-->
कृषक कल्याण संगठनले डा लामालाई समर्थनको औपचारिक घोषणा  ....हाईवे क्षेत्रमा चुनाव प्रचार तिब्र

कृषक कल्याण संगठनले डा लामालाई समर्थनको औपचारिक घोषणा ....हाईवे क्षेत्रमा चुनाव प्रचार तिब्र

डी के वाइबा, कालिमन्युज, कालेबुङ 14 अप्रेल। दार्जीलिङ पहाडभरी लगभग 70 हजार सदस्यगण भएको कालेबुङ कृषक कल्याण महासंघले आगामी लोकसभा चुनावमा निर्दलीय प्रार्थी डा महेन्द्र पी लामालाई समर्थनको औपचारिक घोषणा गरेको छ। यहाँको डम्बर चौक स्थित कार्यलयमा आज संगठनका महासचिव बिष्णु छेत्रीले उक्त घोषणा गरे।
दार्जीलिङ पहाडका ग्रामीण कृषकवर्गलाई लिएर बिभिन्न कार्य गर्दै आईरहेको कृषक कल्याण् संगठनको आज सातौँ स्थापना दिवस दिउँसो कार्यलयमा पालन गरिएको थियो।
यस अवसरमा बिभिन्न स्थानहरुबाट कृषक संगठनका सदस्यवर्ग सहभागी बनेका थिए। संगठनको सातौ स्थापना दिवसको अवसर पारेर नै आखिरमा आगामी लोकसभा चुनावमा दार्जीलिङ लोकसभा समष्टिबाट निर्दलीय प्रार्थीका रुपमा खडा भएका डा महेन्द्र पी लामालाई संगठनले औपचारिक समर्थनको घोषणा गरेको हो।
यसक्रममा बोल्दै संगठनका महासचिव बिष्णु छेत्रीले उक्त चुनावमा डा लामालाई समर्थनको घोषणा अघि सम्पूर्ण कृषक कल्याण संगठनका प्रतिनिधीवर्गसंग चर्चा गरिएको बताउँदै चर्चा परिचर्चा पछि नै संगठनले उक्त घोषणा गरेको जानकारी गराए।
“दार्जीलिङ पहाडको कृषकवर्ग अहिलेसम्म विविध समस्याहरुले पिसिन्दै आईरहेका छन। यसको साथै दार्जीलिङ पहाडमा दुईचोटी छुट्टै राज्य गोर्खाल्याण्डको आन्दोलन भईसकेको छ भने दुवैवटा आन्दोलनमा नेतृत्वले जनतालाई धोका दिईसकेको छ। यसपल्टको चुनावमा जनताको समस्यालाई सहीप्रकारले उठान गर्न सक्ने योग्य उम्मेद्वार डा महेन्द्र पी लामा मात्र हुन भन्ने संगठनले विश्वास गरेको छ। यसैकारण तिनलाई समर्थनको औपचारिक घोषणा गरेका हौँ” बिष्णु छेत्रीले भने।
तिनले कालेबुङ कृषक कल्याण संगठनको तीन सय भन्दा अधिक फार्मर्स क्लब, एकसय भन्दा अधिक स्वनिर्भर समुह अनि एकसय भन्दा अघिक जे एल जी भएको बताउँदै उक्त सम्पूर्ण संगठनहरु मिलाएर मोठ 70 हजार भन्दा अघिक भोट रहेको दाबी गरे। निर्दलीय प्रार्थी डा महेन्द्र पी लामाको बिशेष उपस्थितिमा कृषक कल्याण महसंघका महासचिव बिष्णु छेत्रीले समर्थनको घोषणा गरे पछि यता डा लामाले खुशी व्यक्त गर्दै यसले धेरै लाभ पुग्ने दाबी गरे।
“कृषक कल्याण संगठन ग्रामिण क्षेत्रसंग जोडीको संगठन हो। हामीले कृषकवर्ग, सिन्कोनावासी, फारस बस्तीबासी, चियाकमानवासी आदिको हितमा कार्य गर्नेछौँ भनेर चुनाव घोषणा पत्रमा स्पष्ट लेखेका छौँ। यस्तो अवस्थामा संगठनले समर्थनको घोषणा गरेपछि हामी धेरै आशावादी बनेका छौँ” डा लामाले भने।
हाईवे क्षेत्रमा निर्दल प्रार्थी डा महेन्द्र पी लामाको पक्षमा चुनाव प्रचार तिब्र
डी के वाइबा, कालिमन्युज, टिस्टा 14 अप्रेल। लोकसभा चुनावलाई लिएर अहिले घरी राजनैतिक दलहरु चुनाव प्रचारमा व्यस्त रहेको छ। आ आफ्ना प्रार्थीहरुलाई अघि राखेर बिजयको हूँकार पिट्दै चुनाव प्रचारलाई तिब्र गतिमा अघि बडाईरहेको अवस्थामा यता निर्दलीय प्रार्थी डा महेन्द्र पी लामाको चुनाव प्रचार पनि युद्ध स्तरमा अघि बडाउँने कार्य भईरहेको छ। यसैक्रममा राष्ट्रिय राजमार्ग 31 ए टिस्टा अनि रम्बि क्षेत्रमा पनि डा लामाको चुनाव प्रचार अभियान तिब्र गतिमा भईरहेको छ।
“हाम्रो भोट कमलको फूललाई छैन, किनकि 2009 सालमा दार्जीलिङ पहाडबाट विपुल मत दिएर सांसद बनाएर पठाएको जसवन्त सिंहले गोर्खाल्याण्डको निम्ति तेलंगनाको गठन हुदाँ एक शब्द बोलेनन् । भाजपाको 2014 को घोषणा पत्रमा गोर्खाल्याण्डको उल्लेख छैन । हाम्रो भोट तृणमूल कंग्रेसलाई छैन किनकि तृणमूल पार्टी गोर्खाल्याण्ड विरोधी पार्टी हो । ममता ब्यानेर्जीले दार्जीलिङ र गोर्खा जातिलाई टाउकोमा टेकेर राजनीति गर्दैछ । यसैले यसपाली छुट्टै राज्य गोर्खाल्याण्डको निम्ति हाम्रो भोट हाम्रै भूमिपुत्र योग्य डा0 महेन्द्र पी0 लामालाई” टिस्टामा डीडीयुडीएफको चुनावी जनसभालाई सम्बोधन गर्दै हाइवे चुनाव सयोजक सन्तोष प्रधानले यसो भने ।
उनले भाजपाद्वरा 2014 सालको पार्टीको घोषणा पत्रमा गोर्खाल्याण्डको कुनै उल्लेख नगरिएको बताउदै यहाँ गोजमुमो र लोकसभा प्रार्थी एस0 एस0 अहलुवालियाँले जनतालाई झुठ बोलिरहेको आरोप लगाए। बिगतको लोकसभा चुनावमा बिजय बनेर गएका सांसद जसवन्त सिहले सांसद कोषमा गोजमुमो पार्टीसंग मिलेर व्यापक धाँधली गरेको पनि आरोप लगाउँदै मोर्चाको निर्देशमा सांसद कोष नीजि विद्यालयलाई प्रदान गरेको दाबी समेत गरे। यसक्रममा तिनले बिगतका गोर्खाल्याण्ड आन्दोलनमा हाईवे क्षेत्रका जनताले महत्वपूर्ण भूमिका निर्वाह गरे पनि एन एचपीसीको परियोजनाले बिस्थापित बन्ने अवस्थामा भने मोर्चाले कुनै सहानुभूमी समेत नदेखाएको आरोप लगाए। हाईवेवासीलाई सहयोगको साटो उल्टा मोर्चाले पर्चा पट्टा खोजेको आरोप लगाउँदै आन्दोलन गर्दा किन पर्चा पट्टा सोधेन भनी सन्तोष प्रधानले प्रश्न गरे।
टिस्टा अनि रम्बी बजारमा सम्पन्न भएको छुट्टा छुट्टै चुनावी सभामा हाइवे क्षेत्रका अधिकांश मानिसहरु जनसभा सुन्न ओर्लिएका थिए । जसमा युवावर्ग, सिनियर सिटिजन, नारी अनि विध्यार्थीहरु प्रमुख थिए। यसैक्रममा श्याम गुरुंगले जनसभामा क्रान्तिकारी कविता प्रस्तुत गरेका थिए। टिस्टा डीडीयुडीएफ सन्योजक बी0 बी0 सुब्बाले दार्जीलिंगको राजनीतिलाई हत्या, हिंसा, भ्रष्टचार, असत्य, अनैतिकता आदिबाट निकालेर राम्रो र शिक्षित मान्छेको हातमा सुम्पनुपर्ने जोड दिए भने आगामी लोकसभा चुनावमा डा0 महेन्द्र पी0 लामालाई भोट दिएर विजय बनाउने जनतासमक्ष अपिल गरे।
सोहीक्रममा हिमालयन फरेष्ट भिलेजर्स अर्गनाजेसनका केन्द्रीय सह-सचिव श्याम मुखियाँले भारत सरकारले वन अधिनियम 2006 पारित गरे पनि दार्जीलिंग पहाडमा हालसम्म उक्त वन अधिनियम लागु नगरिएको बताउँदै डीडीयुडीएफले आफ्नो चुनावी घोषणा पत्रमा वनवासीहरुको पर्चापट्टाबारे उल्लेख गरेकोले केवल डा0 लामाले मात्र उक्त काम गर्न सक्ने बताए। जनसभालाई सम्बोधन गर्ने क्रममा वक्ताहरुले गोजमुमो पार्टीको खोईरो खन्न पनि पछि परेनन। यसक्रममा टिस्टा जलबिद्युत परियोजनाबाट मोर्चा सभासदहरुले करोडौ रुपीया कमिसन खाने गरेको पनि वक्ताहरुले आरोप लगाए। हाइवे क्षेत्रमा सबैभन्दा बढी कार्य हुने र पुरानो ग्राम पंचायत रहेकोले हाइवे क्षेत्रमा छुट्टै खण्ड विकास कार्यलय गठन गरिनु पर्ने हाइवे जनताको मांगलाई डीडीयुडीएफले गम्भिरता साथ लिएकोले घोषणा पत्रमा नै दार्जेलिंग पहाडमा ग्राम पंचायत, ब्लक, महकुमा, जिल्लाको बढोतरी गरिनु पर्ने विषय उल्लेख गरिएको बताए।

Related Posts

0 Response to "कृषक कल्याण संगठनले डा लामालाई समर्थनको औपचारिक घोषणा ....हाईवे क्षेत्रमा चुनाव प्रचार तिब्र"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.