेली"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.