-->
तृणमूलले मेरो हत्या गर्ने षडयन्त्र गर्दैछ – बिमल गुरुङ

तृणमूलले मेरो हत्या गर्ने षडयन्त्र गर्दैछ – बिमल गुरुङ

डी के वाइबा, कालिमन्युज, कालेबुङ 3 अप्रेल 2014। गोर्खा जनमुक्ति मोर्चा समर्थित भाजपा प्रार्थी एस एस आहलुवालीयाको कालेबुङमा पहिलो चुनावी जनसभा आज यहाँको मेला ग्राउण्डमा सम्पन्न भयो। बिगतका दिनहरुमा मोर्चाको जनसभामा जुन प्रकारको भिड हुने गर्थ्यो उक्त भीड भने आज देख्न सकिएन। 
फलत: आज मेला ग्राउण्डको अघिकांश भाग रित्तै रहेको थियो। दार्जीलिङबाट चुनावी जनसभालाई सम्बोधन गर्न कालेबुङ आईपुगेका एस एस आहलुवालीया पहिला सोझै यहाँको त्रिपाई मण्डल गाउँ स्थिर स्व अडीबहादुर गुरुङको घर पुगेका थिए। यस अवसरमा आहलुवालीयाले स्व अडीबहादुर गुरुङको समाधि स्थलमा पुगेर श्रद्धाञ्जलि अर्पण गरे। 26 जनवरी 1949 मा भारतको संविधानमा गोर्खाहरुको प्रतिनिधी स्व अडीबहादुर गुरुङले हस्ताक्षर गरेका थिए। उक्त कार्यको स्मरण गर्दै तिनी स्व गुरुङलाई श्रद्धाञ्जली अर्पण गर्न पुगेका थिए। 
यस अवसरमा तिनले उक्त सहीछाप भएको संविधानको प्रतिलिपी स्व गुरुङकी जेठी छोरी मिना गुरुङलाई प्रदान गरे। यसपछि तिनले घरदेखी नजिकै रहेको स्व गुरुङको समाधी स्थलमा पुगेर पुष्प अर्पण गरे। उक्त कार्यपछि जनसभामा आईपुगेका आहलुवालीयाले जनसभामा बोल्दै स्व गुरुङको देश प्रतिको योगदान अवगत गराए भने संविधानको प्रतिलिपी गोजमुमो अध्यक्ष बिमल गुरुङलाई हस्तान्तरण गरे। “स्व अडीबहादुर गुरुङको सालिग दिल्ली अनि दार्जीलिङमा निर्माण गर्नेछौँ अनि देशभरी गोर्खाहरुको ईतिहास बताउँनेछौँ” आहलुवालीयाले भने।
मोर्चा समर्थित भाजपा प्रार्थी एस एस आहलुवालीयाको चुनावी सभालाई सम्बोधन गर्न बिशेषरुपले उपस्थित बनेका गोजमुमो अध्यक्ष बिमल गुरुङले आज आक्रमक स्वरमा राज्य सरकारको आलोचना गरे। तिनले यस अघि गोरामुमो अध्यक्ष सुवास घिसिङलाई पहाड आउँने अपिल गर्दा नआएको बताउँदै अहिले बङगालले षडयन्त्र गरेर पहाड ल्याउँने कार्य गरेको आरोप लगाए। 
“सुवास घिसिङलाई बङगाल सरकारले तीनवटा सर्तहरुमा पहाड ल्याएका हुन। पहिलो सर्त पहाड नगए दागोपापको सम्पूर्ण अडीट गरेर भ्रष्टचारको मुद्दा हाल्छु भनेको छ। दोस्रो सर्त कालेबुङका सी के प्रधान हत्याकाण्डका मास्टरमाइण्ड सुवास घिसिङ हुन। यसमा सीबीआईको फाईल खोलेर मुद्दा चलाउँने बङ्गालले चेतावनी दिएको छ। तेस्रो सर्त सुरक्षा खोसने चेतावनी छ। यदि सुवास घिसिङको सुरक्षा फिर्ता लिए भोलीपल्ट नै आफै आत्महत्या गर्छन” भन्दै बिमल गुरुङले बङगालले सुवास घिसिङलाई पहाड भित्राएको दाबी गरे। 
यसक्रममा तिनले आगामी दिनमा बङगालको तृणमूल कङ्ग्रेसले सुवास घिसिङको हत्या गरेर त्यसको आरोप मोर्चा नेताहरुलाई लगाउँन सक्ने सम्भावना पनि व्यक्त गरे। गुरुङले सुवास घिसिङलाई जाति र माटोको निम्ति एक हुन पर्ने आह्वान गर्दा समेत एक नभएको आरोप लगाउँदै ‘तिनी बाघ होईनन मुसा हुन’ भने। छुट्टै राज्य गोर्खाल्याण्डको मुद्दा प्रति आफू गोजमुमोको गठनकाल देखी नै ईमान्दार भएर मैदानमा उत्रिएको दाबी गर्दै कतिपय नेताहरु व्यक्तिगत स्वार्थ पुर्तिको निम्ति अघि आएको पनि आरोप लगाएका छन। 
आफूले ममता ब्यानर्जीको चुनौतिलाई स्वीकार गरेर आफ्नो ज्यानको समेत कुनै वास्ता नगरी गोर्खाल्याण्डकै निम्ति देशमा भाजपाको सरकार गठन हुने सम्भावनालाई केन्द्र गरेर भाजपा प्रार्थीलाई समर्थन गरेको स्पष्ट पार्दै यसलाई जनताले स्वीकार्नु पर्ने आह्वान गरे। यसपल्ट पनि गोर्खाहरुले न्याय नपाए गोर्खाल्याण्डको मुद्दा सधैको निम्ति हराएर जाने पनि बिमल गुरुङले बताए। गोर्खाल्याण्डको मुद्दालाई सधैको निम्ति दबाउँन बङगालको तृणमूल कङ्ग्रेस सक्रिय बनेको बताउँदै यसको जवाब जनताले दिन पर्ने पनि बिमल गुरुङले बताए। 
“बङगालले मलाई माओवादी नेता किसन जीलाई जस्तै मार्न सक्छ। यसको निम्ति तृणमूलले षडयन्त्र गरिरहेको छ। आज दार्जीलिङबाट कालेबुङ आईरहेको समयमा तृणमूल नेता आप्पा राजेनको निर्देशनमा एकजना युवकले मलाई पिस्तोल निकालेर मार्ने प्रयास गर्‍यो। उक्त युवकलाई हाम्रा पुलिस गार्डले पक्राऊ गरेर थानामा सुम्पिएको छ। यो मलाई मार्ने तृणमूलको षडयन्त्र हो” बिमल गुरुङले भने। 
उक्त घटनालाई लिएर दार्जीलिङ थानामा प्राथमिकी दर्ता गर्दा समेत पुलिसले कार्वाही नगरेको पनि गुरुङले आरोप लगाए। यसबारे आफुले चुनाव आयोग, गृहमन्त्री आदिलाई पत्रचार गरेर जानकारी गराएको गुरुङले पछि पत्रकार सम्मेलन गरेर जानकारी गराए। 
तिनले जनसभालाई सम्बोधन गर्ने क्रममा डा महेन्द्र पी लामाको पनि बिरोध गरे। तिनलाई गोर्खाल्याण्ड राज्य निर्माण भए पछि आफ्नै राज्यको राज्यपाल भएको हेर्न चाहेको बताउँदै भोट बिभाजनको निम्ति तिनलाई तृणमूलले प्रयोग गरेको आरोप लगाए। यसक्रममा बिद्वानहरुले जनतालाई बोरामा हालेको दाबी गर्दै आफू बिद्वान नभएकै कारण गोर्खाल्याण्डको निम्ति ईमान्दार बनेर लडीरहेको बताए।
अर्कोतिर मेला ग्राउण्डमा आयोजित उक्त जनसभामा भाजपा प्रार्थी एस एस अहलुवालीया, गोजमुमो अध्यक्ष बिमल गुरुङ, महासचिव रोशन गिरी, कालेबुङका बिधायक डा हर्कबहादुर छेत्री अनि केही दिन अघि मात्र जीएलओ त्यागेर भारतीय जनता पार्टीमा सामेल भएका जंगी नेता छत्र सुब्बा लगायत अन्य नेताहरुको बिशेष उपस्थिति रहेको थियो। यस अवसरमा कालेबुङ महकुमा क्षेत्रका बिभिन्न स्थानहरुबाट मानिसहरु उक्त चुनावी जनसभामा उपस्थित बनेका थिए। 
कालेबुङको मेला ग्राउण्डमा सम्पन्न भएको मोर्चाको पहिलो चुनावी जनसभालाई सम्बोधन गर्ने क्रममा कालेबुङका बिधायक डा हर्कबहादुर छेत्रीले तृणमूल प्रार्थी भाईचुङ भोटीया अनि निर्दलीय प्रार्थी डा महेन्द्र पी लामा संगै गोरामुमो अध्यक्ष सुवास घिसिङको पनि खुलेर आलोचना गरे। यता केही दिन अघि मात्र भाजपा सामेल भएका छत्र सुब्बाले पनि छोटो सम्बोधन गर्दै देशमा भाजपा सरकार गठन हुने निश्चित देखेर गोर्खाल्याण्डको निम्ति भाजपालाई समर्थन गरेको बताए। यसक्रममा तिनले गोर्खाल्याण्ड प्राप्तिको निम्ति हजारौँ जीभिसीका युवाहरु सहिद बनेको बताउँदै गोर्खाल्याण्ड हाँसेर, नाँचेर अनि कसम खाएर नहुने बताए।

Related Posts

0 Response to "तृणमूलले मेरो हत्या गर्ने षडयन्त्र गर्दैछ – बिमल गुरुङ"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.