-->
कालेबुङमा भाजपा-मोर्चाको पहिलो चुनावी जनसभा सम्पन्न गोर्खाहरु घुसपैठ होईनन संविधान निर्माण गर्नेहरु हुन – आहलुवालीया

कालेबुङमा भाजपा-मोर्चाको पहिलो चुनावी जनसभा सम्पन्न गोर्खाहरु घुसपैठ होईनन संविधान निर्माण गर्नेहरु हुन – आहलुवालीया

डी के वाइबा, कालिमन्युज, कालेबुङ 3 अप्रेल 2014। “कालेबुङका पूर्व एसडीओ अनि बर्तमान तृणमूल उपाध्यक्ष दिपक घोषले गोर्खाहरु दार्जीलिङका बासिन्दा होईनन् भन्दै रिपोरर्ट तयार पारेर मुख्यमन्त्री ममता ब्यानर्जीलाई बुझाएका छन। म ममता ब्यानर्जीलाई चुनौति दिन्छु कि तिनले गोर्खाहरु घुसपैठ हुन भनेर प्रमाणित गरुन होईन भने दिपक घोषलाई जेल पठाऊन” उक्त कुरा गोजमुमो समर्थित भाजपा प्रार्थी एस एस आहलुवालीयाले भनेका हुन। 
एउटा देशका खाँट्टी नागरिकलाई घुसपैठ भनेर आरोप लगाउँनु दुर्भाग्यजनक रहेको बताउँदै बङ्लादेशी घुसपैठहरुलाई बङ्गाल सरकारले किन भोट ब्याङ्क बनाईरहेको छ भनि आहलुवालीयाले प्रश्न गरे। यसबारे सरकारले जवाब दिन पर्ने पनि तिनले माग गरे। 
एस एस आहलुवालीया आज कालेबुङमा पहिलो चुनावी जनसभालाई सम्बोधन गर्न आईप्गेका थिए। यस अवसरमा तिनले सम्बोधन गर्दै बङगालकी मुख्यमन्त्री ममता ब्यानर्जीको कडा आलोचना गरे। 
“गोर्खाहरु घुसपैठ होईनन, संविधान निर्माण गर्नेहरु हुन। भारतीय गोर्खाहरुका प्रतिनिधी स्व अडीबहादुर गुरुङले भारतको संविधानमा हस्ताक्षर गरेर देशको नागरिक रहेको प्रमाणित गरिसकेका छन” आहलुवालीयाले बङ्गाल सरकारको आलोचना गर्दै भने। यसैक्रममा तिनले संविधान निर्माणमा हस्ताक्षर गर्ने स्व अडीबहादुर गुरुङको सम्मान गर्दै देशको राजधानी दिल्ली अनि दार्जीलिङ भव्य सालिग निर्माण गर्ने घोषणा गरे। 
यसैक्रममा तिनले बिश्वकै सर्वोच्च शिखर सगरमाथामा पहिलोपल्ट आरोहण गर्ने तेङ्जिङ शेर्पालाई विश्वभरी सम्मान गर्दा भारत सरकारले भने अवहेलना गरेको तिनले आरोप लगाए। 
“प्रथम सगरमाथा आरोही तेञ्जिङ शेर्पालाई रानी भिक्टोरियाले नाईट हुडको उपाधी दिन चाहेका थिए। तर भारत सरकारले केवल सामान्य पद्मभूषण दिए। हामी सरकारलाई यो माग गर्छौँ कि तेञ्जिङ शेर्पालाई सर्वोच्च सम्मान भारत रत्नले सम्मान गरिनुपर्छ” एस एस आहलुवालीयाले भने। 
आफ्नो लामो सम्बोधनको क्रममा तिनले देशमा परिवर्तन अनि नमो लहर चलिरहेको अवस्थामा यसपल्ट भाजपा सरकारमा आए पछि देशको दिशा बदलने अनि गोर्खाहरुको दिर्घकालिन समस्या समाधान गर्ने स्पष्ट पारे। 
तिनले नेपाली भाषा मान्यताको निम्ति आफूले सांसद हुँदा सहयोग गरेको जानकारी गराउँदै यसपल्ट पनि गोर्खाहरुको समस्या समाधानकै निम्ति अघि आएको दाबी गरे। बङगाल सरकारले गोर्खाहरुलाई बिभिन्न षडयन्त्र गरेर भोट बिभाजनको राजनीति गरिरहेको आरोप लगाउँदै लेप्चाहरुलाई आदिम जनजातिको मान्यता दिने अवस्थामा सोसाईटी एक्ट अन्तर्गत बोर्ड दिएको आरोप लगाए। यस्ता बोर्ड दिँदा लेप्चाहरुको संरक्षण नहुने बताउँदै उनीहरुलाई आदिम जनजातिको मर्यादा दिलाउँन आवश्यक रहेको पनि तिनले बताएका छन। 
यस क्रममा तिनले पहाडका मोठ 10 वटा जातिहरुलाई जनजातिको मान्यता दिलाउँने कार्य गर्ने पनि स्पष्ट पारेका छन। यसको निम्ति मोर्चाले 10 वटा जातिहरुका सूची पठाएको बताउँदै उक्त जातिहरुलाई भाजपाले केन्द्रमा सरकार गठन भए पछि जनजाति दिने बताए। यता ममता ब्यानर्जीले गोर्खाल्याण्ड राज्य गठनको मागलाई बिरोध गरिरहेको बिषयमा पनि बिरोध गर्दै कुनै पनि संवैधानिक मागलाई नबुझी बिरोध गर्न अन्याय हो भने। 
“गोर्खाहरुले संवैधानिक माग गरीरहेका छन। कुनै पनि जातिको संवैधानिक मागलाई एक्जामिन नगरी कसरी हुँदैन भन्छौँ? हामी समस्या समाधान गर्छौँ। भारतीय जनता पार्टी स सानो राज्यहरुको पक्षमा छ। यसैकारण गोर्खाहरुको दिर्घकालीन समस्या पनि भाजपाले नै समाधान गर्नेछ” आहलुवालीयाले भने। तिनले आफ्नो सम्बोधनको क्रममा तृणमूल प्रार्थी भाईचुङ भोटीया अनि निर्दलीय प्रार्थी डा महेन्द्र पी लामाको पनि आलोचना गरे।

Related Posts

0 Response to "कालेबुङमा भाजपा-मोर्चाको पहिलो चुनावी जनसभा सम्पन्न गोर्खाहरु घुसपैठ होईनन संविधान निर्माण गर्नेहरु हुन – आहलुवालीया"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.