-->
भागोपले पालन गर्‍यो बलिदान दिवस

भागोपले पालन गर्‍यो बलिदान दिवस

डी के वाइबा र राजेश शर्मा कालिमन्युज, कालेबुङ, 25 अगस्त 2014। भारत स्वाधिनताको आन्दोलनमा अङ्ग्रेजले फाँसीमा चडाएका गोर्खे शहिद दुर्गा मल्लको आज भारतीय गोर्खा परिसंघ कालेबुङ शाखाले पुण्यतिथी पालन गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ।
शहिद दुर्गा मल्लको पुण्य तिथीलाई भागोपले बलिदान दिवसको रूपमा पालन गर्दै उनले देशको निम्ति दिएको बलिदानलाई आज पुन: सम्झना गर्दै श्रद्धाञ्जली चडाएको हो। यहाँको दु:ख निवारक सम्मेलन भवनमा आयोजित बलिदान दिवस कार्यक्रमको अध्यक्षता कालेबुङकी अध्यक्ष डा सरोजा राईले गरेकी थिईन। यस अवसरमा भागोप राष्ट्रिय अध्यक्ष रेभरेन डा एनोसदास प्रधान मुख्य अतिथिका रूपमा उपस्थित रहेका थिए। यसै अवसरमा देशका निम्ति शहिद बनेकाहरूलाई पनि सम्झना गर्दै श्रद्धाञ्जली अर्पण गरियो।
यसक्रममा यहाँको नोभेल्टि परिसरमा अवस्थित जङ्गबीर सापकोटा अनि थाना डाँडामा अवस्थित दलबहादुर गिरी लगायत त्रिकोण पार्क अनि मोटर स्ट्याण्डमा अवस्थित सहिद स्मारकमा पनि श्रद्धाञ्जली अर्पण गरिएको थियो। यता गोर्खा दुख निवारक सम्मेलन भवनमा आयोजित दोस्रो चरणको कार्यक्रममा भागोप राष्ट्रिय प्रवक्ता आर मोक्तान, गोदुनिसका अध्यक्ष उदय कुमाई, बीटी कलेजका पूर्वप्राचार्य बीआर छेत्री लगायत राजनैतिक अनि सामाजिक संगठनका प्रतिनिधि लगायत बिभिन्न बिद्यालयका विद्यार्थीवर्गको उपस्थिति रहेको थियो।
यस अवधीमा साई इन्स्टिट्युट अफ एडुकेशन एण्ड रिसर्च(एसआइईआर)को ब्याण्डले अतिथिहरूलाई स्वागत गर्दै गोदुनिस भवनसम्म लिएर आएको थियो। जागरण गीत, संकल्प पाठबाट शुरु गरिएको कार्यक्रममा भागोपको कालेबुङ शाखाका सचिव पीके प्रधानले स्वागत भाषण राखेका थिए। यसक्रममा अतिथिहरूले शहीद दुर्गा मल्लको सालिगमा खदा अर्पण गरी श्रद्धा प्रकट गरे।
कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा भागोपका राष्ट्रीय अध्यक्ष डा एनोसदास प्रधानले दार्जीलिङ पहाडको राजनैतिक संस्कार र मुल्यको क्षतिप्रति चिन्ता प्रकट गर्दै गोर्खाहरूको सरोकारका बिषयहरूमा जातीय बिभाजन र विभेदकारी मानसिकता घातक हुने बताए। उनले गोर्खाहरूको अलग राज्यको सपनालाई भारतीय गोर्खा परिसंघले जहिले पनि प्राथमिकतामा राखेर काम गरेको दाबी गर्दै यसको प्राप्तिको निम्ति प्रतिबद्धताका साथ काम गर्न दृढ संकल्पित रहेको बताए।
“भागोप छुट्टै राज्य गोर्खाल्याण्डको मुद्दामा ईमान्दार र प्रतिबद्ध छ” डा प्रधानले भने। यसक्रममा कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रीय प्रवक्ता आर मोक्तानले देशको स्वतन्त्रता र निर्माणमा गोर्खाहरूको उत्सर्ग र अवदानको ऐतिहासिक तथ्यहरूको चर्चा गर्दै देशको सरकार र सत्ताले गोर्खालाई जहिले पनि किनारामा पारेको आरोप लगाए।
‘गोर्खाविरोधी दल र नेताहरूले हामीलाई कहिले नेपाल त कहिले चीन जा भन्छ। सरकारले भन्नु पर्छ अब हामी कता जानुपर्ने हो? अनि जानै हो भने हामी आफ्नो भूमिसँगै जानेछौं” आर मोक्तानले सरकार प्रति कटाक्ष गर्दै भने।
कार्यक्रममा प्रणामी बालिका विद्या मन्दीरकी छात्रा सबिता राई, जुबली हाई स्कूलकी छात्रा सृजना राई अनि एसआइईआरकी छात्रा श्रद्धा भुजेलले वार्ता प्रस्तुत गरेकी थिईन्। कार्यक्रममा युवाकवि टिकाभाइ अनि प्रदीप लोहागुण लगायत बीआर छेत्रीले कविता वाचन गरेका थिए।
यता दिल्लीमा पनि शहिद दुर्गा मल्लको वलिदानलाई स्मरण गर्दै बलिदान दिवस पालन गरियो । भारतीय गोर्खा परिसंघको पक्षमा मुनिस तामङले बताए कि आज मल्ललाई फासि दिएको स्थानमा श्रद्धांजली अर्पण गरियो ।
शहिद दुर्गा मल्लको जन्म उत्तर प्रदेशको देहरादून (उत्तरांचल) जिल्लाको डोईवाला नामक गाँउमा सन् 1913 मा भएको थियो । उनको पिताको नाम गंगाराम मल्ल अनि माताको नाम श्रीमती पार्वती देवी मल्ल हो । दुर्गा मल्ल बाल्यकाललेदेखी नै साहसी र वीर थिए अनि विद्यार्थी जीवनमा नै दुर्गा स्वाधीनता संग्राममा शामिल भएका थिए।
दुर्गा मल्ल सन् 1931 मा केवल अठारह वर्षको उमेरमा स्थानीय पल्टन 2/1 गोरखा राइफल्समा भर्ती भए। यही बीचमा आजाद हिन्द फौजको गठन भएको थियो। आजाद हिन्द फौजमा पन्द्रह हजार अधिकारी अनि सिपाहीहरु थिए । देशलाई आजाद गराउन दुर्गा मल्ल पनि आजाद हिन्द फौजमा शामिल भए । दुर्गा मल्लको कार्यकौशलता देखेर नेताजी सुभाष चन्द्र बोसले तिनलाई गुप्तचर विभागमा चुनेर् कप्तान बनाए । अन्तमा उनलाई विशेष अभियानको काम लिएर भारत-बर्मा सीमामा नियुक्त गरियो ।
मणिपुरको उखरूल नामक स्थानमा 27 मार्च, 1944 को दिन मेजर दुर्गा मल्ल शत्रुको घेरामा पसे । त्यसपछि दुर्गा मल्ललाई युद्धबन्दीको रूपमा दिल्लीमा ल्याइएको थियो। त्यस समय लालकिल्लालाई बन्दीगृह बनाइएको थियो ।
दुर्गा मल्लको विरुद्ध सैनिक अदालतमा मुकदमा चलाइयो । 25अगस्त, 1944 को दिन दुर्गा मल्ललाई फांसीमा झुण्डयाइयो । तिनलाई आजाद हिन्द फौजको प्रथम शहीद हुने गौरव प्राप्त भएको थियो।
भारतीय गोर्खा परिसंघले शहिद दुर्गा मल्लको यादमा आयोजन गरिएको मौलाना आजाद मेडीकल कलेजमा आयोजित आजको कार्यक्रममा मुनिस तामङ लगायत जोएल राई, पप्पु प्रधान, डि के प्रधान आदि उपस्थित थिए ।

0 Response to "भागोपले पालन गर्‍यो बलिदान दिवस"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.