-->
संशोधित छैटौँ अनुसूची मात्र पहाडको दीर्घकालिन समाधान हो – पाठक

संशोधित छैटौँ अनुसूची मात्र पहाडको दीर्घकालिन समाधान हो – पाठक

डी के वाइबा, कालिमन्युज, कालेबुङ 11 मार्च 2014। “दार्जीलिङ पहाडको समस्या स्थायी रुपले समाधान हुनपर्ने माकपा पार्टीको अडान छ। एकमात्र संशोधित छैटौँ अनुसूची पहाडको स्थायी समस्या समाधान हो। यस संशोधित छैटौँ अनुसूचीमा अनुसूचित जनजाति बाहेक अनुसूचित जाति, अल्पसंख्यक अनि साधारण वर्गका मानिसहरुको सवैधानिक सुरक्षाको ग्यारण्टी हुनेछ” – उक्त कुरा मार्क्सवादी कम्युनिष्ट पार्टी (माकपा) प्रार्थी समन पाठकले भनेका हुन। तिनी आज आगामी लोकसभा चुनावलाई केन्द्र गरेर कालेबुङका पार्टी समर्थकहरुसंग भेटघाट गर्न आएका थिए। यसक्रममा यहाँको जगन्नाथ धर्मशालामा पार्टीको चुनावी सभा सम्पन्न भयो। उक्त सभामा माकपा नेता तारा सुन्दास बिशेष रुपले उपस्थित बनेका थिए भने बिभिन्न स्थानहरुबाट पनि पार्टी समर्थकहरु भेला भएका थिए।
“दार्जीलिङ पहाडको समस्या राजनैतिक समस्या हो। यसको समाधान पनि राजनैतिक रुपले नै गरिनुपर्छ। तृणमूल सरकारले बलजफ्ति सीआरपीको भरमा जनताको आवाज दबाउँनु समस्याको समाधान होईन। केन्द्र सरकारले पहाडमा राजनैतिक स्वार्थपूर्तीको निम्ति सधै झगडा मात्र गराउँन चाहन्छ अनि ललीपपहरु दिदै भुलाउँछ। अब एकमात्र दिर्घकालीन समाधानको निम्ति माकपाले नीतिगत सिद्धान्त ग्रहण गरेको छ” समन पाठकले भने।
माकपाले पहाडमा उच्च क्षमताशिल स्वायत्त शासनको कुरा गर्दै आईरहेको बताउँदै उक्त उच्च क्षमताशिल स्वायत्त शासन 244 औँ संशोधित छैटौँ अनुसूची रहेको तिनले दाबी गरे। तिनले पत्रकारहरुलाई सम्बोधन गर्दै दार्जीलिङ पहाड पूर्णरुपले उत्तरपूर्वी राज्यहरुको बनावटमा रहेको बताउँदै दार्जीलिङसंगै गाँसिएको सिक्किम उत्तरपूर्वी राज्यहरुको मर्यादामा हुँदा यसलाई पनि उत्तरपूर्वी राज्यहरुको मर्यादा दिनुपर्ने माग गरेका छन। यसका साथै पहाडको सर्वाङ्गीन बिकाशको निम्ति केन्द्र अनि राज्यलाई आर्थिक कोषहरु मात्र माग्नुको साटो पहाडका एकजना प्रतिनिधी भारत सरकारको योजना आयोगको सदस्य बनाउँनुपर्ने पनि पाठकले बताएका छन। यसो भए मात्र पहाडको सर्वाङगीन बिकास हुने तिनले जानकारी गराए। यसको साथै पहाडलाई कर मुक्त क्षेत्रको मर्यादा सरकारले दिनुपर्ने पनि माग गरेका छन।
आफ्नो सम्बोधनको क्रममा तिनले तृणमूल सरकारको कडा आलोचना गर्दै त्रणमूल नेत्री ममता ब्यानर्जीले हैकमवाद अप्नाएर जनताको आवाजलाई दबाएको आरोप लगाए। बिगत दिनमा बङगालमा माकपा सरकारमा हुँदा कहिले पनि सीआरपीको भरमा जनताको आवाजलाई नदबाएको दाबी गर्दै जनभावनालाई माकपाले सधै कदर गर्ने गरेको तिनले जनाए। तिनले जीटीए गठनमा पहाडको सत्तासिन पार्टी गोजमुमोले हतार गरेको दाबी गर्दै हतारमा आमाको साईनो गाँसेर थापेको जीटीए अहिले ‘ नखाऊँ भने दिनभरीको शिकार खाऊँ भने कान्छा बाउको अनुहार् ’ भएको दाबी गरे। तिनले भारतभरी छरिएर बसेका गोर्खाहरु राष्ट्रिय परिचयको स्थायी समाधान भाषिक अल्पसंख्यकको रुपमा हुन सक्ने बताउँदै भाषाको अधारमा नै गोर्खाहरु एक सुत्रमा बाँधिन सक्ने बताएका छन। “गोर्खाहरुलाई सरकारले भाषिक अल्पसंख्यकको मान्यता दिनुपर्छ।
भाषिक अल्पसंख्यकको मान्यता पाए सम्पूर्ण भारतभरी छरिएर बसेका गोर्खाहरुले समाना अधिकार पाउँनेछन। यो एउटा संवैधानिक ग्यारेण्टी भएको कारण यसबाट गोर्खाहरु सुरक्षित बन्नेछन” समन पाठकले स्पष्ट भने। यसक्रममा तिनले गोजमुमो समर्थित भाजपा सांसद जसवन्त सिहको आलोचना गर्दै आफ्नो पाँचवर्षको कार्यकालमा पहाडमाथी कहिल्यै आवाज नउठाएको आरोप लगाए। “संसदमा प्रश्नकाल महत्वपूर्ण हो। यस प्रश्नकालमा सांसद जसवन्त सिहले एउटा प्रश्न पनि उठाएका छैनन। यसको तुलनामा मैले 97 वटा प्रश्नहरु उठाएको छु अनि अधिकांश प्रश्नहरु दार्जीलिङकै समस्या केन्द्रित छ” पाठकले भने। सोहीक्रममा सांसद जसवन्त सिहले मोठ 18 वटा संसदको तर्कहरुमा भाग लिएको ब्यौरा दिदै यसमध्ये 2 वटा गोर्खाल्याण्ड अनि 2 वटा सन्दर्भवस गोर्खाल्याण्डको आवाज उठाएको बताए। यसको तुलनामा आफूले 31 वटा तर्कहरुमा भाग लिएको अनि यसमध्ये 26 वटा दार्जीलिङको मुद्दामा तर्क पेश गरेको पनि तिनले संसदको कागज देखाउँदै भने। यसका साथै तिनले जनजातिको माग गरिरहेको जाति गोष्ठीहरुलाई आफ्नो पार्टीले सहयोग गर्ने तर सिंगो जातिलाई राजनैतिक स्वार्थपूर्तीको निम्ति फूट ल्याउँने कार्यको भने बिरोध गर्ने पनि स्पष्ट बताए।

Related Posts

2 Responses to "संशोधित छैटौँ अनुसूची मात्र पहाडको दीर्घकालिन समाधान हो – पाठक"

  1. Saman pathak is also a BHUMI PUTRA..intelectual and a nice person too...his party had talked about 6th schedule when they were in power which is absolutely true..,,I wish him gud luck for 2014.mp poll..

    ReplyDelete
  2. Bhumi putra Saman Pathak pani..wishing him gud luck..

    ReplyDelete

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.